शाहिदुल आलमसँग कसलाई डर ? आलोचनात्मक आवाज यसरी दबाइँदै छ बंगलादेशमा


  • गायत्री चक्रवर्ती स्पिभाक- 

ख्यातिप्राप्त बंगलादेशी फोटो पत्रकार साहिदुल आलमलाई अगस्ट ५ मा करिब ३० जना सादा पोसाकका प्रहरीले घिसारेर उनको घरबाट बाहिर निकाले र हिरासतमा राखे। प्रहरीहरू राति १० बजे उनको अपार्टमेन्ट भवनमा जबरजस्ती घुसे, भवनका सुरक्षा गार्डको फोन खोसे र निगरानीका लागि राखिएको भिडियो क्यामेरा नष्ट गरे।

यसका बीच पनि कसैले आफ्नो मोबाइल फोनबाट उक्त क्षण रेकर्ड गर्न भ्याए। आलम बारम्बार ‘म निर्दोष छु’ भन्दै चिच्याइरहेको सुनिन्छ। र, भिडियोमा उनी भनिरहेका छन्, ‘म वकिल राख्न चाहन्छु।’ मैले मिलनसार, विनम्र र प्रतिभावान् व्यक्तिका रूपमा चिनेका आलम भिडियोमा चिच्चाइरहेको देख्नु मेरा लागि भयानक थियो। आजकाल हाम्रो दैनिक जीवनमा आतंकले यसरी प्रवेश पाएको छ।

आलमका कामले एक दशकभन्दा बढी बंगलादेश र यस क्षेत्र वरपरका केही अत्यन्त महत्वपूर्ण राजनीतिक तथा पर्यावरणीय प्रश्नहरू कैद गरेका छन्। न्युयोर्कको एक प्रदर्शनीमा आलमका फोटोग्राफ हेरेपछि म्यानमारका रोहिंग्याहरूले भोगेको त्रासदीबारे आफूलाई बोध भएको एक मित्र सम्झन्छन्। सन् १९९१ मा बंगलादेशको चक्रवात आँधीपछि मैले पहिलोपटक उनको काम हेर्ने अवसर पाएकी हुँ। म राहत वितरण कार्यमा संलग्न थिएँ र आँधीपछि प्रभावित क्षेत्र घुमेकी थिएँ। आलमले खिचेका फोटोले मेरो अनुभवको वास्तविकतालाई कैद गरेका थिए। २०१४ मा उनको योगदानको कदरस्वरूप कलाकारलाई दिइने उच्चतम सम्मान शिल्पकला पदक बंगलादेशका राष्ट्रपतिद्वारा आलमलाई प्रदान गरियो।

आलम पक्राउ पर्नुको कारण उनले अलजजिरालाई दिएको एउटा अन्तर्वार्ता थियो जहाँ उनले प्रधानमन्त्री सेख हसिनाको सरकारले ढाकामा भएको विद्यार्थीहरूको प्रदर्शनमा गरेको क्रूर दमनबारे आलोचनात्मक विचार व्यक्त गरेका छन्। सरकारी निकायमा भएको भ्रष्टाचार, वर्षौंको कुशासन, विरोधीमाथिको दमन र हसिनाको सत्तारूढ अवामी लिग मातहत भएका गैरन्यायिक हत्या तथा व्यक्ति बेपत्ता पारिएका घटनाका बारेमा पनि उनले बोलेका थिए। विरोधाभाष नै भन्नुपर्छ, आलमको कैदले उनले उठाएका विषयलाई नै पुष्टि गरेको छ।

जुलाई अन्तिम साता तीव्र गतिमा गुडिरहेको बसको ठक्करबाट ढाकामा दुई विद्यार्थी मारिएपछि त्यसको विरोधमा स्कुले विद्यार्थीसहित हजारौं विद्यार्थी सडकमा उत्रिए। जब विरोध प्रदर्शनले सरकारविरुद्ध आमसमर्थन प्राप्त गर्दै गयो, सरकारले विद्यार्थी प्रदर्शनकर्तालाई आक्रमण गर्न अवामी लिग पार्टीप्रति प्रतिबद्धहरूको भीड सडकमा उतार्‍यो। ह्युमन राइट वाचका अनुसन्धानकर्ताहरूले घटनाका कयौं प्रत्यक्षदर्शीसँग कुरा गरेका छन् जसले अवामी लिगको विद्यार्थी संगठन ‘बंगलादेश छात्र लिग’ र युवा दस्ता ‘अवामी जुबो लिग’का सदस्यहरूबाट प्रदर्शनकारीमाथि कसरी आक्रमण भएको थियो भनेर वर्णन गरेका छन्।

प्रहरीकै उपस्थितिमा अवामी लिगका समर्थकहरूले विद्यार्थी प्रदर्शनकारीमाथि गरेको आक्रमणका प्रत्यक्षदर्शी पत्रकारमध्ये आलम पनि एक हुन्। उनले विरोध प्रदर्शन र दमनको फोटो खिचेका छन्।

यी चर्चित फोटोपत्रकार मात्र पक्राउ पर्ने व्यक्ति होइनन्। कयौं विद्यार्थी प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको छ र प्रहरी हिरासतमा यातना दिइएको छ।

Photo Credit : Monirul Alam/EPA via NYT

अक्टोबर र डिसेम्बरको बीचमा बंगलादेशमा आमनिर्वाचन हुने अपेक्षा छ। आफ्नो मुलुकका बारेमा रचनात्मक ढंगले आलोचना गर्नु कलाकार र बुद्धिजीवीहरूको कर्तव्य हो।

हसिनाको सरकार आलमजस्ता विश्वसनीय र सम्मानित व्यक्तिसँग अत्यन्तै डराएको हुनुपर्छ जसको आलोचनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गम्भीरतापूर्वक लिइन्छ। उनको पक्राउ र कैद आलोचनात्मक आवाजहरूलाई चुप गराउने एउटा प्रयास हो।

हसिनाको सरकार आलमको पक्राउपछि पनि रोकिएको छैन। सरकार आलमलाई दोषी देखाउने र उनको छवि ध्वस्त गर्ने तरिका खोज्ने प्रयासमा लागेको देखिन्छ। मानवशास्त्रीसमेत रहेका आलमका साथी रहनुमा अहमदले उनलाई कारागारमा गएर भेटे। कारागार प्रशासनले गोप्य रूपमा उक्त भेटको भिडियो खिचेको थाहा पाएपछि उनी झसंग भए।

‘विद्युतीय सञ्चारमाध्यमका साथीहरूले मलाई भनेका छन् कि सरकारी संयन्त्रले उनीहरूलाई साहिदुलका बारेमा ‘फोहोरी खबर’ लेख्न निर्देशन दिएका छन्, यतिसम्म कि बाल यौन दुराचारीका रूपमा उनलाई चित्रित गर्ने कुरा पनि सुनिन्छ— दयनीय लाग्छ किनकि सबैलाई थाहा छ, बालबालिकाप्रति उनमा अगाध स्नेह छ।’

बंगलादेश बितेका केही वर्ष अधिनायकवादतर्फको यात्रामा अगाडि बढेको कुरा आश्चर्यको विषय रहेन। ह्युमन राइट वाच तथा कयौं पत्रकारले उल्लेख गरेझैं कानुन कार्यान्वयन गर्ने निकायबाट सयौं बंगलादेशीलाई पक्राउ गरी एकैपटक हप्तौं वा महिनौंसम्म बेपत्ता बनाइएको छ। उनीहरूमध्ये धेरैको अवस्था अज्ञात नै रहन्छ। ‘लागूऔषधविरुद्धको युद्ध’का नाममा सयौंलाई गैरन्यायिक तरिकाले मारिएको छ।

पक्राउ परेको दुई दिनपछि आलमलाई ढाका अदालतमा उपस्थित गराई बंगलादेशको सबैभन्दा बदनामी कमाएको सूचना तथा सञ्चार प्रविधि ऐनको दफा ५७ अनुसार ‘राष्ट्रको छविमा आघात पार्ने गरी अनलाइनमा अभिव्यक्ति दिएको’ अभियोग लगाइएको छ।

उनलाई जब अदालतभित्र धकेलिँदै थियो— उनी खाली खुट्टा थिए र खुट्टा खोच्याइरहेका थिए। प्रत्यक्षदर्शी भन्छन्, उनले आफूमाथि भएको शारीरिक तथा मानसिक दुव्र्यवहारको स्पष्ट संकेत देखाएका थिए। उनी चिच्याएका थिए, ‘मलाई आक्रमण गरिएको छ। रगतले लतपतिएको मेरो कमिज पखालेर मलाई लगाइएको छ। मलाई धम्क्याइएको छ, यदि मैले उनीहरूले भनेबमोजिम बयान नदिए ममाथि अझ…।’ त्यसपछि उनको आवाज कम हुँदै जान्छ र उनले बाँकी के भने भन्ने अस्पष्ट हुँदै जान्छ।

आलमलाई एक साता हिरासतमा राख्न र स्वास्थ्य उपचारका लागि संक्षिप्त रूपमा अस्पताल लैजान अदालतले प्रहरीलाई अनुमति दियो। अगस्ट १२ मा आलमलाई पुनः अदालतमा उपस्थित गराइयो र उनीमाथि लागेका अभियोगहरूको अनुसन्धान नसकिउन्जेलसम्मका लागि कारागार चलान गरियो। दोषी ठहर भएमा उनलाई १४ वर्षसम्म कैदसजाय हुन सक्छ।

बंगलादेशीहरूमा यो भावना छ कि न्यायपालिकाले काम गर्न छोडेको छ र प्रहरी शान्तिसुरक्षा दिन असफल छ। यहाँ प्राज्ञिक स्वतन्त्रता छैन, फलस्वरूप विश्वविद्यालयहरूले संवैधानिकताको विकास र पुनस्र्थापनामा कुनै भूमिका खेल्न सक्दैनन्। यौनहिंसा सर्वत्र छ। चुनावी प्रक्रियामा बल प्रयोग र हिंसा व्याप्त छ। मुलुकलाई भयको संस्कृतिले ढाकेको छ।

बंगलादेशमा आलमले निष्पक्ष कानुनी उपचार पाउन असम्भव छ। प्रधानमन्त्री हसिनाका छोराले आलमलाई हिंसा भड्काएको आरोप लगाएका छन्। ‘उनका झूठा पोस्टहरू र आरोपहरूका कारण विद्यार्थी आक्रोशित भए र प्रहरी तथा हाम्रो पार्टी कार्यालयमा आक्रमण गरे’, हसिनाका छोराले सोसल मिडियामा लेखेका छन्, ‘धेरै प्रहरी र हाम्रा कयौं कार्यकर्ता घाइते भएका छन्, तीमध्ये एकजना अराफातुल इस्लाम बाप्पीले आफ्नो दृष्टि गुमाएका छन् र पूर्ण रूपमा अपांग बनेका छन्।’

प्रहरी र अदालतले आलमलाई कसरी व्यवहार गर्नेछन् भन्नेमा यसले नकारात्मक प्रभाव पार्ने पक्का छ।

आलमको अधिकारको व्यापक हननबाहेक सामाजिक न्यायको स्खलन पनि बंगलादेशभर व्याप्त छ। शान्तिपूर्ण प्रदर्शनकारीमाथिको पूर्वाग्रही कारबाहीले हसिनाको सरकारले न्यायलाई प्रतिशोधका रूपमा मात्र बुझेको देखाउँछ।

आलमको गिरफ्तारी, दुव्र्यवहार र कैद उनको व्यक्तित्वमाथिको बर्बर व्यवहार हो र प्रेस स्वतन्त्रता तथा सामाजिक न्यायको प्रतिबद्धतामाथिको आक्रमण हो। बंगलादेशले उनलाई र पक्राउ गरिएका विद्यार्थी प्रदर्शनकारीलाई तत्काल रिहा गर्नुपर्छ र उनीहरूमाथि लगाइएका आरोपहरू खारेज गर्नुपर्छ।


(न्युयोर्क टाइम्सबाट रविराज बरालको अनुवाद। अन्‍नपूर्ण पोस्ट् फुर्सदको २०७५ भदौ ९ गते शनिबार प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.