‘काठमान्डू पोष्‍ट’ का नयाँ प्रधान सम्पादक अनुप काफ्लेलाई चिन्‍नुस्


‘काठमान्डू पोष्ट’ अंग्रेजी दैनिकको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्ले नियुक्त भएका छन्। प्रधान सम्पादक अखिलेश उपाध्यायले गत असार २७ गते राजीनामा दिएपछि नेतृत्वविहीन भएको काठमान्डू पोष्टले २७ दिनपछि प्रधान सम्पादक पाएको हो। राजीनामा दिएपनि आज (२०७५ साल साउन २२ गते) सम्मको काठमान्डू पोष्ट उपाध्यायकै नाममा छापिएको छ।

भारतको ‘टाइम्स ग्रुप’ (Bennett Coleman and Company Limited) मा व्यवस्थापकीय भूमिकामा कार्यरत रजनीश रिखी (Rajnish Rikhy) कान्तिपुर मिडिया ग्रुपमा जेनेरल म्यानेजर (जीएम) का रुपमा भित्रिएसँगै कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र काठमान्डू पोष्टका प्रधान सम्पादक उपाध्यायले राजीनामा दिएका थिए। विस्तृत पढ्नुस् : प्रधान सम्पादकहरू सुधीर र अखिलेशले किन दिए एकैपटक राजीनामा ?

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा असार २९ गते नै पत्रकार नारायण वाग्ले नियुक्त भइसकेका छन्। पढ्नुस् : १० वर्षपछि कान्तिपुरमा नारायण वाग्लेको कम ब्याक

डिजिटल ट्रान्सफर्मेसन

प्रधान सम्पादक काफ्लेले अब कान्तिपुर मिडिया ग्रुपको ‘डिजिटल ट्रान्सफर्मेशन’को समेत नेतृत्व गर्नेछन्। त्यसका लागि उनलाई टिजिटल ट्रान्सफर्मेशन प्रमुखको समेत नियुक्ति दिइएको छ।

प्रधान सम्पादकको जिम्मेवारीमा अनुपलाई स्वागत गर्दै केएमजी अध्यक्ष कैलाश सिरोहिया। साथमा पोष्टका पूर्व प्रधान सम्पादक उपाध्यायसहित कान्तिपुरका अन्य पत्रकार। फोटोः kathmandupost.com

‘उहाँको नेतृत्वमा द काठमाडौं पोष्टले नयाँ उचाई लिने छ,’ काफ्लेलाई प्रधान सम्पादक तथा ‘डिजिटल ट्रान्स्फरमेशन’ प्रमुखको रुपमा नियुक्ति गरिएको घोषणा गर्दै ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले भनेका छन्। डिजिटल प्रमुखको रुपमा उनले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको ‘डिजिटल ट्रान्सफरमेशन’ को समेत नेतृत्व गर्ने इकान्तिपुरको समाचारमा जनाइएको छ।

पोष्टका निवर्तमान प्रधान सम्पादक अखिलेश उपाध्यायले अनुपलाई बधाई दिँदै कान्तिपुरलाई ‘गुड बाइ’ भनेका छन्।

अनुपले आफ्नो नयाँ जिम्मेवारीबारे ट्‍विटरमा लेखेका छन्। र, फेसबुकमा १५ वर्षको अमेरिका बसाई, पत्रकारिता अध्ययन र आफ्नो कामबारे उल्लेख गर्दै सबैलाई धन्यवाद भनेका छन्।

‘डिजिटल फर्स्ट’

मिडिया कुराकानीसँग कुरा गर्दै अनुपले काठमान्डू पोष्टलाई ‘डिजिटल फर्स्ट’ मिडिया बनाउने बताए। ‘मेरो एउटा उद्देश्य यसलाई डिजिटल फर्स्ट पब्लिकेसन बनाउने हो’, उनले भने, ‘दैनिक पत्रिकामा राजनीतिक, सामाजिक समाचार र विचारहरूलाई निरन्तरता दिँदै हामी अनलाइनमा ब्रेकिङ स्टोरीदेखि गहन रिपोर्टिङ र भिजुअल स्टोरीहरू दिनेछौँ।‘

अन्तर्राष्ट्रिय मिडियाहरूमा काम गर्न पाउनु आफ्नो लागि ठूलो मौका भएको उल्लेख गर्दै उनले नेपाल फर्केर आफ्नो सीप र अनुभव पत्रकारिताको नयाँ पुस्तामाझ बाँड्न आफू सधैँ लालायित रहेको र त्यो अवसर मिलेको बताए।

‘म नेपालमा स्टोरी गर्न आइरहेकै थिएँ किनभने हाम्रा सामग्रीहरू त्यहाँ राम्रोसँग पुगिरहेका थिएनन् वा पश्चिमा दृष्टिकोणबाटमात्र हाम्रा विषयलाई हेरिन्थ्यो’, उनले भने, ‘मलाई अब नेपालका पत्रकारहरूसँग काम गर्ने अवसर मिलेको छ। म उनीहरूलाई व्यापक रुपमा ग्लोबल अडियन्समाझ हाम्रा समाचारहरू पुर्‍याउन सहयोग गर्नेछु।‘ उनले राजधानीलाई जस्तै मुलुकका अन्य भूभागलाई पनि समाचारको प्राथमिकतामा राखिने बताए।

अनुपको पत्रकारिता यात्रा

अन्तर्राष्ट्रिय मिडियाहरूमा काम गरेका ३४ वर्षीय अनुप मूलतः डिजिटल पत्रकारितामा चिनिएको नाम हो। तर नेपाली पत्रकारितामा भने उनी नयाँ हुन्।

सन् २००३ मा ‘हिमालयन टाइम्स’ अंग्रेजी दैनिकमा इन्टर्नसिप गरेको बाहेक उनीसँग नेपाली मिडियामा पत्रकारिता गरेको अनुभव छैन। यद्यपि उनले अन्तर्राष्ट्रिय मिडियामा नेपालकै बारेमा धेरै रिपोर्टिङ गरेका छन्।

उनको व्यक्तिगत वेबसाइटमा उनले अन्तर्राष्ट्रिय मिडियाहरूका लागि आफूले गरेका समाचार सामग्री, भिडियो, फोटो र अडियोसम्मको अर्काइभ राखेका छन्।

पछिल्लोपटक उनी अमेरिकाको डिजिटल म्यागेजिन ‘रोड्स् एन्ड किङ्डम’ का कार्यकारी सम्पादक थिए। यात्रा, खानपान, राजनीति र विश्वका सहरहरूमा केन्द्रित यो डिजिटल म्यागेजिनमा उनले करिब ६ महिना सम्पादकीय नेतृत्व गरे। रोड्स् एन्ड किङडममा उनले नेपालसहित विभिन्न स्टोरीहरू पनि गरेका छन्।

कोलम्बिया युनिभर्सिटी स्कुल अफ जर्नलिज्मबाट पत्रकारितामा स्नातकोत्तर गरेका अनुपसँग करिब १२ वर्ष अन्तर्राष्ट्रिय मिडियाहरूमा पत्रकारिताको अनुभव छ। पत्रकारितामा पूर्णकालीन हुनुपूर्व उनले सन् २००६ मा ‘न्युजविक’ र सन् २००७ मा ‘फोर्ब्स’ मा इन्टर्नका रुपमा काम गरेका थिए।

पत्रकारिताका विद्यार्थीहरूका लागि रिपोर्टिङको अवसर दिने न्युजट्वेन्टीवनमा कार्नेज नाइट जर्नलिज्म फेलोका रुपमा उनले सन् २००८ मा मल्टिमिडिया पत्रकारिताको अनुभव हासिल गरेका थिए।

त्यसपछि उनले एट्लान्टिक मिडिया कम्पनीमा डिजिटल मिडिया फेलोका रुपमा १५ महिना काम गरे।

वासिङ्टन पोस्टमा इन्टर्नसिपका लागि दुईपटकसम्म गरेको आवेदन अस्वीकृत भए पनि उनलाई अन्तर्राष्ट्रिय नाम भने यही मिडियाले दियो।

सन् २००९ मा उनी अनलाइन प्रड्युसरका रुपमा वासिङटन पोस्ट प्रवेश गरे। सन् २००९ देखि २०११ सम्म उक्त भूमिकामा काम गरेपछि उनी वासिङटन पोस्टमै डिजिटल फरेन एडिटरका रुपमा काम थाले। सन् २०१५ सम्म (चार वर्ष) उक्त भूमिकामा रहेर काम गरेपछि उनी बजफिड न्युजमा डेपुटी फरेन एडिटर बने।

बजफिडमा उनले नेपालको भूकम्पपछिको अवस्थाबारे नेपाली भाषामा पनि रिपोर्ट प्रकाशित गरेका थिए। अन्तर्राष्ट्रिय मिडियामा नेपाली भाषामै समाचार सामग्री प्रकाशित भएको सम्भवतः यो पहिलोपटक हो।

सन् २०१७ डिसेम्बरमा उक्त काम छोडेपछि उनी डिजिटल म्यागेजिन ‘रोड्स एन्ड किङ्डम’ मा कार्यकारी सम्पादक भए।

आफूले अध्ययन गरेको अमेरिकाको टेनेसीस्थित तस्कुलम कलेज (Tusculum College) मा ग्र्याजुएसन गरेका विद्यार्थीहरूको सन् २०१२ मा भएको दीक्षान्त समारोहमा उनले आफू कसरी पश्चिम नेपालको पोखरादेखि पत्रकार बन्ने सपना बोकेर अमेरिका छिरेँ र प्रतिकूलतालाई कसरी अनुकूलतामा बदलेँ भनेर चर्चा गरेका छन्।

सुन्नुस् अडियोः

पत्रकार बन्ने सपना पूरा गर्न उनले सबैभन्दा पहिला कलेजकै पत्रिका उपयोग गरे। प्रदीप बस्याल ‘नेपाल’ म्यागेजिनमा अनुपको पत्रकारिता यात्रा बारे लेख्छन्- ‘कलेजमा चलिरहेको पत्रिका पायोनियर फ्रन्टियर बन्द हुने अवस्थामा थियो भने त्यहीँ अंग्रेजी र पत्रकारितामा स्नातक पढिरहेका एक नेपाली विद्यार्थीलाई पत्रकार बन्नु थियो। आफ्नो रहरको काम गर्न नपाएकामा थकथकी मानिरहेका उनकै आग्रहमा पत्रिका सुचारु भयो। सम्पादकको जिम्मेवारी पनि उनैले पाए। समाचार, फोटोदेखि डिजाइनसम्मका काम आफैँ गरे।

तस्कुलम कलेजमा अंग्रेजीमा स्नातक अध्ययन सकेपछि उनले कोलम्बिया युनिभर्सिटीको स्कुल अफ जर्नलिज्मबाट छात्रवृत्तिमा स्नातकोत्तर गरेका थिए।

पत्रकारिताबाहेक अनुपको अर्को रुची पनि छ। त्यो हो- खानपान। उनको अनुप्स किचेन नामको वेबसाइट छ जहाँबाट खानपानप्रति उनको लगाब जान्न सकिन्छ। यो वेबसाइटमा उनले विभिन्न परिकार बनाउने तरिका (रेसिपी) सिकाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *