१० वर्षपछि कान्तिपुरमा नारायण वाग्लेको ‘कमब्याक’


  • के छन् चुनौती ?

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘कान्तिपुर दैनिक’ को प्रधान सम्पादकमा पत्रकार नारायण वाग्लेलाई नियुक्त गरेको छ। प्रधान सम्पादक पदबाट सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरी उक्त पदमा केएमजीले कान्तिपुरकै पूर्व सम्पादक वाग्लेलाई नियुक्त गरेको हो। नारायणलाई कान्तिपुर दैनिकसहित ‘नेपाल’ म्यागेजिनको पनि प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ।

केएमजीका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयमा आयोजित कार्यक्रममा वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरेको घोषणा गरेका हुन्। आजको कान्तिपुरको पहिलो पृष्ठमा कान्तिपुरले यसबारे समाचार लेखेको छ र आजैदेखि कान्तिपुरको प्रिन्टलाइनबाट सुधीर शर्माको नाम हटेर पत्रिका नारायणको नाममा छापिएको छ।

नारायण सेतोपाटी डट कमका प्रमुख लेखक/टिप्पणीकार थिए। उनका ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ उपन्यास प्रकाशित छन्। ‘पल्पसा क्याफे’ २०६१ सालको मदन पुरस्कार विजेता उपन्यास हो।

कान्तिपुरले भारतको ‘टाइम्स ग्रुप’ का एकजना उच्च व्यवस्थापकलाई जेनेरल म्यानेजर (जीएम) नियुक्त गरेसँगै कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र काठमान्डु पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले गत बुधबार पदबाट राजीनामा दिएका थिए। पढ्नुस् : प्रधान सम्पादकहरू सुधीर र अखिलेशले किन दिए एकैपटक राजीनामा ?

काठमान्डु पोस्ट अंग्रेजी दैनिकको प्रधान सम्पादकमा भने हालसम्म कसैलाई नियुक्त गरिएको छैन।

नारायण – सुधीर : उत्तराधिकारी

संयोग नै भन्नुपर्छ- १० वर्षअघि आफूलाई सम्पादकीय नेतृत्व हस्तान्तरण गरेका नारायणलाई सुधीर शर्माले ‘उत्तराधिकारी’ बनाए। उनले स्माइलीसहित ट्विटमा लेखे- ‘हामी दुवै एकअर्काका उत्तराधिकारी।‘

निवर्तमान प्रधान सम्पादक शर्माले विगत १० वर्ष वाग्लेको उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई आफूले नेतृत्व गरेको र फेरि वाग्लेलाई नै आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा खुसी लागेको बताएको कान्तिपुरको समाचारमा उल्लेख छ। ‘उहाँ सक्षम र अनुभवी हुनुहुन्छ,’ शर्माले भने, ‘खारिएको अनुभव र योग्यताबाट वाग्लेले कान्तिपुरलाई थप उचाइमा पुर्‍याउनेमा विश्वस्त छु।’

नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफूले ‘टिम वर्क’ मा विश्वास गर्ने उल्लेख गर्दै भविष्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाइमा पुर्‍याउन सबैलाई साथ लिएर काम गर्ने बताएको समाचारमा उल्लेख छ। ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें। यसबीच मैले सँगालेको अनुभव र सिकेको सीप प्रयोग गर्नेछु,’ उनले भने।

१० वर्षअघि कान्तिपुर छोडेर गएका नारायणलाई केएमजीले १० वर्षपछि प्रधान सम्पादकका रुपमा किन ल्यायो ? केएमजीका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले‘अनुभव, इमान्दारिता र व्यवसायिकता’लाई कारण देखाएका छन्।

‘उहाँ विविध कारणले यो पब्लिकेसन्सबाट १० वर्षअघि अलग हुनुभएको थियो,’ सिरोहियालाई उद्‍धृत गर्दै कान्तिपुरको समाचारमा भनिएको छ, ‘उहाँको अनुभव, इमानदारी र व्यावसायिकताका कारण हामीले उहाँलाई फेरि फर्काएका छौं, उहाँको नेतृत्वमा कान्तिपुरले थप उचाइ लिनेछ।’

अध्यक्ष सिरोहियाले भनेको ‘विविध कारण’ के थियो जसले गर्दा १० वर्षअघि नारायण कान्तिपुरबाट अलग भएका थिए ? भित्री कारणहरू जे जे भए पनि कान्तिपुरका तत्कालीन लगानीकर्ताहरूबीचको विवाद नै मुल कारण थियो जसले गर्दा नारायणसहितका पत्रकारको ठूलो समूह कान्तिपुरबाट बाहिरिएको थियो। बाहिरिएकाहरू कति पछि कान्तिपुरमै फर्किए कति अन्य मिडियामा जमे त कतिले आफ्नै मिडिया स्थापना गरे।

तर स्थापनाकालदेखि कान्तिपुरमा रहेर पछि पाँच वर्ष सम्पादक रहेका नारायणलाई घुम्दै फिर्दै पुनः कान्तिपुर आइपुग्न १० वर्ष लाग्यो। त्यसैले कान्तिपुरका धेरै पत्रकारले लेखेका छन्- ‘१० वर्षमा खोलो फर्कियो।‘


१० वर्षपछि कसरी फर्कियो खोलो ?

२०६५ सालमा लगानीकर्ताबीचको विवादले कान्तिपुर पब्लिकेसन्स फुटेको थियो। कैलाश सिरोहिया र उनको व्यापारिक साझेदार ज्ञवाली परिवारबीचको द्वन्द्व उत्कर्षमा पुगेपछि १६ साउन २०६५ मा कान्तिपुरबाट ज्ञवाली परिवार बाहिरियो। कान्तिपुर फुट्दा अधिकांश सिनियर पत्रकारहरू ज्ञवालीतिर लागे। त्यतिबेला नारायण कान्तिपुरको सम्पादक थिए। तर नारायणसहित पत्रिकाको नेतृत्व तहमा रहेका पत्रकारहरूले ज्ञवालीलाई साथ दिए।

नारायणसहित सिरियर पत्रकारको टिमले छोडेपछि ‘नेपाल म्यागेजिन’ को सम्पादक रहेका सुधीर शर्माले कान्तिपुरको सम्पादकीय नेतृत्व लिएका थिए। जनआस्था, काठमाडौं टुडे, हिमाल लगायतमा काम गरी कान्तिपुर आएका सुधीरले ५ वर्ष नेपाल म्यागेजिन र १० वर्ष कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व गरे।

काठमाडौं पोस्टका सम्पादक प्रतीक प्रधान, कान्तिपुरका सम्पादक नारायण वाग्लेसहित गुणराज लुईँटेल, अमित ढकाल, दमाकान्त जैसी, राजेश केसीलगायतको समूह कान्तिपुरबाट बाहिरिएर ज्ञवालीको योजनामा मिसियो।

तर ज्ञवालीको प्रोजेक्ट सुरु नहुँदै मतभेद देखा पर्‍यो।

पत्रकारहरू अर्को योजनातिर लागे- ‘दैनिकी पत्रिका’ को। सुरुमा समाचार पोर्टल सुरु भयो- दैनिकी डट कम।

सुरु भएको एक महिनामै दैनिकी डट कम नेपालमा सबैभन्दा बढी हेरिने अनलाइन बनेको थियो। दैनिक पत्रिका निकाल्ने योजनासहित एक सय २० जना पत्रकार जम्मा गरेर लगानी गरेका व्यवसायी हरि श्रेष्ठको घरजग्गा व्यवसायमा पनि ठूलो लगानी थियो।

घरजग्गा व्यवसाय धराशायी भएपछि श्रेष्ठले ठूलो खर्च धान्न सकेनन् र दैनिक पत्रिका निकाल्ने योजना पाँच–छ महिनामै तुहियो ।

अब उक्त टिमसँग दुइटामात्र विकल्प थियो, छिन्नभिन्न हुने वा अर्को पुनः ज्ञवालीको योजनामा मिसिने ।

उक्त टिमले दोस्रो विकल्प रोज्यो अर्थात् ज्ञवालीको योजनामा मिसियो।

कान्तिपुरबाट छुट्टिएको केही महिनापछि ज्ञवाली परिवारले नेपाल रिपब्लिक मिडिया स्थापना गरेको थियो जसले हाल नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, नागरिकन्युज डट कमलगायत सञ्चालन गर्छ।

कान्तिपुरसँग अलग्गिएपछि नयाँ राष्ट्रिय दैनिकको तयारी थालेको ज्ञवालीको प्रकाशन संस्थाले सुरुमा युवराज घिमिरेलाई प्रधान सम्पादक नियुक्त गरेको थियो। युवराज घिमिरेले प्रधान सम्पादकको जिम्मेवारी पाए पनि प्रकाशन सुरु हुनुपूर्व नै राजीनामा दिएर हिँडिसकेका थिए।

२०६६ वैशाख ११ गते ‘नागरिक’ र ‘रिपब्लिका’ दैनिक सुरु भयो। नारायण वाग्ले ‘नागरिक’ को प्रधान सम्पादक भए।  रिपब्लिका अंग्रेजी दैनिकको सम्पादक अमित ढकाल भए। प्रतीक प्रधान न्यु रिपब्लिक मिडियाको ग्रुप सम्पादक बने।

नारायण तीन वर्ष नागरिकको प्रधान सम्पादक रहे।

वाग्लेको तीन वर्षीय कार्यकालपछि किशोर नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष प्रतीक प्रधान नागरिकको प्रधान सम्पादक बने।

प्रतीक प्रधानको राजीनामापछि गुणराज नागरिक दैनिकको पाँचौँ सम्पादक नियुक्त भए।

यसरी १० वर्षअघि कान्तिपुरको सम्पादक छँदा लगानीकर्ताबीच आएको विवादमा ज्ञवालीको पक्षमा उभिएका नारायण १० वर्षपछि पुनः कान्तिपुरमा प्रधान सम्पादक बनेर भित्रिए।

२५ वर्षमा पाँचौ सम्पादक*

कान्तिपुरका निवर्तमान प्रधान सम्पादक सुधीर शर्मा, अ्ध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहिया र नवनियुक्त प्रधान सम्पादक नारायण वाग्ले। फोटोः kantipurdaily.com

श्याम गोयन्काको नेतृत्वमा ७ फागुन ०४९ देखि ‘कान्तिपुर’ र ‘काठमाडौं पोस्ट’ को प्रकाशन थाली कान्तिपुर पब्लिकेसन्सको थालनी भएको थियो। प्रकाशन सुरु भएको केही समयमै श्याम गोयन्का कान्तिपुरबाट बाहिरिए। गोयन्का किन बाहिरिएका थिए ? र, हाल उनी के गर्दैछन् ? पढ्नुस् : कान्तिपुरका संस्थापक श्याम गोयन्का २५ वर्षपछि मिडियामा फर्कँदै

आज कान्तिपुर मिडिया ग्रुपका रुपमा कान्तिपुर मुलुकको सबैभन्दा ठूलो सञ्चारमाध्यम बनेको छ। दैनिक पत्रिका, म्यागेजिन, टेलिभिजन र रेडियो हुँदै डिजिटल पत्रकारितामा समेत उसको प्रभाव छ।

कान्तिपुरबाटै छुटेर नेपाल रिपब्लिक मिडिया स्थापना गरी ‘नागरिक’ र ‘रिपब्लिका दैनिक’ प्रकाशन थालेको ज्ञवाली परिवारले ९ वर्षमा पाँचजना सम्पादकको परीक्षण गरिसक्यो तर सिरोहिया परिवारले भने स्थापनाको २५ वर्षमा बल्ल पाँचौ सम्पादक फेरेको छ।

संस्थापक सम्पादक योगेश उपाध्याय संस्थापक सम्पादक थिए। उनीपछि युवराज घिमिरे प्रधान सम्पादक बने। त्यसपछि नारायण कान्तिपुरको सम्पादक बने। नारायणपछि सुधीर र सुधीरपछि पुनः नारायण नै कान्तिपुरको नेतृत्वमा पुगे।

नारायणका चुनौती

प्रधान सम्पादकका रुपमा कान्तिपुरमा कमब्याक गरेका नारायणका चुनौती पनि कम छैनन्।

सुधीर र अखिलेशले राजीनामा दिँदै गर्दा कान्तिपुरले भारतीय लगानी भित्र्याएको हल्ला/चर्चा/अनुमान मिडिया बजारमा छ। त्यो हल्ला र अनुमानमात्र हो वा त्यसमा सत्यता पनि छ ? यो प्रश्न जवाफ उनी आफैले आफूलाई त दिनुपर्ने छ।  यदि त्यस्तो हो भने त्यसको असर कान्तिपुरका सामाचार सामग्रीमा पर्छ कि पर्दैन ? कतै कान्तिपुर पनि ‘टाइम्स अफ इन्डिया’ जस्तो बजारको मुखपत्रमात्र हुने त होइन जुन पेड न्युजका लागि (बद)नामी छ ?  यी र यस्ता प्रश्नहरूको जवाफ नारायणले आफ्नो सम्पादकीय कौशलताबाट दिने नै छन्।

त्यसबाहेक हालै प्रधान सम्पादकहरूले राजीनामा दिएपछि कान्तिपुरका सिनियर पत्रकार पनि ‘काम गर्ने/नगर्ने अन्योलको अवस्थामा रहेको’ बताउँथे। कान्तिपुरमा जीएम बनेर भित्रिएका रजनीश ऋखीले सम्पादकीय कक्षमा हस्तक्षेप गर्ने त होइनन् भन्ने शंका पत्रकारहरूमा छ। सम्पादकीय कक्षलाई व्यवस्थापकीय प्रभावबाट मुक्त राख्नु उनको अर्को चुनौती हुनेछ।

नारायण प्रधान सम्पादक बनेर आउनासाथै कान्तिपुरका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएको चर्चा छ। यदि उनले राजीनामा दिएका हुन् भने समाचार कक्षको नेतृत्व उनले कसलाई छान्नेछन् ? टिम व्यवस्थापन उनले कसरी गर्नेछन् भन्नेले पनि कान्तिपुरका समाचार सामग्रीको गुणस्तर मापन गर्नेछ। यो उनको अर्को चुनौती हुनेछ।

कान्तिपुर एक नम्बर पत्रिका हुँदाहुँदै पनि कतिपय गम्भीर विषयहरूमा उसका आग्रहपूर्वाग्रह झल्किएका हुन्छन्। पछिल्लोपटक सुमार्गी प्रकण र गोपाल पराजुली प्रकरणमा त कान्तिपुर नाङ्गो रुपमा नै लागेको थियो। केही दिनअघि समाचार ठोक्ने र केही दिनमै विज्ञापन छापेर उसैलाई बोक्ने प्रवृत्ति पनि यदाकदा कान्तिपुरमा देखिएकै हो। यी र यस्तै कतिपय कभरेजका कारण कान्तिपुरको विश्वसनीयतामा गम्भीर प्रश्न पनि उठेको छ। यो स्थितिबाट कान्तिपुरलाई विश्वसनीय पत्रिका बनाउन उनको सम्पादकीय नेतृत्व कति सक्षम हुनेछ, यसका पाठकहरूले चासोपूर्व पर्खिनेछन्।

मुलुकमा दुई तिहाइको शक्तिशाली सरकार छ। भनिन्छ, मिडिया प्रतिपक्ष हो। तर मिडियाहरू सरकारको भजनमात्र गाइरहेका त होइनन् ? भन्ने आवाज पनि उठिरहेको छ। कताकता सम्पादकहरू परिवर्तनमा समेत राजनीतिक गन्ध देखिएको चर्चाका बीच नारायण कान्तिपुरको प्रधान सम्पादक बनेका छन्। त्यसैले अवश्य पनि उनको चुनौती हुनेछ कि उनले कसरी पहुँचमा रहनेहरूलाई प्रश्न गरी जवाफदेही बनाउने पत्रकारितालाई अगाडि बढाउनेछन्। एक नम्बर पत्रिका कान्तिपुरलाई बजार र राजनीतिबाट जोगाउनु अर्को चुनौती हुनेछ।

२०७२ सालमा भएको ‘नेपाली मिडियामा सेल्फ सेन्सरसिप’ कार्यक्रममा नारायण वाग्लेले एउटा गम्भीर विषय उठाएका थिए।

उनले भनेका थिए-

‘४६ सालपछि आर्थिक उदारीकरण आयो। ठूलाठूला उपभोग्य सामान आए। हस्पिटल नयाँ, स्कुल नयाँ र संस्कृति नयाँ। लगानी बढ्यो। सूचनाका लागि प्रतिस्पर्धा पनि भयो। मिडिया बढे। समाज नै अर्को धारतिर गयो। तर अन्ततः गहिरिएर हेर्दा के भयो त? फेरि पनि त्यो बजारले हामीलाई नराम्रोसँग गाँज्यो। पकडमा लियो। हाम्रो प्रेस जगतलाई पञ्जामा पार्‍यो। त्यसले हामीलाई उन्मुक्ति हुनै नदिनेजस्तो भयो। त्यसले हामीलाई राम्रोसँग समाचार लेख्नै दिँदैन। त्यसको जरा यसरी फैलिएको छ कि समाचार लेख्नै सकिन्न।’

पढ्नुस् : पहिले राजनीतिले समाचार लेख्‍न दिएन, अहिले बजारले

बजारको पञ्जामा परेको हाम्रो पत्रकारितालाई उठाउन नारायणले कस्तो नेतृत्व दिनेछन् ? मूलतः कान्तिपुरका पत्रकारले त्यो स्थितिको सामना गर्न नपर्ने स्थिति बनाउन उनी सफल होलान् ? पत्रकारिता र समाचार सामग्री धेरै भए पनि ‘अनुसन्धान गरिएको, खोजबिन गरिएको र कडा प्रश्न तेर्स्याइएको पत्रकारिता असाध्यै न्युन’ रहेको उनले बताएका थिए। ‘सूचना टन्न छ तर सान्दर्भिकता छैंन। जवाफ छ तर प्रश्न छैन। विस्तृत छ तर औचित्य छैन। यस्तो पत्रकारिता त हामीले खोजेको होइन’, उनको भनाई थियो। के हामीले खोजेको पत्रकारिता उनले पस्किन सक्लान् ?

नेपाली पत्रकारिताले आउँदा दिनमा प्रधान सम्पादक नारायणसँग यी प्रश्नको जवाफ मागिरहनेछ।

प्रधान सम्पादक नारायण वाग्लेलाई शुभकामना।


* कान्तिपुरका सम्पादकहरूको सूचीमा युवराज घिमिरेको नाम छुट्न गएकोले भूलसुधारसहित थपिएको।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.