संकटमा कान्तिपुर : प्रधान सम्पादकहरू सुधीर र अखिलेशले किन दिए एकैपटक राजीनामा ?


सम्पादकहरूको राजीनामाको खास कारण नखुल्ने हाम्रो मिडिया वृत्तमा पुनः एकपटक प्रश्न उठेको छ- मुलुकको सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका दुई पत्रिकाको एक दशक नेतृत्व गरेका प्रधान सम्पादकहरूले अचानक किन राजीनामा दिए ?

मिडिया बजारको करिब एक साता लामो हल्लालाई सही साबित गर्दे अन्ततः मुलुकको ठूलो मिडिया हाउस ‘कान्तिपुर मिडिया ग्रुप’ का ‘कान्तिपुर दैनिक’ का प्रधान सम्पादक सुधीर शर्मा र ‘काठमान्डू पोस्ट दैनिक’ का प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका छन्।

मंगलबार राजीनामा बुझाएर आआफ्ना सहकर्मीहरूलाई जानकारी गराएका उनीहरूले बुधबार व्यवस्थापनसहितको संयुक्त अनौपचारिक बैठकमा धन्यवाद आदानप्रदान गरेका छन्। सँगसँगै राजीनामा बुझाएका सुधीर र अखिलेशले त्यसलाई सार्वजनिक पनि संयुक्त रुपमा नै  गरेका छन्।

धन्यवाद आदानप्रदान कार्यक्रमपछि उनीहरूले ट्‍विटरमा एकअर्कालाई ‘मेन्सन’ गर्दै आफूहरूले पदबाट राजीनामा दिएको सार्वजनिक गरेका छन्।

सुधीरले ट्‍विटमा भनेका छन्- ‘अहिलेको घडी र विगत १० वर्षको उतारचढावपूर्ण यात्रामा सदैव साथ दिनुहुने श्रद्धेय पाठकहरू, साथी, सहयोगी, शुभेच्छुक एवम् कान्तिपुर परिवारका सबै सहकर्मीहरुप्रति हाम्रो आभार।‘

अखिलेशले पनि सोही भावको ट्विट गरेका छन्।

उनीहरूको राजीनामासँगै अब कान्तिपुर मिडिया ग्रुपले ‘कान्तिपुर’ र ‘काठमाडौं पोस्ट’का लागि प्रधान सम्पादक नयाँ नियुक्त गर्छ वा अहिलेकै सम्पादकीय टिमबाट कसैलाई नेतृत्वमा अगाडि बढाउँछ भन्ने चासो बढेको छ। तर त्यसभन्दा बढी दुई प्रधान सम्पादकले राजीनामा किन दिए भन्नेमै मिडिया बजार तातेको छ।

भारतीय लगानीदेखि सम्पादकको सर्टिफिकेटसम्मको ‘हल्ला’

मुलुकको शक्तिशाली मिडिया हाउसमा एक दशकदेखि सम्पादकीय नेतृत्व सम्हालिरहेका उनीहरूले अचानक किन राजीनामा दिए भन्ने प्रश्नसँगै केही ‘हल्ला’ समेत सतहमा आएका छन्। हल्लाको केन्द्रमा छन्- ‘भारतीय लगानी’‘प्रधान सम्पादकको शैक्षिक योग्यता।’

सम्पादकहरूको राजीनामा प्रकरणको कारणसँग जोडिएर चलेका यी दुबै हल्लाको तुक नरहेको बताउनेहरू त छँदैछन्। भारतीय लगानीवाला ‘हल्ला’ को पछाडि दम रहेको मान्नेहरू पनि उत्तिकै छन्। तर सम्पादकको शैक्षिक योग्यतासम्बन्धी हल्लालाई पत्याउनेहरू भने खासै भेटिएनन्।

पहिलो हल्ला मूलतः कान्तिपुर मिडिया ग्रुपमा हालै ‘टाइम्स ग्रुप’, ‘आजतक’ लगायतमा रिभेन्यु तथा व्यवस्थापकीय भूमिकामा रहेर कार्यरत रजनीश रिखी (Rajnish Rikhy)* लाई जेनेरल म्यानेजर (जीएम) नियुक्त गरिएपछि चलेको हो जसलाई सम्पादकहरूको राजीनामा प्रकरणसँग जोडेर हेरिएको छ।

दोस्रो हल्ला भने कान्तिपुरमा सुधीरसँग असन्तुष्ट रहेकाहरूले चलाएको कान्तिपुरकै पत्रकार बताउँछन्। ‘जाँदाजाँदै सुधीरलाई विवादमा तान्न न्युजरुममा नेता बन्ने एकादुई व्यक्तिले गरेको प्रोपगन्डामात्र हो’, कान्तिपुरका एक पत्रकार भन्छन्, ‘उनी एकाएक कान्तिपुरको सम्पादक बनेका हुन् र छोड्ने बेलामा शैक्षिक योग्यताको विषय उठ्ने ?’

कान्तिपुर र काठमान्डू पोस्टका प्रधान सम्पादकहरूको बहिर्गमन प्रकरणबारे समाचार लेखेका अनलाइन समाचार पोर्टलमा पनि मूलतः यी दुई विषयलाई केन्द्रमा राखेको देखिन्छ।

राजीनामाबारे न्युजरुम ब्रिफिङ

मंगलबार राजीनामा दिएपछि कान्तिपुरका प्रधान सम्पादक सुधीर र काठमान्डू पोस्टका प्रधान सम्पादक अखिलेशले आफ्ना सहकर्मीहरूलाई त्यसबारे छुट्टाछुट्टै ‘ब्रिफ’ गरेका थिए।

सुधीरले सहकर्मीहरूसँग ‘विभिन्न परिस्थितिले काम गर्न अनुकूल नलागेको’ बताएका थिए। आफू बाहिरिए पनि संस्थामा सम्पादकीय स्वतन्त्रता हुने कुरामा भने आफू विश्वस्त रहेको उनले बताएको कान्तिपुरका एक पत्रकारले जानकारी दिए।

‘विभिन्न परिस्थितिले काम गर्न अनुकूल लागेन’, त्यहाँ सहभागी एक पत्रकारले उनलाई उद्‍धृत गरे, ‘तर यहाँ सम्पादकीय स्वतन्त्रता हुनेछ कुरामा म विश्वस्त छु।‘

सम्पादकहरू भएनन् ‘कन्भिन्स’

मंगलबारको ‘न्युजरुम मिटिङ’ मा प्रधान सम्पादक सुधीरले नेपाल म्यागेजिनमा ५ वर्ष र कान्तिपुर दैनिकमा १० वर्ष काम गर्दा आफूले थुप्रै ‘असमझदारीहरू फेस गरेर आएको’ बताएका थिए।

‘प्रकाशक-सम्पादकबीच असमझदारीहरू हुन्छन् तर कसको ‘कन्भिन्सिङ पावर’ बढी हुन्छ उसलाई फलो गरेर जाने कुरा हुन्छ’, उनलाई उद्‍धृत गर्दै बैठकमा सहभागी एक पत्रकारले भने, ‘कुनै कुरामा विवाद भयो भने मैले कन्भिन्स गर्न सकेँ भने प्रकाशक मेरो पक्षमा आउँछन् भने प्रकाशकले कन्भिन्स गर्न सक्नुभयो भने हामीले फलो गर्ने भयौँ।‘

विगतमा यसरी नै समझदारी हुने गरेको भए पनि यसपटक कसैले कसैलाई कन्भिन्स गर्न नसकेको उनको भनाई थियो।  ‘यसपटक भने एकअर्कालाई कन्भिन्स गर्न सक्ने स्थिति भएन’, उनले भनेका थिए, ‘मलाई यसो भन्दा गाह्रो भइरहेको छ, म अब यो संस्था र तपाईँहरूको शुभेच्छुकका रुपमा रहन्छु।‘

उनले के विषयमा आफूले प्रकाशकलाई र प्रकाशकले आफूलाई कन्भिन्स गर्न असमर्थ भएको भन्नेबारे भने बैठकमा प्रष्ट नबताएको बैठकका सहभागीको भनाई छ। ‘तर उहाँको संकेत भारतीय नागरिकलाई जीएम बनाइएकोतर्फ नै थियो’, ती पत्रकारको भनाई छ। सुधीर र अखिलेश दुबैजना नयाँ जीएम मातहत रहेर काम नगर्ने निष्कर्षमा पुगेपछि राजीनामा दिएको उनको बुझाई छ।

निस्कने मौका ?

कान्तिपुरकै अर्का एक पत्रकारको बुझाइमा सुधीर धेरै पहिला नै जिम्मेवारीबाट मुक्त हुन चाहेका थिए, अहिलेको परिस्थिति उनका लागि उपयुक्त मौका बन्यो।

‘उहाँले छोड्ने भन्ने नै थियो पहिलादेखि नै’, उनको भनाई छ, ‘यो उहाँका लागि निस्कने गतिलो मौका बन्यो।‘ उनको भनाईमा सुधीरसँग अखिलेशले पनि ऐक्यबद्धता जनाए।

‘उहाँहरूको कुरा के रह्यो भने (रजनीश रिखीलाई जीएम बनाउने निर्णय) ब्याक गर्ने हो भने हामी रहन्छौँ नत्र रहन्नौँ तर प्रकाशक र सम्पादकहरू कोही पनि ब्याक हुन चाहेनन्’, उनको भनाई छ।

धन्यवाद बैठक

बुधबार दिउसो १ बजेको बैठकमा अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियासहित कान्तिपुर मिडिया अन्तर्गतका सबै सम्पादकीय नेतृत्व र ब्यूरो सम्पादकहरू सहभागी थिए। करिब ३० मिनेट चलेको उक्त बैठक मूलतः धन्यवाद आदानप्रदान कार्यक्रम थियो।

अध्यक्ष सिरोहियाले ‘उहाँहरूले व्यक्तिगत कारणले छोड्दै हुनुहुन्छ, अरु कारण छैन’ भनेका थिए।

बैठकमा सहभागी पत्रकारका अनुसार ‘फिर्ता लिनुस् (राजीनामा) समय छ’ भन्दै रमाइलो समेत भएको थियो।

किन आए रजनीश ?

भारतको टाइम्स ग्रुपको लगानी रहेको ‘टाइम्स अफ इन्डिया’ को उच्च तहमा रहेर काम गरेका रजनीशलाई कान्तिपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियापछिको हैसियतसहित जेनेरल म्यानेजर पद दिएर कान्तिपुरमा ल्याइएको चर्चा छ। कान्तिपुरले यसबारे पाठकलाई औपचारिक जानकारी दिएको छैन।

स्रोतका अनुसार उनी एकचरण यहाँ बजार अध्ययन भ्याएर टाइम्स अफ इन्डियामा बुझबुझारथ गर्न भारत गएका छन्।

टाइम्स अफ इन्डिया, आजतक लगायतका मिडियामा उच्च तहमा रहेर काम गरेका उनलाई भित्र्याउन कान्तिपुरले दुई वर्षदेखि प्रयास गरेको स्रोतको दावी छ। ‘टाइम्स ग्रुप र आजतकमा चारगुणासम्म रिभेन्यु (आय) बढाउन सफल उनलाई कैलाश (कान्तिपुरका अध्यक्ष) ले दुई वर्षदेखि नै ल्याउन खोज्नुभएको थियो’, स्रोतको भनाई छ, ‘दुई वर्षमा आय दोब्बर बनाउने र आफू मुनी रहेर समग्र व्यवस्थापन हेर्ने गरी रजनीशलाई जिम्मेवारी दिनुभएको हो।‘

उनी लगानीसहित आएका हुन्  ?

मिडिया कुराकानीको सम्पर्कमा आएका कान्तिपुरका अधिकांश पत्रकार के भय/शंकामा छन् भने राजनीश लगानीसहित कान्तिपुर भित्रिएका हुन्। सम्पादकहरूको राजीनामाको कारण पनि यही रहेको उनीहरूको दावी छ। यसले पत्रकारितालाई नै संकटमा पार्ने त होइन भन्ने भय उनीहरूमा देखिन्छ।

के यो शंकामा सत्यता होला ? हामीले सम्पर्क गरेका स्रोतहरूको यसमा फरक फरक धारणा छ।

‘बजारमा टाइम्स अफ इन्डिया र भारतीयले कान्तिपुरमा लगानी गरे भन्ने जुन कुरा छ, यो सरासर झूट कुरा हो’, एक स्रोतको भनाई छ। यो स्रोतको भनाईमा अध्यक्ष कैलाश र उनका छोरा सम्भव पछि कान्तिपुरमा कम्पनी हेर्ने व्यक्तिको अभाव थियो। ‘उहाँहरूसँग दुईजना एजीएम थिए तर उहाँलाई त्यस्तो मान्छे चाहिएको थियो जसले ओभरअल बिजनेस हेरोस्, त्यसैका लागि रजनीश आइपुगे’, स्रोतको भनाई छ।

व्यवस्थापनमा नयाँ व्यक्ति आएपछि सम्पादकीय स्वतन्त्रतालाई विषय बनाएर प्रधान सम्पादकहरूले पद त्यागेको व्यवस्थापननिकट यो स्रोतको दावी छ। र, यो सँगै भारतीय लगानीको हल्ला फैलाइएको दावी उनको छ।

‘भारतीय मिडियाको एक कुशल व्यवस्थापक कान्तिपुरको व्यवस्थापन हेर्न आएको मात्र हो, लगानी होइन’, स्रोतको भनाई छ, ‘उहाँ आर्थिक रुपमा आफै सक्षम हुनुहुन्छ। बाहिरको लगानी ल्याउने आवश्यकता छैन।‘

भारतको कर्पोरेट मिडियामा ‘पेड न्युज’ मा (बद)नाम कमाएको ‘टाइम्स अफ इन्डिया’ कै हालत कान्तिपुरको पनि हुने त होइन भन्ने चिन्ता कतिपय पत्रकारमा देखिन्छ ।

र, जोडियो ‘राजनीति’

समाचार पोर्टलहरू पढ्दा प्रधान सम्पादकहरुको राजीनामा प्रकरण राजनीतिकरण भएको प्रष्ट देखिन्छ। मिडिया कुराकानीले सम्पर्क गरेका स्रोतहरूले पनि यो विषय राजनीतिकरण भएको स्वीकार गरे।

जस्तो बाह्रखरीले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमणबारे कान्तिपुरमा सुधीर शर्माले लेखेका समाचार सामग्रीमाथि अध्यक्ष कैलाश सिरोहियालाई भेटेर असन्तुष्टि राखेको उल्लेख गरेको छ।

प्रधान सम्पादकहरूको राजीनामामा ‘सरकारी दबाब र भारतीय लगानीको इस्यु मुख्य कारण रहेको उसको हेडलाइन छ।

यही विषयमा माइसन्सारले कान्तिपुरमा १० वर्षपछि सम्पादकीय ‘सत्ता परिवर्तन’ हुँदा राजनीतिको गन्ध शीर्षकमा ब्लग पोस्ट गरेको छ।

माइसन्सारले सातादिनदेखि सम्पादकहरूको राजीनामाबारे कसरी हल्ला चल्यो र प्रधान सम्पादक सुधीर शर्मालाई कसरी बदनाम गर्न खोजिएको छ भन्नेबारे विस्तृत उल्लेख गरेको छ।

कतिपय स्रोतहरूको दावी के छ भने सम्पादकहरूले राजीनामा दिनुपूर्व एक समूह कान्तिपुरमा भारतीय लगानी भित्रियो भन्दै प्रचण्डकहाँ र एक समूह कान्तिपुर चीनतिर ढल्कियो भन्दै ओलीकहाँ पुगेको थियो। यद्यपि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।

‘सम्पादकीय नेतृत्व’ कति सफल ?

मुलुकको राजनीतिक/सामाजिक जीवनको महत्वपूर्ण समयमा सम्पादकीय नेतृत्वमा रहेका सुधीर र अखिलेशको मूल्यांकन नेपाली पत्रकारिताले कसरी गर्ला ? उनीहरू सम्पादक छँदा छापिएका समाचारको विश्लेषण पाठक र मिडियाका विद्यार्थीहरूले फाइल पल्टाएर गर्ने नै छन्। तर सुधीरका पूर्व सहकर्मीले उनलाई सोसल मिडियामा सम्झिएका छन्।

पहिलोपोस्टले ‘सुधीर शर्मा कान्तिपुरको सबैभन्दा सफल सम्पादक रहेको’ लेखेको छ।

नेपाल म्यागेजिनका सहायक सम्पादक बसन्त बस्नेतले सुधीरलाई यसरी सम्झिएका छन्-

कान्तिपुरका एक पत्रकारको भनाईमा सुधीरलाई टिम व्यवस्थापन, स्वतन्त्रता र काम गर्ने वातावरण निर्माणका सन्दर्भमा कान्तिपुरका पत्रकाले सधैँ सम्झिरहनेछन्। ‘फेरि त्यस्तो वातावरण सायदै पाइन्छ होला’, उनको शंका छ।

तर अर्का एक पत्रकारको भनाईमा कतिपय मुद्दाहरूमा कान्तिपुरले सम्पादकीय नियन्त्रण गुमाएको थियो। ‘तपाईँ प्रधान न्यायाधीश प्रकरण र सुमार्गी प्रकरणमा आएका समाचार सामग्रीमात्रै हेर्नुभयो भने पनि कान्तिपुरले सम्पादकीय नियन्त्रण गुमाएको त होइन ? भन्ने शंका हुन्छ’, पछिल्ला दुई प्रकरणको उदाहरण दिँदै उनी भन्छन्।

काठमान्डू पोस्टका प्रधान सम्पादक अखिलेशलाई कसरी सम्झनेछन् उनका सहकर्मीहरू ? ‘उहाँमा भूराजनीतिक बुझाई तीक्ष्ण छ। भाषा समकालीद्द सम्पादकहरूमध्ये सबैभन्दा राम्रो छ’, उनीसँग काठमाडौं पोस्टमा लामो समय काम गरेका एक पत्रकार भन्छन्, ‘सबैसँग खुला छलफल गर्ने र मनमा लागेको कुरा भन्ने/सुन्ने उहाँको बानी छ। कुनै पनि कुरालाई व्यक्तिगत रुपमा नलिने उहाँको ठूलो गुण हो। हरेक कुरालाई प्रोफेसनल हिसाबले हेर्नुहुन्छ।‘

अब के हुन्छ ?

बुधबारको धन्यवाद आदानप्रदान बैठकमा अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय नेतृत्व संक्रमणमा रहेको बताएको नेपालखबरको समाचारमा उल्लेख छ। अर्थात् कान्तिपुर दुई सम्पादकहरूले छोडेको अवस्थाबाट नयाँ नेतृत्व छनोटतिर उन्मुख भएको छ।

सम्पादकहरूले राजीनामा दिएको सार्वजनिक घोषणा गरेपनि प्रिन्टलाइनमा उनीहरूकै नाम छ। सम्भवतः अब नयाँ प्रधान सम्पादकको टुंगो लागेपछि मात्रै सुधीर र अखिलेशको औपचारिक विदाई हुनेछ।

कान्तिपुर दैनिकको दैनन्दिन सम्पादकीय जिम्मेवारी केही महिनादेखि नै सम्पादक हरिबहादुर थापाले हेरिरहेका छन्। तर काठमाडौं पोस्टमा भने नेतृत्व अभाव छ।

नेतृत्व अभावको स्थितिबाट मुलुकको ठूलो मिडिया हाउस कान्तिपुर चाँडै मुक्त हुनेछ र बजारमा चलेका अनुमान/हल्ला/चर्चाको पाठकलाई चित्त बुझ्दो जवाफ दिनेछ भन्ने आशासम्म गर्न सकिन्छ।

यदि बाहिर चर्चा चलेजस्तो चोर दुलोबाट लगानी आएको हो वा कान्तिपुरलाई नेपालको ‘टाइम्स अफ इन्डिया’ वा सोसरह बनाउन लागिएको हो भने चाहिँ पाठक सचेत बन्नैपर्छ। भलै त्यसको झल्को पत्रिकामा देखिने नै छ, पत्रकार ध्रुवहरि अधिकारीले भनेजस्तै –


*भूलबस यसअघि रजनीश गोयल भएकोमा सच्याइएको। 

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.