गल्ती सच्याउँदा मिडियाको विश्वसनीयता बढ्छ


ए.एस. पनीरसेल्भन सन् २०१२ देखि भारतीय पत्रिका ‘द हिन्दु’ का रिडर्स एडिटर छन्। तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेका पनीरसेल्भन हिन्दुमा छापिएका समाचार सामग्रीमा भएका गल्ती पत्ता लगाउँछन्, भूलसुधार छाप्छन् र त्यसमाथि हिन्दुमै टिप्पणीहरू लेख्छन्। विगतमा ‘दिस इज इन्डिया’, ‘आउटलुक’, ‘सन टेलिभिजन नेटवर्क’ लगायतका मिडियामा विभिन्न भूमिकामा रहेर काम गरेका उनी हाल पानस साउथ एसियाका कार्यकारी निर्देशक पनि हुन्। पनीरसेल्भनसँग समाचार सामग्रीमा हुने गल्तीको भूलसुधार, त्यसको विधि र मिडियाको विश्वसनीयता वृद्धिमा त्यसको प्रभावका बारेमा रविराज बरालले गरेको कुराकानी :


रिडर्स एडिटरको अवधारणा के हो ? हिन्दु पत्रिकामा त्यो कसरी आयो ? 

‘न्युज अम्बुड्स्म्यान’ को अवधारणा एक सय वर्ष लामो छ। १९२० को दशकमा जापानबाट सुरु भए पनि यसको खास प्रयोग भने अमेरिकाबाट भयो। अमेरिकामा छापाको स्वर्णीम युग मानिने १९६० र ७० को दशकमा त्यहाँ सबैभन्दा धेरै न्युजपेपर अम्बुड्सम्यान थिए। तर, डिजिटल युगको सुरुवातपछि जब छापामाध्यमको विक्री घट्यो, उनीहरूले अम्बुड्स्म्यान पनि हटाए। भारतमा अम्बुड्स्म्यान १९८० को दशकमा ‘टाइम्स अफ इन्डिया’ ले सुरु गरेको थियो। सर्वोच्च अदालतका प्राधानन्यायाधीश पीएन भगवतीलाई ‘टाइम्स अफ इन्डिया’ को अम्बुड्स्म्यान बनाइयो। तर, त्यो प्रभावकारी भएन। ‘द हिन्दु’ ले २००६ देखि रिडर्स एडिटर नाममा अम्बुड्स्म्यान सुरु गर्‍यो। हिन्दुको मोडल बेलायती पत्रिका ‘गार्डियन’ को मोडेलसँग मिल्दोजुल्दो छ न कि अमेरिकी मोडलसँग। हाम्रो टर्म्स अफ रिफरेन्स पनि गार्डियनबाटै प्रभावित छ। त्यतिबेला हिन्दुको रिडर्स एडिटरको अफिस सेट अप तथा सहयोगका लागि गार्डियनका रिडर्स एडिटर चेन्नईमै आएका थिए। हिन्दुले अम्बुड्स्म्यानको अभ्यास गरेको १२ वर्ष पुगेको छ। हिन्दुमा पनि मुलतः समाचार सामग्रीका बारेमा आउने पाठक गुनासोको व्यवस्थित सम्बोधन र गल्ती सच्याउने तत्परताका लागि यो सुरु गरिएको हो। हाम्रो टिममा तीनजनामात्र छौं। मसँग एकजना डेपुटी एडिटर र एकजना चिफ सब एडिटर हुनुहुन्छ।

कतै पब्लिक एडिटर पनि भनेको देखिन्छ। तपाईं रिडर्स एडिटर हुनुहुन्छ। कसैले अम्बुड्स्म्यान भन्छन्। यी फरक फरक चिज हुन् वा एउटै हुन् ?  

यो भूमिकामा पनि भर पर्ने कुरा हो। तर, मूलतः यी सबै स्वतन्त्र अम्बुड्स्म्यानहरू हुन्। देशअनुसार नाम फरकफरक राखिएको मात्र हो।

यसखालको भूमिका किन आवश्यक पर्‍यो, जबकि मिडियामा सम्पादनका विभिन्न चरणहरू पार गरेरै समाचार उत्पादन तथा प्रकाशन प्रसारण भइरहेको हुन्छ ?    

तपाईंले भन्नुभएको सम्पादनको चरणले छाप्ने बेलासम्मका लागि मात्र काम गर्छ। अम्बुड्स्म्यान मूलतः प्रकाशित भइसकेपछिको काम हो। अर्थात्, समाचार सामग्री उत्पादनको चरण सकिएर प्रकाशन भइसकेपछि गरिने काम अम्बुड्स्म्यानको हो। जब हामी केही गल्ती छाप्छौं, त्यसलाई सच्याउने संयन्त्र अम्बुड्स्म्यान हो। पत्रकारिताको डेडलाइन हुन्छ। समयको दबाबमा काम गर्ने क्रममा गल्ती हुनु स्वाभाविक र सामान्य हो। काम गर्दा मानवीय त्रुटि हुन्छ। तर, हामी पाठकसँग जवाफदेही हुनुपर्छ र पारदर्शी हिसाबले भन्नुपर्छ कि हामीले यहाँनेर गल्ती गर्‍यौं, खासमा हुनुपर्ने यस्तो थियो तर यस्तो भयो। गल्ती स्वीकार गर्नु हाम्रो कर्तव्य हो। र, हरेक मिडियालाई त्यस्तो व्यक्ति चाहिन्छ जसले संवाददाता र पत्रकारहरूलाई बोलाएर भन्न सकोस् कि — हेर्नुस्, यो सही होइन, खासमा हुनुपर्ने यस्तो हो। त्यसैले अम्बुड्स्म्यानको अर्थ के हो भने हामीसँग त्यस्तो व्यक्ति होस् जसलाई पाठकहरूले उक्त पत्रकिा वा मिडियामा छापिएका समाचार सामग्रीका बारेमा आफूलाई लागेका कुरा लेख्न सकुन्।

उसो भए पत्रकारितामा हुने ‘गेट किपिङ’ ले आफ्नो काम ढंगले गर्न नसकेर यस्तो गर्नुपरेको हो ?  

होइन। त्यसरी पनि बुझ्नु भएन। हामीले के स्वीकार्नुपर्‍यो भने पत्रकारिता पेसासँग समयको दबाब हुन्छ। चाहे यसको फर्म्याट जे सुकै होस्, तपाईं दैनिक पत्रिकाका लागि लेख्नुस् वा साप्ताहिक पत्रिकामा वा मासिक पत्रिका नै किन नहोस्, रेडियो, टेलिभिजन हरेकको आफ्नो डेडलाइन हुन्छ। जब निश्चित समयसीमाभित्र काम सक्नैपर्ने दबाब हुन्छ, हामीले के स्वीकार्नुपर्छ भने हामी मान्छे हौं र हामीबाट गल्ती हुन्छ। जब हामी केही कुरा गलत छाप्छौं, त्यसलाई सच्याउनुपर्छ। त्यसैले अहिले भएको सिस्टम कमजोर भयो भन्ने होइन कि बरु यो सिस्टमलाई अझ बलियो बनाउन अम्बुडस्म्यान चाहिएको हो।

समाचार उत्पादनको चरणमा के कस्ता कमजोरीहरू हुन्छन्, जसले गर्दा हामी गल्ती छाप्छौं ?  

मुख्य रूपमा बारम्बार दोहोरिरहने केही कुरा छन्। पहिलो, बेनामे स्रोत। हामी समाचारलाई पुष्टि गर्न कतिसम्म र कहिलेसम्म बेनामे स्रोतको भर पर्ने भन्ने कुरा हुन्छ। हाम्रो समाचारमा सबैभन्दा ठूलो समस्या यो हो। दोस्रो, शक्तिमा रहेकाहरूले बोलेका कुरा र उनीहरूको दाबीको सत्यापन गर्न हामीसँग पर्याप्त समय छ कि छैन भन्ने हो। जस्तो कि अर्थमन्त्रीले वैदेशिक व्यापारमा ६ प्रतिशत वृद्धि हुँदैछ भने। बेलुका फेरि ७ प्रतिशत भने। अब तपाईंसँग राष्ट्र बैंकसँग यसको सत्यता जाँच गर्ने समय नहुन सक्छ। डेडलाइनका कारण पनि सत्यता परीक्षण गर्न नभ्याउने अवस्था हुन सक्छ। संवाददाताका रूपमा तपाईंले अर्थमन्त्रीले बोलेको कुरा त इमानदारीपूर्वक लेख्नुभयो। तर गल्ती त भयो। अब हामी समाचार छापिएपछि त्यसको वास्तविकता के हो भनेर भेरिफाई (सत्यापन) गर्छौं र गल्ती स्वीकार्दै लेख लेख्छौैं। हामीले गर्ने भनेको यही हो।

तपाईंहरूको कामले ‘द हिन्दु’लाई पाठकप्रति जवाफदेही हुन वा विश्वसनीयता वृद्धि गर्न सहयोग गरेको छ ?   

हाम्रो अनुभव के छ भने मानिसहरू खुसी छन्। उनीहरूका गुनासो, पत्रलाई सम्बोधन गर्न एकजना खास मान्छे तोकिएको छ। कम्तीमा मिडियामा छापिएका सामग्रीबारे पाठकका प्रतिक्रिया वा गुनासो सुन्ने मानिस हुँदा मात्रै पनि मानिसहरू खुसी हुने रहेछन्। र, म सम्पादकीय विभागबाट स्वतन्त्र रहेर निर्णय लिन्छु। सम्पादकीय विभागबाट पनि स्वतन्त्र रहेको हुँदा पाठक प्रतिक्रिया सुन्न र त्यसलाई सम्बोधन गर्न सजिलो हुन्छ।

‘हिन्दु’ मा तपाईंका आफ्नै सहकर्मीको प्रतिक्रिया चाहिँ कस्तो छ ? किनभने तपाईं त उनीहरूका समाचारको सत्यतामाथि घोत्लिनुहुन्छ र त्यसमाथि टिप्पणी लेख्नुहुन्छ !

यदि तपाईंले एक–एक गरेर हेर्नुभयो भने प्रतिक्रिया पक्कै पनि सकारात्मक छैन। जस्तो कि मेरो सहकर्मी राधाकृष्णनले भन्थे, सन् २००६ मा जब यो सुरु भयो— अधिकांश पत्रकारहरू यो विभाग उनीहरूलाई अप्ठ्यारोमा पार्न स्थापना गरिएको हो। यो उनीहरूकै लागि पनि सहयोगी हुन्छ भन्ने बुझाउन र बुझ्न दुई वर्ष लाग्यो। जब गल्ती सच्याउने तत्परता ‘समाचार संस्कृति’ बन्छ तब मात्र यो सहयोगी हुन्छ। अहिले हिन्दुमा मेरा सहकर्मीहरूलाई यो त्यति असहज लागेको छैन। यो सही वा गलतको कुरा नभई आफैंले आफ्ना गल्ती सच्याउने संयन्त्र हो। यो पाठकहरूमाझ सत्य बोल्ने विधि हो। हामी मान्छे हौैं र हाम्रा कमीकमजोरी तथा सीमा समस्या हुन्छन्। जब हामी गल्ती गर्छौं, त्यसलाई सच्याउनु हाम्रो दायित्व हुन्छ।

तपाईंहरूले हिन्दुको पोर्टलमा करेक्सन (भूलसुधार) सेक्सनमा हरेक दिन भएका गल्ती सच्याइएको सूचना राख्नुहुँदो रहेछ। त्यस्तो किन राख्नुपर्छ ?   

यदि तपाईं पाठकमाझ आफ्नो विश्वसनीयता बचोस् वा बढोस् भन्ने चाहनुहुन्छ भने तपाईंमा गल्ती सच्याउने तत्परता र गल्ती सच्याइएकोबारे पारदर्शिता हुनैपर्छ। पारदर्शिता र भूलसुधार विश्वसनीयता वृद्धि गर्न अत्यन्त महत्वपूर्ण हुन्छन्। यो पत्रकारिताको आधारभूत सिद्धान्त हो। विश्वास वृद्धिबाहेक यसले के पनि देखाउँछ भने हामी मान्छे हौं। जब तपाईं आफूलाई मान्छे हुँ भन्ने स्वीकार्नुहुन्छ, तपाईंलाई आफ्ना गल्ती स्वीकार्न सजिलो हुन्छ। तपाईं त्यस्तो कुनै मेसिन होइन कि जसबाट कुनै गल्ती नहोस्। जब तपाईं गल्ती स्वीकार्नुहुन्छ, त्यसलाई सच्याउने तत्परता तपाईंमा आइहाल्छ।

दक्षिण एसियाको सन्दर्भमा पत्रकारिताका के–के चुनौती देख्नुहुन्छ ?

धेरै छन्। सबैभन्दा ठूलो चुनौती त सरकारबाटै छ किनभने उसले स्वतन्त्रताको वातावरण बनाउन सकेको छैन र ऊ आफू अनुकूल प्रेस चाहन्छ। हाम्रा कर्पोरेटहरू विज्ञापनको भरमा समाचार सामग्रीमा पनि प्रभाव जमाउन चाहन्छन्। हाम्रा राजनीतिक दलहरू जब प्रतिपक्षमा हुन्छन्, खुब मिडियाका पक्षमा उभिन्छन्, जब सरकारमा पुग्छन्, तब मिडिया विरोधी बन्छन्। सत्तापक्ष बनेपछि उनीहरू नै सबैभन्दा ठूला चुनौती बनिदिन्छन्। यी सबै हाम्रा समस्या हुन्। दक्षिण एसियामा पत्रकारको तलब सुविधा पनि कम छ। गुणस्तरीय पत्रकारिताका लागि हामीलाई राम्रो तलब सुविधा चाहिन्छ। समाचार सामग्री उत्पादनका लागि बलियो स्रोत पनि चाहिन्छ ताकि पाठक/श्रोता/दर्शकले गुणस्तरीय सूचना पाउन सकुन्। अर्को अचम्मलाग्दो कुरा के छ भने तपाईं चिया निःशुल्क पाउनुहुन्न, मःमः निःशुल्क पाउनुहुन्न तर तपाईंको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा जसले तपाईंलाई कसलाई भोट हाल्ने भन्ने निर्णय लिन सघाउँछ वा सरकारले ठीक ढंगले काम गरेको छ कि छैन बुझ्न मद्दत गर्छ, त्यो सूचना चाहिँ हामी निःशुल्क खोजिरहेका छौं। यो आम मनोविज्ञानसँग पनि हामी जुध्नुपर्ने देखिन्छ।

हालै भारतमा ‘कोब्रापोस्ट’ नामक वेबसाइटले ठूलाठूला मिडिया कसरी पैसाका लागि बिक्दा रहेछन् भनेर स्टिङ अपरेसन गर्‍यो। भारतीय समाजले त्यसलाई कसरी लियो ?      

हेर्नुस्, म पत्रकारिताका नाममा स्टिङ अपरेसन गर्ने कसैलाई पनि सम्मान गर्न सक्दिनँ। स्टिङ पत्रकारिता होइन, यो मोलमोलाइ हो। यदि तपाईं पत्रपत्रिका वा मिडियामा भएको पेसागत असफलता वा कमजोरी देखाउन चाहनुहुन्छ भने तपाईंले पनि यसलाई पेसागत हिसाबले नै गर्नुपर्ने हुन्छ। तपाईंले पनि त्यसलाई आचारसंहिताको मूल्य मान्यताभित्र रहेर गर्नुपर्छ। अनैतिक हिसाबले काम गरेर तपाईं कसैलाई नैतिक बनाउनै सक्नुहुन्न। त्यसैले कोब्रापोस्टले गरेको स्टिङमा यो आधारभूत कमजोरी देखिन्छ।

भारतीय समाजले यसलाई कसरी ग्रहण गर्‍यो भन्ने मेरो जिज्ञासा हो !

यदि तपाईं कसैलाई बदमास भन्दै हुनुहुन्छ भने सीधा भन्नुपर्छ। तँ बदमास होस् भन्नका लागि तपाईं बदमास बाटो समाउन सक्नुहुन्न। त्यसैले स्टिङ अपरेसन पत्रकारिता होइन। तपाईं मिडियाकै बारेमा पनि ठोस अनुसन्धान गर्न सक्नुहुन्छ। अध्ययनका लागि हामीसँग प्रशस्त सन्दर्भ र घटनाहरू छन्। भारतमा पी. साइनाथले पेड न्युजबारे विस्तृत अनुसन्धान गर्नुभएको छ। त्यसैले कसैलाई बदमास भन्न आफू पनि बदमास नबन्नुस्। मिडियामा भएका गलत अभ्यासभन्दा पनि बढी कोब्रापोस्टजस्तो स्टिङ अपरेसनले पत्रकारितालाई बदनाम गर्छ।

पाठकहरू अर्थात् मिडियाका उपभोक्ताहरूलाई तपाईंको सुझाव के छ ?  

मानिसहरूले अधिकांश निर्णय लिनका लागि आफ्नो ‘कमन सेन्स’ लगाउँछन्। त्यसैले मलाई लाग्छ कि मानिसहरूलाई यसै गर भनिरहनु जरुरी छैन। समस्या पाठकहरूमा होइन, मिडियाभित्र छ। मिडिया कसरी चलाउने र के विषयलाई कसरी प्रस्तुत गर्ने भन्नेमै मिडियाको समस्या छ।

तर नागरिक सचेत हुने हो भने मिडियालाई जवाफदेही हुन सघाउँछ भन्नेमा तपाईं सहमत हुनुहुन्न र ?

सचेत नागरिकको कुरा गर्दा पहिलेका नागरिक वा पाठक सचेत थिएनन कि जस्तो भान पर्छ। मलाई के लाग्छ भने एकजना औसत पाठकले पत्रकारले जति नै कुरा बुझेको हुन्छ। म पाठकलाई भन्दा पनि पत्रकारलाई चाहिँ सुझाव दिन्छु। त्यो के भने हामी सबैभन्दा जान्ने हौं भन्ने पत्रकारको दम्भ पहिला हट्नुपर्छ।

(अन्नपूर्ण पोस्टबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *