१२ औं वर्षमा नयाँ पत्रिका : एक वर्षभित्र टेलिभिजन ल्याउने, ‘गज्‍जब’ साप्ताहिक नयाँ मोडलमा बन्द


नयाँ पत्रिका दैनिक बाह्रौँ वर्षमा प्रवेश गरेको छ। ११ औँ वार्षिकोत्सवका अवसरमा नयाँ पत्रिकाले नियमित १६ पृष्ठसँगै ६८ पृष्ठको विशेषांक प्रकाशन गरेको छ। ‘गाउँगाउँमा सिंहदरबार’ शीर्षकमा प्रकाशित वार्षिकोत्सव विशेषांकमा सातै प्रदेशलाई लक्षित गरेर सूचनामूलक सामग्रीहरू प्रकाशित छन्।

सम्बन्धित प्रदेश, प्रदेश सरकार, प्रदेशभित्र रहेका जिल्ला र त्यसभित्रका स्थानीय तहहरूका बारेमा जानकारी तथा सूचनामूलक सामग्री विशेषांकमा समेटिएका छन्। ७५३ स्थानीय तहका अध्यक्षसँगको संक्षिप्त कुराकानी समेत समेटिएको नयाँ पत्रिकाको विशेषांक संग्रहणीय बनेको छ। (वार्षिकोत्सव विशेष नयाँ पत्रिकाको PDF डाउनलोड गर्नुस्)

‘गज्जब’ अब नयाँ पत्रिकामै 

नयाँ पत्रिकाले गत वर्ष २०७३ मंसिरबाट प्रकाशन थालेको साप्ताहिक पत्रिका ‘गज्‍जब’ बन्द गर्ने भएको छ, भलै उसले बन्द गर्ने नभइ नयाँ पत्रिकामै मर्ज गर्ने भनेको छ।

‘अहिले बुधबार प्रकाशन भइरहेको ‘गज्जब’ साप्ताहिक थप परिमार्जनसहित ‘नयाँ पत्रिका’को शनिबार अंकका रूपमा प्रकाशन हुनेछ’, ११ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित प्रकाशकीयमा नयाँ पत्रिका दैनिकको प्रकाशक संस्था नयाँ प्रकाशन प्रालिका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सम्पादक कृष्णज्वाला देवकोटाले भनेका छन्।

नयाँ पत्रिकाले ‘गज्‍जब’ साप्ताहिकलाई बन्द गर्ने नभनिकन शनिबार अंकका रुपमा प्रकाशित गर्ने भनेको छ। केही वर्षअघि शनिबारको नयाँ पत्रिका ‘झन् नयाँ’ नाममा प्रकाशित हुन्थ्यो।

मूलतः युवा लक्षित ‘गज्‍जब’ साप्ताहिक कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक’, नेपाल रिपब्लिक मिडियाको ‘शुक्रबार’ र अन्नपूर्ण मिडिया नेटवर्कको ‘सम्‍पूर्ण’ सँग बजार प्रतिस्पर्धामा थियो। 

नयाँ पत्रिकाले केही वर्षअघि प्रकाशन गरेको अंग्रेजी पत्रिका ‘द न्यु पेपर’ छोटो समयमै बन्द गरेको थियो।

एक वर्षभित्र टेलिभिजन

नयाँ पत्रिका टिमः फोटोः कार्यकारी सम्पादक उमेश चौहानको फेसबुकबाट।

नयाँ पत्रिकाले एक वर्षभित्र टेलिभिजन प्रसारण सुरु गर्ने घोषणा गरेको छ। ‘हामी अर्को वार्षिकोत्सवअघि नै टेलिभिजन सुरु गर्ने आन्तरिक तयारीमा पनि छौँ’, नयाँ पत्रिकाको प्रकाशकीयमा भनिएको छ।  

‘कसैमाथि मिडियाको नकारात्मक शक्तिको प्रयोग नगर्ने’ उल्लेख गर्दै उसले प्रकाशकीयमा भनेको छ-

हाम्रा लागि पत्रकारिता केवल दर्पण होइन, बरु दृश्यमाथि सार्थक हस्तक्षेपको प्रयास पनि हो। केवल बेग्लै पत्रिका होइन, बरु बेग्लै पत्रकारिता ‘नयाँ पत्रिका’को सुरुदेखिकै संकल्प हो। सुरुमा ‘ट्याबलोइड’ हुँदा र पछि ‘ब्रोडसिट’ भएपछि पनि हामीले समाचारको प्रस्तुति मात्र होइन, सज्जा र शैलीमा समेत भिन्न प्रयोग गरिरहेका छौँ र गरिरहनेछौँ। पत्रकारिताबाहेक ‘नयाँ पत्रिका’को कुनै मिसन छैन र कसैमाथि हामीले मिडियाको नकारात्मक शक्तिको प्रयोग गर्नेछैनौँ। राजनीतिक नेतृत्वलाई हाम्रो खबरदारी पनि ध्वंसात्मक होइन, रचनात्मक नै हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *