समाचारमा प्रशस्त मिसावट हुन्छ, जसको असर पाठकको दिमागमा पर्छ: ध्रुवहरि अधिकारीको अन्तर्वार्ता


‘सम्पादकले तलबका लागि पत्रकारितालाई तिलाञ्‍जलि दिए’

२००९ सालमा ओखलढुंगामा जन्मेका ध्रुवहरि अधिकारीले पत्रकारितामा ४० वर्ष बिताइसकेका छन्। गोरखापत्र, रोयटर्स, बीबीसी, न्यू योर्क टाइम्स, टाइम म्यागेजिन लगायत राष्ट्रिय/अन्तर्राष्‍ट्रिय समाचार संस्थामा विभिन्न भूमिकामा रहेर उनले काम गरेका छन्। लामो समय नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिता पढाएका अधिकारी हाल समाचार पोर्टल लोकान्तर डट कमका अध्यक्ष छन्। नेपालको पछिल्लो पत्रकारिता अभ्यासका विभिन्न पाटापक्षका बारेमा मिडिया कुराकानीले अधिकारीसँग गरेको कुराकानीः


तपार्इं चार दशक पत्रकारिता गरिसकेको मान्छे, अहिले भइरहेको पत्रकारिताको अभ्यासलार्इ कसरी नियालिरहनु भएको छ ?

संख्याको हिसाबमा यो ४० वर्षमा धेरै ठूलो फड्को मारेको मैले देखेँ तर पहिले जति गुणस्तर र विश्वसनीयताको स्तर थियो, त्यो हराइरहेको छ, कता कता गइरहेको छ। क्‍वान्टिटी (संख्या) धेरै भयो तर क्‍वालिटी (गुणस्तर) छैन। यो अवस्था भयो।

तपाईंले विश्वसनीयताको कुरा उठाउनुभयो। विश्वसनीयता के कुराले टिकिरहने हो ? विश्वसनीयताका लागि के कुरा चाहिने हो ? र, त्यो नहुँदा तपार्इंले भनेजस्तो विश्वसनीयता खस्किएको हो ?


२०४६ सालको राजनीतिक परिवर्तनपछि मिडियाको संख्या बढेको हो। पत्रपत्रिका, रेडियो, टेलिभिजनका संख्या त भए तर त्यसमा कन्टेन्ट (सामग्री)- पाठ्यसामग्री, सुन्ने सामग्री, हेर्ने सामग्री- कसले चयन गर्ने ? कसरी गर्ने ? के आधारमा गर्ने ? भन्ने कुराको अन्योल भयो। किनभने तालिम प्राप्त जनशक्ति धेरै थिएन, त्यति बेला। ह्‍वात्त बाढी आयो, बाढीको पानी थेग्‍न सक्ने स्थिति थिएन। त्यसले गर्दा जस्तो जस्तो भयो त्यस्तै त्यस्तै चल्दै गयो, तर एउटा चरणमा गएपछि त सङ्लिएर जानुपर्ने हो नि तर त्यो स्थिति चाहिँ भएन। र, विश्वसनीयता के कारणले हुन्छ वा के कारणले हुँदैन भन्ने कुरामा विस्तृत रुपमा जान सकिने ठाउँहरू छन् तर सामान्य रुपमा के हो भने पत्रकारितासँग सम्बन्धित न्यूनतम् मान्यता र आधारहरू पूरा नगरिकन समाचार लेख्‍ने/प्रस्तुत गर्ने चलन चल्यो भने चाहिँ बिग्रिन्छ। आधारभूत कुरामा जाँदा ‘फाइभ डब्लू वान एच’ त्यसै भनिएको छैन। यसले के देखाउँछ भने कुनै पनि सूचना आफैमा खबर हुँदैन, त्यसमा विभिन्न अंग पुग्नुपर्छ। घटना कहाँ भयो, के भयो, कसरी भयो देखि लिएर सूचना कहाँबाट आयो भन्ने कुराले महत्व राख्छ।

जस्तो, कहीँ हुलदंगा भयो, प्रहरीले गोली चलायो, मान्छे मर्‍यो भने देखि त्यसको जानकारी कहाँबाट आएको हो? खबर त भयो। तर रिपोर्टर आफै गएर प्रत्यक्षदर्शीहरूलाई अन्तर्वार्ता लिएर भयो कि अथवा पुलिसलाई सोधेर भयो कि अथवा त्यहाँ विरोध प्रदर्शनमा आउने मानिससँग बुझेर भयो कि सबै सम्भाव्य ठाउँहरूमा बुझ्नुपर्‍यो, सोध्नुपर्‍यो। अनि मात्र एउटा पिक्चर आउँछ। त्यो पिक्चर नआइकन फलानो ठाउँमा यस्तो भयो रे भन्ने प्रवृति बढेर गएको छ। जस्तो अहिले भनौं न, अनलाइन पत्रकारिता भनेको छ, डेक्समा बसेको छ, फोन गरेको छ, समाचार लेखेको छ। खोकना भनेको कहाँ हो थाहा छैन। खोकनामा जनताले विरोध गरे भन्नेसम्म सुनेको छ। के भनेर विरोध गरे, शब्द के थियो, किन विरोध गरे, डिटेल थाहा पाउन त खोकना नै पुग्नुपर्छ। त्यो छैन। फिल्ड भिजिटहरू गरिँदैन। त्यसैले गर्दा विश्वसनीयता हुँदैन। यो खबर हो भन्दाखेरि तपाईंले कसरी थाहा पाउनुभयो ? भन्छन् नि। मलाई फलानोले भनेर थाहा पाएँ अथवा मैले देखेर थाहा पाएँ, मलाई प्रत्यक्षदर्शीले भनेर थाहा पाएँ भन्न पाएँ भने त्यसको वजन हुने भयो, होइन मैले सुनेको मात्रै भन्यो भने कसले पत्याइदिन्छ ?

तपार्इं सोसल मिडियामा पनि लेखिरहनुहुन्छ र तपाईंको एउटा विषय मिडिया नै हुन्छ। एउटा ट्‍विटमा तपाईंले शशी थरुरको प्रसंग उठाउँदै लेख्नुभएको छ- ‘एकजमाना टाइम्स अफ इन्डियामा  नछापिएसम्म बाले पत्याउनु हुन्थेन तर अहिले छापिएको छ भने पत्याउनु हुन्न। अनुमान गरौँ- नेपाली प्रेस त्यस्तो छैन।’ अनुमान गर्ने त एउटा कुरा भयो तर तपार्इंको अनुभवले अहिले  हामी त्यो कसीमा कहाँनेर उभिएका छौँ जस्तो लाग्छ ?

तपार्इंले सान्दर्भिक कुरा उठाउनुभयो। कस्तो राम्रो कुरा हेर्नुस् त। टाइम्स अफ इन्डियामा नछापिइकन पत्याउनुहुन्नथ्यो, अहिले टाइम्स अफ इन्डियामा छापिएपछि पत्याउनुहुन्न। बा उही हो। भनेपछि के भएछ भने त्यसमा व्यापारिक कुराले प्रभाव पारेछ, त्यसले गुणस्तर खस्काएछ, अथवा त्यसमा राजनीति घुसेछ। कुनै पार्टी विशेषको मुखपत्रको जस्तो शैलीमा प्रस्तुत हुने। अहिले टाइम्स अफ इन्डिया कस्तो पनि पत्रिका भएको छ भने, तपाईंले सुन्नुभएको होला, पेड न्युज, पैसा तिरेर समाचार छाप्ने, विज्ञापन त होइन तर प्रयोजित। प्रायोजित नभनिकन प्रायोजित गरेर समाचार दिने। त्यस्तो प्रवृतिले गर्दा मान्छेमा त भ्रम हुने भयो। तर एक दुर्इ दिन दुई चारदिन पो भ्रम हुन्छ। पछिपछि त मानिस चलाख भइहाल्छ नि। पाठकले पनि थाहा पाउँछ। यो पत्रिका नपढौँ भनेर  शशी थरुरको बुवाले भने जस्तो, उहाँले पनि अर्को मान्छेलाई कोट गर्नुभएको छ, तर त्यस्तो भन्न सम्भव छ। नेपाललाई अनुमान गरौँ भनेको चाहिँ नेपाललाई शंकाको सुविधा दिउँ भनेको मात्र हो तर चित्त बुझेर होइन।

तपार्इंको चित्त नबुझार्इ अर्को ट्‍विटमा पनि झल्किन्छ। तपार्इं के भन्नुहुन्छ भने ‘४७ सालको राजनीतिक परिवर्तनपछि लगानीले रोजगारीका अवसर त थप्यो तर साहुको ध्यान नाफामा गयो र कतिपय पत्रकार पेशागत मान्यता खोपामा राखेर भएपनि साहुजीका सम्पादक हुने बाटो रोजे र तिनका सहयोगी संचारकर्मीहरूले के पो गरुन् ?’ भनेर विश्वसनीयताकै बारेमा अर्को प्रश्न गर्नुभएको छ। व्यापारिक स्वार्थ मिडिया र पत्रकारितामा प्रवेश गरेको कुरालार्इ योसँग जोड्दा हामी त्यो जालोमा कति जेलिएका छौं ?

हामी धेरै बिटुलिएका छौँ खोजेर जाँदा। तर त्यसको मतलब परिस्थिति एकदमै अँध्यारो छ, केही पनि हुन सक्दैन, सुधार हुन सक्दैन भन्ने त होइन। तर धेरै नै बिटुलिएको छ, जेलिएको छ। जस्तो भनौँ न ठूलाठूला दर्जा दिइएको छ- सम्पादक, प्रधान सम्पादक भनेर। तर साहुजीले यो लेख्नुस्, यो नलेख्नुस्, यो छाप्नुस्, यो नछाप्नुस् भन्दा ‘हजुर, हजुर’ गर्ने प्रवृति छ। तिनले पत्रकारिताको मान्यता, मूल्य, धर्म सबै कुरा तिलान्जलि दिए नि एउटा तलबको लागि। खोर्इ तिनीहरू हामी सिद्धान्तमा अड्छौँ, तपार्इंले भनेर त यो गर्न मिल्दैन, यो कुरा यो कारणले गर्नुपर्ने हो भनेर भन्न सकेको ? क्षमता भएका सम्पादकले पनि त्यो तिलान्जलि दिए, नभएकाको त क्षमतै भएन, कारिन्दा जस्तो बसेका छन्। अनि तिनका पनि कारिन्दा भएपछि त ती विचरा सञ्चारकर्मी जो साँच्चिकै पत्रकार हुन चाहन्छन्, तिनलार्इ त कता जाउँ र के गरौँ को अवस्था छ।

निर्वतमान प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर/पदावधि विवाद, त्यसबारे मिडियामा आएका रिपोर्टिङ, अदालतमा जे जे भए, उहाँको बहिर्गमन, यी सबै विषयलाई जोड्दा हामी मिडिया को कति पानीमा रहेछौँ, हामीले विषयलाई सही ढंगले पाठकसम्म लैजान सक्यौँ सकेनौँ तपाईंको हेराई के छ ?

कथामा आउने हात्तीजस्तो। पुच्छर छाम्दा पुच्छर हात्ती, गोडा छाम्दा गोडा नै हात्ती, कान छामे कानै हात्ती र सुँड छाम्नेले त्यही हात्ती बुझेको जस्तो तरिकाले प्रस्तुत भयो। तर समग्रमा ती सबै अंगका वर्णन आए भने एउटा हात्तीको स्वरुप आउने भयो। तर सबै डटहरू जोड्दा चित्र त बन्छ तर भद्दा चित्र बन्छ। त्यो भद्दा चित्रले मानिसलार्इ सन्देश दिन सक्दैन। हरेकले झलक्क हेर्नेबित्तिकै यो जनावर हो भन्न सक्दैन। त्यो बेलामा अनलाइनदेखि टेलिभिजन, रेडियो, अखबार सबैले प्रस्तुत गरेका चिजहरू नजानेर मात्र पनि छैन। जानेर पनि ठेगानसँग प्रस्तुत नगरेको, स्वार्थमा वा कुनै गुटमा परेको/पसेको अथवा केही लाभै लिन्छु भन्ने पनि छैन। जस्तो मलाई फलानो मन पर्‍यो, म त्यो न्यायाधीशको पक्षमा रहन्छु भन्ने हिसाबमा गएका मान्छे पनि छन्। तर त्यो त सब्जेक्टिभ (आत्मगत) कुरा भयो नि त। पत्रकार त जहिले पनि अब्जेक्टिभ (वस्तुगत)  आधारमा हर्नुपर्छ। त्यो त भएन। त्यसैले गर्दा सही चित्र आउन सकेन। छताछुल्ल, लथालिङ्ग भयो।

न्यायपरिषद्को सचिवले सचिवस्तरीय निर्णय भएको छ भन्ने बोलीमा लेखेको चिठीलार्इ आधार मानेर, त्यो चिठीलार्इ पनि रिप्रड्युस (पुनःउत्पादन) गरेको छ। त्यसकै आधारमा गोपाल पराजुली खत्तम, अहिलेदेखि पदमुक्त भइसक्यो भनेर लेखिदिएको छ। त्यो किन भने सबै हतारमा गरियो। त्यो न्यायपरिषद्को सचिवले लेखेको चिठी पायो। ठिक हो, खबरको स्रोत हो। तर, त्यो आफैमा पूरा छैन। पहिलो नम्बरमा उसैलार्इ च्यालेन्ज गर्नुपर्छ- तपार्इं आफै सचिव हुनुहुन्छ अनि सचिव स्तरीय निर्णय भन्नुहुन्छ। के भनेको हो यो ? भनेर त्यहीँ सोध्नुपर्छ। अर्को, तपार्इंले आज बिहान मात्र सानोठिमीबाट झिकाएको कागज हेर्दा त उनको म्याद त अझै एक वर्ष बाँकी रहन्छ, के हो? तपार्इंले के हिसाबले लेख्नुभयो भनेर त्यही कन्फ्रन्ट गर्नुपर्‍यो पहिलो नम्बरमा। त्यो (चिठी) जारी हुने बित्तिकै हामीले के के न भेट्टायौँ भनेर त्यसलाई खबर बनाउनु र त्यो चिठ्ठीलाई नै रिप्रड्युस गरेर आफ्नो अयोग्यताको प्रर्दशन गरियो। पत्रकारिता हतारको साहित्य हो, जसलार्इ पनि थाहा छ। हप्तौँसम्म वा दुईचार दिनसम्म सूचना बासी राखेर प्रस्तुत गर्न सकिँदैन, तत्काल गर्नुपर्छ। तर, तक्काल गर्ने भनेको गलत इन्फर्ममेशन (सूचना) लिएर तत्काल गरेर फर्स्ट (पहिलो) हुने त होइन।

मैले धेरै वर्ष समाचार संस्था रोयटर्समा काम गरें। तपाईंलाई म ठट्यौलो ढंगले सुनाउँछु। त्यहाँका सम्पादकहरूले के भन्थे भने – हामीसँग काम गर्न त्यति गाह्रो छैन। दुर्इवटा कुरामा हेक्का गरे पुग्छ, अरु तपाईं आफ्नो ढंगले काम गर्नुहोला। के दुर्इवटा कुरा भनेको त एक्युरेसी र स्पिड, दुईवटा कुरामा ध्यान दिने अरु चलेगा भन्या जस्तो शैलीमा भने। पछि गाँठी कुरै त्यहीँ रहेछ, किनभने एक्युरेसी र स्पिड भनेको त परस्पर विरोधी कुराजस्तो। एक्युरेसीका लागि पर्खेर बसौँ घण्टौं जान्छ, रात दिन जान्छ। तर फर्स्ट होउँ भन्दा गलत सूचना हुन्छ, अपुरो सूचना हुन्छ। यहीँ पो रहेछ त र्‍याङको ठ्याङ नमिल्ने। अनि मलाई सजिलो हुन्छ भन्थे, कहाँ सजिलो हुने ? सबैभन्दा गाह्रो नै त्यहीँ हुन्छ। त्यसैले गलत सूचनाको सेट लिएर पहिलो हुने होइन कि ठिक सूचनाको सेट लिएर अलिकति ढिला भएपनि केही फरक पर्दैन।

श्रीमान् चोलेन्द्र शमसेरले पूर्ण इजलास (जुन बसेन) मा आफ्नो व्यक्तिगत राय सुनाउनुभयो। त्यो प्रेसमा आयो। र, त्यो आधिकारिक फैसला नै हो कि जस्तो गरेर आयो। त्यसो त श्रीमानले इजसालमा बोलेको कुरा आधिकारिक हुन्छ पनि होला। तर उहाँले बोलेको कुरालाई हामीले आज पनि एउटा हेडलाइन गोपाल पराजुली पदमुक्त भए भनेर लेख्छौँ, भोलि फेरि सचिवले गरेको निर्णयलाई पदमुक्त भए भनेर लेख्छौँ, फेरि उनले राजीनामा दिएपछि पदमुक्त लेख्छौँ। यसलाई कसरी बुझ्ने ? यो कस्तो कन्फ्युजन हो ?

यो कन्फ्युजन काम गर्ने मान्छेमा पेशागत दायित्ववोधको कमी, नजानेर गरेको, त्यसलार्इ बेनिफिट अफ डाउट (शंकाको सुविधा) पनि दिनुपर्छ। तर जानेर पनि, त्यसमा दुर्इवटा कुरा छ। जस्तै चोलेन्द्र शमशेरले इजलासको छेउमा उभिएर केही कुरा भन्नुभयो। तर अदालतको रिपोर्टिङ गरिरहेका मानिसले के थाहा पाउनुपर्छ भने बेन्च सही तरिकाले बस्यो कि बसेन ? बेन्चबाट दिइएको आदेशमात्र आदेश हुन्छ, अरु त राय हुन्छ। पाँच जना बसेर गरेपछि फैसलामा राय बझाउन पाइन्छ, बहुमतले निर्णय हुन्छ। चोलेन्द्र शमशेर राणाले आफ्नो दृष्टिकोण यसरी दिनुभयो, उहाँले त्यसो भने पनि पदमुक्त हुने संवैधानिक र कानुनी प्राबधान छैन भनेर ब्याकग्राउन्ड (पृष्ठभूमि) दिनुपर्छ। नदिँदाखेरी के हुन्छ भनेर एउटा पुरानो उदारहण सुनाउँ।

२०४८ सालतिरको कुरा हो जुनबेला गिरिजाप्रसाद कोइराला प्रधानमान्त्री हुनुहुन्थ्यो। उहाँ भारत भ्रमणमा जानुभयो। उहाँले टनकपुरको सन्धि सहमति हो भनेर सही गरेर आउनुभयो। यहाँ आएपछि विवाद भयो र सर्वोच्चमा मुद्धा पर्‍यो। त्यो बेलामा विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश हुनुहुन्थ्यो। ठूलो बेन्चमा पर्‍यो, धेरै दिन लाग्यो। धेरै छलफल बहस भइसकेपछि के फैसला भयो भने यो सहमति होइन, कुनै पनि दुर्इ देशबीच भएको लिखत सन्धि सरह ठहर्छ, त्यसैले यो सन्धि हो। यसलाई जे जे नाम दिएपनि यो सन्धि हो। त्यसैले यसलाई सन्धि मान्ने, संविधानको धारा १२६ आकर्षित हुन्छ भनेर भन्नुभयो। संसदले सामान्य बहुमतबाट पारित गर्ने कि दुर्इ तिहाइबाट त्यो संसद आफैले गर्ने भन्ने फैसला भयो। बिहानदेखि बेलुकासम्म मानिसहरू आज फैसला आउँछ भनेर उकुसमुकुस भएर बसिरहेका थिए। रेडियो नेपालका डाइरेक्टर शैलेन्द्रराज शर्मा पनि बिहानदेखि बेलुकासम्म बसिरहेका थिए। अहिले बिते। अन्तिममा फैसला सुनाइसकेपछि उनी रेडियो नेपाल गए। लेख्न लगाए होलान् कसैलाई, आफूले त के लेखे होलान् र ! आज सर्वोच्च अदालतले टनकपुर बारेमा फैसला गर्दै यसमा संविधानको धारा १२६ आकर्षित हुन्छ भनी फैसला गरेको छ। धारा १२६ मा के छ त ? त्यो नभनिकन स्टोरी कम्प्लिट हुन्छ ? हुँदैन नि। धारा १२६ आकर्षित हुन्छ भन्नाले सामान्य मान्छेले के बुझ्ने ? धारा १२६ भनेको के हो ? ढुंगेधारा हो, कलधारा हो, पानी आउने धारा हो, नआउने धारा हो ? बुझ्दैन नि। त्यसमा कमसेकम धारा १२६ मा यस्तो छ भनेर लेखिदिएपछि ब्याकग्रान्ड आयो नि।

त्यस्तै चोलेन्द्र शमशेर राणाले यस्तो बोल्नुभयो। तर, उहाँले यस्तो बोल्दैमा कुनै न्यायाधीश पदबाट मुक्त हुन्छ भन्ने कानुनी व्यवस्था छैन भनेर लेख्‍नुपर्छ। किनभने पाठकलार्इ त क्लियर दिन पर्‍यो नि। पिक्चर दिनुपर्‍यो नि। त्यो सबै उसैले बुझोस् भनेर छोड्न हुन्न। तब मात्र कम्प्लिट हुन्छ। मैले बुझेर पुग्दैन, पढ्ने मान्छेले के बुझ्छ, सुन्ने मान्छेले के के बुझ्छ, उसको दिमागमा केके प्रश्न आउन सक्छ, सबै सम्भाव्य प्रश्नका उत्तरहरू समावेश गरेरमात्रै समाचार बन्छ। नत्र त्यो टुक्रे खबर बन्छ। खबर भन्नु, सूचना भन्नु छोटो कुरा हो। तर, समाचार बनेर प्रस्तुत हुनुपर्ने हुन्छ। अहिले सबै गोलमटोलजस्तो। तपाईँले भन्नुभएको सही हो। न्यायपरिषदको सचिवले एक किसिमको चिठ्ठी लेख्छ, अघिल्लो दिन चोलेन्द्र शमशेरले एकथोक भन्छन्, पछिल्लो दिन फेरि गोपाल पराजुली राष्ट्रपतिकहाँ गएर राजीनामा दिन्छन्। राजीनामा दिएको ठिक हो कि, पदमुक्त भएको हो कि उहाँलाई पदबाट हटाइएको ठिक हो कि ? कुहिराका काग त पत्रकार र संचारकर्मीहरू नै भए।

भनेपछि पाठकले के बुझ्ने त ?

यहाँनेर पत्रकारले पाठकप्रतिको जिम्मेवारी बुझ्न सकेन। त्यो बुझ्न नसक्नुका कारण के हो भने एउटा अध्ययन नभएर, तालिम नभएर, कुनै गुट विशेषको प्रभावमा परेर अथवा आफ्नै आग्रह दुराग्रहका कारणले यसलार्इ त ठिक नपारी भा’छैन भन्ने मान्यता लिएर। हामी पाठकलाई जानकारी दिन बसेका हौँ। कसैलार्इ पनि ठिक पार्न बसेका होइनौँ। त्यो अरु कसैको काम हो। त्यो न्यायपालिकाले गर्छ, पुलिसले गर्छ, प्रशासनले गर्छ। रामराज पौडेलको किताबमा लेख्या छ- ‘पत्रकार भनेको शिष्ट पथप्रदर्शकमात्र हुन सक्छ।’ शिक्षक पनि होइन, पथप्रदर्शक अर्थात् गाइड। बढीमा हुने भनेको गाइडमात्र हो। यताबाट गयो भने त्यहाँ पुगिन्छ भन्ने हो। जानैपर्छ पनि भन्न मिल्दैन।

यो पनि पढ्नुस् 

नेपालको अदालत, मिडिया र नागरिक समाजको निष्पक्षता गायब भएको छ : युवराज घिमिरेको अन्तर्वार्ता #Video

उसोभए के हामीले समाजलाई बाटो गलत देखाइरहेका छौं ?

होइन। समाजलाई बाटो देखाउनै सकेका छैनौँ। फलानो ठाउँमा पुग्ने बाटो कता हो भन्दा यता पनि भन्छन्, उता पनि भन्छन्, खै एकताका म त्यता पाखोपाखै पनि पुग्याथेँ भन्या भरले के चाहिँ गर्दा ठिक हुने हो थाहा छैन।

मिडियाहरू आफैमा विभाजित जस्तो, एकै विषयमा फरक फरक दृष्टिकोण र कभरेज देखिने। यस्तो कसरी हुन्छ ? कि यो सामान्य हो?

सामान्य होइन। तर यसलार्इ दुर्इ प्रकारले हेरौँ। सर्वथा नकारात्मक हिसाबमा मात्र नहेरौँ। जस्तै काँचको गिलासमा आधा पानी छ, त्यसलार्इ आधा खाली छ भने पनि साँचो हो र आधा भरी छ भने पनि साँचो हो। तर, हेरार्इमा के छ ? तपार्इं सकारात्क रुपमा हेर्नुहुन्छ भने आधा गिलास भए पनि पानी छ। नभएको ठाउँमा आधा गिलासले पनि काम चल्छ। तर, आधा गिलास खाली छ भने आधा छ, यसले के काम हुन्छ ? कसरी हेर्नुहुन्छ ? तपाईंको प्रश्न के थियो ?

समान विषयमा फरक फरक कभरेज…

एकातिर यो भयो। अर्कोतिर मूलनीति मानिएको राजनीति नै नेपालमा बिग्रिएको छ। बिग्रिएको पनि कस्तो भने सिद्धान्त, दर्शन, मान्यता, निष्ठा, मर्यादा सबै सकियो।त्यो नभएपछि के पार्टी ? बाहुनबाहुनको पार्टी, गुरुङगुरुङको पार्टी, मगरमगरको पार्टी गरे पनि भइसक्यो। किनभने दर्शन, सिद्धान्त केही छैन। मैले एउटा धार्मिक प्रवचनमा सुनेको थिएँ- आजकालमा राजनीति कहाँ छ र ? नीति एकातिर छ, राज मात्र गरिरहेका छन् भन्दा जुन अर्थ आउँछ नि, निष्ठाको राजनीति भएन, मूल्य मान्यताको राजनीति भएन। राजनीतिलाई मूलनीति भन्याछ, त्यो मूलनीति नै बिग्रिएपछि एउटा रुख फेददेखि नै बिग्रिएर आएको छ भने त्यसको हाँगाबिगा र पात राम्रो हुनुपर्ने भनेर हुन्छ ? त्यसैले पत्रकारिता पनि राजनीतिक हिसाबले ध्रुवीकृत भएको स्थिति छ नि। हेर्नुस् न यो लेफ्टको, यो राइटको, यो एमालेको, यो कांग्रेसको, यो राप्रपाको। सवर्साधारण जनताको खै ? पाठकको खै ? हेराइमै अन्तर आउने भयो राजनीतिक आग्रहले। सिद्धान्त र निष्ठा त छैन तर आग्रह त छ। त्यही प्रकट हुन्छ। बाटो सबैले बिराएका छन्, त्यसमा पत्रकारिता मात्रै अपवाद रहने, अछुतो रहने भन्ने भएन। मूल रुख नै धमिरा लागेको छ भने हाँगाबिगा पात ठीक अवस्थामा हुन्छन् भन्ने कुरा भएन। त्यसैले मूल नीति कहिले सप्रिएला अनि परिस्थिति पनि सङ्लो हुँदै जाला भन्नुपर्‍यो। अहिले हामी आत्तिएर पनि हुँदैन।

न्यायालय र मिडियाको विषयलाई टुंग्याउँ। एउटा कुनै मिडियाले ‘प्रधानन्यायाधीश गोपाल पराजुली निकटका न्यायाधीशहरू’ भन्ने पदावली समाचारमा प्रयोग गर्‍यो। यसमा तपार्इंको टिप्पणी के छ?

त्यस्तो लेख्नु हुँदैन। प्रधानन्यायाधीश निकटका न्यायाधीश भनेको के ? प्रधानन्यायाधीश पनि न्यायाधीश मध्यको एक हो। त्यो हेडसर जस्तो हो। सर त सबै सर नै हुन् नि। त्यसैले उसका निकटका भन्ने बित्तिकै त्यसमा गुटबन्दी छ भन्नेजस्तो संकेत आउँछ। निकट के अर्थमा निकट ? नाताको निकटता वा स्वार्थको निकटता वा कोही पार्टी विशेषलार्इ जिताउनुपर्छ/हराउनुपर्छ भन्ने निकटता। विशेषण जोडिएर आयो कि त्यहाँ होस गर्नुपर्ने हुन्छ। मिडियाले यो प्रयोग गरेको ठिक भएन। न्यायाधीशहरूको आआफ्नो व्यक्तित्व र क्षमता हुन्छ। उनीहरू आफ्नोआफ्नो क्षमताबाट त्यहाँ पुगेका हुन्। यद्यपि अहिले विभिन्न न्यायाधीशको बारेमा विभिन्न किसिमका आक्षेप पनि लागेको छ, कतिले आक्षेपको बचाउ गर्न सकेका छन्, कतिले सकेका छैनन्, सहेर पनि बसेका छन्। न्यायाधीशले धेरै बोल्न हुन्न भनेर चुप लागेका हुन् कि गल्ति नै गरेको छन् र मुखमा बुझो लाग्या छ कि त्यो चाहिँ बुझ्न सकिएको छैन। तर, त्यसरी भनिनु हुँदैन, त्यसरी लेखिनु हुँदैन।

तर न्यायालयमा गुटबन्दी त खुलमखुल्ला देख्यौँ नि। न्यायाधीशहरूले बेन्च बहिस्कार नै गरे। त्यसलार्इ पत्रकारले ‘कोही निकट’ भनेर लेख्दा के बिग्रियो र?

प्रश्न त सही नै हो। पत्रकारले जे देखिन्छ त्यही लेख्‍ने हो। यो पनि कुरा सही हो। ऊ फलानोको निकट छ र ऊ फलानोको निकट छ भनेर देखिन्छ भने लेख्ने हो। तर त्यहीँनेर कानुनी कुराहरू, संवैधानिक कुराहरू र मान्यताभित्र रहेर काम गर्ने हो। पत्रकारिता यो सम्पूर्ण कुराबाट बाहिर जे जे मन लाग्यो त्यही त्यही गर्न पाइने होइन। ऐन, कानुन, संविधान, समाजको मर्यादा, शिष्टाचार यावत कुराहरूलाई मानेर अनि गर्ने पत्रकारिता हो। म पत्रकारितालार्इ पेशा भन्दा पनि सेवा भन्न मन पराउँछु। सेवा हुनुपर्ने अहिले गोलमाल छ, त्यो बेग्लै कुरा हो। तर, हुनुपर्ने त त्यही हो। त्यसैले निकट छन् भनेर देखिएको कुरा लेख्ने मात्र होइन कि मर्यादित ढंगले कसरी प्रस्तुत गर्न सकिन्छ ? न्यायालयमा गुटबन्दी छ है भन्ने कुरा थाहा पनि दिनुपर्‍यो तर त्यसलार्इ ढंगसँग दिनुपर्‍यो। ढंग पुगेन भने बेढंग भयो। बेढंग हुँदाखेरी कहिलेकाहीँ के हुन्छ भने अदातलको अवहेलना गरेकोमा पत्रकार आफैलाई कारवाही गर्नेमा पर्छ। अहिले कान्तिपुर र अदालतको कुरा आयो नि। त्यसैले मर्यादित ढंगले काम गर्नुपर्छ। देखेको कुरा त भन्नुपर्छ, त्यो नभन्ने होइन।

अदालतको अवहेलनाको कुरा आयो कि हाम्रोमा प्रेस स्वतन्त्रताको विषय जोडिएर आइहाल्छ। भर्खर पनि आयो। यो प्रेस स्वतन्त्रताको विषय कति थियो, कति थिएन ? तपाईं कसरी हेर्नुहुन्छ ?

मेरो हेरार्इमा यो प्रेस स्वतन्त्रताको विषय त्यति होइन। अदालतको अवहेलना सम्बन्धी मुद्धा छिटो छिटो प्रयोग हुने सश्त्रअस्त्र पनि होइन। हरेक दिन अदालतको अवहेलना सम्बन्धी मुद्धा त आउँदैन नि। त्यो कहिलेकाँही आउने हो। म गोरखापत्रको धेरै वर्ष अगाडिको कुुरा सम्झिन्छु। जिल्ला अदालतदेखि कुन कुन तहको अदालतका न्यायाधीशहरूलार्इ सहयोगी राख्न पाउने भनेर सरकारले १६ सय रुपैयाँ दिएको हुँदो रहेछ। सहयोगी कसैले राख्दा रहेछन्, कसैले राख्दा रहेनछन्। कोही आफ्नै घरमा श्रीमती छोराले सहयोग गरेको भन्दै पैसा भने लिँदा रहेछन्। कसै न कसैलाई दिएको भनेर खाँदा रहेछन्। अर्दलीको तलब न्यायाधीशले हजम गर्छन् भनेर गोरखापत्रमा शीर्षक छापियो। त्यस बापत गोरखापत्रका सम्पादकले धेरै समय अदालतमा धाउनुपर्‍यो। हजम गर्छन् भन्ने समाचारको कुरा न्यायाधीशलाई हजम भएनछ। हजम गर्न हुने तर हजम भयो भन्न चाहिँ नहुने। अदालतको अवहेलना कहिलेकाहीँ मात्र लाग्ने हो।

म त के भन्छु भने पत्रकारिता संयमित र मर्यादित ढंगले आफैले गर्ने कुरा हो। यो कसैले लठ्ठी लिएर तह लगाउने क्षेत्र होइन। त्यसैले त म पत्रकार भन्दा अलिकति जोश पनि आउँछ नि। त्यो किनभने म आफू संयमित छु, म आफू के गरिरहेको छु, गर्न हुने कुरा गरिरहेको छु कि गरिरहेको छैन भन्ने कुरा मलाई थाहा छ। मलाई कसैले लठ्ठी लगाएर सिकाउने, सम्झाउने होइन भन्छु नि म। पढ्ने लेख्ने पेशाको मान्छेहरूमा त्यति मर्यादा र शिष्टाचार अदालतको बारेमा हुनुपर्‍यो। त्यो हुँदैन भने न्यायापालिकाले एउटा तहसम्म सहला, अर्को तहमा पुगेपछि यसले सीमा नाघ्यो भनेर कारबाही गर्छ। त्यो कारबाहीमा पनि के रहेछ भने अर्को घटना पनि भएको छ विश्वनाथ उपाध्यायको पालामा। हरिहर विरहीजी थुनामा पनि पर्नुभाथ्यो। म त्यो घटना पनि सम्झिन्छु। खैर त्यो घटनातिर नजाउँ।

तर के भने न्यायाधीशले अवहेलनासम्बन्धी कारबाही जथाभावी गर्न नपाओस् भनेर अवहेलना सम्बन्धी ऐन  मस्यौदा गरेर केही वर्षअघि नरहरि आचार्यजी कानुन मन्त्री भएको बेला ल्याउनुभएको थियो। यसमा  पत्रकार महासंघले नै ठूलो विरोध गरिहाल्यो। कुरा बुझेको छैन, पूरा कन्टेन्ट पढेको छैन। विवरण पढेको भए विरोध गर्थ्यो गर्दैनथ्यो, मलाई लाग्छ- गर्दैनथ्यो। लौ, अवहेलनासम्बन्धी ऐन पो बनाउन लाग्यो, हाम्रो मुख थुन्न लाग्यो, प्रेसको स्वतन्त्रता कुन्ठित बनाउन लाग्यो भनेर विरोध गरेको हुनाले त्यो ऐनको प्रकृया त्यतिकै सेलाएर गयो। तर उक्त एेनमा के लेखिएको थियो भने न्यायाधीशले अहिलेको जस्तो होइन कि, के के सम्म कुरा गरेमा प्रमाण देखाएर मात्रै अदातलको अवहेलना सम्बन्धी कारबाही सुरु गर्न पाउँछ भनेर लेखेको थियो। न्यायाधीशलार्इ नै कन्ट्रोल हुने व्यवस्था थियो त्यो। तर, मान्छेले त्यो बुझ्दै बुझेनन्, बुझ्नै चाहेनन्। त्यसैले हामी पत्रकारमा पनि कति धैर्यता छ ? अरुलाई कुरा सुनाउने, आफै कुरा नबुझ्ने स्थिति छ नि त। हामी त्यहाँ पनि कमजोर छौँ। चुकेका छौँ बेलाबेलामा त्यही कुराले गर्दाखेरी।

मुख्य कुरा के भने नेपालको संविधान छ, जे जे आयो त्यही पालना गर्दै जाने हो। हुन त नेपालमा कति संविधान फेरिए। अहिले पनि सामाजिक शिष्टाचार, विदेशसँगको सम्बन्ध यावत कुरामा कानुन बनाएर निगरानी गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ भनेर संविधानमा लेख्या छ। पत्रकारलाई भाँडभैलो गर्न दिइनेछ भनेर कहीँ पनि छैन। फेरि पत्रकारले ठूलो हैसियत पनि खोज्नुहुन्न। म  हुलाक अड्डामा टिकट किन्न गएँ, पचासौँ मानिस लाइन लागेका छन्, म ५१ औँ जना ‘म पत्रकार’ भनेर एकैचोटी काउन्टरमा गएर ‘खै मलाई टिकट देउ, म त पत्रकार’ भन्नु हुँदैन। यो अधिकार कहीँ दिएको छैन। हो, म लाइन लागेर बस्या छु। तर मान्छेले मलाई कतिले चिने र यो त पत्रकार हो, यसलाई  हतार हुन्छ, कता कता खबर लिन जानुपर्छ, ‘जानुस् जानुस्’ तपाईँ अगाडि जानुस् भनेर मानिसहरूले सहयोग गरेर मलाई काउन्टरमा पुग्न दिए भने त्यो त ठिकै छ। हो पनि, अलिकति समय बचत भयो भने म अर्को खबर ल्याउँथे। त्यो कुरा बेग्लै हो। समाजले रिकग्नाइज गर्नु, मान्यता दिनु एउटा कुरा हो। दाबीको रुपमा मेरो अधिकार भन्न त कहीँ पनि मिल्दैन। यहाँ त कस्तो हुन्छ, मोटर हाँकेर गयो, ठक्कर लाग्यो, खुट्टा भाँचियो वा मर्‍यो, के भयो। त्यो मान्छेलाई पक्राउ गरेर पुलिसले लग्यो भने ‘पत्रकार पक्राउ’ भन्छ। पत्रकार के बापत् पक्राउ ? पत्रकारले पत्रकारिता सम्बन्धी काम गरे बापतमा पक्राउ कि अरु नै केही बापत् पक्राउ ? त्यो त बुझ्नु पर्‍यो नि त। जो यी विषयहरू बुझेका छौँ, त्यसले संयमित हुन सिक्नपर्‍यो। जसले बुझेका छैनौँ बुझ्न प्रयास गर्नुपर्‍यो। छोटकरीमा मेरो भन्ने कुरा यत्ति हो।

प्रेस स्वतन्त्रताको विषयमा अहिले विश्वभरी नै बहस छ। मलेसियामा झूटो समाचार कसैले लेख्छ भने ६ वर्ष जेल हाल्ने कानुन नै बन्यो। भारतमा त्यस्तै कानुन बन्न लागेको प्रधानमन्त्री मोदीले फिर्ता लिनुभयो। विरोध पनि भयो। यी विषयहरूले हामीलाई पनि प्रभाव पार्छन् ? हाम्रा लागि यी विषयहरू कत्तिको महत्वपूर्ण छन् ?

हामीले जानकारीमा राखिरहनुपर्छ। यो निकटतामा भर पर्छ। अघि कुरा गरेको न्यायाधीशको निकटता जस्तो निकटता होइन यो, भौगोलिक निकटता हो। जस्तो नेपालमा नारायणी नदीमा डुङ्गा पल्ट्यो भने कति कतिजना परे, कुन गाउँका परे, डोको बोकेका परे कि कस्ता परे, यावत कुरा हामीलार्इ चाहिन्छ तर, भारतको पटनामा त्यही घटना भयो भने कलिकति चाहिन्छ। बंगलादेशमा त्यस्तै घटना भएछ भने कतिजनासम्म थिए, कति बेला रेछ भन्ने कुराको जानकारी भए पुग्छ। अनि त्यही घटना मलेसिया वा अमेरिकामा भयो भने सायद हामीलार्इ त्यति चासो पनि हुँदैन। अहिले मलेसियामा मात्र होइन, म्यानमारमा पनि छ। म्यानमारमा रोयटर्सका दुर्इजना पत्रकारलार्इ हतकडी लगाएर राखिएको छ। राज्यको गोप्य सूचना कुनै अंग्रेजको जमानाको ऐन उलङ्घन गरेर कसैलार्इ दियो भनिएको छ। हामीले हाम्रो वरपरको वातावरण थाहा पाइरहनुपर्छ। ती घटनाबाट प्रभावित भएर यहाँका पनि शासकहरू ‘ए पत्रकारलार्इ त ठिक पार्न सकिने रहेछ नि’ भनेर भन्लान् भन्नेमा चनाखो रहनुपर्छ। अरुलार्इ त चनाखो राख्नुपर्ने पेशाको मानिस हामी, आफू चनाखो बस्नु परेन ?

अन्तिम अन्तिममा, तपाईंले पत्रकारितामै ४० वर्ष बिताउनुभयो, जुनबेला तपार्इं पत्रकारितामा आउनुभयो, बीबीसी, रोयटर्स, गोरखापत्र लगायतका समाचार संस्थामा काम गर्नुभयो, अरु मिडियाहरूमा पनि काम गर्नुभयो। अहिले पनि तपाईं काम गरिरहनुभएकै छ। पत्रकारलाई हेर्ने सामाजिक दृष्टिकोणमा पहिले र अहिले के कस्तो फेरबदल आएको तपाईं भेट्नुहुन्छ ?

बडो पेचिलो, संवेदनशील विषय पुछारमा सोध्नुभयो। दुःखका साथ भन्नुपर्छ पञ्चायतकालमा एककिसिमको राजनीतिक नियन्त्रण थियो तर पत्रकार भनेपछि सुन्थे, हेर्थे। बाटोमा भेटे पनि के छ नयाँ खबर ? पत्रकारजीले सुनाउँनुहुन्छ भन्थे। पत्रकारले भनेको कुरा सही हुन्छ भन्थे। तर अहिले त्यस्तो छैन। त्यो छैन भनेको पत्रकारको विश्वसनीयता घटेर गएको छ। बेलुका बोलाएर दुर्इ पेग खान दिएपछि भोलिपल्ट मैले भनेको कुरा छाप्छ भन्ने इम्प्रेसन भइसक्यो। पत्रकार हुनु भनेको अछुतो जस्तो वा पत्रकार आयो यो कुरा नगरौँ, पछि यिनीहरू गएपछि गरौँला भन्ने हुन्छ। भनेपछि कस्तो भयो होला त ? त्यसैले पत्रकारले पाउने सामाजिक मान्यता र सामाजिक सद्भाव बिथोलिएको छ, खजमजिएको छ, गिजोलिएको छ। त्यसमा व्यापारिक स्वार्थ, राजनीतिक स्वार्थ मिसिएर/मुछिएर त्यो विरुप जस्तो भएको छ। तर, त्यसो भयो भनेर सम्पूर्ण कुरा समाप्त भयो, केही गर्न सकिँदैन भनेर हातखुट्टा छोड्नु पनि भएन। जसले सक्छ गर्नुपर्ने कर्तव्य गर्दैरहनुपर्छ, एउटा समय आएपछि वातावरण सङ्लो हुँदै जान्छ भन्ने आशा गर्नुपर्छ।

कुराकानी गर्नुपर्ने विषय धेरै छन्। फेरि पनि यस्तै अन्योलताका विषयमा तपाईंसँग कुराकानी गर्ने नै छौँ। अन्तिममा, हामीले नसोधे पनि तपाईंलाई भन्नै मन लागेको कुरा छ भने दर्शक, पाठक, स्रोतालाई भन्न सक्नुहुन्छ।

तपाईंले राम्रो ठाउँ दिनुभयो। म समाचारका उपभोक्ताहरू, रेडियोका भए स्रोता, टेलिभिजनका भए दर्शक, अखबारका भए पाठक, अनलाइनका भए पाठक-दर्शक सबैलाई अनुरोध के गर्न चाहन्छु भने हिजोआज खाद्यपदार्थमा मिसावट भए झैँ सूचनाहरू समाचारहरू पनि प्रसस्त मिसावट भएर आउँछन्। त्यसैले तीनलाई निफनेर, सङ्लो पारेर, छानेरमात्रै सेवन गर्नुपर्छ। अनिमात्रै तपाईंको स्वास्थ्यमा गडबढी हुँदैन। समाचारको उपभोक्ताले यसो गर्ने अनेक उपाय छन्। त्यसमध्ये एउटैमा मात्र भर नपरेर दुईचारवटामा भर पर्नुपर्छ। त्यो चाहिँ खर्च बढाउने कुरा भयो। त्यो कति सम्भव हुन्छ, सम्भव भएको गर्ने। जस्तो तरकारीमा विषादी हुन्छ भनेपछि पानीमा भिजाएर आधा घण्टा राखेपछि त्यसको अलिकति विष मर्छ अनि झिकेर काटकुट गरेर पकाएर खाने भनेको जस्तै। दुधमा पानी मिसाएको शारीरिक कुरा हो। पानी प्रदुषित छैन भने त त्यो पानी मिसाएर केही समस्या छैन। तर हिलो पानी परेको छ भने त रोग लाग्छ। त्यो शरीरको रोग हो। तपाईँ हामी सूचना उपभोक्ताले होस् गर्नुपर्ने के हो भने यो मिश्रित, प्रदूषण भएको र मिसावट भएको सूचना/जानकारी/समाचार ग्रहण गर्‍यौँ भने हाम्रो मस्तिष्कलाई असर गर्छ। हेर्नुस्, शरीरलाई असर गर्ने कुरा एउटा हो, मस्तिष्कलाई असर गर्ने कुरा अर्को हो। मानसिक रोगी नहुने हो भने बहुतै साबधानीका साथ समाचारको उपयोग/उपभोग गर्नुहोला, समाचारका उपभोक्तालाई मेरो सन्देश छ।

ती सबै सूचनाहरूलाई निफनेर, पकाएर, स्वस्थकर बनाएर दिनपर्ने पत्रकारले पाठकलाई निफनेर खाउ भन्नुपर्ने स्थितिमा पुगेपछि, यसलाई कसरी हेर्ने त ?

त्यसलाई हेर्ने तरिका छ। त्यो गर्नुपर्ने त मैले नै हो। निफननाफन गरेर कनिकासनिका बियाँ सबै फालेर सग्लासग्लामात्रै चिजहरू राखेर दिनुपर्ने मेरो दायित्व हो। तर म पनि यस्तो भूमरीमा परेको छु कि मैले सम्हालेर पनि सम्हालिने अवस्था छैन। म गरौँला आफ्नो तहबाट तर त्यतिको मात्रै भर नपर्नुस् है, आफू पनि केलाइकुलाइ गरेरमात्रै खानुस्, मैले सबै कुरा सकिनँ भन्नु पनि त इमान्दारीसाथ यथार्थ स्थिति भन्दिनु कर्तव्यभित्रैमा पर्छ नि त पत्रकारको। त्यो गरेँ भनेर कमसेकम मैले परिस्थिति ठिक छैन, मिसावट ज्यादा छ, होस् गर्नुपर्छ है। म सकेसम्म केलाएर त दिउँला तर पनि आफू पनि छानुँ है भनेर भन्दा त इमान्दारी नै हो। त्यसैले अहिले यो इमान्दारीमा टेकौँ, भोलिका दिनमा हामी फेरि अर्को चरणमा प्रवेश गरौँला।


अपडेट : यसअघिको शीर्षकलाई उपशीर्षक बनाएर नयाँ शीर्षक राखिएको।

1 Comments

  • rishiram poudyal (#)
    April 10th, 2018

    logical interview

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.