नेपाल रिपब्लिक मिडियाको समाचार पोर्टल नागरिकन्युज डट कम र अंग्रेजी पोर्टल माइरिपब्लिका डट कममा सोमबार प्रकाशित समाचारअनुसार जापानको पत्रिका ‘सेकाई निप्पो’ र नेपाल रिपब्लिक मिडियाबीच भगिनी सम्बन्ध कायम भएको छ।
‘जापानमा आयोजित विशेष समारोहमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र सेकाई निप्पोका अध्यक्ष मासाहिरो कुरोकीले भगिनी सम्बन्ध स्थापनाको पत्रमा हस्ताक्षर गरेको‘ नागरिकन्युजको समाचारमा उल्लेख छ।
कार्यक्रममा रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली, युनिभर्सल पिस फेडरेसनका महासचिव सुनसुके उवोतानी, साकाई निप्पोका योजना निर्देशकयोसियुकी इवाकी, सम्पादन मण्डलका सदस्यतोसिउकी हायाकावा, युथ एण्ड स्टुडेन्ड फर पिसका अध्यक्ष कोजी मात्सुदा, युथ एण्ड स्टुडेन्ड फर पिसका उपमहासचिवमासाहिरो इजावाको समेत उपस्थिति रहेको उक्त समाचारमा जनाइएको छ।
२०७४ चैत १२ गते मंगलबार नागरिक दैनिक र रिपब्लिका दैनिकमा यस सम्बन्धी विस्तृत समाचार आएका छन्।
नागरिक दैनिकको समाचारमा ‘सेकाई निप्पोका अध्यक्ष मासाहिरो कुरोकीले (दुई मिडियाबीच) भगिनी सम्बन्ध स्थापनाले दुवै देशबीचको सम्बन्धलाई बढाउने बताएको’ उल्लेख छ। समाचारमा अरु के छ आफै पढ्नुस्।
कसले चलाउँछ‘सेकाई निप्पो’ ?
सन् १९७५ देखि सुरु भएको ‘सेकाई निप्पो’ जापानी भाषाको दैनिक पत्रिका हो। यसको स्वामित्व न्युज वर्ल्ड कम्युनिकेसन्स इन्क (News World Communications, Inc.) नामक कम्पनीसँग छ जसको कार्यालय अमेरिकाको वासिङटन डिसीमा छ।
न्युज वर्ल्ड कम्युनिकेसन्स दक्षिण कोरियाली विवादास्पद क्रिस्चियन धर्मगुरु सन म्युङ मूनद्वारा स्थापित युनिफिकेसन चर्च (Unification Church) अन्तर्गतको मिडिया विभाग हो जसले उनको ‘डिभाइन प्रिन्सिपल’ लगायत विचारहरूको वकालत गर्छ। युनिफिकेसन चर्चका संस्थापक मूनको स्वामित्वमा रहेको न्युज वर्ल्ड कम्युनिकेसन्स अन्तर्गत अरु पनि थुप्रै मिडियाहरू छन्।
कोलम्बिया जर्नलिज्म रिभ्युको सन् २०११ सम्मको विवरणअनुसार ‘सेकाई निप्पो’ सहित ६ वटा पत्रिका र युनाइटेड प्रेस इन्टरनेसनल (युपीआइ) नामक समाचार एजेन्सी यो कम्पनीको स्वामित्वमा छन्।
कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र विवादित व्यक्ति सन म्युङ मूनको सन् २०१२ मा निधन भएको थियो।शितयुद्धका बेला कम्युनिस्ट विरोधी गतिविधि यसका प्राथमिकताका समाचार बन्ने गर्थ्यो। यो संगठनले ब्रेनवास गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ। हेर्नुस् दि गार्डियनमा स्टिभ ह्यासनको बयान
उनको युनिफिकेसन चर्च शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान भएको द इन्डेपेन्डेट लेख्छ। जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न आफूलाई खटाएको दावी उनी गर्छन्। उनका अनुयायीहरूले आफ्नो जीवन साथी चुन्ने अधिकार उनलाई छाडिदिन्छन्। नवविवाहित दम्पतिले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मूनको चित्र अगाडि बसेर निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने निर्देशन उनी दिन्थे। हेर्नुस् विस्तृत जानकारी
आफ्ना १७ वर्षीय छोराको कार दुर्घटनामा मृत्यु हुँदा उनले मृत छोराको बिहे गराइदिएका थिए। किनकि उनी आफैले शिक्षा दिँदै आएका थिए- विवाहितले मात्रै भगवानको राज्यमा प्रवेश पाउँछन्।
कर छलेको अभियोगमा उनी १८ महिना जेलसमेत बसेका थिए। पढ्नुस् मूनबारे विस्तृत जानकारीसहित द न्यु रिपब्लिकको आर्टिकल जसमा यो संगठन र यसका संस्थापकका अनेकौँ अनौठा चर्तिकलाको फेहरिस्त छ।
उनले स्थापना गरेको न्युज वर्ल्ड कम्युनिकेसन्सको स्वामित्व सन् २००९ यता उनका छोरा ह्युन जिन मूनको हातमा छ। मूनले छोडेर गएको विशाल व्यावसायिक, राजनीतिक र धार्मिक साम्राज्य उनका सन्तानहरूले सम्हालिरहेका छन्। र, उनका एकजना छोरा जस्टिन मून अमेरिकाको हतियार उत्पादन कम्पनी ‘क्हर आर्म्स’ का मालिक छन्।
नागरिकको समाचारअनुसार नेपाल रिपब्लिक मिडिया र सेकाई निप्पोबीचको हस्ताक्षर कार्यक्रममा युनिर्भसल पिस फेडेरेसनका महासचिव सुनसुके उवोतानी पनि उपस्थित थिए। युनिभर्सल पिस फेडेरेसन पनि सङ म्यान मून र उनकी श्रीमती डा. हक जा हान मूनद्वारा सन् २००५ मा स्थापित संस्था हो जसले विश्वभर ‘धार्मिक स्वतन्त्रता’ को वकालत गर्छ।
यसको सम्पर्क नेपालसम्म पनि छ। युनिभर्सल पिस फेडरेसनका नेपाल अध्यक्ष पूर्व मन्त्री एकनाथ ढकाल हुन्, जो नेपाल परिवार दलका अध्यक्ष पनि हुन्। यसबाहेक यही संस्थासँग सम्बन्ध रहेको अर्को संस्था कार्प (Collegiate Association for the Research of Principles -CARP) नेपालमा पनि सञ्चालनमा छ जसले सन म्युङ मूनको ‘डिभाइन प्रिन्सिपल’ लगायतको प्रचार गर्छ। र, फन्ड रेजिङका नाममा किशोरकिशोरीहरूलाई सडकमा कलम बेच्न लगाउँछ।
पहिलो होइन ‘भगिनी सम्बन्ध’
अन्तर्राष्ट्रिय मिडियासँग रिपब्लिक मिडियाले भगिनी सम्बन्ध कायम गरेको पहिलोपटक भने होइन। रिपब्लिक मिडियाले २०७२ मा दक्षिण कोरियाको ‘द स्यागी टाइम्स’ सँग भगिनी सम्बन्ध गाँसेको समाचार उसकै साइटमा पढ्न पाइन्छ।
‘दुई मिडिया समूहले सामूहिक लक्ष्य, मूल्य र व्यावसायिक उत्कृष्टतामार्फत सत्यतथ्यको खोजी र आपसी सहकार्यबाट सामाजिक विकासमा योगदान निम्ति सहमति गरेका’ नागरिकन्युज र माइरिपब्लिकाको समाचारमा उल्लेख छ।
रोचक के छ भने यो ‘द स्यागी टाइम्स’ पनि मूनकै न्युज वर्ल्ड कम्युनिकेसन्सकै पत्रिका हो। दक्षिण कोरियाको पत्रिका कोरियाटाइम्सका अनुसार ‘स्यागी टाइम्स’ सन् १९८९ मा युनिफिकेसन चर्च फाउन्डेसनले स्थापना गरेको हो। र, अमेरिकामा रहेको वासिङ्टन टाइम्ससँग ‘स्यागी टाइम्स’ को पार्टनरसिप छ।
वासिङ्टन टाइम्स पनि युनिफिकेसन चर्च फाउन्डेसनकै पत्रिका हो जुन् सुरु हुँदा न्यु योर्क टाइम्सले गजबको समाचार बनाएको थियो।
अन्त्यमा,
नेपालको एउटा मिडियाले अर्को कुनै देशको मिडियासँग सम्बन्ध गाँस्नु अन्यथा होइन। तर जुन पत्रिकासँग नेपाल रिपब्लिक मिडियाको भगिनी सम्बन्ध गाँसिएको छ, त्यसबारे भेटिएका यी तथ्यहरूले स्वभाविक प्रश्न उब्जाएको छ- एउटा विवादास्पद चर्चले सञ्चालन गर्ने पत्रिकासँग नेपालको एक प्रमुख मिडिया हाउसको भगिनी सम्बन्धको अर्थ के होला ? अझ त्यही संस्थाको स्वामित्वमा रहेका अलग अलग पत्रिकासँग एकपछि अर्को गरी दुई वर्षको फरकमा भएका भगिनी सम्बन्धलाई कसरी बुझ्ने ?
March 27th, 2018
नागरिकमा एकनाथ ढकालका सकारात्मक समाचार सधैँ प्रकाशित हुन्छन्। एक पटक ढकाल सांसद भएकाे बेलामा उनकाे भाषणकाे समाचार इमेलमा पठाइदिएछन्। ज्ञवालीले समाचार डेस्कमा त्याे इमेल फर्वाड गरिदिए । याे जनाधार नभएकाे विवादस्पद व्यक्तिकाे भाषण के काम भन्ने ठानेर डेस्कले समाचार राखेनछ। भाेलिपल्ट ज्ञवालीले (तत्कालीन एसाेसिएट सम्पादक र हालका प्रधान सम्पादक) लुइँटेलकाे झाँकाे झारे। ‘अर्ब लगानी गर्ने म अनि मैले पठाएकाे समाचार नछापिने’ भनेपछि स्थिति असहज भयाे। त्यसयता नागरिकमा ढकालका गतिविधि नियमित प्रकाशित हुन्छन्। ज्ञवाली परिवारकाे पहिलाे पुस्ता मात्र हाेइन दाेस्राे पुस्ता पनि याे विवादास्पद चर्चकाे साैजन्यमा काेरिया भ्रमण गरिसकेकाे छ। अमेरिकाकाे न्युयाेर्क टाइम्स नेपालमा छापेर वितरण गर्ने नेपाल रिपब्लिक मिडियाका मालिक विनाेदराज एमाले नेता माधवकुमार नेपालसँग विश्वले खुँखार न्युक्लियर पावर भन्ने गरेकाे उत्तर काेरिया कसरी पुगे भनेर खाेजी गरियाे भने पनि याे चर्चसम्म लिंक पुग्नेछ। नेपाल रिपब्लिक मिडियासँग अब सामाजिक उत्तरदायित्त्व रहेन। सामाजिक उत्तरदायित्वकाे कसीमा नागरिक र रिपब्लिकालाई जाँच्ने हाे भने त्याे लगभग शून्यकाे स्थितिमा पुगिसकेकाे छ। पत्रकारिता गर्ने नाउँमा जेडिए कम्प्लेक्स प्रांगणमा भित्र्याइएका मर्सिडिज गाडीले राज्यबाट कति कर छुट पाएका छन् कृपया खाेजी गर्नुहाेस्। अनि एउटा समूहकाे विदेशी रक्सी व्यापार फस्टाउने वातावरण बनाइदिन नागरिकले मंगलबार लेखेकाे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलकाे ड्युटी फ्रीकाे याे समाचार पढ्नुहाेस्,’मदिरा विमानस्थल सुरक्षाका हिसाबले खतरापूर्ण मानिन्छ।’कति हाँस्नु हाे? खित….खित….
https://www.nagariknews.com/news/41873/