सुमार्गीको गाली बेइज्जती मुद्दामा कान्तिपुरले यस्तो दियो जवाफ


कान्तिपुर मिडिया ग्रुप (कान्तिपुर पब्लिकेसन्स प्रालि) ले आफ्नो गाली बेइज्जती गरेको भन्दै व्यवसायी अजेयराज सुमार्गीले दायर गरेको गाली बेइज्जती मुद्दाको जवाफ दिँदै कान्तिपुरले ‘गाली बेइज्जती हुने गरी कुनै समाचार प्रकाशन नगरेको’ जिकिर गरेको छ। कान्तिपुरले सुमार्गीद्वारा दायर गाली बेइज्जती मुद्दा खारेज गर्न पनि माग गरेको छ।

सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाएर पुस २३ गते काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

नियतवश झूठा समाचारहरू प्रकाशित गरी कान्तिपुरले आफूलाई बदनाम र बेइज्जत गरेको जिकिर गर्दै उनले कान्तिपुरबाट २५ करोड रुपैयाँ क्षतिपूर्ति मागदावी गरेका छन्।

कान्तिपुर र सुमार्गीको के हो द्वन्द्व ? पढ्नुस् : सुमार्गी VS सिरोहिया : जग्गा कारोबारदेखि अदालती वारसम्म

के छ कान्तिपुरको जवाफमा ?

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहिया, उनकी पत्नी एवं निर्देशक स्वस्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले फागुन ६ गते काठमाडौं जिल्ला अदालतमा वारेसमार्फत जवाफ बुझाएका हुन्।

‘समाजमा घटेका वा घट्न सक्ने विषयवस्तुलाई समेटेर पत्रकारिताको माध्यमबाट जनमानसमा ल्याउनु नै पत्रकारिताको धर्म हो’, कान्तिपुरको जवाफमा उल्लेख छ, ‘सत्यतथ्यको आधारमा समाचार प्रकाशन गरेकै भरमा कोही कसैको गाली बेइज्जती हुन सक्दैन।‘

१) पहिला मौन, अहिले फिराद ?

‘विपक्ष वादीविरुद्ध छापिएका समाचार असत्य भए पीडित पक्षले पत्रिकालाई खण्डन पठाउने आम प्रचलन छ। विपक्षीको खण्डन प्राप्त भएपछि यथार्थ कुरा बुझी कुनै गलत समाचार प्रकाशित भएको छ भन्ने हामीलाई लागेमा क्षमयाचनासहित खण्डन छाप्ने थियौँ’, कान्तिपुरको जवाफमा छ, ‘विपक्षीले खण्डन पठाएको र त्यससपछि खण्डन छापेको भन्न कुरा समेत आफ्नो फिरादपत्रमा भन्न सक्नुभएको छैन। यसरी प्रकाशित समाचारलाई खण्डन नगरी मौन स्वीकार नगरी बसी हाल आएर फिराद दिन मिल्ने होइन।‘

२) समाचार अरु पनि लेख्ने, मुद्दा हामीलाई मात्र?

कान्तिपुरले सुमार्गीबारे कान्तिपुर अन्तर्गतका मिडियामा मात्र नभइ अन्य मिडियामा पनि समाचार प्रकाशित भएको तर मुद्दा भने कान्तिपुरमाथि मात्र लगाइएको भन्दै ‘कान्तिपुर पब्लिकेसन्समाथि मात्र गलत नियतका साथ मुद्दा दायर गरिएको’ जिकिर गरेको छ। सबैभन्दा पहिला हिमाल खबर पत्रिकाको २०७१ साल फागुन १०-१६ अंकमा सुमार्गीबारे समाचार छापिएको र त्यसपछि सेतोपाटी डट कम, हाम्राकुरा डट कम, सौर्य दैनिक लगायत पत्रपत्रिका र अनलाइनमा समाचार आउँदा पनि मुद्दा भने आफूविरुद्धमात्र हालिएको कान्तिपुरको भनाई छ। ‘कान्तिपुर पब्लिकेसन्सको कुन अंकको कुन वाक्यले गर्दा निज विपक्षीलाई गाली बेइज्जती हुन गएको हो सो कुरा समेत आफ्नो फिराद पत्रमा खुलाउन सक्नु भएको छैन’, कान्तिपुरको जवाफमा उल्लेख छ।

३) समाचार यथार्थ

कान्तिपुरले ‘कोही कसैलाई गाली बेइज्जती हुने गरी तथ्यलाई तोडमरोड गरी समाचार प्रकाशन तथा प्रकाशन नगरेको’ दावी गर्दै भनेको छ- ‘प्रकाशित विभिन्न अंकका समाचारहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई राष्ट्र बैंकले अनुसन्धानका लागि पठाएको रिपोर्ट, विदेशबाट ल्याएको रुपैयाँको विवरण, उक्त रिपोर्टको आधारमा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनहरूको आधारमा यथार्थ समाचार प्रकाशन गरेको हो।‘

४) सुमार्गी ‘सम्मानित व्यक्तित्व’

८ वर्षदेखि गणतन्त्र बेलारुसको अवैतनिक वाणिज्यदूत रहेका सुमार्गी ‘नेपाल राष्ट्रका लागि सम्मानित व्यक्तिव’ भएको उल्लेख गर्दै जवाफमा उनका ‘सम्बन्धमा लागेका आरोप र आएका कुरा…. जस्ताको तस्तै जनता समक्ष समाचार माध्यमले ल्याउनु पत्रकारिताको धर्म भएको’ उल्लेख छ। आफूमाथि लागेका आरोपको यथार्थ कुरा जनतासमक्ष ल्याउनु सुमार्गीको पनि कर्तव्य भएको कान्तिपुरको जिकिर छ। (आफूमाथि लागेका आरोपहरूबारे सुमार्गीले गरेको पत्रकार सम्मेलनको समाचार भने कान्तिपुरले ब्ल्याकआउट गरको थियो)। गाली बेइज्जती ऐन, २०१६ को दफा ४ (१) को प्रावधान उल्लेख गर्दै ‘सार्वजनिक हितका लागि साँचो कुरामा दोष लगाइएकोले गाली बेइज्जती नठहर्ने जवाफमा उल्लेख छ।

५) जग्गा फिर्ता मागेको कुरा ‘मिथ्या’

२०७० सालमा आफूले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासँग किनेको जग्गा पछि उनले पुरानै मूल्यमा फिर्ता मागेको तर दिन नमानेपछि कान्तिपुर मिडिया दुरुपयोग गरी आफ्ना विरुद्ध समाचार लेखाएको आरोप सुमार्गीको छ। तर कान्तिपुरले भने उनको आरोपलाई मिथ्या भनेको छ। ‘जग्गा फिर्ता गर्न भनेका छैनौँ। उक्ता कुरा भ्रामक छ। विपक्षीले स्रोत नखुलेको रुपैयाँ फुकुवा गर्ने उद्देश्यले सम्बन्धित निकायको ध्यान अन्यत्र केन्द्रित पार्न मात्र मिथ्या कुरा उल्लेख गरी मुद्दा दिएका हुन्‘, जवाफमा उल्लेख छ। सुमार्गीले वैदेशिक ऋण लगानीका नाममा कालो धन भित्र्याउन लागेको भन्दै समाचार लेखिरहेको कान्तिपुरले स्रोत नखुलेको कति रकम भित्र्याउन लागेका हुन् भन्ने विवरण भने  जवाफमा खाली राखेको छ।

६) सर्वोच्चको आदेश बमोजिम समाचार

सर्वोच्च अदालतले २०७४ माघ २३ गते रकम ’रोक्का सरहको यथास्थितिमा राख्न पर्न सक्ने कुनै कानुनी कारण र आधार नरहेको’ ठहर गर्दै सुमार्गीको नेपाल स्याटेलाइट प्रालिले ‘माग गरेका बखत भुक्तानी दिन दिलाउन’ अन्तरिम आदेश दिएको थियो। आदेशमा फागुन २ गते सबै पक्षलाई छलफलमा आउन भनिए पनि छलफलको मिति फागुन १० हुँदै १३ गतेलाई सरेको छ। सर्वोच्च अदालतको आदेश बमोजिम २०७४ माघ २४ गते कान्तिपुरको पहिलो पृष्ठमा ‘सुमार्गीको रकम सर्वोच्चद्वारा फुकुवा’ शीर्षक राखी समाचार प्रकाशित गरेको उल्लेख गर्दै जवाफमा ‘जानी जानी कसैको चरित्र हत्या होस् अथवा गाली बेइज्जती होस् भन्ने उद्देश्यले समाचार प्रकाशित नगरेको’ जिकिर गरिएको छ। तर अनलाइनमा भने ‘सुमार्गीको स्रोत नखुलेको रकम सर्वोच्चद्वारा फुकुवा’शीर्षक राखिएको थियो। र, पत्रिकामा उक्त अन्तरिम आदेश दिने न्यायाधीश तेजबहादुर केसीको फोटोसहित समाचार छापिएको थियो।

७) मुद्दा खारेज गर्न माग

कान्तिपुरले सुमार्गीद्वारा दायर गालीबेइज्जती मुद्दा खारेज गर्न माग गरेको छ। ‘विपक्षी (सुमार्गी) सँग कुनै रिसइबी नरहेको, विपक्षीले खण्डनसमेत नपठाइ मौन स्वीकार गरी बसेको, कान्तिपुर पब्लिकेसन्स बाहेकको कुनै पत्रपत्रिकामाथि कुनै प्रकारको उजुरी नगरेको, प्रकाशित समाचार नेपाल राष्ट्र बैंकको रिपोर्ट, ल्याएको रुपैयाँको विवरण तथा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनसमेतको तथ्यको आधारमा यथार्थ समाचार प्रकाशित गरेका हौँ’, जवाफमा भनिएको छ, ‘विपक्षीको गाली बेइज्जती एवं चरित्र हत्या होस् भन्ने उद्देश्यले समाचार नछापेको नगरेको हुँदा विपक्षीको फिराद दावी खारेज गरी पाउँ।‘ पत्रिकालाई क्षति पुर्‍याउने नियतले सुमार्गीले अदालतमा मुद्दा दायर गरेकोले गाली बेइज्जती ऐनको दफा १० अनुसार सुमार्गीलाई सजाय गरी मुद्दामा लाग्ने खर्च समेत भराउन कान्तिपुरले माग गरेको छ।


सम्बन्धित समाचारहरू


पढ्नुस् मिडिया कुराकानीलाई प्राप्त कान्तिपुरको जवाफ जस्ताको तस्तै :

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *