२५ औं वार्षिकोत्सव अघि कान्तिपुरमा महत्वपूर्ण परिवर्तन


फागुन ७ गते २५ औँ वार्षिकोत्सव मनाउन लागेको कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले समाचार कक्षमा महत्वपूर्ण परिवर्तनहरू गरेको छ। कतिपय पत्रकारको बढुवा भएको छ भने कतिलाई स्थानान्तरणसहित नयाँ जिम्मेवारी दिइएको छ। कसैको भने पद गएको छ।

सम्पादकीय विभागलाई समेत मुलुकको संघीय संरचनाअनुसार परिवर्तन गरिएको छ भने हरेक ब्युरोमा सम्पादक तोकिएका छन्। कान्तिपुरमा रहेका ब्युरोका कोअर्डिनेटर/संयोजक पदलाई ‘ब्युरो सम्पादक’ बनाइएको छ। सातवटा प्रदेशमा सम्बन्धित प्रदेशभित्रका जिल्लामा संयोजन गर्नेगरी प्रदेश कोअर्डिनेटर खटाइएको छ।

राजनीतिक ब्युरोमा बलराम बानिया सम्पादक छन् भने आर्थिक ब्युरो सम्पादक गोकर्ण अवस्थी छन्। अखण्ड भण्डारीलाई क्रियटिभ सम्पादकको जिम्मा दिइएको छ भने हिमेश बज्राचार्यलाई भ्याली तथा खेलकुद ब्युरो सम्पादक बनाइएको छ। डेस्क सम्पादक श्रीष भण्डारी छन् भने अनलाइन सम्पादक खिम घले छन्। यस्तै प्रादेशिक सम्पादक गंगा बिसी भएका छन्।

प्रदेश १ मा माधव घिमिरे, प्रदेश २ मा अजित तिवारी, प्रदेश ३ मा प्रताप विष्ट , प्रदेश ४ मा भीम घिमिरे, प्रदेश ५ मा दीपेन्द्र बडुवाल, प्रदेश ६ मा जनक नेपाल र प्रदेश ७ मा चित्रांग थापा प्रदेश ब्युरो संयोजक तोकिएका छन्।

यी हुन् महत्वपूर्ण परिवर्तनः

१) हरिबहादुर थापा सम्पादकमा बढुवा

कान्तिपुर दैनिकमा समाचार सम्पादक रहेका हरिबहादुर थापा सम्पादकमा बढुवा भएका छन्। लामो सयमदेखि कान्तिपुर दैनिकको ‘सेकेन्ड म्यान’ रहेका थापालाई सम्पादकमा बढुवा गरिएको हो। २०४९ फागुन ७ गते कान्तिपुर प्रकाशन हुनुपूर्व तयारीकै क्रममा मंसिर ४ गते थापा कान्तिपुरमा आबद्ध भएका थिए।

बाह्रखरीमा नरेश फुयालले लेखेको प्रोफाइलअनुसार थापा त्यसअघि ‘देशान्तर’ साप्ताहिकमा कार्यरत थिए। थापाका पछिल्लोपटक ‘रजगज’ सहित सुशासन तथा अर्थ राजनीतिक विषयमा केन्द्रित पुस्तकहरू प्रकाशित छन्।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले कान्तिपुर मिडिया ग्रुपका अन्य सञ्चारमाध्यमहरूमा पनि सम्पादकीय नेतृत्व प्रदान गर्ने जिम्मा पाएका कान्तिपुरका पत्रकारहरू बताउँछन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले हालै गरिएका परिवर्तनहरूले कान्तिपुरलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

२) दिलभूषण कान्तिपुर टिभीबाट बिदा

कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठक बिदा भएका छन्। जापानमा रहेका बेला उनको पद खोसिएको हो। कान्तिपुरले यस विषयमा औपचारिक रुपमा बोलेको छैन। उनको ठाउँमा ‘नेपाल’ का प्रधान सम्पादक प्रशान्त आर्याललाई ल्याइएको छ।

३) प्रशान्त अर्याललाई टेलभिजनको जिम्मा

यसअघि ‘नेपाल’ म्यागेजिनका प्रधान सम्पादक रहेका प्रशान्त अर्याललाई कान्तिपुर टिभीको सम्पादकीय जिम्मा दिइएको छ। बाह्रखरीले लेखेको प्रोफाइलअनुसार उनी २०५३ सालदेखि कान्तिपुर आबद्ध छन्।

४) बस्नेत कान्तिपुर फर्किए

कान्तिपुर दैनिकबाट अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको ‘अन्नपूर्ण टुडे’ म्यागेजिनमा सम्पादक बनेका पत्रकार बसन्त बस्नेत पुनः कान्तिपुरमै फर्किएका छन्। उनलाई कान्तिपुर मिडिया ग्रुपको ‘नेपाल’ म्यागेजिनमा कार्यकारी भूमिकासहितको सहायक सम्पादकको जिम्मेवारी दिइएको छ। ‘नेपाल’ मा सुधीर शर्मा प्रधान सम्पादक रहनेछन्।

बस्नेत २०७४ भदौ पहिलो साताको अंकदेखि अन्नपूर्ण टुडे म्यागेजिनको सम्पादक थिए। तर अन्नपूर्ण मिडिया नेटवर्कले उक्त म्यागेजिन बन्द गरेपछि उनी ‘अन्नपूर्ण पोस्ट्’ दैनिकमा समाचार सम्पादक थिए। यसैसाता उनी अन्नपूर्णबाट बिदा भएका हुन्। उनले अन्नपूर्णका ग्रुप सम्पादक विजय कुमारसँगको फोटोसहित ट्विट गरेका छन्- ‘संस्थाहरू बदलिन्छन्, सम्बन्धहरू उस्तै रहिरहन्छन्।’

कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर (दैनिक), द काठमान्डु पोस्ट (अंग्रेजी दैनिक), साप्ताहिक, नेपाल साप्ताहिक र सर्वोत्तम नारी प्रकाशन गर्छ। कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरसहित केएमजीले समाचार पोर्टल इकान्तिपुर डट कम पनि सञ्चालन गर्छ।

सम्बन्धित ः

कान्तिपुरका संस्थापक गोयन्का २५ वर्षपछि मिडियामा फर्कँदै : विकास पत्रकारिताको योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *