बीबीसी मिडिया एक्सनको कार्यक्रम ‘साझा सवाल’ बन्द


बीबीसी मिडिया एक्सन (पहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) को बहसमूलक साप्‍ताहिक कार्यक्रम ‘साझा सवाल’ बन्द भएको छ। १० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’ को अन्तिम कार्यक्रम पनि विराटनगरमै गएर सकिएको हो।

पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस नेता मिनेन्द्र रिजाललाई अतिथिका रुपमा बोलाइएको थियो।

कार्यक्रमले ‘एक फन्को पूरा गरेको’ भन्दै साझा सवालले ट्‍विट गरेको छ।


कार्यक्रम ‘अहिलेलाई बन्द भएको’ भन्ने साझा सवालको ट्‍विटले कार्यक्रम भविष्यमा पुनः सञ्चालनमा आउने हो कि भन्ने भ्रम पनि दिएको छ।

रेडियो र टेलिभिजनबाट प्रशारण हुने ‘साझा सवाल’ बाट प्रस्तोता विद्या चापागाईँले ५२६ औँ अंकदेखि बिदा लिएकी थिइन्। उनी अहिले हेर्ने कथा नामको नयाँ मिडिया प्रोजेक्टको तयारीमा छन्।

कसरी तयार हुन्थ्यो साझा सवाल?

साझा सवालमा एक वा एक भन्दा बढी अतिथिलाई प्रस्तोता र सहभागीहरूले प्रश्न गर्थे। त्यसभन्दा अघि कार्यक्रममा उठाउने विषयबारे साझा सवाल टिमले अध्ययन गर्थ्यो र कतिपय अवस्थामा सहभागीहरू समेत आफै छान्थ्यो।

ओखलढुंगामा ‘साझा सवाल’ को एउटा अंक कसरी रेकर्ड गरियो भनेर देखाइएको छ।

साझा सवाल कार्यक्रममा हाल १० जनाको उत्पादन समूह थियो।

साझा सवालका पूर्व सम्पादक दीपक भट्टराईले ‘प्रश्नहरू अन्त्य नहुने’ भन्दै धन्यवाद दिएका छन्। उनले ४ महिनाअघि नै कार्यक्रम छोडेका थिए।

साझा सवाल बन्द भएकोमा ट्‍विटरमा कतिपयले आश्चर्य व्यक्त गरेका छन्। कार्यक्रम बन्द हुनुलाई सामान्य मान्नेसँगै कार्यक्रम पुनः सुरु गर्न सुझाउनेहरू पनि छन्।

पहिला प्रस्तोता नारायण श्रेष्ठ र उनीपछि विद्या चापागाईँलाई साझा सवालमा हेरेका दर्शकले पछिल्ला कार्यक्रमका बारेमा पनि प्रतिक्रिया दिएका छन्।

पहिले कार्यक्रम उत्पादन टिममा रहेर काम गरेका ईश्वर रौनियारले सम्झिएका छन्-

कार्यक्रम के कारण बन्द गरिएको हो भन्नेबारे बीबीसी मिडिया एक्सनले केही खुलाएको छैन। तर सोसल मिडियामा कतिपयले कार्यक्रम उत्पादनका लागि बजेट उपलब्ध नभएर बन्द भएको शंका गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *