सुमार्गीको धन : कान्तिपुर आक्रामक, अरु मिडिया किन मौन?


२०७४ माघ १२ : पछिल्लो दिनमा ‘कान्तिपुर’ ले फलोअप गरिरहेको एउटा विषयमा नेपालका अन्य मिडियाको आश्चर्यजनक मौनता देखियो। कान्तिपुरको ‘समाचार प्रभाव’ कै कारण उद्योगी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको अर्बौँ रुपैयाँका सम्बन्धमा छानबिन गर्नका लागि समिति गठन गर्न सरकार ‘बाध्य’ भइसक्दा पनि कान्तिपुर बाहेकका मिडियाका लागि यो समाचार बनेको छैन।

विषय बुझ्न सजिलोका लागि संक्षिप्त पृष्ठभूमि जोडौँ।

वैदेशिक ऋण लगानीबापत् सुमार्गीले भित्र्याउन लागेको रकमको स्रोत नखुलेको भन्दै चार वर्षदेखि निरन्तर समाचार लेखिरहेको कान्तिपुरले हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको संयुक्त अनुसन्धान प्रतिवेदनले उक्त रकमलाई अवैध ठहर गरेको भन्दै समाचार प्रकाशन/प्रसारण गरेको छ। पछिल्लोपटक कान्तिपुरले ‘सुमार्गीको अवैध आर्जनका विषयमा सुरु भएको अनुसन्धान तीन वर्ष बित्दा पनि निष्कर्षउन्मुख नदेखिँदा उनलाई उन्मुक्ति वा सफाइ दिने प्रपञ्च भएको’ शंका व्यक्त गर्दै सम्पादकीयसमेत लेखिसकेको छ।

कान्तिपुरको कभरेजको प्रतिरक्षा र सुमार्गीमाथि कारबाहीको माग गर्दै मिडिया सञ्चालकहरूको संस्था मिडिया सोसाइटी नेपालले समेत विज्ञप्ति निकालेको छ। सुमार्गीको पत्रकार सम्मेलनको प्रतिक्रियामा कान्तिपुर मिडिया ग्रुपले पनि वक्तव्य नै निकालेर सुमार्गीलाई ‘कारबाही’ गर्न लबिइङ गरेको छ। र, सरकारले सुमार्गीले ल्याएको रकमबारे विस्तृत अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति बनाएको खबर पनि कान्तिपुरमा मात्र छापिएको छ।

तर आफूले प्रचलित कानुन बमोजिम अनुमति लिएर वैदेशिक ऋण लगानीबापत् रकम भित्र्याएको दावी अजेयराज सुमार्गीको छ। मुक्तिश्री प्रालिसहित दर्जनबढी कम्पनीका मालिक सुमार्गीले कान्तिपुर मिडिया ग्रुपले आफ्नाबारेमा ‘नियोजित रुपमा आफ्नाबारेमा झूठा र भ्रामक समाचारहरू प्रकाशन/प्रसारण गरेको’ दावीसहित कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहिया, उनकी पत्नी एवं कान्तिपुरकी निर्देशक स्वास्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माविरुद्ध पुस २३ गते काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन्। उनले २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।

२०७० सालमा आफूले सिरोहियासँग किनेको जग्गा पछि उनले पुरानै मूल्यमा फिर्ता मागेको तर दिन नमानेपछि सिरोहियाले कान्तिपुर मिडिया दुरुपयोग गरी आफ्ना विरुद्ध समाचार लेखाएको आरोप सुमार्गीको छ। सिरोहियाले आफूलाई सिध्याउने धम्की दिएको भन्दै सुमार्गीले पुस १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिउ ज्यान सुरक्षाको निवेदन पनि दिएका छन्। कान्तिपुरले आफूलाई ब्ल्याकमेल गरेको भन्दै माघ १ गते पत्रकार सम्मेलन गरेर सुमार्गीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई मिडिया प्रोटेक्सनका लागि केही प्रतिशत गोल्डेन सेयर दिनुपर्ने बाध्यतामा व्यवसायिक प्रतिष्ठानहरू रहेको दावी गरे। आफूले सबै रकम प्रचलित कानुनबमोजिम बैंकिङ च्यानलबाट ल्याएको जिकिर गर्दै उनले कानुनको कसीमा घोटिन तयार रहेको बताएका छन्।

टाइमलाइन

  • २०७० असार १६ : सिरोहिया र सुमार्गीबीच जग्गा कारोबार।
  • २०७० पुस ७  : सुमार्गीद्वारा सन् २०१६ भित्र थप २३ अर्ब ५० करोड रुपियाँ लगानी घोषणा।
  • २०७१ असोज २६ : ‘नेपाल’ साप्ताहिकमा ‘सुमार्गीको धनको स्रोत नखुलेको’ पहिलो समाचार।
  • २०७४ पुस १२ : जिल्ला प्रशासन काठमाडौंमा सुमार्गीद्वारा जिउ ज्यान सुरक्षाको निवेदन।
  • २०७४ पुस २३ : जिल्ला अदालत काठमाडौंमा कान्तिपुर विरुद्ध गाली बेइज्जतीको मुद्दा।
  • २०७४ पुस २६ : नेपाल मिडिया सोसाइटीद्वारा विज्ञप्ति जारी।
  • २०७४ माघ १ : सुमार्गीको पत्रकार सम्मेलन।
  • २०७४ माघ २ : कान्तिपुर मिडिया ग्रुपद्वारा वक्तव्य जारी।
  • २०७४ माघ ८ : सरकारद्वारा ५ सदस्यीय विस्तृत अनुसन्धान समिति गठन।

 

सायद तपाईँलाई यो पृष्ठभूमिले घटनाबारे छोटोमा बुझ्न सघायो। अझ बुझ्न मन छ भने हाम्रा पुराना स्टोरीहरू पढ्नुहोस्।

अब मूल विषयमा प्रवेश गरौँ।

पछिल्ला दिनमा सुमार्गीले ल्याएको धनबारे कान्तिपुरले आक्रामक ढंगले लेखिरहँदा अरु मिडिया किन मौन छन्? कान्तिपुरले दिन बिराएर प्राथमिकताका साथ प्रथम पृष्ठमा समाचार छापिरहँदा सुमार्गीले विदेशबाट ल्याउन लागेको रकम विवादको छेउटुप्पो कान्तिपुरबाहेकका मिडियाले भेउ पाउन सकेको देखिँदैन।

बरु उनीहरू दुईवटा मिडिया हाउसका मालिकको झगडा मूल विषय हो भनेजसरी सिरोहिया र सुमार्गीबीचको आरोप प्रत्यारोपको समाचारमात्र छापिरहेका छन्। कतिपयले त उनीहरूबीचको द्वन्द्वलाई पनि बेवास्ता गरेका छन्। यो कान्तिपुरको मात्र विषय हो झैँ उनीहरू किन चुप बसेका छन् ? सुमार्गीले कान्तिपुरमाथि ब्ल्याकमेलिङ र बार्गेनिङको आरोप लगाउँदै उसले प्रकाशन/प्रसारण गरेका सामग्रीमाथि नै प्रश्न उठाइरहेका बेला अरु मिडियाले किन त्यही विषयमा फरक रिपोर्टिङ गरेका छैनन् ?

के उनीहरू पहिला पनि यस विषयमा यसैगरी मौन थिए?

थिएनन्।

विगत केलाउँदा अन्य मिडियाहरूले पनि यसबारे विभिन्न कोणबाट धेरथोर लेखिरहेकै देखिन्छ।

सुमार्गीबारे मिडिया कभरेज

नेपाल रिपब्लिक मिडिया अन्तर्गतका नागरिक दैनिकरिपब्लिका अंग्रेजी दैनिकमा सुमार्गीले कान्तिपुरविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा, उनको पत्रकार सम्मेलन र त्यसको प्रतिक्रियामा आएको कान्तिपुर मिडिया ग्रुपको वक्तव्यलाई समाचार बनाए पनि सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको रकमको विवादलाई महत्व दिइएको छैन। विगतमा पनि नागरिकले यस विषयमा कलम चलाएको देखिन्न। बरु उसले पछिल्लो प्रकरणलाई ‘मिडिया वार’ का रुपमा मात्र हेरेको देखिन्छ। कान्तिपुर र थाहा मिडियाबीच विवाद शीर्षक राखेर उसले समाचार छापेको थियो।

२०७४ जेठ १३ गते सुमार्गीको रकम फुकुवा गर्न कसरत भन्दै बाइलाइन समाचार लेखेको अन्नपूर्ण पोस्ट् पनि अहिले सुमार्गी र कान्तिपुरका क्रियाप्रतिक्रियाको समाचारमा मात्र सीमित भएको छ। सुमार्गीले पत्रकार सम्मेलन गरेर सिरोहिया र कान्तिपुरमाथि लगाएका आरोप र त्यससँगै कान्तिपुरका अध्यक्ष सिरोहियाको प्रतिक्रिया राखेर अन्नपूर्ण पोस्ट्ले समाचार लेखेको छ।

नयाँ पत्रिका दैनिक यो प्रकरणमा पूरै मौन छ। न त सुमार्गीले अदालतमा दायर गरेको मुद्दा न त उनको पत्रकार सम्मेलन, न मिडिया सञ्चालकहरूको संस्था मिडिया सोसाइटीको विज्ञप्ति न कान्तिपुरले त्यसका बारेमा दिएको प्रतिक्रिया, नयाँ पत्रिकाको लागि त्यो चासोको विषय बनेको देखिँदैन। यो सम्पूर्ण प्रकरणलाई नयाँ पत्रिकाले ब्ल्याकआउट नै गरेको छ।

नेपाल समाचारपत्र, राजधानी, कारोबार दैनिक, आर्थिक अभियान दैनिक लगायतका पत्रपत्रिकाले पनि यो विषयमा छिर्न खासै रुची देखाएका छैनन्।

नेपाल समाचारपत्र दैनिकले सुमार्गीको पत्रकार सम्मेलन र त्यसपछि कान्तिपुरले दिएको प्रतिक्रियालाई समाचार बनाएको छ। त्यसबाहेक अरु विषयमा ऊ छिरेको छैन। वैधानिक रुपमा विदेशी लगानी भित्र्याएको सुमार्गीको भनाई र उनले कान्तिपुरमाथि लगाएका आरोपमा कान्तिपुरको प्रतिक्रियालाई उसले एकैठाउँमा राखेर सन्तुलन कायम गर्न खोजेको देखिन्छ।

सुमार्गीले कान्तिपुरमाथि लगाएका आरोप र त्यसमा कान्तिपुरको प्रतिक्रियामात्र राजधानीका लागि समाचार बनेको छ।

अंग्रेजी दैनिक द हिमालयन टाइम्सले सुमार्गीले प्रशासनमा उजुरी दर्तापछि मिडिया सञ्चालकहरूको संस्था मिडिया सोसाइटी नेपालले निकालेको विज्ञप्तिलाई समाचार बनाएको छ। सुमार्गीको कम्पनीले रोकिएको रकम ल्याउन सरकारी निकायहरू धाइरहेको भन्दै २०१६ फेब्रुअरी ६ मा समाचार लेखेको टाइम्सले अनलाइनबाट सुमार्गीबारे छापिएको एउटा समाचार डिलिट गरेको छ। सुमार्गीले पत्रकार सम्मेलनमा आफूले कानुनी बाटोबाट नै रकम ल्याउन लागेको बताएको भन्दै लेखिएको समाचार अनलाइनबाट डिलिट गरिएको छ।

आर्थिक दैनिक कारोबारले पनि यसलाई सुमार्गी र सिरोहियाबीचको आरोप प्रत्यारोपमा सीमित गरेको छ। आर्थिक अभियानले पनि सुमार्गीसिरोहियाका भनाईलाई अलगअलग समाचार बनाएर औपचारिकता निभाएको छ।

यता हिमाल मिडियाले भने कान्तिपुरमाथि सुमार्गीको आरोपपछि कान्तिपुरले जारी गरेको वक्तव्यलाई मात्र समाचार बनाएको छ। कुनै बेला सुमार्गीको धन कसको भन्दै कभर स्टोरी गरेको हिमालले विस्तृत छानबिनका लागि सरकारले समिति गठन गरिसक्दा पनि यस विषयमा कलम चलाउने रुची देखिन्न ।

यता सरकारी समाचार संस्था राससले सुमार्गीको पत्रकार सम्मेलनको छोटो समाचार बनाएको छ भने गोरखापत्रराइजिङ नेपालले वैध बाटोबाट नै रकम भित्र्याएको सुमार्गीको भनाईलाई छोटो समाचार बनाएका छन्।

पत्रपत्रिकाहरूको मात्र होइन, समाचार पोर्टलहरूको पनि हालत उस्तै देखिन्छ।

यस प्रकरणमा चुप रहेको अनलाइनखबर डट कमले रिपोर्टर्स क्बलमा अर्थराज्यमन्त्री उदय शम्सेर राणाले सुमार्गीमाथिको छानबिन दोस्रो चरणमा पुगेको बताएपछि भने मौनता तोडेको छ। नत्र ऊ पछिल्लो समय पूरै चुप थियो। २०७४ साउन १८ मा सुमार्गीको तीन अर्बको स्रोत नखुलेको भन्दै बाइलाइन समाचार लेखेको अनलाइनखबर पछिल्ला दिनमा भने यसबारे मौन छ। कान्तिपुर र सुमार्गीका आरोपप्रत्यारोपमा समेत ऊ चुपचाप देखियो। २०७१ चैत १ गते अनलाइनखबरले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सुमार्गीको रकमको समेत कनेक्सन देखाउँदै समाचार लेखेको थियो। यता अंग्रेजी साइटमा भने उसले सुमार्गीको रकम अवैध रहेको भन्दै कान्तिपुरकै समाचार साभार गरेको छ।

सेतोपाटी डट कम पनि सुमार्गी प्रशासन कार्यालय गएकोदेखि उनले गरेको पत्रकार सम्मेलन र त्यसमा कान्तिपुरको प्रतिक्रियामै रुमल्लिएको देखिन्छ। त्यसो त उसले कान्तिपुरमा सुमार्गीबारे छापिएका समाचार पनि जस्ताका तस्तै साभार गर्ने गरेको छ। सेतोपाटीले २०७१ माघ २९ मा सुमार्गीको रोकिएको रकमबारे विस्तृत समाचार छापेको थियो। गुणराज लुइँटेलको बाइलाइनमा छापिएको समाचारमा सुमार्गीको नाममा आएको अर्बौं अमेरिकी डलर किन रोकियो ? भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ।

समाचारमा सुमार्गीले आफूले घोषणा गरेर नै रकम ल्याएको तर रकम रोकिएको बारे आफूले जानकारीसम्म नपाएको बताएका छन्। ‘राष्ट्र बैंक उच्च स्रोत’ लाई उद्‍धृत गर्दै समाचारमा ऋणका रुपमा ल्याउन लागेको उक्त रकमको स्रोतबारे चित्त बुझाउन नसक्दा रकम रोकिएको उल्लेख छ। तर पछिल्ला दिनमा भने सेतोपाटीले पनि यसबारे रिपोर्टिङ गर्ने जाँगर चलाएको छैन। बरु प्रशासनमा सुमार्गीको उजुरी, सुमार्गीको पत्रकार सम्मेलन र कान्तिपरको वक्तव्य सेतोपाटीमा समाचार बनेका छन्।

रातोपाटी डट कमले पनि कान्तिपुरमा सुमार्गीबारे छापिएका समाचारहरूलाई साभार गरेर बेचिरहेकै छ। त्यसबाहेक सिरोहिया र सुमार्गीबीच दुबइमा गोप्य भेट भएको जनआस्था साप्ताहिकको समाचार पनि यहाँ छ। मूलतः रातोपाटीमा यस प्रकरणका बारेमा छापिएका समाचार सिरोहिया र सुमार्गीबीचको दोस्ती र दुश्मनीमा केन्द्रित छन्। कान्तिपुरविरुद्ध दर्ता भएको गाली बेइज्जती मुद्दा, सिरोहियामाथि सुमार्गीले लगाएका आरोपको भिडियो, उनीहरूबीचको जग्गा विवादले चर्किएको द्वन्द्व, उनले प्रशासनमा दिएको निवेदनमाथिको कारबाही, सिरोहियामाथि सुमार्गीका आरोप, उनीहरूको दोस्ती र दुश्मनीको कथा, सुमार्गीको बडिल्यांग्वोइज, सिरोहियामाथि सुमार्गीका १५ हमला, पत्रकार सम्मेलनको दोस्रो दिन हेटौंडामा सुमार्गीका थप आरोपहरू, कान्तिपुरको वक्तव्य र दुईजनाको द्वन्द्वमा मुछिएका अन्य नामहरू रातोपाटीमा समाचार बनेका छन्। पछिल्लो प्रकरणमा थुप्रै ‘बिकाउ’ समाचार लेखेको रातोपाटी बास्तविकता के हो भन्ने खोज गर्न भने चुकेको देखिन्छ।

आर्थिक विषयमा नाम चलेको अनलाइन बिजमान्डु डट कम र उसको अन्य समाचारमूलक साइट पहिलोपोस्ट डट कम पनि यस विषयमा करिब मौन नै देखिए। पहिलोपोस्टले आरोप पुष्टि गर्न सुमार्गीलाई ‘कान्तिपुर’को चुनौती, जग्गा विवादबारे स्पष्टीकरण शीर्षकमा उनीहरूका आरोप प्रत्यारोपहरूलाई एकैठाउँमा समाचार बनाएको छ। बिजमान्डुले भने एनसेलबारेको समाचारमा यो प्रसंग उठाएर मौनता तोडेको छ।

बिजमान्डु/पहिलोपोस्टले २०७१ फागुन १३ गते सुमार्गीको ९ अर्बबारे राष्ट्र बैंकले अनुसन्धान गरिरहेको र त्यसको १० दिनअघि तत्कालीन गभर्नर युवराज खतिवडाले सुमार्गीको रकम रोकिनुको कारण खुलाएको समाचार प्रकाशित गरेका थिए। प्रत्यक्ष वैदेशिक ऋण लगानीबापत् ल्याइएको ठूलो रकम बैंकमा रोकिएको र त्यसबारे प्रारम्भिक छानबिन सकिएर विस्तृत छानबिन हुन लागेको भनिए पनि प्रत्यक्ष वैदेशिक ऋण लगानी जोडिएको यो विषयमा भएको के हो भन्ने रिपोर्टिङमा बिजमान्डुले पनि चासो दिएको देखिँदैन। (अपडेट २०७४ माघ १४ १०:०८ PM) : बिजमान्डुमा २०६९ साउनमा सुमार्गीसँग जोडिएका दुई समाचार छापिएका छन्। साउन ४ मा प्रकाशित समाचार र साउन ६ गते प्रकाशित समाचारमा सुमार्गी र उपेन्द्र महतोसहित नेपालको दूरसञ्चार व्यवसायका अन्य खेलाडी पनि जोडिएका छन् जहाँ उनीहरूबीचको सेयर कारोबारको चर्चा छ। २०७१ फागुनमा  बिजमान्डुले दूरसञ्चार व्यवसायबाट सुमार्गीले कसरी अर्बौँ रुपैयाँ कमाए भन्नेबारे समाचार प्रकाशित गरेको थियो।)

बाह्रखरी डट कमले पनि सुमार्गी र कान्तिपुर/सिरोहिया भनाईमै यो विषयलाई सीमिति गरेको छ। बरु उसले माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सुमार्गीको बारेमा बोलेको विषयलाई समाचार बनाएको छ। कान्तिपुर र सिरोहियामाथि सुमार्गीको आरोपकान्तिपुरको वक्तव्यलाई उसले स्थान दिएको छ।

देश सञ्चार डट कमले पनि मूलत: सुमार्गी र कान्तिपुरबीचको द्वन्द्वका रुपमा नै समाचार प्रस्तुत गरेको छ। सुमार्गी शान्तिसुरक्षाको माग गर्दै प्रशासन कार्यालय गएदेखि, उनले पत्रकार सम्मेलनमा कान्तिपुरमाथि लगाएको ब्ल्याकमेलिङको आरोप, सिरोहियासँग सार्वजनिक बहसमा भिडाइदिन पत्रकारलाई सुमार्गीले गरेको आग्रह, कान्तिपुरको वक्तव्य र कान्तिपुरका अध्यक्ष सिरोहियाको प्रतिक्रिया देश सञ्चारमा समेटिएका छन्।

नेपालखबर डट कमले पनि सुमार्गीले ल्याएको र ल्याउन लागेको रकमलाई महत्व दिएको छैन। सुमार्गीको उजुरी, गाली बेइज्जती मुद्दा,  पत्रकार सम्मेलन र कान्तिपुरको वक्तव्यलाई भने उसले स्थान दिएको छ।

सुमार्गीबारे कान्तिपुरले छापेका समाचार साभार गर्ने गरेको लोकान्तर डट कमले पनि यसलाई दुई मिडिया मालिकको द्वन्द्वका रुपमा मात्र हेरेको छ।

(अपडेट २०७४ माघ १४ १०:१४ PM) : कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका मिडियाले सुमार्गीको पत्रकार सम्मेलनलाई ब्ल्याकआउट गरेका छन् भने सुमार्गी सञ्चालक रहेको थाहा सञ्चार नेटवर्कथाहखबर डट कमले कान्तिपुरको वक्तव्यलाई स्थान दिएका छैनन्।

रेडियो र टेलिभिजनहरू पनि सुमार्गी र कान्तिपुरबीचको द्वन्द्वमै रुमल्लिएका छन्।

साप्ताहिक पत्रिका

साप्ताहिक पत्रिकाहरू पनि यस विषयमा करिब मौन छन्। यद्यपि कतिपय साप्ताहिक पत्रिका भने यो प्रकरणमा समाचारमूलक भन्दा पनि विचारप्रधान देखिएका छन्।

टाइम्स अफ इन्डिया लगायत भारतीय समाचार माध्यममा कान्तिपुर विरुद्ध सुमार्गीले दायर गरेको गाली बेइज्जती मुद्दाबारे छापिएका समाचारका आधारमा नेपाली पत्र साप्ताहिकले ‘सिरोहियालाई भारतको काँध’ शीर्षकमा समाचार छापेको छ। प्रेस ट्रस्ट अफ इन्डियाको उक्त समाचारमा सिरोहियालाई Indian-origin publisher भनिएको छ।

जनआस्था साप्ताहिकले भने सिरोहिया र सुमार्गीको युद्धमा वैदेशिक लगानीका अर्का खेलाडी उपेन्द्र महतोको कनेक्सन देखाउँदै समाचार लेखेको छ। महतोसहित निरजगोविन्द श्रेष्ठ र भावना सिंहबीच पटक पटक ट्रान्सफर भएको एनसेलको २० प्रतिशत सेयर सिरोहियाले हत्याउन खोजेको दावी उक्त समाचारमा छ। सरलपत्रिका अनलाइनले जनआस्थाको उक्त समाचार साभार गरेको छ।

जनधारणा साप्ताहिकमा निमकान्त पाण्डेले ‘सुमार्गी-सिरोहिया प्रकरण : पत्रकारिताको लज्जाजनक अभ्यास’ शीर्षकमा लेख लेखेका छन्। न्युजअभियान अनलाइनले साभार गरेको यो लेखमा लेखकले चन्द्रागिरी हिल्सको समाचार जसरी विज्ञापनमार्फत बन्द भयो, त्यसैगरी कान्तिपुरले यो प्रकरणमा पनि निहीत स्वार्थ पूरा गर्न खोजेको आरोप लगाएका छन्। ‘निर्लज्जतापूर्वक भइरहेको समाचार प्रकाशनले कान्तिपुर पब्लिकेशनको एउटा व्यवसायीप्रतिको दुराग्रहलाई छताछुल्ल बनाइदिएको छ। समाचार प्रकाशनबाट कुनै व्यवसायीलाई नै धराशायी बनाउने कुत्सित मनसाय देखिएपछि प्रेसजगत्प्रतिको आम धारणा कस्तो बन्ला?’, लेखकले प्रश्न गरेका छन्’, ‘यस्तो शैलीको प्रकाशनप्रति प्रेस काउन्सिलको पनि चासो नदेखिनु आश्चर्यजनक हो। राज्यको समेत ध्यानाकर्षण हुनुपर्ने यो विषयमा राज्य सञ्चालकहरू मौन भइदिनु पनि दुर्भाग्यपूर्ण हो।‘

यता दृष्टि साप्ताहिकमा शम्भु श्रेष्ठले ‘…काल पल्क्यो‘ शीर्षकको लेखमा ‘स्थापित सञ्चारगृहले आफूमाथि लागेका आरोपलाई प्रेसले आफ्नै विश्वसनीयताका माध्यमबाट खण्डन गर्न सक्नुपर्ने’ लेखेका छन। ‘…सञ्चार माध्यमलाई व्यापारिक स्वार्थको हतियार बनाउने र ब्ल्याकमेल गर्नेसम्मका हर्कतलाई सामान्य भुलका रुपमा लिन सकिँदैन। यो गम्भीर अपराध हो। प्रेस स्वतन्त्रताका नाममा छाडापन पनि स्वीकार्य हुनुहुँदैन’, उनले लेखेका छन्, ‘…जनताको विश्वास टुटेको प्रेस आफू त संकटमा पर्छ नै, त्यसले लोकतन्त्रको पहरेदारी गर्ने सञ्चार क्षेत्रकै साख गिराउँछ। यसतर्फ खासगरी सम्पादकीय टिम सचेत बन्नु जरुरी छ।‘

अन्त्यमा,

सरकारले नै छानबिन समिति बनाइसकेपछि अरु मिडियाले यसलाई अब कान्तिपुरकै विषय मात्रै भनेर छोड्छन् कि मौनता तोडेर प्रभावकारी ढंगले सत्य तथ्य पत्ता लगाउने काममा आफूलाई सक्रिय बनाउँछन् त्यो भने हेर्न बाँकी नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.