कान्तिपुर र सुमार्गी द्वन्द्वमा उपेन्द्र महतोको के हो कनेक्सन ?


कान्तिपुरले लुकाएका उद्यमीको नाम खुल्यो

माथिको फोटो कसको हो चिन्नुहुन्छ ? पक्कै चिन्नुहुन्छ।

चिन्नुहुन्न ?  हामी चिनाउँछौँ।

त्यसअघि हामीले यस विषयमा प्रष्ट भन्दै आएको विषय पुनः दोहोर्‍याउँ।

सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानीबापत् ल्याएको तथा ल्याउन लागेको रकम अवैध नै हो वा उनले कानुन मिचेका छन् भने उनलाई दोषी करार गरेर सजाय दिनुपर्‍यो। होइन भने एउटा व्यक्तिले ल्याएको अर्बौँ रुपैयाँ लगानी बैंकमा किन सडाएर राखिएको हो राज्यका निकायहरू बोल्नुपर्‍यो। राज्यका निकायहरू औपचारिक रुपमा नबोल्ने, रकम बैंकमा थन्किरहने र सधैँभर मिडिया खपतको विषयमात्र बनिरहने हो भने ‘दालमा केही न केही कालो’ छ भन्ने त देखिन्छ नै मिडियाको विश्वसनीयता र राज्यको उपस्थितिमाथि नै प्रश्न उठ्ने छ।

अब मूल विषयमा केन्द्रित होउँ।

२०७४ पुस २७ गते पृथ्वीजयन्तीका दिन कान्तिपुर दैनिकमा उद्योगपति अजेयराज सुमार्गीका बारेमा  तीनवटा समाचार आएका थिए। ती समाचारले कान्तिपुरको पहिलो, दोस्रो र तेस्रो पेज ढाकेका थिए।

पहिलो समाचारको हेडलाइन थियो- यसरी ल्याउँछन् सुमार्गीले ‘अवैध धन’

दोस्रो समाचारको शीर्षक थियो- (सुमार्गीको) अस्वभाविक उदय

र, तेस्रो समाचारको शीर्षक थियो- ‘सत्ता, शक्ति र धम्कीबाट प्रेसलाई नियन्त्रण गर्न नखोज’

यी समाचारभित्र के छ तपाईँ आफै पढ्नुस्, हामी दोस्रो समाचारमा रहेको एउटा तथ्यमाथि कुरा गर्दै छौँ जहाँ कान्तिपुरले एकजना व्यक्तिको नाम नियतबस लुकाएको थियो।

सामान्य पृष्ठभूमिका सुमार्गी कसरी अथाह चलअचल सम्पत्तिका मालिक बने भन्ने विषयमा केन्द्रित यो समाचारमा भनिएको छ-

२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि सुमार्गीको आर्थिक चलखेल ह्वात्तै बढेको हो। त्यतिबेलासम्म सुमार्गीले ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसँग परिचय बनाइसकेका थिए। राजबहादुरकी पत्नी प्रेरणालाई सुमार्गीकी श्रीमती सम्झना अर्याल योग सिकाउँथिन्। जसले उनीहरूको पारिवारिक सम्बन्धलाई नजिक बनायो। राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालीन राजकुमारी श्रुति शाहका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति प्रेरणाका नाममा ल्याउने भूमिकामा सक्रिय रूपले सुमार्गी लागे। त्यति नै बेला उनले केही जग्गा हात पारेका थिए। त्यही बेला सम्पर्कमा आएका एक उद्यमी र राजबहादुर सिंहसँगको सान्निध्यबाट एनसेल (तत्कालीन मेरो मोबाइल) मा उनले केही सेयर हासिल गरे।

पूर्वराजा ज्ञानेन्द्रदेखि ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह, उनकी पत्नी प्रेरणा र राजकुमारी श्रुति शाहसम्मको नाम लिएको कान्तिपुरले सुमार्गीसँग व्यवसायिक कनेक्सन रहेका अर्का व्यक्तिलाई भने ‘त्यही बेला सम्पर्कमा आएका एक उद्यमी’ भनेर नियतबस नै नाम लुकाएको देखिन्छ।

कान्तिपुरको नियत समाचारको अर्को अनुच्छेदमा प्रष्ट हुन्छ, जहाँ उनको नाम दोस्रोपटक लुकाइएको छ।

भनिएको छ-

२०६२/०६३ को आन्दोलनपश्चात् माओवादी शान्ति प्रक्रियामा आएपछि सुमार्गीको चलखेल तीव्र गतिले अघि बढ्यो । उनलाई माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन्।

कान्तिपुरकै भषामा ‘माथि उल्लिखित’ ती ‘एक उद्यमी’ को हुन् जसले सुमार्गीलाई प्रचण्डसँग कनेक्सन मिलाइदिए? हाम्रो प्रश्न थियो।

हाम्रा कतिपय पाठकले जवाफबिनाको प्रश्न किन राखेको भनेर हामीलाई नै प्रश्न तेर्स्याउनुभएको थियो। हामी भन्न चाहन्छौँ- जवाफ मिलेको छ।

तर जवाफ कान्तिपुरले दिएको चाहिँ होइन।

आर्थिक विषयमा केन्द्रित समाचार पोर्टल बिजमान्डु डट कमले कान्तिपुरको तथ्यसँग ठ्याक्कै मिल्नेगरी उनको नाम खोलेको छ।

सविन मिश्रले आइतबार बिजमान्डुमा लेखेको एनसेलसँग जोडिएका व्यक्तिहरूबारेको स्टोरीमा यो तथ्य खुलाएको छ। एनसेलसँग जोडिएका…१० शक्तिशाली जो पतन भए शीर्षकको उक्त समाचारमा अजेयराज सुमार्गीलाई सूचीको दोस्रो स्थानमा राखिएको छ।

‘सुमार्गीले स्पाइस नेपाल र नेपाल स्याटेलाइटको सेयर बिक्रीबाट ११ अर्ब रुपैयाँभन्दा बढीको लाभ गरेको र उक्त रकम विदेशबाट ऋणका रुपमा ल्याउन लाग्दा अनुसन्धानको घेरामा परेको’ दावी बिजमान्डुको छ।

सुमार्गीको बिजनेस कनेक्सनबारे समाचारमा भनिएको छ-

१) राजबहादुर (ज्ञानेन्द्रका ज्वाइँ) ले स्पाइस नेपाल किनेपछि त्यसको पहिलो प्रमुख कार्यकारी अधिकृत अजेयराज सुमार्गीलाई बनाए। सुमार्गीले स्पाइस नेपालमा शेयरको केही हिस्सा समेत पाएका थिए र यहीँबाट सुमार्गीको उदय भएको थियो।

२) प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा २२ लाख रुपैयाँमा दिलाएको नेपाल स्याटेलाइटको लाइसेन्स सुमार्गीले अर्बौ रुपैयाँमा टेलियालाई बिक्री गरेका थिए। यसवापत भएको लाभ ‘शेयर’ नगरेपछि प्रचण्डदेखि माओवादीका अधिकांश ठूला नेतासँग उनको सम्वन्ध बिग्रिएको छ।

३) राजबहादुरदेखि माओवादी अध्यक्ष प्रचण्ड जस्ता शक्ति केन्द्रसँग सानिध्यमा पुर्‍याउने उपेन्द्र महतोसँग समेत उनको सम्बन्ध बिग्रिएको छ।

अगाडि पढ्नुअघि पर्खनुस्।

कान्तिपुर र बिजमान्डुको तथ्य भिडाउन माथिको तीन नम्बर बुँदा फेरि पढ्नुस्।

कान्तिपुरले भनेको थियो- ‘….माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन्।‘

बिजमान्डु भन्छ- ‘राजबहादुरदेखि माओवादी अध्यक्ष प्रचण्ड जस्ता शक्ति केन्द्रसँग सानिध्यमा पुर्‍याउने उपेन्द्र महतो…..।‘

न त कान्तिपुरको समाचारमा स्रोत छ न त बिजमान्डुको समाचारमा। तर तथ्य एउटै छ। ‘अन्य कुरा यथावत रहेमा’ दुबै समाचारलाई शंकाको लाभ दिउँ।

उनी रहेछन् उपेन्द्र महतो।

आखिर को हुन् उपेन्द्र महतो जो ज्ञानेन्द्रका ज्वाइँदेखि प्रचण्ड, एनसेलदेखि सुमार्गीसम्म जोडिए ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष महतोको कनेक्सन एनसेलदेखि पनामा पेपरसम्म छ। नेपालमा वैदेशिक लगानीका एक खेलाडी महतोका काठमाडौंका दुई ठूला अस्पताल ग्रान्डी अस्पताल र हालै सञ्चालनमा आएको मेडिसिटी अस्पताल लगायतमा लगानी छ।

सुमार्गीले रकम ल्याएको ब्रटिस भर्जिन आइल्यान्डबाटै यी अस्पतालका लागि उनले वैदेशिक लगानी भित्र्याएका थिए।

पानामा पेपरमा नाम आएपछि महतोले विज्ञप्ति नै जारी गरेर आफ्नो लगानी कानुनसम्मत रहेको बताउनुपरेको थियो। पानामा पेपरमा महतोका बारेमा के छ? पढ्नुस्।

बिजमान्डुका आइतबारको स्टोरी अनुसार सुमार्गीलाई राजबहादुर सिंहदेखि प्रचण्डसम्म भेटाएका उपेन्द्र महतो र सुमार्गीको सम्बन्ध अहिले बिग्रेको छ।

उपेन्द्र महतोसँगमात्र होइन, यति बेला सुमार्गीको सम्बन्ध सिरोहियासँग पनि बिग्रेको छ। र, सिरोहिया-सुमार्गीको बिग्रँदो सम्बन्धमा अचानक ठोक्किन आइपुगेका छन् उपेन्द्र महतो पनि। व्यापारिक घरानाहरूको कर्पोरेट गेम प्लान बुझिनसक्नु छ जहाँ एनसेलको सेयर खरिदविक्री र वैदेशिक लगानीसम्म जेलिएको छ।

खैर ! अहिलेको प्रश्न के हो भने- सुमार्गीबारे निरन्तर लेखिरहेको कान्तिपुरले उनको ‘अस्वभाविक’ उदयबारेको समाचारमा उपेन्द्र महतोको नाम नियतबस लुकाउनु झन् अस्वभाविक भएन र ?

कान्तिपुरले नाम लुकाएका व्यक्ति को हुन् भन्ने जवाफ त मिल्यो। तर यो सँगै अर्को प्रश्न उब्जेको छ- कान्तिपुरले किन महतोको नाम लुकायो? कान्तिपुरकै भाषामा ‘भाडामा बस्ने’ सुमार्गीलाई प्रचण्डसँग भेट गराएर पछि प्रचण्डलाई नै घर भाडामा दिने हैसियतमा पुर्‍याउने व्यक्ति उपेन्द्र महतो थिए भन्ने तथ्य कान्तिपुरले किन भन्न सकेन? उनको नाम लुकाउनुपर्ने के बाध्यता आइलाग्यो कान्तिपुरलाई?

आशा गरौँ- पर्दाहरू बिस्तारै खुल्दै जालान्।


सम्बन्धित सामग्रीहरू

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *