कुसमाचार भेटियो ? अब अनलाइनबाटै गर्नुस् उजुरी


यहाँ कुसमाचार भन्नाले पत्रकार आचारसंहिता विपरीतका समाचार वा झूठा समाचारहरूलाई भन्न खोजिएको हो।

कुनै समाचारबारे उजुरी गर्न अब तपाईँ प्रेस काउन्सिल नेपालको कार्यालयसम्म पुग्नुपर्दैन। प्रेस काउन्सिलले अनलाइन उजुरी प्रणाली सुरु गरेसँगै अब जुनसुकै स्थानबाट समाचार सामग्रीबारे उजुरी गर्न सहज भएको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीले काउन्सिल कार्यालय सञ्चारग्राममा आइतबार अनलाइन उजुरी प्रणाली सुरुवात गरे।

राससका अनुसार ‘जानाजान वा अनजानमा कसैप्रति लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, अमर्यादित व्यवहार देखाई समाचार सम्प्रेषण गर्ने सञ्चार गृहलाई कारबाहीको माग गर्दै उजुरी गर्न सजिलो भएको छ।’ तपाईँ आफ्नो परिचय खुलाएर डकुमेन्ट, फोटो, लिंक तथा म्यासेज पठाउन सक्नुहुन्छ। काउन्सिलले त्यसउपर कारबाही चलाउनेछ।

यो वर्ष ३५ अनलाइन, १६ छापामाध्यम र चार टेलिभिजनले सत्यतथ्यमा आधारित नभई हचुवाका भरमा समाचार सम्प्रेषण गरेको भन्दै उजुरी दर्ता भएका छन्। सबैभन्दा बढी उजुरी अनलाइनका बारेमा छन्।

काउन्सिलमा करिब एक हजार अनलाइन दर्ता भएको तथ्याङ्क छ। त्यसैगरी छापामाध्यम, एफएम रेडियो र टेलिभिजन गरी झन्डै एक हजार २०० को हाराहारीमा सञ्चारगृह सञ्चालनमा रहेको तथ्याङ्क छ। सरकारले यसवर्ष यी संस्थाहरूलाई लोककल्याणकारी विज्ञापनबापत् १४ करोड लगानी गरेको छ।

पछिल्लोपटक प्रतिलिपि अधिकार ऐनको बर्खिलाप, हुबहुपत्रकारिता गर्ने, जनउत्तरदायी नहुने र विभिन्न व्यक्तिलाई धम्काउने, चरित्रहत्या गर्ने र अमर्यादित पत्रकारिता गर्ने जमात बढेकाले अनलाइनमार्फत उजुरी दर्ताको सुरुवात गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिल छापा माध्यम, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा पत्रकारिताको आचारसंहिता अनुगमन गर्ने निकाय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.