कान्तिपुरको सुमार्गी मोह : ओलीलाई तेस्रो पेज, पम्फालाई पहिलो ?


पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्यान्डबाट एक साता लामो नियमित स्वास्थ्य परीक्षण गरी बिहीबार (हिजो) देश फर्किए।

“नियमित स्वास्थ्य परीक्षण हो, उपचार होइन मैले त्यतिबेला पनि भनेको थिएँ।“ त्रिभुवन विमानस्थलमा पत्रकारसँग ओलीले भने, “स्वास्थ्य ठिक रहेको सबै परीक्षणहरूबाट देखियो। सोमबार फर्किने कार्यक्रम थियो तर परीक्षणहरू लम्बिए। टिकट क्यान्सिल गरी दुई दिन उतै आराम गरियो।’

त्यसपछि ओलीको पहिलो टार्गेटमा पत्रकार परे। “नेपालमा सञ्चारमाध्यममा कथाकारको कमी छैन, थुप्रै कथाहरू मैले अनलाइनहरूमा पनि पढेँ’भन्दै उनले पत्रकार र मिडियालाई व्यंग्य गरे।

“यति साह्रो दरिद्र चिन्तन किन हुन्छ नेपाली समाजमा, नेपाली राजनीतिमा र नेपाली सञ्चारजगतमा? अचम्म लाग्छ। म यस्तो परिस्थितिमा के मात्र भन्न चाहन्छु भने जनताको सुसूचित हुने हक भनेको दिग्भ्रमित हुने होइन, सुसूचित हुने हो। हाम्रो सञ्चार क्षेत्रको काम पनि सुसूचित गर्नु हो।”

ओली सायद् मिडियामा आफ्नो बैंकक भ्रमणका बारेमा कतिपय अनलाइनले गरेका कभरेजसँग बेखुसी थिए। ‘मेरो आग्रह पनि हो’भन्दै उनले उनी राजनीतिक विषयतिर मोडिए।

०००

शुक्रबारका पत्रिकामा ओलीको स्वास्थ्य परीक्षणका खबर भन्दा प्रदेश राजधानी विवाद लगायतका खबर विक्री भए। ओलीको स्वास्थ्य भन्दा पत्रिकाहरूको ध्यान प्रदेशहरूका अस्थायी मुकाम र प्रमुखहरूको नियुक्तिमा थियो।

काठमाडौंबाट प्रकाशित हुने अधिकांश पत्रिकामा ओलीको बोलीले पहिलो पृष्ठमा स्थान पाएको थियो। कान्तिपुरमा भने ओलीको खबर तेस्रो पेजमा थियो।

बरु कान्तिपुरको पहिलो पेजमा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले रिपोर्टर्स क्लबमा बोलेको विषयले ठूलै कभरेज पाएको थियो। पहिलो पेजमा नहटेर समाचारले पेज १३ को आधा ढाकेको थियो।

ओलीको राजनीतिक बोली र सञ्चोविसन्चोको खबरका अगाडि पम्फा भुषालको भनाईले कान्तिपुरको पहिलो पेज डिजर्भ गर्दैन भन्न खोजिएको होइन। बरु उनले रिपोर्टस क्लबमा बोलेकैले पहिलो पेज डिजर्भ गर्दैन कि भन्ने शंका गरिएको हो। अन्यथा नमानियोस्, रिपोर्टर्स क्लबमा ‘न्युज मेकर’ ले बोलेका विषयलाई हेडलाइन बनाए पनि रेडीमेड समाचारबाट ऋषि धमलाको नाम हटाएर ‘एक कार्यक्रममा बोल्दै’लेख्ने हामीमध्ये धेरै हुन सक्छौँ।

०००

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पम्फालाई मुलुकको आर्थिक विकासमा माओवादी केन्द्रको रोडम्याप विषय दिएका थिए। तर मूल विषय सकिएपछि पत्रकारले उद्योगपति अजेयराज सुमार्गीले विदेशबाट ल्याउन लागेको रकम र उनीसँग माओवादी केन्द्रको सम्बन्धका  बारेमा पम्फालाई प्रश्न गरे।

‘सुमार्गी देशको एउटा व्यवसायिक मान्छे हो’, उनको जवाफ थियो, ‘त्यो भन्दा बेसी यो देशका नागरिकसँग राजनीतिक पार्टीहरूको वा हाम्रो पार्टीको जे सम्बन्ध हुन्छ, त्यति सम्बन्ध छ। हाम्रो अरु विशेष सम्बन्ध छैन।’

माओवादी र यसका अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध रहेर सुमार्गीले अपार आर्थिक साम्राज्य खडा गरेको भन्ने कान्तिपुरको सुरुदेखिको कभरेजका बीच त्यही पार्टीकी प्रवक्ताको भनाईलाई कान्तिपुरको आफ्नै दावी खण्डन गर्ने गरी प्रथम पेज पाउनु अनौठो थियो। झन् रिपोर्टर्स क्लबमा प्रश्नोत्तरमा पम्फाले बोलेको कुरालाई कान्तिपुरले त्यही विषयमा नै पम्फाले बोलेको झैँ गरी प्रस्तुत गरिएको थियो।

अब कान्तिपुरले पम्फाको जवाफलाई आधिकारिक मान्ने कि? आफ्नो न्यारेटिभलाई? किनभने चार वर्षदेखि सुमार्गीको धनबारे लेखिरहेको कान्तिपुरको एउटा ‘एंगल/इम्प्रेसन’ के हो भने सुमार्गी प्रचण्डसँगको सम्बन्धका कारण धनी बनेका हुन्। अझ उनको आर्थिक सम्पन्नता माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि भएको हो भन्ने कान्तिपुरको जिकिर छ।

कान्तिपुर कभरेजमा सुमार्गीको छवि

पहिलोपटक २०७१ असोजमा नेपाल साप्ताहिकमा छापिएको समाचारमा भनिएको छ-

  • विवादास्पद व्यापारी
  • कहिले उच्च राजनीतिक नेतृत्व र शक्तिकेन्द्रसँगको अनावश्यक हिमचिम त कहिले अविश्वसनीय कारोबारका कारण चर्चामा रहँदै आएका
  • एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको उठबस र घनिष्टताका कारण सुमार्गी केही वर्षयता चर्चाको केन्द्रमा रहँदै आएका।

२०७१ फागुन ५ मा र २०७२ माघ १८ मा कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उनलाई ‘माओवादी पार्टी नजिक मानिने’ भनिएको छ। २०७३ भदौ ९ गतेको समाचारमा उनलाई ‘पुष्पकमल दाहाल निकटकै व्यापारी मानिएका’ भनिएको छ। २०७४ असोजमा नेपाल साप्ताहिक लेख्छ- ‘यो अवैध कारोबारका प्रमुख कर्ता अरू कोही नभएर विवादास्पद व्यवसायी अजेयराज सुमार्गी हुन्।

२०७४ पुस ९ गते कान्तिपुर उनलाई ‘उच्च नेताहरूसँग निकट सम्बन्ध राख्न सफल’ भन्छ। २०७४ पुस २७  र माघ ५ मा उनलाई ‘माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालनिकट रही अन्य राजनीतिक दलका नेताहरूको समेत संरक्षण रहेका’ लेख्छ।

पत्रिकामा १३ पेज तिर ठेलिएको सुमार्गी र उनको धनमाथिको अलग कथा इकान्तिपुरमा भने निकै प्राथमिकताका साथ राखिएको छ। बरु पम्फाको भाषण सहायक समाचार बनेको छ। त्यसो त पम्फाको भनाई अघिल्लै दिन अनलाइनमा हेडलाइन बनिसकेको थियो।

पम्फाले सुमार्गीसँग आफ्नो पार्टी र अध्यक्ष प्रचण्डको सम्बन्ध, सिरोहिया र सुमार्गीबीच देखिएको द्वन्द्व र सुमार्गीले विदेशबाट ल्याएको रकमको वैधताबारे उनले बोलेकी थिइन्।


सुमार्गीबारे के भनिन् पम्फाले ?

(सुमार्गी) देशको एउटा व्यवसायिक मान्छे हो। त्यो भन्दा बेसी यो देशका नागरिकसँग राजनीतिक पार्टीहरूको वा हाम्रो पार्टीको जे सम्बन्ध हुन्छ, त्यति सम्बन्ध छ। हाम्रो अरु विशेष सम्बन्ध छैन।

दुबै मिडिया होल्डरहरूको बहस कहाँ सुन्नुभएको छ? बिलकुल उहाँहरू (कैलाश सिरोहिया र अजेयराज सुमार्गी) को चलिरहेको छ। स्वस्थ ढंगले, मर्यादित ढंगले, कानुनी ढंगले गर्नुस्। स्वस्थ सम्बन्ध बनाउनुस्।

अवैध छ भने राज्य छ नि त। छानबिन गरेर निर्क्यौल गरे हुन्छ। सम्पत्ति शुद्धीकरण अथवा अन्य जे जे राज्यका संरचनाहरू छन्, उनीहरूले सत्यतथ्य बाहिर ल्याए हुन्छ। अहिले मिडियाले मात्र ल्याएको छ।

सुमार्गीले माघ १ मा गरेको पत्रकार सम्मेलनलाई ‘ब्ल्याकआउट’ गरेको कान्तिपुरले आफ्नो एक दावीलाई सहयोग पुग्ने गरी उक्त पत्रकार सम्मेलनमा भनेको विषयलाई समाचारमा ‘कोट’ गरिएको छ। सुमार्गी आफैले विदेशबाट रकम पठाउने गरेको स्वीकार गरे पनि सरकार कारबाही गर्न मुकदर्शक बनेको कान्तिपुरको ठहर छ। समाचारमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलालाई उद्‍धृत गर्दै ‘काम भइरहेको’ जनाइएको छ। उनीहरू दुबैले सरकारले अनुसन्धानमा ढिलाई नगरेको जिकिर गरेका छन्।

अन्त्यमा प्राथमिकताकै सन्दर्भमा केही कुरा गरौँ। अहिले अन्य मिडियालाई त्यति चासोको विषय नभएको सुमार्गीको धन कान्तिपुरका लागि किन मुख्य समाचार बनिरहेको छ? सुमार्गीले विदेशबाट ल्याएको रकमबारे केही झमट लेखेका/रिपोर्टिङ गरेका कतिपय मिडियाहरू अहिले किन मौन छन्? यदि कान्तिपुरका लागि त्यही पहिलोपेजको समाचार बन्छ भने अरु मिडियाका लागि त्यो कम्तिमा एक कोलमको समाचार किन हुँदैन?

कुनै बेला बाइलाइन लेखेका पत्रकारसमेत अहिले यसलाई किन विषय नै होइन जस्तो आँखा चिम्लेका छन्? यो मिडिया वार हो वा कर्पोरेट वार? कि यो दुई व्यवसायीबीचको व्यक्तिगत लेनदेनको परिणाम र त्यसमा मिडियाको दुरुपयोग? वा प्रत्यक्ष वैदेशिक लगानी/ऋणसँग सम्बन्धित नीतिगत तथा कानुनी विषय?

सम्बन्धित

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.