‘जनता पोस्ट’ दैनिकको प्रकाशन आरम्भ


‘जनता पोस्ट’ दैनिकको प्रकाशन सुरु भएको छ। माघ १ गते सोमबारदेखि प्रकाशन सुरु भएको जनता पोस्ट दैनिकका सम्पादक नारायण अमृत छन्। लामो समयदेखि कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध नारायण जनता पोस्ट दैनिकमा सम्पादक हुनुअघि नेपालखबर डट कमको सम्पादक थिए।

पर्यटन व्यवसायी तेन्जी शेर्पा अध्यक्ष रहेको जनता पब्लिकेसन प्रालिले यो दैनिक पत्रिका प्रकाशन गरेको हो। जनता पब्लिकेसनका प्रबन्ध निर्देशक पासाङ शेर्पा छन् भने प्रमुख कार्यकारी अधिकृत हरिप्रकाश गौचन छन्।

औपचारिक रुपमा प्रकाशन आरम्भ गर्नुअघि जनता पोस्टले तीनवटा नमूना अंक प्रकाशित गरेको थियो। दैनिक पत्रिकासहित समाचार पोर्टल जनतापोस्ट डेली डट कम पनि सार्वजनिक गरिएको छ।

पत्रिकाले ‘हामी उदायौँ’ शीर्षकको प्रकाशकीयमा भनेको छ-

१ माघको सूर्योदयसँगै जनता पब्लिकेशन प्रालिले जनता पोस्ट राष्ट्रिय दैनिक र यसको डिजिटल संस्करण प्रकाशनमा ल्याएको छ। निष्पक्ष पत्रकारिताको मूल्य र मान्यतालाई मूलमन्त्र मानेर सुरू गरेको यो यात्रामा हामी मात्र एक्लै हुने छैनौं, यसमा हाम्रो सकल टिम, लेखक–विश्लेषक, पाठक, सहयोगी, विज्ञापनदाता र सुभेच्छुक पनि सँगसँगै हुनेछन्।

हामीलाई थाहा छ, सञ्चार जगतलाई बदलिँदो प्रविधिले प्रभावित गरिरहेका बेला प्रिन्ट संस्करणका आफ्नै चुनौतिहरू छन्। तर, पत्रकारिता र पाठकको परम्परागत स्वाद र यसको सान्दर्भिकतालाई गहिरो गरी मनन गर्दै हामीले प्रिन्ट र डिजिटल दुबै माध्यम हुँदै यहाँहरूसमक्ष पुग्ने यत्न गरेका हौं।

सत्य–तथ्यमा आधारित पत्रकारिताको विलोममा हामीले कसैसँग पनि अव्यवसायिक सम्झौता गर्ने छैनौँ। राज्य संयन्त्र र समाजमा विद्यमान कुनै पनि विभेद, विकृति–विसंगति र अख्तियारी दुरुपयोगप्रति रखबारी गरिरहने छौं।

लोकतान्त्रिक मूल्य, मान्यता र मर्मप्रति अविचलित रहने मात्र होइन, नागरिक अधिकार तथा व्यवसायिक स्वतन्त्रताका पक्षमा हाम्रो पैरवी निरन्तर रहिरहनेछ। विगतका सबै जनपक्षीय आन्दोलनहरूले हासिल गरेका तमाम उलब्धिलाई संस्थागत गर्ने विषयमा हामी सदैब सचेत छौं। राष्ट्रियता र राष्ट्रहितको पक्षमा कहिल्यै चुक्ने छैनौं।

हामी कुनै दलीय, गैरदलीय या आन्तरिक र बाह्य शक्तिको प्रलोभन र भुलभुलैयामा लाग्ने छैनौं। यत्ति भन्न चाहन्छौं कि,  हामीले देखे–भेटेका समाचारयोग्य विषयलाई निर्भिकतासाथ पाठक समक्ष प्रस्तुत गर्नेछौं। पाठकहरू नै हाम्रा लागि सर्वोसर्वा हुन्। त्यसैले पाठकको आलोचनात्मक तथा रचनात्मक प्रतिक्रिया र सुझावले हाम्रो सन्तुलित र व्यावसायिक यात्रालाई अझै गतिमय बनाउने छ। कुनै पनि नयाँ प्रकाशनको प्रारम्भ भनेको शिशु बालक जस्तै हो। हामीलाई थाहा छ, हामीले पनि शिशुजस्तै घिस्रने, उभ्भिने, ताते चाल गर्ने र हिंड्ने अनुक्रमको चक्र पार गर्नुपर्छ। संस्थागत हिसाबले यही मर्मको मार्ग हिँडिरहँदा हामीले कहिल्यै पनि व्यवसायिक धर्मको बर्खिलाप गर्ने छैनौं। हाम्रो प्रतिबद्धता यत्ति हो।

सबैको सहयोग, सद्भाव र सुझावलाई हामीले हाम्रो हृदयमा जतन गरेर राखिरहने छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *