‘कान्तिपुरको ब्ल्याकमेल : पत्रकारिता जगतको कालो धब्बा’


कान्तिपुर र सिरोहियाविरुद्ध सुमार्गी

  • पुस १२ : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिउ ज्यान सुरक्षाको निवेदन
  • पुस २३ : जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर।
  • माघ १ : पत्रकार सम्मेलन

‘म र म आवद्ध कम्पनीहरूविरुद्ध एक सञ्चार गृहले निरन्तर भ्रामक समाचार सम्प्रेषण गर्दै आएकोमा मेरो व्यवसाय सम्बन्धी सत्यतथ्य जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध गर्दछु’, उनको निम्तो सन्देशमा थियो। नयाँ बानेश्वरस्थित मुक्तिश्री टावरको छैठौँ तलामा दिउसो २ बजे पत्रकारहरूलाई बोलाइएको थियो।

‘कान्तिपुर मिडिया ग्रुपले म र म आबद्ध संस्थाहरूविरुद्ध नियोजित रूपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएकोमा त्यसबारे स्पष्ट गर्न आवश्यक ठानेर मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ’, उद्योगपति अजेयराज सुमार्गीले पत्रकार सम्मेलनको सुरुमै भने।

कान्तिपुरका समाचारमा सुमार्गीको प्रश्न

सुमार्गीले बितेका चार वर्षमा दोस्रोपटक पत्रकार सम्मेलन गर्दै थिए। पहिलोपटक २०७० पुस ७ (२०१३ डिसेम्बर २२) गते पत्रकार सम्मेलन गरी उनले २३ अर्ब ५० करोड लगानी घोषणा गरेका थिए। त्यही घोषणाको साढे ३ अर्ब रुपैयाँ ‘स्रोत नखुलेका कारण जफत हुने अवस्थामा रहेको’ भनी कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा  म्यागेजिनमा २०७१ असोज २६ गते पहिलोपटक समाचार सामग्री प्रकाशित भएको थियो।

उक्त सामग्रीबारे सुमार्गीको भनाई छ-

२६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्र्याएको ऋण लगानी ‘जफत हुने अवस्थामा पुगेको’ भनी लेखिएको छ। उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बदनाम गर्ने एक मात्र उद्देश्यले निर्देशित थियो।

त्यस यता कान्तिपुर अन्तर्गतका सञ्चार माध्यममा सुमार्गीको ल्याउन लागेको रकमको स्रोत नखुलेको र उक्त रकम अवैध रहेको भन्दै उनीबारे दर्जनौँ समाचार सामग्री प्रकाशन/प्रसारण भएका छन्।

उनले उल्लेख गरेका छन्-

सरकारी प्रक्रियामा रहेको मेरो वैदेशिक ऋण तथा लगानीसम्बन्धी विषयलाई ‘शंका, आशंका, सम्भावना, हुन सक्ने’ जस्ता शब्दको सहारामा नेपाल साप्ताहिक, कान्तिपुर दैनिक, द काठमान्डु पोस्ट दैनिक, कान्तिपुर टिभी र रेडियो कान्तिपुरका बुलेटिनहरूमा दर्जनौं पटक र द काठमाण्डौं पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ।

सुमार्गीले कान्तिपुरअन्तर्गतका मिडियामा आफूबारे छापिएका समाचार सामग्रीमाथि प्रश्न उठाएका छन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आफू विरुद्ध झूठा समाचार सामग्री प्रकाशन तथा प्रसारण गराई ‘ब्ल्याकमेल’ गरेको सुमार्गीको दावी छ।

सुमार्गीले सत्य तथ्य पत्ता लगाउन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र आफूलाई सँगै राखेर बहस चलाई दिन पत्रकार र सञ्चार माध्यमसँग अपील गरे। ‘तपाईँहरूले लिनुस् अग्निपरीक्षा, हामीलाई दुईतिर भिडाइदिनुस्’, पत्रकार सम्मेलनमा उनले भने, ‘कालोलाई कालै प्रमाणित गर्नुपर्छ, तपाईँहरूको मिडियाले तथ्यमा मात्र टेकिदेओस् मेरो पक्ष लिनुपर्दैन। म गलत छु भने नङ्ग्याउनुस्, म ठिक छु भने साथ दिनुस्।‘

सम्बन्धित

आफूले वैदेशिक ऋण लगानी प्रचलित कानुन र बैंकिङ च्यानलबाट ल्याएकोले आफ्ना कामकारबाही गैरकानुनी नरहेको बताए। ‘मेरा कुनै कामकारबाही गलत र गैरकानुनी छैनन्। प्रचलित कानुनको कसीमा घोटिन म हरदम तयार छु’, उनले भने ‘मैले नेपाल सरकारका निकायहरूबाट तत्कालीन प्रचलित कानुनबमोजिम वैदेशिक ऋण लगानी भित्र्याएको हुँ। सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढंगले ल्याएको छु। ल्याएको र ल्याउने क्रममा रहेको वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको छु।‘

२०२९ देखि आफ्नो परिवार व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएको बताउँदै सुमार्गीले ‘व्यवसायहरू विस्तार गर्ने क्रममा वैदेशिक ऋण एवं लगानीलाई समेत आधार बनाएको’ उल्लेख गरेका छन्। घोषणा गरेबमोजिम नै आफूले विभिन्न मुलकका प्रतिष्ठित कम्पनीहरूबाट होटल, सिमेन्ट र टेलिकम क्षेत्रमा लगानी गर्न विदेशबाट रकम ल्याएको उनको भनाई छ।

  • २०७० असार १६ : सिरोहियासँग जग्गा कारोबार
  • २०७० पुस ७  : सन् २०१६ भित्र थप २३ अर्ब ५० करोड रुपियाँ लगानी घोषणा।
  • २०७१ असोज २६ : ‘नेपाल’ साप्ताहिकमा पहिलो समाचार

जग्गा कारोबार

कान्तिपुर हात धोएर लाग्नुको आफूविरुद्ध लाग्नुको कारण आफू र सिरोहियाबीचको जग्गा कारोबार भएको उनको भनाई छ।

२०७० सालमा जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न  उद्यत देखिएका छन्। जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ।

सञ्चार माध्यम- ब्ल्याकमेलको हतियार

म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो। राज्यको प्रचलित कानुनबमोजिम नै थियो। दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ। त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो। मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो। त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ। अहिले  सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ।

उनले भने- ‘यो ‘ब्ल्याकमेल’ नै हो।‘

अजेयराज सुमार्गी।

सुमार्गीले जिल्ला प्रशासन कार्यालयमा जिउ ज्यान सुरक्षाको निवेदन दिएका छन् भने र काठमाडौं जिल्ला अदालतमा २५ करोड रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेका छन्।

सुमार्गीको आरोप के छ भने पटक पटक सामग्री प्रकाशन प्रसारण गर्दासमेत आफूसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन। ‘यो पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ। यसमा कान्तिपुरले जे गरे पनि हुन्छ भन्ने घमण्ड प्रतिविम्बित भएको छ। मैले पठाएको खण्डनलाई समेत उक्त अखबारमा अपांग पारी छापिएको छ। यसबाट सिरोहियाको कपटपूर्ण उद्देश्य पूर्तिका लागि त्यसका प्रधानसम्पादकसमेत संलग्न भएका छन्।‘

सुमार्गीले भनेका छन्-

  • मेरा व्यक्तिगत जीवन र कारोबारहरूविरुद्ध झूठा लाञ्छना लगाई कपोलकल्पित रूपमा प्रकाशन तथा प्रशारण गरी मेरो संविधानप्रदत्त मौलिक हकमा समेत आघात पुर्‍याउने कुचेष्टा गरेको स्पष्टै छ।
  • कान्तिपुरले आफ्नामात्र होइन, ऊ सदस्य रहेका अन्य क्षेत्रीय/अन्तर्राष्ट्रिय मिडिया पनि उपयोग गरेको सुमार्गीको भनाई छ।
  • एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ। कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ। मेरा व्यावसायिक फर्ममार्फत नेपालमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को गोप्य अनुसन्धान प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले छापेको समाचारको सत्यतामाथि पनि उनले प्रश्न उठाएको छ।

‘समाचारमार्फत कर्मचारीलाई दबाब’

‘अवैध धन, कालो धन्दा, कालो धन’ जस्ता शब्दको सहारामा राष्ट्रसेवक कर्मचारीहरू समेतलाई अफवाहमार्फत दबाब पैदा गर्ने उसको नियत देखिन्छ। ‘विदेशबाट आउने त्यस्तो लगानी आतंककारी क्रियाकलापमा प्रयोग हुन सक्ने’ भन्नेजस्ता निराधार टिप्पणी संप्रेषण गर्ने प्रकाशक/सम्पादकलाई म प्रश्न गर्न चाहन्छु, के सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो? वा, नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ?

‘सञ्चारमाध्यम दुरुपयोग’

निज कैलाश सिरोहियाले आफ्नो सञ्चार माध्यमको दुरुपयोग गरेर मेरो सामाजिक प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएका छन्। नियोजित रूपमा गरिएको यस्तो प्रहारबाट मेरो सम्झौता भइसकेको वैदेशिक ऋण लगानी प्रभावित हुन सक्ने र थप लगानीसमेत प्रतिकूल असर पर्नसक्ने देखिन्छ। मेरा आयोजनाहरूमा पर्याप्त लगानी नपुगेर पूर्णता नपाउने वा उत्पादनमा ह्रास हुने अवस्था आएको छ। सरकारी निकायहरूमा नकारात्मक सन्देश प्रवाहित भएर मेरो कामकारबाही प्रभावित हुन सक्ने अवस्थासमेत सिर्जना भएको छ।

मिडिया सोसाइटीलाई प्रश्न

मिडिया सञ्चालकहरूको संस्था मिडिया सोसाइटी नेपालले केही दिनअघि निकालेको विज्ञप्तिका विषयमा पनि उनले बोलेका छन्।

‘कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण अदालतमा पुगेपछि नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति मेरो ध्यानाकर्षण भएको छ। यो ब्ल्याकमेलिङ प्रकरणमा निज सिरोहिया नेपाल मिडिया सोसाइटीका सदस्यहरूलाई भ्रममा पार्न एक हदसम्म सफल देखिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘एक सञ्चार उद्यमीसमेतको नाताले म नेपाल मिडिया सोसाइटीसामु जिज्ञासा राख्न चाहन्छु, एउटा सञ्चार माध्यमको दुरुपयोग गरेर कुनै सञ्चार उद्यमी ब्ल्याकमेलिङ गर्ने तहमा झर्छ भने मिडिया सोसाइटीले त्यसको जिम्मा लिन कसरी मिल्छ ? के सोसाइटीको कुनै एक सदस्यले निजी जीवनमा गर्ने आपराधिक कार्यको जिम्मा लिनु विवेकसम्मत हुन्छ ?

कान्तिपुरलाई ‘गोल्डेन सेयर’

सुमार्गीले ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरलाई ‘केही प्रतिशत नजराना तिर्नुपर्ने’ अवस्था रहेको दावी गर्दै उनी भन्छन्-

नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन शेयर। यो त्यस्तो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्दछ। निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे।

निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरू अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ।

सत्यतथ्य समाचार पस्कने दायित्व बोकेको सञ्चारगृह अर्काको सम्पत्तिमा गिद्देदृष्टि लगाउँदै बदनियतपूर्ण समाचार प्रकाशन तथा प्रसारण गरी अपराध कर्ममा सामेल भएको त छ नै, साथै सत्यतथ्य समाचारका हकदार पाठकहरूलाई विश्वासघातसमेत गरेको छ।

पत्रकारितामा ‘कालो धब्बा’

कान्तिपुर ब्ल्याकमेलिङ प्रकरणले केही दिन, केही महिना भ्रम छरे पनि केही वर्षपछि ठूलो अर्थ राख्ने छैन। किनभने सत्यका अघि झूट धेरै समय टिक्दैन, टिक्नै सक्दैन भन्ने मेरो विश्वास छ। यो ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिता जगतको कालो धब्बाको रूपमा ५० औँ वर्षसम्म रहिरहनेछ।

अन्त्यमा,

सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानीबापत् ल्याएको तथा ल्याउन लागेको रकम अवैध नै हो वा उनले कानुन मिचेका छन् भने उनलाई दोषी करार गरेर सजाय दिनुपर्‍यो। होइन भने एउटा व्यक्तिले ल्याएको अर्बौँ रुपैयाँ लगानी बैंकमा किन सडाएर राखिएको हो राज्यका निकायहरू बोल्नुपर्‍यो। राज्यका निकायहरू औपचारिक रुपमा नबोल्ने, रकम बैंकमा थन्किरहने र सधैँभर मिडिया खपतको विषयमात्र बनिरहने हो भने ‘दालमा केही न केही कालो’ छ भन्ने त देखिन्छ नै मिडियाको विश्वसनीयता र राज्यको उपस्थितिमाथि नै प्रश्न उठ्ने छ।

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.