सुमार्गीको समाचारमा ‘कान्तिपुर’ ले नाम लुकाएका उद्यमी को हुन् ?


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले पुस २७ गते बिहीबार गरेको चियापान कार्यक्रममा जाँदा भृकुटीमण्डपमा भेटिएका एकजना आर्थिक पत्रकारले सोधे- ‘अनि आज कान्तिपुरको सप्लिमेन्ट हेर्नुभयो?’

‘हँ !’, मनमनै गमेँ, ‘कान्तिपुरले आज केही विशेषांक निकालेको छ र?’

उनी मुसुक्क हाँसे र भने- ‘सुमार्गी विशेषांक !’ चिया गफमा रहेका सबैजना पत्रकार मरिमरि हाँसियो।

मिडिया अध्यता भानुभक्त आचार्यले फेसबुकमा लेखे- ‘एकता दिवसका दिन अखबारमा सुमार्गी विशेषांक पढियो । मालिकहरुको जय होस् ।’

र, पत्रकार विज्ञान शर्माले पनि फेसबुकमा लेखे-

‘विवादित’, ‘नवधनाढ्य’ र ‘शक्तिकेन्द्रसँग अनावश्यक हिमचिम भएका’ भनेर नेपाली मिडियामा चित्रित गरिने उद्योगपति अजेयराज सुमार्गीले विदेशबाट ल्याएको, ल्याएर पनि बैंकहरूमा रोकिएको र पुनः ल्याउन लागेको प्रत्यक्ष वैदेशिक लगानीबापतको रकमबारे कान्तिपुरले गरिरहेको निरन्तर कभरेजका बारेमा आएका यी केही प्रतिक्रिया हुन्।

अवैध धन भित्र्याएको दावी गर्दै सुमार्गीविरुद्ध शृंखलाबद्ध समाचार लेखिरहेको कान्तिपुरको समाचारमा के कति सत्यता छ? विषय अदालतमा पुगिसकेकाले यसमा धेरै दिमाग खियाउनु नपर्ला। किनभने कान्तिपुरले झूठो समाचार छापेर आफ्नो गाली बेइज्जती गरेको दावीसहित सुमार्गीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले पछिल्ला दिनमा निरन्तर आफूबारे समाचार प्रकाशित गरेपछि सुमार्गीले प्रशासनदेखि न्यायालयसम्म गुहारेका हुन्। उनले पुस १२ गते जिल्ला प्रशासन कार्यालयमा जिउ ज्यान सुरक्षाको निवेदन दिएका छन् भने पुस २३ गते जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्।

कुनै बेला व्यवसायिक सम्बन्धमा रहेका सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाबीच २०७१ सालमा जग्गा कारोबार भएको थियो। सुमार्गीले सिरोहियासँग तीनकुने काठमाडौंमा रहेको पाँच रोपनी जग्गा किनेका थिए। पछि सिरोहियाले उक्त जग्गा पुरानै मूल्यमा फिर्ता माग्दा आफूले नदिएको, सिरोहियाले आफूसँग बार्गेनिङ गरेको र कान्तिपुर मिडियामा आफूविरुद्ध झूठा समाचार प्रकाशित गराएको सुमार्गीको दावी छ। उनीहरूबीच कसरी मनमुटाब बढ्यो र विवाद कसरी अदालतसम्म पुग्यो?

हामी यहाँ पछिल्लोपटक पुस २७ गते बिहीबार कान्तिपुरमा सुमार्गीबारे छापिएका समाचारबारे कुरा गर्दै छौँ।

पुस २७ गते बिहीबार कान्तिपुरमा सुमार्गीका बारेमा तीनवटा समाचार छापिएका छन्। सुमार्गीले कहिले, कहाँबाट, कति र कुन प्रयोजनका लागि रकम ल्याए भन्ने विषयलाई मुख्य समाचार बनाएको छ। मुख्य समाचारसहित पहिलो पृष्ठमा सुमार्गीबारे दुईवटा समाचार छापिएका छन् भने तेस्रो पृष्ठमा मिडिया सञ्चालकहरूको संस्था ‘मिडिया सोसाइटी नेपाल’ ले सोही प्रकरणमा निकालेको विज्ञप्तिलाई समाचार बनाइएको छ।

कान्तिपुरको पहिलो समाचार नबिल बैंक र इन्भेस्टमेन्ट बैंकमा सुमार्गीले कुन मुलुक र कम्पनीबाट, कुन कम्पनीका लागि, कहिले, कुन बैंक अकाउन्टमा र कति रकम प्रत्यक्ष वैदेशिक लगानीबापत् भित्र्याए भन्ने उल्लेख छ भने दोस्रो समाचारमा सामान्य पृष्ठभूमिका सुमार्गी कसरी अथाह चलअचल सम्पत्तिका मालिक बने भन्नेमा केन्द्रित छ। सुमार्गीको व्यवसायिक नेक्ससबारेको दोस्रो समाचारमा एक ‘उद्यमी’ को नाम भने कान्तिपुरले नियतबस नै लुकाएको देखिन्छ।

प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले लेखेको छ : ‘सुमार्गीले ८ अर्ब ९५ करोड ११ लाख ९१ हजार ६६ रुपैयाँ कुनै पनि निकायको स्वीकृति नलिई भित्र्याएका हुन्’ भने ‘३ अर्ब १६ करोड ७३ लाख ९५ हजार २ सय रुपैयाँको मात्रै अनुमति लिएको देखिन्छ ।‘

‘अनुमति नलिई भित्र्याइएको रकममध्ये राष्ट्र बैंक र सम्बन्धित बैंकका अधिकारीहरूबीचको मिलेमतोमा करिब साढे ८ अर्ब रुपैयाँ सुमार्गीले प्रयोग गरिसकेको’कान्तिपुरको दावी छ। यसबाहेक थप ११ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का रूपमा ल्याउने भन्दै उद्योग विभागमा सुमार्गीले पेस गरेको प्रस्तावको प्रक्रिया अघि नबढेको कान्तिपुरको समाचारमा उल्लेख छ।

सुमार्गीको अस्वभाविक उदय’ शीर्षकमा छापिएको समाचारमा अन्य केही व्यक्तिसँग सुमार्गीलाई जोडिएको छ जहाँ एक व्यक्तिको नाम भने कान्तिपुरले लुकाएको छ।

समाचारमा भनिएको छ-

२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि सुमार्गीको आर्थिक चलखेल ह्वात्तै बढेको हो। त्यतिबेलासम्म सुमार्गीले ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसँग परिचय बनाइसकेका थिए। राजबहादुरकी पत्नी प्रेरणालाई सुमार्गीकी श्रीमती सम्झना अर्याल योग सिकाउँथिन्। जसले उनीहरूको पारिवारिक सम्बन्धलाई नजिक बनायो। राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालीन राजकुमारी श्रुति शाहका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति प्रेरणाका नाममा ल्याउने भूमिकामा सक्रिय रूपले सुमार्गी लागे। त्यति नै बेला उनले केही जग्गा हात पारेका थिए। त्यही बेला सम्पर्कमा आएका एक उद्यमी र राजबहादुर सिंहसँगको सान्निध्यबाट एनसेल (तत्कालीन मेरो मोबाइल) मा उनले केही सेयर हासिल गरे।

पूर्वराजा ज्ञानेन्द्रदेखि ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह, उनकी पत्नी, श्रुति शाहसम्मको नाम लिएको कान्तिपुरले सुमार्गीको व्यवसायिक कनेक्सनमा रहेका अर्का व्यक्तिलाई भने किन ‘त्यही बेला सम्पर्कमा आएका एक उद्यमी’ भनेर नाम लुकायो?

समाचार यतिमा मात्र सकिन्न।

कान्तिपुरले सुमार्गीलाई हिजोआज पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोड्ने गरेको छ। र, यो समाचारमा पनि प्रचण्डसँग उनलाई जोडिएको छ। कान्तिपुरले जसको नाम लुकायो तिनै उद्यमीले सुमार्गीलाई प्रचण्डसँग भेटघाट गराइदिएको समाचारमा उल्लेख छ।

२०६२/०६३ को आन्दोलनपश्चात् माओवादी शान्ति प्रक्रियामा आएपछि सुमार्गीको चलखेल तीव्र गतिले अघि बढ्यो । उनलाई माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन्।

को हुन् उनी जसको नाम कान्तिपुरले जानी जानी लुकायो वा नाम लिन चाहेन? उनको नाममात्रै उल्लेख गर्दा पनि कान्तिपुरलाई केही अप्ठ्यारो पर्ने भएर पो नाम लुकाइएको हो वा के होला ?

सुमार्गीविरुद्ध मिडिया सोसाइटीको फायर

यसैबीच सुमार्गीले ल्याउन लागेको रकम, त्यसबारे कान्तिपुरको कभरेज र सुमार्गीद्वारा दायर गाली बेइज्जती मुद्दाको पृष्ठभूमिमा मिडिया सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले पनि फायर खोलेको छ। उसले सुमार्गीले जिउज्यानको सुरक्षाका लागि प्रशासनमा दिएको निवेदनलाई ‘हास्यास्पद’ भनेको छ। सुमार्गीले नेपाली प्रेसलाई धम्क्याउन प्रशासनमा निवेदन दिएको सोसाइटीको ठहर छ।

‘सञ्चारकर्मी वा प्रकाशक सञ्चालकले समाचारको कुनै पात्र वा कसैमाथि पनि डर त्रास वा धम्की दिने भन्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो। कसैले कसैलाई कुनै धम्की दिएको भए त्यसको कुनै न कुनै प्रमाण जरुरी पर्दछ’, मिडिया सोसाइटीका तर्फबाट अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिलाई उद्‍धृत गर्दै कान्तिपुरले लेखेको छ।

मिडिया सोसाइटीको विज्ञप्तिको एक लाइनको अर्थ प्रष्ट बुझिन्न। ‘विना प्रमाण वा मनगढन्ते रुपमा कसैले कसैलाई अझ त्यसमाथि मिडिया सञ्चालकमाथि लाञ्छना लाउनु भनेको सम्वन्धित उजुरीकर्ताले राष्टिय अर्थतन्त्रमाथि नै खेल्न खोज्ने पक्षले नै धम्की दिएको वा त्यो समूहले कसैमाथि हमला गर्ने मनशाय वा योजना रहेको हुनसक्ने निश्कर्ष नै निस्कन्छ’, विज्ञप्तिमा भनिएको छ। सुमार्गीलाई ‘राष्ट्रिय अर्थतन्त्रमाथि खेल्न खोज्ने पक्ष’ भन्दै उनी नै हमला गर्ने मनशाय वा योजनामा रहेको आशय मिडिया सोसाइटीको विज्ञप्तिको छ।

सुमार्गीले सत्ता र शक्तिको प्रयोग गरी प्रेसलाई धम्क्याएको आरोप लगाउँदै सोसाइटीले कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ-

प्रहरी र सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहेको विवादास्पद व्यवसायी अजयराज पराजुली सुमार्गीले जिल्ला प्रशासन कार्यालयमा दिएको जिउ धन सुरक्षा सम्बन्धी निवेदनले नेपाली प्रेसलाई धम्काउने नयां प्रपञ्चको सुरुवात गरेको नेपाल मिडिया सोसाइटीको ठहर छ। कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाबाट कहिले, कुन माध्यमबाट र कसरी उनीमाथि धम्की दिइएको हो स्पष्ट गर्नु पर्दछ। अन्यथा झूठा उजुरी गर्ने र नेपाली प्रेसलाई सत्ता र शक्तिको प्रयोग गरेर तर्साउन खोज्ने दुष्प्रयत्नलाई निरुत्साहित गर्न कारबाही गरिनु पर्दछ।

अन्त्यमा अघिल्लो सामग्रीकै शब्द सापटी लिउँ :

सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानीबापत् ल्याएको तथा ल्याउन लागेको रकम अवैध नै हो वा उनले कानुन मिचेका छन् भने उनलाई दोषी करार गरेर सजाय दिनुपर्‍यो। होइन भने एउटा व्यक्तिले ल्याएको अर्बौँ रुपैयाँ लगानी बैंकमा किन सडाएर राखिएको हो राज्यका निकायहरू बोल्नुपर्‍यो। राज्यका निकायहरू औपचारिक रुपमा नबोल्ने, रकम बैंकमा थन्किरहने र सधैँभर मिडिया खपतको विषयमात्र बनिरहने हो भने ‘दालमा केही न केही कालो’ छ भन्ने त देखिन्छ नै मिडियाको विश्वसनीयता र राज्यको उपस्थितिमाथि नै प्रश्न उठ्ने छ।

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *