सुमार्गी VS सिरोहिया : जग्गा कारोबारदेखि अदालती वारसम्म


कान्तिपुरमाथि गाली बेइज्जती मुद्दा


थाहा सञ्चार नेटवर्कका संस्थापक समेत रहेका उद्योगपति अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबीचको द्वन्द्व अदालतमा पुगेको छ। कुनैबेला व्यवसायिक सम्बन्धमा समेत रहेका सुमार्गी र सिरोहियाबीचको मनमुटाव अब अदालतमार्फत छिनोफानो हुने भएको छ।

सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन्।

नियतवश झूठा समाचारहरू प्रकाशित गरी कान्तिपुरले आफूलाई बदनाम र बेइज्जत गरेको जिकिर गर्दै सुमार्गीले विपक्षीबाट २५ करोड रुपैयाँ क्षतिपूर्ति मागदावी गरेका हुन्।

सिरोहियाले आफूसँग बार्गेनिङ गरेको, सिध्याउने धम्की दिएको र आफ्नो स्वामित्वमा रहेका मिडियाहरूमा आफ्नाबारे झूठा समाचार छापेको आरोप लगाउँदै पुस १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिउ ज्यान सुरक्षाको निवेदन दिएका सुमार्गीले ११ दिनपछि वारेशमार्फत गाली बेइज्जती मुद्दा दर्ता गरे।

‘सिरोहियाले आफ्नो कान्तिपुर पब्लिकेसन्स अन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट अंग्रेजी दैनिक, नेपाल साप्ताहिक, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो’, अदालतमा दायर मुद्दाको फिरादपत्रमा भनिएको छ, ‘मेरो व्यवसायिक जीवनमा ठेस पुर्‍याउने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मेरो मान प्रतिष्ठामा आँच आउने गरी मलाई बदनाम गराउने कार्यमा उद्दत रही आफ्नो नियन्त्रण तथा स्वामित्वको मिडिया प्रयोग गरी झुठा एवं भ्रामक समाचारहरू प्रकाशन गरी मेरो मानमर्दन गर्ने तथा मेरो राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यवसायिक एवं सामाजिक  प्रतिष्ठामा आघात पुर्‍याउँदै मेरो बेइज्जती गर्ने आपराधिक कार्यको शिलशिला जारी गरेका छन्।’

सिरोहियाले आर्थिक सौदावाजी (ब्ल्याकमेल) गरेको तर आफूले अस्वीकार गरेपछि रिस साँध्‍न कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका मिडियाहरूमा समाचार लेखाएको सुमार्गीको दावी छ।

हामी तपाईँलाई सुमार्गीबारे कान्तिपुरले गरेको पछिल्लो कभरेजदेखि सुमार्गीले दायर गरेको गाली बेइज्जती मुद्दासम्मका घटना सजिलोसँग बुझाउने कोसिस गर्छौँ।

१) सुमार्गीबारे कान्तिपुरको पछिल्लो कभरेज

कान्तिपुर दैनिकले पुस ९ गते प्रथम पृष्ठमा ‘सुमार्गीको २२ अर्ब अवैध’ शीर्षकमा समाचार छाप्यो।  व्यवसायी अजेयराज सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी बापत् ल्याएको तर राष्ट्र बैंकमा रोकिएको भनिएको अर्बौँ रुपैयाँबारे निरन्तर लेखिरहेका पत्रकार कृष्ण आचार्यको बाइलाइनमा रहेको समाचारमा सरकारी प्रतिवेदनको हवाला दिँदै उनले भित्र्याएको रकम अवैध भएको दावी गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अध्ययन प्रतिवेदनले सुमार्गीले विदेशबाट भित्र्याउन लागेको रकम अवैध भएको पुष्टि गरेको दावी पत्रिकाको छ। ९ गते प्रथम पृष्ठमा समाचार छापेको कान्तिपुरले १० गते सोही विषयमा सम्पादकीय लेखेको थियो। ‘अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन विभागले आलटाल गरिरहेको’ दावी गर्दै सम्पादकीयमा भनिएको छ- ‘सुमार्गीको अवैध आर्जनका विषयमा सुरु भएको अनुसन्धान तीन वर्ष बित्दा पनि निष्कर्षउन्मुख नदेखिँदा उनलाई उन्मुक्ति वा सफाइ दिने प्रपञ्च त होइन भन्ने संशय पनि जन्मिएको छ।‘

२) सुमार्गीको खण्डन, कान्तिपुरको बचाउ

प्रशासन गुहार्नु अघिल्लो दिन पुस ११ गते कान्तिपुरमा सुमार्गीको प्रष्टीकरण पनि प्रकाशित भएको थियो। ‘मेरो लगानी अवैध होइन’ शीर्षकमा छापिएको प्रष्टीकरणमा सुमार्गीले कान्तिपुरमा प्रकाशित समाचारले आफ्नो ‘सामाजिक तथा व्यवसायिक प्रतिष्ठामा क्षति पुगेको’ उल्लेख गरेका छन्। ‘समाचारमा भनिएजस्तो कुनै निकायले मेरो हाल रहे/भएको सम्पत्ति र विदेशबाट भित्र्याउन लागेको लगानी अवैध भन्ने कतैबाट प्रमाणित नभएको र हुन सक्ने आधारसमेत नभएकोले समाचारको तत्काल खण्डन प्रकाशित गर्न अनुरोध गर्छु’. उनको पत्रमा भनिएको छ।

तर कान्तिपुरले भने समाचारको बचाउ गर्दै सुमार्गीको प्रष्टीकरणसँगै लेखेको छ- ‘निजले विदेशबाट ल्याएको र ल्याउन खोजेको करिब २२ अर्ब अवैध रहेको भन्ने तथ्य सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनमा समेत उल्लेख रहेको र हाम्रो अनुसन्धानबाट पनि त्यो देखिएकाले कान्तिपुर आफ्नो समाचारप्रति विश्वस्त छ।‘

३) प्रशासन पुगे सुमार्गी

सुमार्गीबारे कान्तिपुरमा समाचार आएको पहिलोपटक भने थिएन। गएका चार वर्षदेखि कान्तिपुरसहित कतिपय मिडियामा उनले दूरसञ्चार तथा होटल व्यवसायका लागि भनेर ल्याएको प्रत्यक्ष वैदेशिक लगानी र उनको धन सम्पत्तिबारे विभिन्न कोणबाट समाचार आउने गरेका छन्। हिमालयज अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, मुक्तिश्री सिमेन्ट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनीका सञ्चालक सुमार्गी यसअघि आफूबारे समाचार छापिँदा मौन थिए तर यसपटक भने उनले प्रशासनदेखि अदालतसम्म गुहारेका छन्।

सिरोहियाले आफूलाई सिध्याउने धम्की दिएको र आफूविरुद्ध मिडिया दुरुपयोग गरी बार्गेनिङ गरेको आरोप लगाउँदै सुमार्गीले पुस १२ गते प्रशासनमा निवेदन दिएका थिए। विभिन्न समयमा आफूबारे कान्तिपुर दैनिकमा छापिएका ९ वटा समाचार सामग्रीका कटिङ र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियासँग २०७० सालमा भएको जग्गा कारोबारको तमसुकसमेत संलग्न गर्दै सुमार्गीले २०७४ पुस १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिउ धनको सुरक्षा माग गर्दै निवेदन दिए।

निवेदनमा सुमार्गीले आफूले सिरोहियासँग जग्गा किनेको, पछि सरोहियाले बेचेकै मूल्यमा जग्गा फिर्ता माग्दा आफूले नदिएको, जग्गा नपाएको झोंकमा सिरोहियाले आफूलाई सिध्याउने धम्की दिएको र त्यसपछि आफूविरुद्ध कान्तिपुर अन्तर्गतका मिडियामा आफूविरुद्ध श्रृंखलावद्धरुपमा झूठा एवं भ्रामक समाचारहरू प्रकाशन हुन थालेको उल्लेख गरेका छन्।

४) के छ सुमार्गीको निवेदनमा ?

जग्गा किनबेच : निवेदनमा उल्लेख भएअनुसार सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया र उनकी श्रीमती स्वस्तिका सिरोहिया सञ्चालक रहेको काठमाडौं मार्ट प्रालिको नाममा दर्ता रहेको ९ रोपनी ४ आनामध्ये ५ रोपनी ९ आना जग्गा २०७० असार १६ गते २३ करोड २१ लाख १२ हजार रुपैयाँमा खरिद गरेको थियो। ‘सिरोहियाले व्यावसायिक आर्थिक संकट दर्शाउँदै किनिदिन अनुरोध गरेको हुँदा’ आफूले जग्गा खरिद गरेको सुमार्गीले निवेदनमा दावी गरेका छन्।

सिध्याउने धम्की : सुमार्गीको दावी छ कि एक वर्षपछि सिरोहियाले उक्त जग्गा पुरानै मूल्यमा फिर्ता दिन माग गरे। आफूले पुरानै मूल्यमा जग्गा फिर्ता गर्न अस्वीकार गरेपछि सिरोहियाले आर्थिक सौदाबाजी गर्दै भने बमोजिम नभए ‘सिध्याउन जे सुकै गर्ने’ धम्की दिएको सुमार्गीले निवेदनमा उल्लेख गरेका छन्। ‘उल्लेखित जग्गाहरू मेरो कम्पनीको नाउँमा खरिद गरेको करिब एक वर्षपछि निज कैलाशप्रसाद सिरोहियाको आर्थिक अवस्था सबल भएपछि एवं जग्गाको मूल्य वृद्धि भइरहेको अवस्था हेरी उल्लेखित जग्गा पुन: आफ्नो नाउँमा मैले खरिद गरी लिएको मूल्यमा फिर्ता पाउन माग गर्नु भएकोमा मैले सोही मूल्यमा नै फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले मसँग आर्थिक रूपमा सौदावाजी गर्दै निजले भनेबमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो’, निवेदनमा उल्लेख छ।

मिडिया दुरुपयोग : आफू अध्यक्ष रहेको कान्तिपुर अन्तर्गतका मिडियाहरू दुरुपयोग गरी सिरोहियाले आफूलाई मानसिक रुपमा प्रताडित तथा आतंकित गरिरहेको दावी सुमार्गीको छ। ‘निजले आफ्नो कान्तिपुर पब्लिकेसन्स अन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक र कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो’, निवेदनमा उल्लेख छ, ‘त्यसरी मेरो व्यावसायिक जीवनमा ठेस पुर्‍याउने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मेरो मान प्रतिष्ठामा आँच आउने गरी मलाई बदनाम गराउने कार्यमा उद्यत रही झूठा एवं भ्रामक समाचारहरू प्रकाशन गरी पत्रिकामा निरन्तर छाप्न थाल्नुभयो।‘

सांघातिक हमलाको शंका : सुमार्गीले पुस ९ गते कान्तिपुरमा छापिएको समाचारका बारेमा भनेका छन्- ‘छापामार्फत् आतंकित गर्ने क्रमको शृंखला स्वरूप मिति २०७४ साल पौष ९ गते कान्तिपुर दैनिकमा ‘सुमार्गीको २२ अर्ब अवैध’ भन्ने शीर्षकमा झूठा एवं आधारहीन मनगढन्ते समाचार संप्रेषण गर्दै जनमानसमा मप्रति नकारात्मक प्रभाव पार्ने तथा भ्रम फैलाउने प्रयत्न गरिएको छ।‘  सिरोहियाले आफू र आफ्ना परिवारमाथि ‘भौतिक रुपमा सांघातिक हमलासमेत गर्न/गराउन सक्ने शंका’ गर्दै सुमार्गीले निवेदनमा लेखेका छन्- ‘निजले म तथा मेरा परिवारमाथि भौतिक रूपमा सांघातिक हमलासमेत गर्न/गराउन सक्ने आशंका रहेको हुँदा म तथा मेरो परिवारसमेतको जिउधन र मेरा व्यापार व्यवसायमा समेत शान्ति सुरक्षा कायम गरी पाउन अनुरोध गर्दछु।‘

५) छानबिन गर्न सिरोहियाको माग

सुमार्गीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएपछि ‘आफूमाथि बदनियतले गालीगलौज गरेको’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले प्रतिक्रिया दिएका छन्। व्यावसायिक सञ्चारगृहविरुद्ध लाञ्छना लगाएको जिकिर गर्दै सिरोहियाले सुमार्गीमाथि कारबाहीको माग गरेका छन्।

‘मैले सुमार्गीलाई करिब तीन वर्षदेखि देखेको पनि छैन । मैले उनलाई धम्की दिएको हो भने कुन माध्यमबाट कहाँ–कसरी दिएँ भन्ने आधार पनि होला नि, प्रशासनले त्यसको निष्पक्ष छानबिन गर्नुपर्‍यो,’ सिरोहियालाई उद्‍धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘त्यो प्रमाणित भएन भने मलाई बदनाम गर्न खोज्ने र व्यावसायिक सञ्चारगृहविरुद्ध आधारहीन लाञ्छना लगाउने व्यक्तिविरुद्ध कारबाही हुनुपर्छ।’

६) कान्तिपुरको दावी : सुमार्गी पक्राउ पर्ने सम्भावना ?

कान्तिपुरले पुस १४ गते ‘सुमार्गी प्रकरण : आफैं पठाउने,  आफै पाउने’ शीर्षक दिएर अर्को समाचार प्रकाशित गर्‍यो। समाचारमा ‘सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको’ दावी गरिएको छ।

समाचारमा ‘सुमार्गी पक्राउ पर्ने सम्भावना रहेको’ जिकिर गर्दै उनी ‘त्रिभुवन विमानस्थलबाट दुबई हुँदै विदेशतर्फ लागेको’ उल्लेख थियो। ‘सम्पत्ति शुद्धीकरणको केस भएकाले उनलाई विदेशबाटै पक्रेर ल्याउन पनि समस्या छैन,’ छानबिनमा संलग्न अधिकारीलाई उद्‍धृत गर्दै समाचारमा भनिएको छ, ‘तर उनी आफूलाई जोगाउन राजनीतिक लबिइङ गर्दै छन्।’

कान्तिपुरले पक्राउ पर्ने डरले भागेको भनिएका सुमार्गी तीन दिनमै काठमाडौं फर्किएका थिए। बरु यसैबीच जनआस्था साप्ताहिकमा समाचार आयो- सुमार्गीमात्र होइन, सिरोहिया पनि सुटुक्क दुबई पुगेका थिए र त्यहाँ उनीहरूबीच ‘डिल’ भयो। स्रोतबिनाको यो समाचारको न त स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छ न त सुमार्गी वा सिरोहियाले खण्डन नै गरेका छन्। बरु यहीबीच सुमार्गी कान्तिपुर र सिरोहियाविरुद्ध अदालत गए।

७) कान्तिपुरविरुद्ध गाली बेइज्जती मुद्दा

पछिल्लो कान्तिपुरको कभरेज र त्यसमाथि सुमार्गीको प्रतिक्रिया अब अदालती विषय बनेको छ। आइतबार काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा सुमार्गीले प्रतिवादीसँग २५ करोड रुपैयाँ क्षतिपूर्ति पनि माग दावी गरेका छन्।

८) के छ मुद्दामा ?

हदैसम्मको सजाय : कैलाश सिरोहियाले गाली बेइज्जती ऐन २०१६ को दफा ३ द्वारा परिभाषित कसूर गरेको जिकिर गर्दै ऐनको दफा ५ बमोजिम हदैसम्मको सजाय माग गरेका छन्। ‘कैलाश सिरोहियाले आर्थिक सौदाबाजी गरी मबाट अनुचित लाभ लिने नियत राखी निजले सञ्चालन गरेको कान्तिपुर मिडिया अन्तर्गत रहेका विपक्षीहरूसहितले मेरो इज्जतमा धक्का पुर्‍याउने नियतले जानीजानी मेरो व्यवसायिक तथा समाजिक शाख मानमर्दन गर्ने, नेपाली जनता, नेपाल सरकार र सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू र अन्तर्राष्ट्रिय छवि एवं कुटनीतिक सहकर्मीबीच रहेको मेरो मान प्रतिष्ठामा आँच पुर्‍याउने, सार्वजनिक रुपमा आक्षेप लगाउने र मेरो व्यक्तिगत चरित्रहत्या गराउने कार्य विपक्षीहरूले गरी मेरो बेइज्जती गरी गाली बेइज्जती ऐन २०१६ को दफा ३ द्वारा परिभाषित कसूर गरेको हुँदा ऐनको दफा ५ बमोजिम हदैसम्मको सजाय गरी पाउँ’, उनले दर्ता गरेको फिरादपत्रमा भनिएको छ।

२५ करोड क्षतिपूर्ति : सुमार्गीले गालीबेइज्जतीबाट आफ्नो उद्योग व्यवसायमा परेको असरको क्षतिपूर्तिबापत् ऐनको दफा १२ बमोजिम २५ करोड रुपैयाँ मागदावी गरेका छन्। ‘विपक्षीहरूले मलाई गरेको गाली बेइज्जतीबाट मेरा उद्योगहरूमा नकारात्मक असर पुग्न गएको, वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई मैले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिइ त्यसको ब्याज भुक्तानीमा करोडौँ रुपैयाँ खर्च हुनुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नकारात्मक सन्देश पुग्न जानुका साथै त्यस्ता वैदेशिक लगानीमा सञ्चालित उद्योगहरूले ठूलो घाटा नोक्सानी बेहोर्नुपरेको क्षतिसमेतलाई मध्यनजर गर्दै ऐनको दफा १२ बमोजिम २५ करोड रुपैयाँ क्षतिपूर्तिबापत् भराई पाउँ’, अदालतमा दायर फिराद पत्रमा भनिएको छ।

९) के छ कानुन?

सर्वसाधारणको इज्जत र मान मर्यादा कायम राख्न पाउने अधिकारको रक्षाको लागि प्रेसमाथिको मनासिव प्रतिबन्ध लगाउने उद्देश्यले समेत तर्जुमा गरिएको गाली र बेइज्जती ऐन २०१६ मा केलाई गाली बेइज्जती मान्ने र कसूर प्रमाणित भएमा के दण्डसजाय गर्ने भन्नेबारे व्यवस्था छ।

गाली बेइज्जती ऐन २०१६ को दफा ३ मा ‘कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पुर्‍याउने नियतले वा धक्का पुग्ला भन्ने जानी जानी, वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा संकेतले वा बुझिने गरी आकार चिन्हद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिने’ उल्लेख छ। कसूर प्रमाणित भएमा ‘पाँचहजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैद सजाय हुने’ दफा ५ मा प्रावधान छ।

ऐनको दफा १२ मा ‘कसैले कसैलाई गाली वा बेइज्जती गरिएको ठहरिएमा गाली वा बेइज्जती गरिएको व्यक्तिलाई निजको सामाजिक प्रतिष्ठा र इज्जत समेतलाई विचार गरी मुद्दा हेर्ने अधिकारीले कसूरदारबाट मनासिब माफिकको रकम क्षतिपूर्तिको रूपमा भराई दिने र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउने’ व्यवस्था छ।

अब विषय अदालत पुगेको छ। अदालतले सुमार्गीबारे कान्तिपुरमा छापिएका समाचार सामग्रीको सत्यतथ्य परख्नेछ र गाली बेइज्जती हो/होइन फैसला सुनाउनेछ।

सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानीबापत् ल्याएको तथा ल्याउन लागेको रकम अवैध नै हो वा उनले कानुन मिचेका छन् भने उनलाई दोषी करार गरेर सजाय दिनुपर्‍यो। होइन भने एउटा व्यक्तिले ल्याएको अर्बौँ रुपैयाँ लगानी बैंकमा किन सडाएर राखिएको हो राज्यका निकायहरू बोल्नुपर्‍यो। राज्यका निकायहरू औपचारिक रुपमा नबोल्ने, रकम बैंकमा थन्किरहने र सधैँभर मिडिया खपतको विषयमात्र बनिरहने हो भने ‘दालमा केही न केही कालो’ छ भन्ने त देखिन्छ नै मिडिया र राज्यको विश्वसनीयता र औचित्यमाथि नै प्रश्न उठ्ने छ।

सुमार्गीबारे कान्तिपुरमा छापिएका समाचारहरूमा के छ? मिडिया कुराकानीको अर्को स्टोरीका लागि प्रतिक्षा गर्नुहोस्।

कान्तिपुर पब्लिकेसन्स प्रालि, यसका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाएर उद्योगपति अजेयराज सुमार्गीले दायर गरेको मुद्दाको प्रतिलिपि पढ्नुस् :

 

 

 

 

6 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *