अनलाइनखबरमा कसरी छिर्‍यो क्रिप्‍टोकरेन्सी ?


सुरुमै प्रष्ट पारिहालौँ, यो सामग्री ‘क्रिप्‍टोकरेन्सी’ का बारेमा होइन। यद्यपि क्रिप्‍टोकरेन्सीका बारेमा जिज्ञासा छ भने तपाईँ टेलिग्राफको यो लेख वा क्याम्ब्रिज विश्वविद्यालयले यही वर्ष गरेको एउटा अनुसन्धानको प्रतिवेदन पढ्न सक्नुहुन्छ। यो वेबसाइटले पनि तपाईँलाई क्रिप्‍टोकरेन्सीका बारेमा बुझाउँछ। गुगलमा Crypto Currency लेखेर सर्च गर्नुभयो भने यसबारे हजारौँ पेजहरू भेट्नुहुनेछ। जमाना कस्तो आयो भने हुँदै नभएको (भर्चुअल वा अभौतिक) पैसा (क्रिप्‍टोकरेन्सी) किन्न आफूसँग भएको ठूलो रकम खर्चिनुपर्ने। अहिले चर्चामा रहेको बिटक्‍वाइनजस्ता १३ सय १८ प्रकारका क्रिप्‍टोकरेन्सी प्रयोगमा रहेको एक वेबसाइटमा उल्लेख छ। अब सिधै हाम्रो विषयमा प्रवेश गरौँ।


साइबर सेक्युरिटी कम्पनी थ्रेटनिक्सका को-फाउन्डर समेत रहेका साइबर सेक्युरिटी विज्ञ सचिन ठकुरीले गत मंगलबार फेसबुकमा एउटा पोस्ट गरे, जसमा भनिएको थियो कि अनलाइनखबरले वेबसाइटमार्फत बिटक्‍वाइनजस्तै मोनेरो नामक क्रिप्‍टोकरेन्सी माइनिङ गरेको छ।

नयाँ क्रिप्‍टोकरेन्सी उत्पादन हुने प्रक्रियालाई माइनिङ भनिँदो रहेछ। बिटक्‍वाइन वैध कि अवैध ? शीर्षकको एक लेखमा रमेश घिमिरे लेख्छन्- ‘बजारमा नयाँ बिटक्वाइन सिर्जना हुने प्रक्रियालाई माइनिङ भनिन्छ। यो दुई व्यक्तिबीच बिटक्‍वाइनको कारोबार हुँदा भेरिफिकेसन गर्ने कार्य हो। सबै व्यक्तिसँग भएको बिटक्‍वाइनको रेकर्ड ब्लकचेनमा रहेको हुन्छ। ब्लकचेनमा भएको बिटक्‍वाइन कारोबार गर्न खोजेको हो भन्ने पुष्टि गर्ने कार्य माइनिङ हो। माइनिङ सफ्टवेयर डाउनलोड गरेर जोकोहीले माइनिङ गर्न सक्छ। माइनिङमा सफलता पाउन उच्च गतिको इन्टरनेट, निरन्तर विद्युत आपूर्ति, हाई प्रोसेसर कम्प्युुटर र माइनिङ डिभाइस हुनुपर्छ।’

पाठकको जानकारीबिना क्रिप्‍टोकरेन्सी माइनिङका लागि उनीहरूको ‘कम्प्युटर पावर’ प्रयोग गरिनु अनैतिक भएको उनको जिकिर थियो। अनलाइनखबरले आर्थिक फाइदाका लागि वेबसाइटमा गोप्यरुपमा माइनिङ स्‍क्रिप्‍ट राखी पाठकको जानकारी बिना उनीहरूको र्‍याम र सिपियु प्रयोग गरेको उनको भनाई थियो।

ठकुरीको पोस्ट लगत्तै अनलाइनखबरले निराधार आरोप लगाइएको भन्दै हचुवाका भरमा छवि ध्वस्त पार्ने काम नगर्न आग्रहसहित उनको स्ट्याटसमा कमेन्ट गर्‍यो। ठकुरीले भनेजस्तो मोनेरो माइनिङको स्क्रिप्ट अनलाइनखबरमा नरहेको जिकिर उसको थियो।

अनलाइनखबरको जिकिरपछि ठकुरीले फेसबुकमा पुनः अर्को पोस्ट गरे। जसमा आफूले अघिल्लो पोस्ट गरेको १५ मिनेटमा मोनेरोको स्क्रिप्‍ट अनलाइनखबरबाट हटाइएको उनले उल्लेख गरेका छन्। अनलाइनखबरमा मोनेरोको स्क्रिप्ट राखिएको भिडियो पनि उनले राखेका छन्। Coinhive नामक वेबसाइटबाट मोनेरो माइनिङको कोड अनलाइनखबरमा राखिएको देखिन्छ।

त्यसपछि अनलाइनखबरका संस्थापक एवं प्रधान सम्पादक धर्मराज भुषालले वक्तव्य निकालेर ‘केही दिन पहिलेको आर्काइभ परीक्षण गर्दा अनधिकृत स्क्रिप्ट प्रयोग भएको र मंगलबार साँझ त्यसलाई हटाइएको पाइएको’ उल्लेख गरे।

‘हाम्रो प्राविधिक टिमको प्रारम्भिक अनुसन्धानमा अनलाइनखबरको सर्भर अनधिकृत रुपमा एक्सेस गरी क्रिप्‍टोकरेन्सीसँग सम्बन्धित स्क्रिप्ट अनलाइनखबरको फाइलमा राखेको र निश्चित समयपछि हटाइएको देखिएको छ’, वक्तव्यमा उल्लेख छ, ‘यस्तो आपराधिक कार्य सर्भर पहुँच गर्ने विधिहरूको अनधिकृत प्रयोग गरी तेस्रो पक्षबाट ‘साइबर क्राइम’ का रुपमा बद्‍नियतपूर्ण ढंगबाट गरिएको देखिएको हुँदा सो काम कसले र कुन उद्देश्यले गरेको हो भनी पहिचान गर्ने कोसिस भइरहेको छ।‘

थप अनुसन्धान गरी दोषी पत्ता लगाउन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुरोध गरिसकेको उल्लेख गर्दै वक्तव्यमा अनुसन्धानमार्फत् अपराधी पत्ता लाग्ने आशा व्यक्त गरिएको छ।

यस्तो छ अनलाइनखबरको वक्तव्य

सुरुमा अस्वीकार गरे पनि पछि तेस्रो पक्षले वेबसाइटमा अनधिकृत रुपमा मोनेरो स्क्रिप्‍ट राखेर क्रिप्‍टोक्‍वाइन माइनिङ गरेको स्वीकार्दै अनलाइनखबरले प्रहरी गुहारेकोले यो विषय निरुपण हुन केही समय पर्खिनुपर्ला तर कसले गर्‍यो भन्दा पनि कसरी गर्‍यो भन्ने प्रमुख विषय बन्नुपर्ने ठान्छन्, साइबर सेक्युरिटी विज्ञ ठकुरी।

‘अनलाइनखबर एउटा उदाहरणमात्र हो। यस्तो त धेरै वेबसाइटहरूमा भइरहेको हुन सक्छ’, उनले मिडिया कुराकानीसँग भने, ‘त्यो खतरासँग कसरी जुध्ने भनेर सुरक्षाका उपाय अपनाउनु मुख्य कुरा हो।‘

साइबर सुरक्षाका उपायहरू के हुन् भन्ने अर्को सन्दर्भमा चर्चा गरौँला, अहिलेलाई क्रिप्‍टोकरेन्सी किन बहसको विषय भयो भन्ने चर्चा गर्दै यो सामग्री बिट मारौँ।

क्रिप्‍टोकरेन्सी नेपालमामात्र होइन, विश्वभर नै अहिले बहसको विषय छ। अनलाइनखबरले नै ७ वर्षमा १० हजार डलर कसरी बन्यो ११० करोड डलर ? शीर्षकमा बिबिसीको एउटा लेख छापेको छ जसमा तीन वर्षअघि ७५३ अमेरिकी डलर मूल्य रहेको एउटा बिटक्‍वाइनको मूल्य एक वर्षको अन्तरमा १३०० प्रतिशतले वृद्धि हुँदै कसरी ११ हजार अमेरिकी डलर पुग्यो भन्ने विषयमा चर्चा गरिएको छ।

कति मुलुकले यसलाई गैरकानुनी मानेका छन् भने कति देशले यसको कारोबारलाई खतरा ठानेका छैनन्। तर अर्थशास्त्रीहरू तथा यसप्रकारको डिजिटल करेन्सीका पक्षमा रहेकाहरूले यसलाई गम्भीरताका साथ हेरिनुपर्ने मत राखेको देखिन्छ।

नेपालमा किन चर्चाको विषय भयो भने यो हामीकहाँ गैरकानुनी छ। गत असोज तेस्रो साता क्रिप्‍टोकरेन्सीको अहिलेको सबैभन्दा चर्चित ‘ब्रान्ड’ बिटक्‍वाइन कारोबार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो।

र, अन्त्यमा

अनलाइनखबरका सम्पादक अरुण बरालले ‘साइबर अपराधीले अनलाइनखबरविरुद्ध फायर खोलेको’ उल्लेख गर्दै ट्‍विटरमा लेखेका छन्- ‘पत्रकारिताका नाममा भूठको खेती गर्नेहरुलार्इ पनि सिसाको घरमा बसेर गुलेली नचलाउन अनुरोध छ।’

यो ट्‍विट गजेन्द्र बुढाथोकीले डिजिटर मार्केटिङ एक्सपर्ट आकार अनिललाई सिसि गरेका छन्, जहाँ आकारले सोधेका छन्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *