पत्रकारले आँखा र दिमागको उपचार गर्न ढिला नगर्नुस् ! क्या छ विज्ञापन


केही पत्रपत्रिकामा छापिएको एउटा विज्ञापनले आज बडो ध्यान खिच्यो। ‘एमबीबीएस प्रवेश परीक्षा : अनियमितता, आरोप र अनिर्णय’ शीर्षक राखेर छापिएको यो विज्ञापनमा पत्रकार र मिडियालाई गर्नु गाली गरिएको छ।

के हो विज्ञापन?

केही समयअघि प्रश्नपत्र किनबेच भएर रोकिएको भनिएको एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षाको नतिजासँग विज्ञापन सम्बन्धित छ। उक्त प्रकरणमा आफ्नो संस्था पनि मुछिएपछि एमबीबीएस सहित मेडिकल शिक्षाको तयारी कक्षा सञ्चालन गर्ने ‘नेम’ इन्स्टिच्युटका निर्देशक डा. नवीनकुमार शर्माले यो विज्ञापन निकालेका रहेछन्।

के छ ?

विज्ञापन ‘वर्ष बिराएर नियमित जस्तो आउने समाचार’ को चर्चाबाट सुरु हुन्छ – हलबाट प्रश्नपत्र आउट, चोरी पक्राउ, छानबिन । कहिलेसम्म? भित्रैसम्म संलग्नताको आशंका, कोही शंकाको घेरामा….अन्त्यमा केही पेशेवर ठगहरूमाथि कारबाही, मुद्दा दर्ता, जेलमुक्त र फेरि उही श्रृंखला। रोगको पहिचानमा कति दशक लाग्ला?

‘गैरजिम्मेवारी टिप्पणीहरू’ शीर्षक दिएर शर्माले मिडियालाई गाली गर्छन्- पेशेवर ठगहरूको नाम माथिल्लासँग जोडेर हल्ला चलाउँदा यिनको TRP बढ्छ र नयाँ मुर्गालाई फसाउने क्षमता पनि। ठगका लागि ब्रम्हास्त्र बन्छ। ग्राहकहरूको भीडमा नचिताएका पनि पर्छन्। निःशुल्क विज्ञापनको माध्यम नबनौँ।

टेलिभिजनमात्र होइन, शर्माको आक्रमणमा अनलाइन र समाजिक सञ्जाल पनि परेका छन्। बुझ्नै गाह्रो भाषाशैली भएको यो विज्ञापनमा भनिएको छ- प्रत्येकजसो अनियमिततामा NAME को नाममा पनि पाती चढाउँछन्, गलत सन्देश फैलाएर केही निकायलाई पनि छोटो समयको लागि दिग्भ्रमित पार्छन्, हावाखबर डट कममा समाचार हाल्नु र सामाजिक सञ्जालमार्फत फैलाउनु यिनको ध्येय हुन्छ।

शर्मा अझ अगाडि लेख्छन्- ‘केही नदेखी समाचार बनाउने पत्रकार र ठालुले आँखा र दिमागको परीक्षण गर्न ढिला नगर्नुस्, बाँकी जीवन आफ्नो काममा गर्व गर्दै स्वाभिमानसहित बाँच्नोस्।‘

आफ्नो इन्स्टिच्युटमा दलाली नहुने दावी गर्दै विज्ञापनमा जिकिर गरिएको छ- ‘दलालहरू हाम्रो प्रांगणमा छिर्दैनन्, भेटेमा ठोकी हाल्नुस्।‘

विज्ञापन पढ्नुस् र केही बुझेको कुरा भए कमेन्टमा लेख्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *