कान्तिपुरका संस्थापक गोयन्का २५ वर्षपछि मिडियामा फर्कँदै : विकास पत्रकारिताको योजना


अन्‍नपूर्ण टुडे म्यागेजिनको अन्‍तिम अंकका लागि मैले कान्तिपुरका संस्थापक श्याम गोयन्कासँग लामो कुराकानी गरेको थिएँ, इन्टरनेटमार्फत। २९ वर्षको उमेरमा उनले कसरी कान्तिपुर स्थापना गरे र एक वर्ष नहुँदै उनी किन बाहिरिए भन्‍नेमा मूलतः मेरो चासो थियो। त्यसबाहेक उनी हाल कहाँ के गर्दै छन् र उनको भावी योजना के छ भन्‍नेमा कुराकानी केन्द्रित थियो। आफू विकास पत्रकारिताको नयाँ अभियानसहित पुनः मिडियामा फर्किन चाहेको उनले उल्लेख गरेका छन्। उनले आफ्नो अभियानलाई ‘मिडिया क्रान्ति २.०’ भनेर सम्बोधन गरेका छन्। पढ्नुस्, गोयन्कासँगको कुराकानीमा आधारित लेखः


  • श्याम गोयन्का-

सामाजिक न्याय, स्वतन्त्रता, समावेशिता, जनाधिकार र राष्ट्र निर्माणको खोजीका लागि मेरो यात्रा प्रजातन्त्र पुनर्स्थापना हुनुअघि नै शुरु भइसकेको थियो। ममा स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ मिडिया स्थापनाको हुटहुटी थियो। ताकि निरंकुशता, भ्रष्टाचार, गरिबी र अशिक्षाले ग्रस्त मुलुकमा महत्वपूर्ण मुद्दाहरूमा छलफल र विचार विमर्श हुन सकोस्। तर, संविधानले त्यस्तो छुट दिएको थिएन ।

अन्ततः २६ चैत २०४६ मा त्यो सपना साकार भयो । दोस्रोपटक प्राप्त प्रजातन्त्रलाई २०१७ सालजस्तो हुन नदिन यसको स्थायित्व सुनिश्चित गर्नु थियो । सम्भवतः त्यसका लागि ठड्याउनुपर्ने एउटा बलियो स्तम्भ भनेको स्वतन्त्र प्रेस थियो । यसलाई संस्थागत गरेर मात्र प्रजातन्त्रको रक्षार्थ योगदान गर्न सकिन्थ्यो । केही ट्याब्लोइड तथा सरकारीस्तरबाट नेपाली र अंग्रेजी भाषामा सञ्चालित गोरखापत्र र द राइजिङ नेपालबाट मात्र राष्ट्रको त्यो आवश्यकता पूरा हुने अपेक्षा गर्न सकिने अवस्था थिएन ।

यसरी मेरो प्रयास शुरु भयो, तर यसलाई बलियो र प्रभावकारी बनाउन ठूलो स्रोत चाहिन्थ्यो । दुर्भाग्यवशः म मध्यमवर्गीय परिवार, अझ भनूँ, निम्न मध्यमवर्गीय परिवारबाट आएको थिएँ । मेरो परिवार खेतीकिसानी गर्थ्यो। ‘मिसन कान्तिपुर’का लागि मैले जम्मा गरेको भनेको हामीसँग भएको जमिन बेचेर आएको रकम थियो । तर त्यो पनि उपकरण खरिदका लागि आवश्यक पुँजीको एक हिस्सा मात्र थियो । शुरुका हरेक महिना बारम्बार भइरहने ४० देखि ५० लाख रुपैयाँ खर्चको कुरै नगरौँ, जुन घाटामै परिणत हुन्थ्यो । घाटाको दर कम भइरहेको थियो, ‘ब्रेकइभन’ धेरै पर थिएन । मिसनको पूर्णताका लागि म उत्साहपूर्वक अगाडि बढिरहेको थिएँ र जे/जति सम्भव हुन्छ जुटाइरहेको थिएँ । मेरा आफन्त र साथीभाइमध्ये कोही बाँकी थिएनन्, जोसँग मैले सहयोग नलिएको हुँ वा सहयोगका लागि ढोका नढक्ढकाएको हुँ । र, पनि त्यो पर्याप्त थिएन । म मात्र २९ वर्षको थिएँ, कतिपयलाई मेरो मिसनमाथि विश्वास थिएन ।

यसले मलाई व्यवसाय तथा उद्योगमा प्रतिष्ठित व्यक्तिहरूलाई भेट्न प्रेरित गर्‍यो, जो वेलावेलामा गरेका समाजिक कामका कारण समाचारका हेडलाइन बन्थे । तर, त्यहाँबाट राहत मिलेन, किनभने त्यहाँ गरेको लगानी उठ्छ भन्ने उनीहरूलाई विश्वासै थिएन । उनीहरू मुनाफासहितको ‘ब्यालेन्स सिट’ माग्थे । मैले उनीहरूलाई भनेँ, शुरु नै नभएको मिसनको ब्यालेन्स सिट कसरी हुन्छ ? उनीहरू अनुमानित भए पनि नाफाको लेखाजोखा सुन्न चाहन्थे । जब मैले तत्काल नाफा नहुन पनि सक्ने सुनाएपछि उनीहरू हच्के । तर, कान्तिपुरको सफलतापछि भने तिनै मानिसहरू लगानी नगर्नु ठूलो गल्ती भएको भन्दै चुकचुकाए । उनीहरू त आखिर धनको लालचको पछाडि थिए न कि कुनै अभियानको पक्षमा ।

दुई वर्षभन्दा लामो मिहिनेतपछि ७ फागुन २०४९ गते पत्रिका शुरु भयो । हामीले आवश्यक सुधार गर्न सकियोस् भनेर जनसमुदाय तथा समीक्षकहरूलाई पत्रिकाको औपचारिक शुरुवात हुनपूर्व नै ड्राफ्ट कपी निरन्तर पठाउँदै गरेका थियौँ । यसको अर्को कारण पत्रकार साथीहरूलाई ब्रोडसिटको अनुभव होओस् भन्ने थियो, किनभने त्यसको अनुभव भएका साथीहरू हाम्रो टिममा निकै कम थिए । यसमा पनि ठूलो स्रोत खर्च भएको थियो । वास्तवमा यो अभ्यास राज्यले थाल्नुपर्ने थियो न कि एउटा गरिब मान्छेले । किनकि, यहाँ ठूलो धनराशि आवश्यक थियो । कान्तिपुर र काठमाडौं पोस्ट शुरु भएको एक सातामै मुलुकको उच्चए निकायबाट खबर आयो कि कान्तिपुरको अभूतपूर्व प्रभाव छ र आगामी समाजिक–राजनीतिक विकासका लागि यो विश्वसनीय उत्प्रेरक बन्न सक्छ । उनीहरू जतिसक्दो चाँडो मसँग भेट्न चाहन्थे । मलाई के सहयोग चाहिन्छ माग्न उनीहरूले आग्रह गरे ।

मसँग पत्रिका छाप्न गोदाममा पाँच दिनका लागि मात्र कागज थियो । बाँकी अर्डर गर्न मसँग कुनै स्रोत थिएन । पछिल्लो पटक तलबवापत २० लाख रुपैयाँ भुक्तानी भएको केही सातामात्र भएको थियो र आउँदो दिनको लागि कहाँबाट जुटाउने कुनै संकेत थिएन । र, पनि यस्ता प्रस्तावहरू अस्वीकार गरियो । जे आवश्यक छ, त्यो जुटाउने आत्मविश्वास हामीसँग थियो । पत्रिकाको स्वतन्त्रता र निष्पक्षतामा असर पर्ने गरी कसैबाट सहयोग लिन नहुने र अझै पनि साथीभाइ र परिवारसँग ऋण/सहयोग माग्नेमा म प्रतिबद्ध थिएँ । हामीले अग्रिम विज्ञापन लिन थाल्यौँ र पछि ग्राहक बढाउने अभियान चलायौँ, तर त्यो पनि पर्याप्त थिएन । किनकि, आवश्यकता अत्याधिक थियो । यद्यपि यी उपाय घाटा कम गर्न सहयोगी थिए । हामीसँगको प्रतिबद्धताअनुसार सहयोग गर्न मैले सरकारलाई पनि भनेँ ।

पत्रिकाको वितरणका आधारमा सरकारी विज्ञापन प्राप्त गर्नु हाम्रो अधिकार थियो । तर, आश्वासनअनुसार काम हुन सकेन, कारण केही सातामै सरकार फेरियो । खर्च बढ्को बढ्यै थियो जुन एउटा गरिब मान्छेका लागि निकै ठूलो थियो । त्यसपछि मेरो पवित्र मिसनप्रति उत्साहित समूहको खोजी गर्नुबाहेक मसँग अर्को विकल्प रहेन जो सम्भावित लगानीकर्तासमेत हुन सकून् । त्यसकारण कैलाश सिरोहिया र विनोदराज ज्ञवाली मेरा साझेदार बन्न पुग्नुभयो । हामीबीच राम्रो सम्बन्ध थियो । आज पनि म कैलाशजी र टिमले प्राप्त गरेका उपलब्धिको निरन्तर प्रशंसा गर्छु ।

केही समयको सहयात्रापछि जब मेरो दायित्वमा रहेको न्युज प्रिन्टको बक्यौताबारे छलफल भयो, मैले मेरो सेयर धितो राखेर उक्त दायित्व पूरा गर्ने बाचा गरेँ । मेरो मिसनका एक शुभचिन्तकसँग त्यसबारे कुरा भइसकेको थियो । तर, उक्त प्रस्ताव एक सञ्चालकले अस्वीकार गरे (उनी कैलाशचाहिँ होइनन्) । सहयोगको साटो विरोध गर्नु निराशाको विषय त थियो नै, दुर्भाग्यपूर्ण पनि थियो । किनभने अन्ततः हामी प्रजातन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउने एउटै संघर्षमा थियौँ । विकसित परिस्थिति मेरो अपेक्षाविपरीत थियो । मैले आफ्नै सेयर धितो राखेर तेस्रो पक्षलाई ब्याज तिर्दा कसैलाई घाटा पनि थिएन । बदलामा मेरो ५० प्रतिशत सेयरमध्येबाट केही अंश बिक्री गरेमा उनले मेरो भागको आर्थिक दायित्व जिम्मा लिने प्रस्ताव मसमक्ष राखियो । त्यो योजनाको अन्तर्यमा मेरो स्वामित्व ५० प्रतिशतभन्दा तल झार्ने र मैले सन्तानसरी हुर्काएको मिसनको सञ्चालनमा मलाई नै मुकदर्शक बनाउने उद्देश्य रहेकोमा म प्रस्ट थिएँ । अन्ततः विभिन्न चरणका छलफलपछि म मध्यरातमा समाचार कक्षमा छिरेँ, एउटा नोट लेखेँ र बाहिरिएँ ।आफ्नै मिसनको स्तम्भमार्फत मैले राजीनामा दिएँ ।

कान्तिपुरको पहिलो अंक

म कान्तिपुरबाट बाहिरिएपछि भएका विभिन्न अड्कलबाजीका बाबजुद मैले आजसम्म यसबारे केही बोलिनँ । म बाहिरिनुको पछाडि ‘स्रोतको अभाव भएको’, ‘रुचि नभएको’ जस्ता हल्लाहरू पनि चलाइए । तर, मेरो जीवनको महत्वपूर्ण मिसनबाट बाहिरिएर २५ वर्ष अपमानित जीवन बिताएपछि मलाई लाग्छ, उक्त आत्मघाती कदमबारे मेरा शुभचिन्तकहरूलाई जानकारी गराउनु मेरो कर्तव्य हुन आउँछ । हो, म गरिब थिएँ । तर त्यो समयमा स्रोतको अभावले म बाहिरिएको कुरा सत्य होइन । किनभने मैले तेस्रो पक्षसँग आफ्नो सेयर धितो राखेर पुँजी जुटाउने तयारी गरिसकेको थिएँ जुन अस्वीकार गरियो, यसको चर्चा मैले माथि नै गरिसकेको छु । मेरो शुभचिन्तक बढी र लगानीकर्ता कम तेस्रो पक्ष म कान्तिपुरबाट नबाहिरियोस् भन्ने चाहन्थ्यो । र, ब्रेक इभनमा पुग्न लागेको र आर्थिक हिसाबले भविष्य सहज रहेको अवस्थामा कोही किन कम्पनीबाट बाहिरिन्थ्यो ?

यो सबै मैले व्यवसायिक मुनाफाका लागि गरेको थिइनँ । यो एउटा राष्ट्रप्रति समर्पित कदम थियो जुन सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रजातन्त्रका लागि अत्यावश्यक थियो । प्रजातान्त्रिक समाजको समाजिक–आर्थिक सुरक्षाका लागि यो अपरिहार्य थियो। मैले मेरा दुई सय १२ सहकर्मीसँग भनेँ, ‘जुनसुकै स्वामित्व संरचनामा गए पनि संस्था सधैँ अटल रहन्छ।’ मेरो बाध्यात्मक बहिर्गमनबाट उनीहरूमा कुनै प्रकारको नकारात्मक भावना नआओस् र उनीहरूले यसलाई सहज लिऊन् भन्नेमा म सचेत थिएँ । मैले मेरो इच्छाले ‘कान्तिपुर’ छोडेको भन्ने कुरा मेरा शुभचिन्तकको दिमागबाट हटाउन चाहन्छु । होइन, कसैले पनि त्यस्तो नसोचोस् । मैले राष्ट्रका लागि आवश्यक अभियानमा मेरो र परिवारको जीवन बर्बाद गरेँ । यसका लागि आवश्यक ठूलो स्रोत बन्दोबस्त गर्नु मेरो वशको विषय थिएन । तर, यो राष्ट्रलाई आवश्यक थियो जुन कसैले शुरु गर्न चाहेको थिएन । मजस्तो सीमित स्रोतसाधन भएको मान्छेको लागि त झन् यो आत्मघाती थियो, तर जसरी पनि गरियो ।

कस्तो विडम्बना ! म यस्तो वेलामा पूर्ण रूपमा स्रोतविहीन भएँ, जतिवेला हामी ब्रेक इभनको नजिकै थियौँ र कम्पनीको अन्तिम अवरोधसँग जुधिरहेका थियौँ । सुरुङको अर्कोपट्टि उज्यालो देखिँदै थियो । र, पनि म बाहिरिनु बाध्यता बन्यो । संक्षेपमा भन्दा यो लेखान्तर थियो । अहिलेसम्म पनि पीडा उस्तै छ । तर, यो जीवन हो । तपाईंको कल्पनाबाहिरको विषयलाई इमानदारिताका साथ स्वीकार गर्नुपर्छ । जतिसुकै पीडादायी किन नहोस् तपाईं अगाडि बढ्नुपर्छ । मलाई लाग्छ, भाग्यको खेल अजिब हुन्छ ।

अर्कोतर्फ, म खुशी पनि छु किनभने संस्था अमर छ । व्यक्तिकेन्द्रित हुनुको अर्थ छैन । मिसन कान्तिपुरलाई स्थापित बनाउन आफ्नो तनमन लगाउने मेरा दुई सय १२ जना साथीहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबै उपलब्धिहरूको जस साथीहरूलाई नै जान्छ। म त केबल उहाँहरूमध्येको एक हुँ। उहाँहरूकै संघर्षका कारण हामी प्रेस स्वतन्त्रता सूचकांकमा सिंगापुर, चीन, भारत र रुसजस्ता राष्ट्रहरूभन्दा पनि अगाडि छौँ। यो राष्ट्रिय गौरवको विषय हो। वास्तवमा म मिडिया व्यवसायलाई व्यक्तिगत सफलताको रुपमा होइन, समाजलाई त्यसले के योगदान पुर्‍यायो भन्ने अर्थमा बुझ्छु। तर मानिसहरू यसलाई व्यक्तिगत सफलतासँग जोडेर हेर्छन्। मेरो सोच र आम बुझाईबीचको अन्तर नै यही हो। हामीले गरेको कामले समाजमा के कस्तो योगदान पुर्‍याउँछ भन्ने आधारमा हामीले सफलता/असफलतालाई हेर्नुपर्छ जस्तो मलाई लाग्छ। भौतिकशास्त्री अल्बर्ट आइन्सटाइन भन्छन्- ‘स्ट्राइभ नट टू बि अफ सक्सेस बट र्‍यादर टू बी अफ भ्यालु’ (सफल हुनका लागि होइन, समाजलाई उपयोगी कर्मका लागि प्रयत्न गर)। म पनि यो मान्यतामा विश्वास गर्छु।

नेपालको मिडिया क्षेत्रको भलाई तथा पेशागत उन्नतिमा मेरो चासो सधैँ रहेको छ। म मेरो मिसनबाट बाहिरिएपछि पनि मिडियाका साथीहरूको सफलताको लागि के गर्न सकिन्छ भन्ने चिन्तनमै थिएँ र छु। मिडियामा रोजगारीका अवसरहरूको संख्यात्मक वृद्धिमात्र होइन, गुणात्मक वृद्धि हुँदै राष्ट्र निर्माणमा पनि यस क्षेत्रको उल्लेखनीय भूमिका हुनुपर्छ भन्ने मेरो सपना हो। मिडियाकर्म अझ सम्मानित पेशा हुने मेरो विश्वास छ। आगामी दिनहरूमा तपाईँ के देख्‍नुहुनेछ भने एउटा युवाले आफूलाई बैंङ्कको सिइओको रुपमा वा आजका दिनमा आकर्षक मानिने अन्य कुनै पेशामा भन्दा पनि मिडियाकर्मी/पत्रकारका रुपमा उभ्याउन चाहनेछ।

म पुनः मिडियामा योगदान गर्ने योजनामा छु कि भनेर धेरै सहकर्मीहरूले मलाई सधैँ सोध्ने गर्नुहुन्छ। म पनि विकास पत्रकारिताको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता देखिरहेको छु, जुन आमनागरिकको सामाजिक आर्थिक विकासका लागि महत्वपूर्ण छ। र, यो मैले अधुरै छोडेर हिँड्नु परेको महत्वपूर्ण क्षेत्र पनि हो। विकास पत्रकारिताको क्षेत्रमा सुरु हुने नयाँ पहल कान्तिपुर तथा देशका अन्य मिडियाका लागि पनि पूरक बन्ने छ। तसर्थ राष्ट्रिय हीतका लागि सबैबाट यसको स्वागत हुनेछ भन्नेमा म विश्वस्त छु। त्यसकारण म एउटा नयाँ दृष्टिकोणसहित आउँदैछु जसले हाम्रो पत्रकारितालाई देशका सबै भागमा पुग्ने गरी सहभागी गराओस् तथा धेरै पत्रकार साथीहरूलाई संगठित मिडिया क्षेत्रमा रोजगारीको अवसर सिर्जना होओस्। छापा माध्यम शहरहरूमा मात्र सीमित हुनु हुँदैन। स्थानीय साम्रगीसहित विकासका लागि हरेक जिल्लामा पुग्नुपर्छ, अझ सकेसम्म हरेक गाउँसम्म पुग्नुपर्छ। हामी यसमार्फत सरकार र अन्य विकास एजेन्सीले दिने सेवा हरेक घरपरिवारमा पुर्‍याउन र आमनागरिकको सशक्तिकरण गर्न प्रयास गर्न सक्छौँ। सूचना, सञ्चार र प्रविधि (आइसीटी) को प्रयोग, नागरिक पत्रकारितामार्फत मुलुकका कुनाकन्दराबाट गहन रिपोर्टिङ, गुनासो व्यवस्थापन, समाजिक लेखापरीक्षण र अन्य नयाँ तथा आदर्श उपायहरूले हाम्रो मिसनमा पुग्न सघाउनेछन्। मैले यसलाई ‘मिडिया क्रान्ति २.०’ भनेर सम्बोधित गरेको छु। मेरो सोचमा यसको अभिप्राय मिडियाको पहलमा राष्ट्रको सर्वाङ्गिण विकासमा सेवा पुर्‍याउने हो तथा आर्थिक विकास तथा जनसमुदायको सशक्तिकरणको हकमा एउटा क्रान्ति ल्याउनु हो।

मैले ‘मिडिया क्रान्ति’ को कुरा आफ्नो तुष्टिका लागि गरिरहेको छैन। पहिलो, रोजगारीका अवसरको सवालमा मिडिया क्षेत्रको दायरा फराकिलो पार्ने। गाउँगाउँसम्म मिडियाको पहुँच स्थापित गर्ने। र, दोस्रो विकास पत्रकारिताको क्षेत्रमा संलग्न हुने, किनभने यसले एउटा प्रभावकारी उत्प्रेरकको भूमिका निर्वाह गर्नेछ। हालसम्म हामीले यो क्षेत्रमा निकै थोरैमात्र काम गरेका छौँ। दोहोर्‍याउनु परेन कि यसले सामाजिक आर्थिक विकास तथा विकासशील देशहरूको हाराहारीमा मुलुकलाई पुर्‍याउने मापदण्डहरूको सुधार गर्नेछ। यो कुनै कल्पना नभएर धेरै शोध तथा ठोस योजनाहरूसहित कार्यान्वयनमा लैजान सकिने पहल हो। समग्र विकास र सशक्तिकरणप्रति प्रतिबद्ध अर्को कुनै विश्वसनीय उपाय मैले खासै देखेको छैन। भ्रष्टाचार नियन्त्रण र सेवाको प्रवाहको गतिमा धेरै सुधार गर्नुपर्नेछ जो कि यो पहलले स्वतः हुनेछ।

कान्तिपुरका संस्थापक गोयन्कासँग रविराज बरालले अन्नपूर्ण टुडेका लागि गरेको कुराकानीमा आधारित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *