सम्पादक पत्रकार हो, म्यानेजर होइन : युवराज घिमिरे


पत्रकार युवराज घिमिरे तीन दशकदेखि पत्रकारितामा छन्। राजधानीबाट प्रकाशित ब्रोडसिट दैनिकहरू ‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोस्ट्’ र ‘राजधानी’मा सम्पादक रहिसकेका उनले भारतका ‘टेलिग्राफ’, ‘आउटलुक’ र ‘इन्डिया टूडे’लगायत पत्रिकामा काम गरेका छन्। हाल भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’का स्तम्भकार घिमिरेसँग सम्पादकको भूमिका र सम्पादकीय स्वतन्त्रतालगायत विषयमा रविराज बरालले गरेको कुराकानी :

सम्पादक कस्तो भूमिका हो ?

एउटा ‘भिजनरी लिडरसिप’ (दूरदर्शी नेतृत्व) जसले टिमलाई सँगै लिएर जान सक्छ । नेपालको सन्दर्भमा त्यो क्षमताबारे मालिक पनि आश्वस्त हुनुपर्छ ।

सम्पादक सञ्चालकको प्रतिनिधि हो वा श्रमजीवी पत्रकारको नेता ?

सम्पादक जो आए पनि त्यहाँ पेसागत निष्ठा राख्ने क्षमतावान् पत्रकार वा रिपोर्टरहरू हुन्छन् भन्ने मान्यता हुन्छ । त्यस अर्थमा सम्पादकले एउटा पुलको काम गरेको हुन्छ । व्यवस्थापक वा कर्पोरेट अफिसले हरेक कुरामा रिपोर्टरहरूलाई विश्वासमा लिन सम्भव हुँदैन । त्यसको एउटा निश्चित ‘चेन अफ कमान्ड’ हुन्छ । सम्पादकले त्यहाँ पहिलो व्यक्तिको भूमिका खेल्छ, मध्यस्थताको काम पनि गर्छ । तर ऊ पत्रकार हो, म्यानेजर होइन । व्यवस्थापनलाई बुझ्नु उसको योग्यता हो । आधारभूत रूपमा ऊ नेतृत्व हो । कर्पोरेट अफिस र आफ्ना पत्रकारहरूको बीचमा सेतु पनि हो । सँगसँगै एउटा मिडिया बाँच्न मार्केटिङ, सर्कुलेसन र समाचारकक्षबीच सहकार्यको आवश्यकता हुन्छ । पत्रकारिताको धर्म, मूल्य मान्यता र मर्यादाभित्र रहेर सहकार्य गर्नुपर्ने हुन्छ । नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने जस्ता बृहत् भूमिका हुन्छन् । जुन दैनन्दिन पत्रिका छाप्नेभन्दा अलिकति फरक हुन्छ ।

मिडिया सञ्चालकले सम्पादक कसरी छान्छ ?

व्यक्तिको योग्यता, विश्वसनीयता र पाठक वा बजारले उसलाई कसरी ग्रहण गर्छ भन्ने हेरिन्छ । ऊ अचानक ह्यान्डपिक गरिएको वा भर्खर कलेज भ्याएको व्यक्ति हुँदैन । त्यसता केही असाधारण व्यक्ति पनि होलान् । तर, पहिलाको पृष्ठभूमि हेरिन्छ । विशेष परिस्थितिमा ल्याउँदा सम्पादकको कुनै पाटो बलियो हुनसक्छ । प्रतिस्पर्धी सञ्चारमाध्यमहरूलाई हेरेर त्यो सम्पादकको व्यक्तित्वले कसरी आफ्नो पक्षमा वातावरण बन्छ भन्ने कुराको लेखाजोखा पनि हुन्छ ।

सम्पादक र मिडिया सञ्चालकको बाटो कसरी फेरिन्छ ?

निरक्षर या कुनै शैक्षिक योग्यता नभएको धनाढ्य व्यक्ति पनि सञ्चार समूहको मालिक वा अध्यक्ष हुन सक्छ । सञ्चारका नीति, नियम, मान्यता, जवाफदेहिता जस्ता विषयका व्याख्याता ऊ बन्न सक्दैन । अर्थात् सम्पादककै दायित्वभित्र पर्न आउँछन्, ती विषय । यत्ति हो कि निजी सञ्चारमा मालिकको चाहनाबाट सम्पादकको आयु निर्धारित हुन्छ । प्रतिकूल परिस्थितिमा सम्पादक स्वयं हट्छ ।

बाटो नै फेरिने गरी मिडिया सञ्चालक र सम्पादकबीच कसरी द्वन्द्व हुन्छ ?

नेपालको सन्दर्भमा अधिकांश सञ्चारमाध्यम आफ्नो शक्ति पनि स्थापित गर्न चाहन्छन् । एउटा परिस्थिति वा संघर्षको बेलासम्म मालिक र सम्पादकको लक्ष्य एउटै हुन्छ– आफूलाई स्थापित गर्ने, आफ्ना प्रतिस्पर्धीसँगको तुलनामा आफू अगाडि जाने वा हाराहारीमा लैजाने । सञ्चारमाध्यमले नाफा कमाउन खोज्छ । नाफाको कुरा गर्दा सम्पादकले ‘ड्यु इन्ट्रेस्ट’ (जायज स्वार्थ), ‘इथिकल इन्ट्रेस्ट’ (नैतिक स्वार्थ) र ‘लिगल इन्ट्रेस्ट’ (कानुनी स्वार्थ) हेर्नुपर्ने हुन्छ । मिडियाको नाफा भनेको शुभ लाभ हो । यहाँसम्म मालिक र सम्पादकको स्वार्थ एउटै हुन्छ । तर, जब पत्रकारिताको धर्म र नाफाबीच टकराव हुन्छ, मालिकले सञ्चारको धर्मप्रति प्रतिबद्धता देखाएन, कुनाफा भए पनि चाहिन्छ भन्यो भने सम्पादक र मालिकको बाटो फेरिन्छ । सञ्चारमाध्यम सार्वजनिक दायित्व र जवाफदेहिताबाट अलग हुन सक्दैन । मिडियाका सञ्चालकहरूले त्यो कुरा बुझिदिए सञ्चारमाध्यमको विश्वसनीयता बढाउन मद्दत गर्छ र सहकार्य लामो हुन्छ । नत्र द्वन्द्वको स्थिति आउँछ । र, सम्पादक फेरिन्छन् ।

मिडियाको व्यापारिक स्वार्थ र सम्पादकीय धर्मबीचको सन्तुलन कत्तिको चुनौतीपूर्ण हो ?

एकदमै चुनौतीपूर्ण हो । तर, एकअर्काको धर्मप्रति संवेदनशील भएसम्म समस्या आउँदैन । दुई–तीन वटा कुराले समस्या ल्याउँछ । पहिलो, मिडिया लगानीकर्ताका १० ठाउँमा लगानी छन्, लगानीलाई प्रबद्र्धन गर्न वा प्रतिस्पर्धीहरूलाई ठेगान लगाउन तपाईंले आफ्नो सञ्चारमाध्यम दुरुपयोग गर्न चाहनुभएन भने सम्बन्धमा मधुरता ल्याउँछ । तर, तपाईंले गर्नुभएन भने के गर्ने ? दोस्रो, विज्ञापन वा अन्य स्वार्थका लागि मान्छेलाई तर्साउने साधनका रूपमा प्रयोग गर्नुभयो भने धर्मभ्रष्ट भएको मानिन्छ । मैले भोगेको छु कि विज्ञापन ल्याउने क्रममा मिडियाको एउटा शाखाले गरेको व्यवहारबारे सम्पादकलाई थाहा नहुन सक्छ । तर, नाम सम्पादकको छापिन्छ । भोलि सम्पादकले यो विज्ञापनसँग मेरो सरोकार छैन भनेर अदालतमा भन्न त पाउँदैन । जबकि, व्यावहारिक रूपमा उसको भूमिका हुँदैन । बजार यति सानो छ तर मिडिया किन यति धेरै ? के हुन्छ भने तपार्इं मालिक हुनुहुन्छ, दुई–चार करोड खर्च गरेर मजस्ता दुई–चार पत्रकारलाई पाँच–छ महिनाका लागि जागिर दिनुहुन्छ । कतिपयको नियत पाँच–छ महिनामा अरू व्यापारबाट २० करोडको नाफा कमाऊँ वा कानुनभन्दा माथिको हैसियत हासिल गरूँ भन्ने हुन्छ । यो आपत्तिजनक हो । कानुनभन्दा माथिको हैसियत प्राप्त गर्ने मालिकको चाहना हुन्छ र यसमा सम्पादक तथा पत्रकारहरू प्रयोग हुन्छन् भने त्यो झन् आपत्तिजनक कुरा हो । हामी आफैंले पनि धेरै कुरा विश्लेषण गर्नुपर्ने छ, तर सम्पादकहरूको त्यस्तो निकाय नेपालमा छैन । र, अर्को अप्ठ्यारो के हुन्छ भने मालिकले विज्ञापनकै लागि सम्पादक ल्याउने प्रथा चल्यो भने झन् आपत्तिजनक हुन्छ ।

यस्तो स्थितिमा व्यापारिक स्वार्थको जाँतोभित्र सार्वजनिक हित पिसिने खतरा कति छ ?

एकदम छ । कतिपय सञ्चारमाध्यमले विज्ञापन दिँदैनस् वा यति पैसा दिँदैनस् भने यो फुटेज प्रसारण गरिदिन्छौँ भनेको अवस्था पनि छ । सम्पादक आफैंमा संस्था भएकाले ऊ सम्बन्धित मिडियाको पब्लिक अनुहार हो । प्रमोटर देखिन पनि सक्छ र नदेखिन पनि सक्छ । त्यसैले सम्पादक बढी सजग हुनु जरुरी छ । छापिएका कुराको दायित्व उसले लिनुपर्छ । कर्पोरेट प्रभाव बढ्दै जाँदा पत्रकारिताका मूल्यमान्यता निमोठिने र त्यसमा सम्पादक मौन रहने प्रवृत्ति प्रशस्त छ यहाँ । यसले व्यावसायिकतालाई घाटा पुर्‍याएको छ । सम्पादकहरूको सम्झौता र हामीकहाँ पत्रकारिताको नाममा भएको ब्ल्याकमेलिङले यसको मर्यादामा असर पारेको छ ।

उही प्रवृत्ति वा विषयलाई हेर्ने सम्पादकको दृष्टिकोण अचानक फेरिएको देखिन्छ । यो के हो ?

त्यो व्यावसायिक बेइमानी हो । यसमा दुइटा अवस्था हुन्छ । एउटा हिजो सार्वजनिक रूपमा मैले जे लेखेँ, गल्ती लेखेँ भनेर कहीँ न कहीँ स्वीकार गरेर सार्वजनिक रूपमा घोषणा गरेको हुनुपर्छ । अर्को ‘म तालअनुसार नाच्छु’, ‘परिस्थितिअनुसार आफ्नो मान्यता फेर्छु’ भन्ने सन्देश हो जुन सम्पादकबाट अपेक्षा गरिँदैन ।

सम्पादकको नियुक्ति र बर्खास्तगीमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको पनि चासो हुन्छ भन्ने चर्चा चल्छ नि ?

हाम्रा मिडिया मालिकहरू नेपालमा ठूलो स्वार्थ भएको विदेशी दूतावासको तल्लो तहको कूटनीतिज्ञलाई खुशी बनाउन आफ्नो सम्पादकको अवमूल्यन गर्न पछि पर्दैनन् । मैले देखे भोगेको छु । विभिन्न दूतावासबाट केही आलोचना आउँदा म ती पत्रकारहरूको पक्षमा उभिएर कारबाही गर्नु हुँदैन भनेर मालिकहरूलाई भनेको छु । मेरो पत्रकारिताको शुरुवात भारतबाट भयो । मैले राम्रा गुरुहरूसँग काम गर्ने अवसर पाएँ । भारतीय दूतावासको कुनै पनि तहको कर्मचारीले पत्रकारिता सिकाउने कोसिस गर्‍यो भने म स्वीकार्दिनँ । मैले भारतमा थुप्रै मानिससँग पत्रकारिता पढेको छु । त्यहाँको समाजवाद र त्यहाँको माटोबाट पढेको छु, त्यहाँका विभिन्न व्यक्तिहरूबाट पनि पढेको छु । म अझै पनि सिक्छु । तर, मलाई लाग्छ एउटा कूटनीतिज्ञको काम पत्रकारिता सिकाउने होइन । यी प्रवृत्तिलाई मैले चुनौती दिएको छु । मैले मालिकहरूलाई पनि भनेको छु कि यस्ता मान्छेहरूबाट पत्रकारिता सिकेर तपाईंहरूले यहाँ पत्रकारलाई हतोत्साही नगर्नुहोला । त्यो भारतीय होस् वा जुनसुकै दूतावास होस् । दुर्भाग्य मेरा साथीहरूले त्यो चुनौती मोलेका छैनन् ।

नेपालको पत्रकारितालाई मुख्य चुनौती केबाट छ ?

पहिलो त ब्ल्याकमेलका रूपमा पत्रकारिता प्रयोग भइरहेको छ । हामी दोषचाहिँ स–साना ट्याब्लोइडहरूलाई दिन्छौँ तर त्यो संस्थागत भएको कुरालाई वास्ता गरिरहेका छैनौँ । अर्को संगठित निहित स्वार्थबाट । त्यो राजनीतिक दलहरूबाट होला, आपराधिक समूहबाट होला, सत्ताबाट होला, कर्पोरेट स्वार्थबाट होला । अर्को, म पत्रकार पनि छु र अरू कुरा पनि छु । म पाँच वटा विभिन्न धन्दा गर्छु र त्यो धन्दालाई प्रबद्र्धन गर्न पत्रकारको पास हल्लाउँछु । अथवा, म कुनै दल वा निहित उद्देश्यका साथ चलेको एनजीओको जागिर पनि खान्छु । अझ पत्रिकामा म त्यही ‘बिट’ चाहन्छु । किन ? एनजीओहरू पनि ट्रेड युनियनजस्ता भएका छन् । पत्रकारका विभिन्न समूह छन्, ती समूहमा आबद्ध संवाददाताको ‘बिट’ परिवर्तन गर्न सम्पादकले सक्दैन । अर्को कुरा, त्यसले पत्रकारलाई पनि घाटा हुन्छ । आज एउटा विषय कभर गर्ने पत्रकार भोलि अर्कोमा गयो भने त्यसको दृष्टिकोण र विषय पनि फराकिलो हुन्छ नि । ती कुराहरूलाई हामी हेर्दैनौँ । यी सबै कुराले व्यवसायिक धर्म र गुणस्तर दुवै कमजोर हुँदै जान्छन् । राजनीति र व्यक्तिप्रतिको पूर्वाग्रहले नेपालको सञ्चारमाध्यममा हामी दोहोरो मापदण्ड अपनाइरहेका छौँ । यो अर्को घातक प्रवृत्ति हो, जसले सञ्चारकै अस्तित्वको सान्दर्भिकतालाई प्रश्न उठाउन सक्छ ।

अन्त्यमा, पत्रकारितामा आउने नयाँ पुस्तालाई तपार्इंको के सुझाव छ ?

२०४७ सालको संविधानपछि सम्भावना बोकेका मानिसहरू पत्रकारितामा आए पनि यो पेसामा सुरक्षा छैन । तपाईंको योग्यतासरहको अर्को मान्छे अन्त गयो भने उसले धेरै पैसा पाउँछ । सञ्चारमाध्यमहरू नाफा कमाउँछन् तर त्यो शुभलाभको नाफा दिलाउनेहरूको अवस्था दयनीय छ । नेपालमा सबैभन्दा केही पारदर्शी छ भने त्यो भ्रष्टाचार छ ।

मिडिया सोसाइटीमा ८–९ जना मिडियाका सञ्चालकहरू छन् । उनीहरूले भ्रष्टाचारविरुद्ध लड्छौँ किन भन्नुपर्‍यो ? त्यो त उनीहरूको दायित्व होइन र ? सायद उनीहरूले बुझे कि जनताले सञ्चारमाध्यमलाई भ्रष्ट वा भ्रष्टाचारका मतियार भन्न थालेका छन् । ०६२/६३ मा हामी दलका पछि लाग्यौँ, नागरिक समाज होस् वा मिडिया हामी राजनीतिज्ञ भयौँ । खिलराजलाई पनि हामीले समर्थन गर्‍यौँ ।

प्रक्रियाविहीन तरिकाले आएको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई पनि हामीले ताली बजाएर स्वागत ग¥यौँ । हामीले समाज गतिशील हुन्छ तर प्रक्रिया र विधि मिच्नुभयो भनेदेखि त्यसले ल्याउने परिणामहरू सधैं विवादित नै हुन्छन् र अस्थायी पनि हुन सक्छन् भन्यौँ । राजनीति भनेको सत्ता हो । जब तपाईं सत्तासँग मितेरी लाउनुहुन्छ र त्यसको एक भाग बन्नुहुन्छ, तपाईंका गतिविधिहरू पनि शंकाको घेरामा पर्छन् । त्यसैले आमनागरिकले मिडियालाई पनि भ्रष्टाचारको मतियारको रूपमा जोडेर हेरेका छन् । यो प्रश्नको उचित जवाफ हामीसँग छैन । मिडियामा काम गर्ने वा आउन चाहनेले यस्ता प्रश्नको जवाफ खोज्नुपर्छ ।

अन्नपूर्ण टुडेमा प्रकाशित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *