जुनियर रिपोर्टर र सम्पादक हुँदै मिडिया उद्यमी


२०४७/४८ सालतिर उनी गार्मेन्ट उद्योग खोल्ने योजनामा थिए । टिममा कुरा नमिलेर योजना अलपत्र परेको वेला सुने, काठमाडौं पोस्ट् शुरु हुन लागेको छ र योगेश उपाध्यायले सम्पादकीय जिम्मेवारी लिएका छन् । ‘तिमी किन पत्रकार बन्न चाहन्छौ, अंग्रेजीमा लेखेर ल्याऊ,’ थापाथलीमा सम्पादक उपाध्यायले भनेको सम्झँदै प्रतीक प्रधान भन्छन्, ‘त्यस्तो निबन्ध त के लेख्नु भन्दिएँ ।’ छक्क पर्दै उपाध्यायले सोधे, ‘के गर्छौ त ?’ उनले सीधा जवाफ दिए, ‘अमेरिकी राष्ट्रपतिमा बुसलाई क्लिन्टनले जित्न सक्छन् कि सक्दैनन् लेख्छु ।’

बिल क्लिन्टनसँग जर्ज एच डब्ल्यु बुस अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भिडिरहेका थिए । नियमित रूपमा ‘न्युजविक’ पढ्ने प्रतीकका लागि पत्रकार किन बन्ने लेख्नुभन्दा अमेरिकाको राष्ट्रपतीय निर्वाचन परिणामको आकलन गर्नु सजिलो लाग्यो । उपाध्यायले उक्त लेख पढे वा पढेनन् तर त्यही लेखले प्रतीकलाई पत्रकार बनायो । उपाध्यायसँगको भेट साहित्यकारसमेत रहेका प्रतीकका बाबु परशु प्रधानले मिलाएका थिए । उपाध्याय परशुका साथी थिए । तर उनले आफूले सीधा नभनी समीक्षक हरि अधिकारीमार्फत कुरा गरिदिए । यसरी प्रकाशन तयारीमा रहेको ‘काठमाडौं पोस्ट’मा जुनियर रिपोर्टरका रूपमा प्रतीकको प्रवेश भयो ।

बाबुको सान्निध्यमा हुर्किएका प्रतीकलाई सानैदेखि अक्षरप्रति मोह जाग्यो । चार–पाँच कक्षा पढ्दादेखि नै पत्रपत्रिका पढ्ने बानी बसिसकेको थियो । देश/विदेशका अधिकांश पत्रपत्रिका घरै आइपुग्थे । ०३९ सालमा बाबु सूचना विभागको निर्देशक भएपछि त घरमै देशभरका पत्रपत्रिकाको चाङ लाग्न थाल्यो ।

घरमा स–सानो पुस्तकालय नै थियो । ‘धर्मयुग’, ‘दिनमान’, ‘कादम्बिनी’, ‘सरिता’, ‘सारिका’लगायत भारतीय पत्रिका उनका नियमित खजाना नै थिए । सानो छँदा कमिक्समा रमाउने प्रतीक उमेर बढ्दै जाँदा उपन्यास र पत्रपत्रिकामा घोत्लिन थाले । ‘थाहै नपाई पत्रकारिता वा साहित्यिक क्षेत्रमा डुबिसकेको रहेछु,’ प्रतीक सम्झन्छन्, ‘मेरो पारिवारिक वातावरणले नै मलाई यो क्षेत्रसँग नजिक गरायो ।’

रिपोर्टर हुँदै सम्पादक

शुरुमा ‘कान्तिपुर’को अवधारणा थिएन । संस्थापक श्याम गोयन्कासँग कार्पेट व्यवसायमा रहेका कैलाश सिरोहिया र हेमराज ज्ञवालीको नमस्ते ग्रुपको साझेदारी भयो । र ७ फागुन ०४९ मा ‘कान्तिपुर’ र ‘काठमाडौं पोस्ट’को प्रकाशन शुरु भयो । जुनियर रिपोर्टरका रूपमा छिरेका प्रतीक ०६० सालमा काठमाडौं पोस्टको सम्पादक भए । र ०६६ सम्म उनले नेतृत्व लिए । केही समयका लागि पत्रकारिता गर्ने र अनुकूल समयमा अन्य क्षेत्रमा लाग्ने सोचका साथ मिडियामा छिरेका प्रतीक पत्रकारिताबाट उम्किनै सकेनन् ।

‘मलाई फुर्सद नै भएन कि म अरू कुरा सोचूँ,’ प्रतीक भन्छन्, ‘शुरु–शुरुमा मेरा सिनियर तथा सम्पादकहरूले मलाई चलाए । तर पछि मलाई स्रोतहरूले चलाउन थाले ।’ त्यसपछिका वर्षहरू सूचनाहरूको खोजी, त्यसको सत्यपन, लेखन र फलोअपमै बित्यो । समाचार उत्पादनको चक्र यति तीव्र गतिमा चल्यो कि यसबाट फुर्सद लिने वा पत्रकारिता बिट मार्नेबारे उनले सोच्न पनि भ्याएनन् । बीएस्सी सकेर अर्थशास्त्रमा एमए गर्नासाथ उनलाई आर्थिक रिपोर्टिङमा लगाइयो । ‘त्यसपछि त झन् पत्रकारिताको यस्तो नशा लाग्यो कि त्यो छुट्दै छुटेन,’ उनी भन्छन् । काठमाडौं पोस्टमा काम गर्दागर्दै उनले फुलब्राइट स्कलरसिप पाएर अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरे ।

पत्रकारिता जीवनमा उनले भोगेका अनेक अनुभवमध्ये रसेन्द्र भट्टराई काण्ड बिर्सन नसकिने घटना बन्यो । उनी आफैं पनि पत्रकार र मिडिया कसरी उपयोग हुन सक्छन् भन्नेबारे उदाहरण दिँदा यो समाचारलाई अघि सार्छन् । काठमाडौं पोस्टको २ कात्तिक ०६० को अंकमा उनले लेखेको यो एंकर समाचार थियो । ५२ दिनदेखि दैनिक पाँच सय अमेरिकी डलर तिरेर सोल्टीको स्विटमा बसिरहेका ती धनाढ्यको खबरको बजारमा खुबै चर्चा भयो । भट्टराई रातारात चर्चित भए । कान्तिपुरमा त्यही समाचार सञ्जय न्यौपानेको बाइलाइनमा छापिएको थियो । कान्तिपुर टीभीमा भट्टराईको अन्तर्वार्ता प्रसारण भयो । तर अन्तिममा समाचारमा भनिएका तथ्यहरू झुटा ठहरिए ।

जुनियर रिपोर्टर हुँदै सम्पादकसम्म साढे दुई दशक लामो यात्रापछि आफैं मिडिया उद्यमी बनेका प्रतीक प्रधान पत्रकारको चरित्रमा ठूलो प्रश्न रहेको बताउँछन्।

‘पत्रिका कसरी प्रभावित हुन सक्छ र पत्रकार कसरी प्रयोग हुन सक्छन् भन्ने उदाहरण हो यो,’ उनी भन्छन्, ‘एक हिसाबले हामी पनि उपयोग भयौं । उनले भनेका सबै कुरा सत्य थिएनन् र जुन स्तरमा कान्तिपुरले छाप्यो, त्यसले पनि प्रश्न उठायो ।’ यो समाचार छापिएपछि कान्तिपुर र काठमाडौं पोस्टका सम्पादक युवराज घिमिरेले राजीनामा दिएका थिए ।

विभाजनको बाध्यता

२०६५ सालमा कान्तिपुरका लगानीकर्ताबीच विवाद आयो । सिरोहिया र ज्ञवालीबीचको द्वन्द्वले संस्थालाई नै अप्ठ्यारो पार्ने अवस्था आएको अनुभव प्रतीकको छ । ‘हामीलाई दुईमध्ये को प्यारो भन्ने थिएन, कान्तिपुरमात्र प्यारो थियो,’ उनी भन्छन्, ‘तर अन्तिममा कतिपय विषयले सिनियर पत्रकारहरू ज्ञवालीसँग मिल्ने अवस्था आयो ।’ १६ साउन ०६५ मा कान्तिपुरबाट ज्ञवाली परिवार बाहिरियो । काठमाडौं पोस्टका सम्पादक प्रतीक, कान्तिपुरका सम्पादक नारायण वाग्लेसहित गुणराज लुईँटेल, अमित ढकाल, दमाकान्त जैसी, राजेश केसीलगायतको समूह कान्तिपुरबाट बाहिरियो । तर ज्ञवालीसँग पनि काम गर्न सकिन्छ जस्तो नलागेपछि ‘दैनिकी डटकम’को योजना बन्यो ।

शुरु भएको एक महिनामै दैनिकी डट कम नेपालमा सबैभन्दा बढी हेरिने अनलाइन बनेको थियो । दैनिक पत्रिका निकाल्ने योजनासहित एक सय २० जना पत्रकार जम्मा गरेर लगानी गरेका व्यवसायी हरि श्रेष्ठको घरजग्गा व्यवसायमा पनि ठूलो लगानी थियो । घरजग्गा व्यवसाय धराशायी भएपछि श्रेष्ठले ठूलो खर्च धान्न सकेनन् र दैनिक पत्रिका निकाल्ने योजना पाँच–छ महिनामै तुहियो । अब उक्त टिमसँग दुइटामात्र विकल्प थियो, छिन्नभिन्न हुने वा अर्को पुनः ज्ञवालीको योजनामा मिसिने । प्रतीकसहितको टिमले दोस्रो विकल्प रोज्यो ।

युवराज घिमिरेले प्रधानसम्पादकको जिम्मेवारी पाए पनि प्रकाशन शुरु हुनुपूर्व नै राजीनामा दिएर हिँडिसकेका थिए । अंग्रेजी दैनिकको सम्पादक अमित ढकाल हुने तय भएको थियो । नेपाली दैनिकको नारायण वाग्ले छँदै थिए । प्रतीकलाई न्यु रिपब्लिक मिडियाको ग्रुप सम्पादक बनाइयो । ११ वैशाख ०६६ मा ‘नागरिक’ र ‘रिपब्लिका’ दैनिक प्रकाशित भयो । तर प्रतीकले ६ महिनामै छोडे । भन्छन्, ‘कतिपय कुरा चित्त बुझेन ।’ त्यसपछि उनकै सम्पादकीय नेतृत्वमा आर्थिक दैनिक ‘कारोबार’ शुरु भयो । हार्वडबाट स्नातकोत्तर गरेर फर्केलगत्तै उनले ‘कारोबार’ छोडे । ‘नागरिक’मा नारायण वाग्ले तीन वर्ष र किशोर नेपाल एक वर्ष सम्पादक भइसकेका थिए ।

किशोरले राजीनामा दिएपछि प्रधानसम्पादकका रूपमा प्रतीकको दोस्रोपटक इन्ट्री भयो । १२ जेठ ०७२ सम्म उनले जिम्मेवारी सम्हाले । केही समय भूकम्पप्रभावितको राहत र उद्धारमा काम गरेपछि उनी २२ जेठ ०७२ देखि ४ असोजसम्म प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार भए । तर रिपब्लिका दैनिकमा छापिएको एक लेखबारेमा भारतीय विदेशसचिव जयशंकरले प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएपछि उनले राजीनामा दिए । भन्छन्, ‘प्रधानमन्त्रीले म अप्ठ्यारोमा परेँ भनेपछि मैले छोडेँ ।’

मिडिया उद्यमतिर

पत्रकारितामा हामफाल्नुअघिको गार्मेन्ट व्यवसाय सपनामै सीमित भए पनि उद्यमी बन्ने उनको सपना मरेन । हिजोआज उनी आफ्नोसमेत लगानी रहेको ‘बाह्रखरी डटकम’को प्रधानसम्पादक छन् । ‘स्वतन्त्र पत्रकारिता गर्ने हो भने पत्रकार आफैंले मिडिया चलाउनुपर्छ भन्ने बुझेर यहाँ छौँ,’ उनी भन्छन्, ‘शुद्ध सुन बेच्यो भने नाफा थोरै होला तर व्यापार दिगो हुन्छ । सुनमा मिसावट गर्‍यो भने नाफा धेरै होला तर व्यापार लामो चल्दैन ।’ जुनियर रिपोर्टर हुँदै सम्पादकसम्मको २५ वर्षे यात्रापछि आफैं मिडिया उद्यमी बनेका प्रतीक पत्रकारहरूको चरित्रमा ठूलो प्रश्न रहेको बताउँछन् । ‘जसलाई औंला ठड्याउनुपर्ने हो, उसैको कार्यकर्ता भएपछि तपाईंलाई कसले टेर्छ ?,’ उनी प्रश्न गर्छन्, ‘तपाईंले मेरो पार्टी र मैले तपाईंको पार्टीलाई गाली गर्नु नै पत्रकारिताको मूल प्रवृत्ति बनेको छ ।’

पत्रकारमा आलोचनात्मक क्षमता खस्किँदै गएको बताउने उनी पत्रकारितामा आइरहेको नयाँ पुस्तासँग पनि सन्तुष्ट छैनन् । अधिकांश जागिर खान आएका छन्, अध्ययन छैन, पत्रकारितालाई मौकाका लागि भ याङ बनाउने प्रवृत्ति छ । नयाँ पुस्ता बिग्रनुको पछि अग्रज पुस्ताकै भूमिका रहेको उनी बताउँछन् । ‘हामी सिनियरलाई कि राजदूत कि सांसद, कि कुनै पद, कुनै ठेक्का वा पत्रकारिताभन्दा अरू नै केही गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘हामीले नै गलत बाटो देखायौँ ।’

अन्नपूर्ण टुडेमा प्रकाशित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *