अलमलमा अनलाइन : अनलाइन पत्रकारिताको दुई दशक


  • उमेश श्रेष्ठ –

१८ वर्षअघि नेपालको समाचार थाहा पाउन पाठकसँग एकमात्र अनलाइन विकल्प थियो, ‘नेपाल न्युज डट कम’ । हाल बन्द भइसकेको यही वेबसाइटमा सरकारी गोरखापत्र र राइजिङ नेपालदेखि निजी पत्रिका कान्तिपुर र काठमाडौं पोस्ट अनि नाम चलेका सबै साप्ताहिक पत्रिका यसैमा पढ्न पाइन्थे । त्यसो त नेपाल न्युजले आफैंले समाचार पनि राख्ने गथ्र्यो तर त्यो अंग्रेजी भाषामा र एकदमै संक्षिप्त हुने गर्थ्यो । पछि त बीबीसी नेपालीदेखि लिएर एफएमहरूसमेत यसैमा सुन्न पाइने भयो । नेपालको अनलाइन न्युज ‘एग्रिगेटर’का रूपमा यो वेबसाइट रह्यो ।

१८ वर्षपछि खोला फर्किएको छ । नेपालको समाचार थाहा पाउने विकल्प धेरै भए पनि फेरि एक पटक अधिकांश पाठक ‘एग्रिगेटर’कै सहारामा पुग्ने गरेका छन् । ‘हाम्रो पात्रो’ नामको एउटा मोबाइल एप्सले २५ भन्दा बढी अनलाइन र दर्जनौं एफएमका सामग्रीलाई एकै ठाउँमा ‘एग्रिगेट’ गर्ने गर्छ । अधिकांश अनलाइनका धेरै ‘भिजिटर’ यही एप्सबाट ‘रिफर’ हुने गरेका छन् । एग्रिगेसनदेखि एग्रिगेसनसम्म अनलाइन पत्रकारिता घुम्दा यस बीचमा निकै परिवर्तन भएका छन् ।

अनलाइनको इतिहास

छापा पत्रकारिता भित्रिन समय लागे पनि अनलाइन पत्रकारितालाई पछ्याउन नेपाललाई धेरै समय लागेको थिएन । सन् १९९२ मा अमेरिकाको सिकागो ट्रिब्युनले कागजमा छापिएको समाचार सामग्रीलाई नै इन्टरनेटमा राखी पहिलो पटक अनलाइन पत्रकारिता शुरु गरेको हो । दी काठमाडौं पोस्ट यही शैली अपनाउँदै तीन वर्षपछि इन्टरनेटमा गयो । यद्यपि नेपालको अनलाइन पत्रकारिताको इतिहास खोज्ने हो भने इन्टरनेट सर्वसुलभ बन्नुभन्दा अघिसम्म पुग्न सकिन्छ ।

सन् १९९३ मा नेपालमा निजी क्षेत्रबाट पहिलो पटक ‘ब्रोडसिट’ दैनिक निस्कियो । त्यसको एक वर्षपछि अमेरिकामा भर्खर–भर्खर इन्टरनेट लोकप्रिय हुँदै गर्दा नै नेपालमा मर्कन्टायल कम्युनिकेसन्स र तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) को सहकार्यमा इन्टरनेट भित्रिएको थियो यद्यपि त्यसको पहुँच सर्वसाधारणमाझ सहज रूपमा पुग्न भने अझै निकै समय लाग्यो ।

अमेरिकाको युनिभर्सिटी अफ इलिनोयमा अध्ययनपछि त्यहीँको कम्प्युटर विभागमा काम गरिरहेका राजपाल जे सिंहले सन् १९९२ को अगस्टमा नेपालको पहिलो अनलाइन मिडिया ‘द नेपाल डाइजेस्ट’ शुरु गरेका हुन् । इन्टरनेटलाई व्यापक र सहज बनाउने डब्ल्यूडब्ल्यूडब्ल्यूको विस्तार हुनुअघि नै शुरु भएको नेपाल डाइजेस्टमा नेपालसम्बन्धी समाचार, विचार संकलन र सम्पादन गरिएका हुन्थे । सूचीमा रहेका विश्वका विभिन्न कुनाका विशेषतः नेपाली विद्यार्थीहरूलाई इमेलबाट त्यो वितरण गरिन्थ्यो । सिंह अध्ययनरत् युनिभर्सिटी अफ इलिनोयकै विद्यार्थीहरूले इन्टरनेटबाट अक्षर र ग्राफिक्स सरल रूपमा हेर्न सकिने विश्वकै पहिलो ब्राउजर ‘मोजेक’ बनाए । इन्टरनेटको द्रुततर विकासमा यसलाई कोशेढुंगा मानिन्छ । डब्ल्यूडब्ल्यूडब्ल्यूको लोकप्रियतापछि नेपाल डाइजेस्ट इमेलबाहेक यसमा पनि उपलब्ध हुन थाल्यो ‘नेपाल डट ओआरजी’ ठेगानामा ।

मर्कन्टायल कम्युनिकेसन्सले सन् १९९६ देखि आफ्नै डोमेन साउथ एसिया डटकम सञ्चालन गरी त्यसमा काठमाडौं पोस्ट, राइजिङ नेपाल र साप्ताहिक इन्डिपेन्डेन्ट र मासिक हिमाल साउथ एसिया राख्न थाल्यो । सन् १९९८ मा समाचारका लागि अलग्गै डोमेन नेपाल इमेज डटकम शुरु नहुँदासम्म साउथ एसिया डटकममा पत्रिकाहरू सँगसँगै होटल, रिसोर्ट, ट्राभल एजेन्सी, कार्पेट उद्योगदेखि लिएर नेपालस्थित विदेशी दूतावाससम्मका सामग्री राखिएका थिए । सन् १९९९ देखि मर्कन्टायलले समाचारसम्बन्धी छुट्टै साइट नेपाल न्युज डटकम शुरु गर्‍यो ।

अलग अस्तित्व

सन् २००० देखि नेपाली मिडिया हाउसहरूले आफ्नो छापा संस्करणसँगै अलग्गै वेबसंस्करणमा पनि उपस्थिति देखाउन शुरु गरे । २०५७ (अप्रिल १३, २०००) देखि आएको कान्तिपुर पब्लिकेसन्सको कान्तिपुर अनलाइन डटकम पहिलो थियो । त्यसैलाई पछ्यायो सन् २००१ मा स्पेसटाइम पब्लिकेसन्सले । स्पेसटाइम अनलाइन डटकम र इन्टरनेसनल मिडिया नेटवर्क नेपालले दी हिमालयन टाइम्स डटकमबाट ।

गोरखापत्र संस्थानले गोरखापत्र डट ओआरजी डट एनपी २००२ मा थाल्दा कामना पब्लिकेसन्सले न्युज अफ नेपाल डटकम २००३ मा शुरु ग¥यो । विदेशबाट भने व्यक्तिगत पहलमै अनलाइन पत्रिका शुरु भयो । अमेरिकाको राजधानी वासिंगटन डीसीबाट २००१ मा छापा संस्करणबिनाको पहिलो नेपाली अनलाइनमात्र पत्रिका नेपालीपोस्ट डटकम शुरु भयो । त्यसअघि नै छापा संस्करणबिनाको अंग्रेजी अनलाइन पत्रिका न्युजलुकम्याग डटकम अमेरिकाबाटै १९९९ मा शुरु भइसकेको थियो ।

लामो समयसम्म नेपालको अनलाइन पत्रकारिता पत्रिकामा छापिएका सामग्री अनलाइनमा डम्प गर्ने र केही नयाँ समाचार अंग्रेजी भाषामा छोटकरीमै दिनेमा सीमित रह्यो । ०६२/६३ को जनआन्दोलन ताका अनौपचारिक भाषाशैली र छिटो अपडेटका कारण ब्लगहरू लोकप्रिय भए । नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’ सन् २००५ को अप्रिलदेखि शुरु भयो । नेपाली भाषाको अनलाइन मात्र चलाउने मिडियाका रूपमा ‘परेवा डटकम’ त्यतिवेलै शुरु भयो । यद्यपि जनआन्दोलनले सफलता प्राप्त गरेको केही समयपछि नै यो अस्तायो ।

कान्तिपुर पब्लिकेसन्सबाट विनोद ज्ञवाली समूह छुट्टिएपछि सन् २००९ देखि शुरु भएको ‘दैनिकी डटकम’, ‘नागरिक न्युज डटकम’ र ‘माईरिपब्लिका डटकम’ले अनलाइन पत्रकारितामा केही नयाँपन दिए । अनलाइन मात्र चलाउने मिडियाको नेतृत्व सन् २००६ देखि शुरु भएको ‘अनलाइनखबर’ले गर्‍यो । फरक धारको नेतृत्व ब्लगहरूले गरे ।

सामाजिक सञ्जाल विशेषगरी फेसबुक र ट्विटरको लोकप्रियतासँगै ब्लग हराउन थाले । खोल्न सजिलो हुने हुनाले फेक न्युज र सनसनीपूर्ण हेडलाइन र भिडियो हेर्न यहाँ क्लिक गर्नुस् लेख्दै विज्ञापनमा क्लिक गराउन खोज्ने क्लिकबेट साइटहरू पनि ब्लगका रूपमा उदाएर ब्लगकै बदनामी हुन थाल्यो । यता अर्थ, व्यापार, स्वास्थ्य, शिक्षा र मनोरञ्जनमा विषयकेन्द्रित भएर पनि अलग्गै साइट आए । सन् २०१३ मा ‘सेतोपाटी’ शुरु भएपछि राम्रो जनशक्तिसहितको अनलाइन मात्र मिडियाहरू उदाउने क्रम ह्वात्तै बढ्यो । अनलाइन मिडियाको संख्या बढेसँगै फेरि एग्रिग्रेसनको चक्करमा अनलाइन फस्न पुग्यो ।

वितरणको नयाँ समस्या

छापा मिडियामा समाचार सामग्री उत्पादन गरेर मात्र पुग्दैन । वितरणका लागि छुट्टै नेटवर्क पनि जरुरी हुन्छ । सिद्धान्ततः अनलाइन मिडियामा एकपटक अनलाइनमा राखिसकेपछि विश्वको जुनसुकै कुनाबाट त्यसलाई हेर्न सकिने हुनाले वितरणको समस्या नहुने ठानिन्थ्यो । तर, त्यसलाई प्रविधिको परिवर्तनले चुनौती दिन थालेको छ । अहिले अनलाइन मिडियाले सामग्री उत्पादन गरेर मात्र पुग्दैन, डिस्ट्रिब्युसन च्यानललाई पनि उपयोग गर्नैपर्छ । त्यसैले आजभोलि अनलाइन मिडियाकर्मीहरू समाचार सामग्री आफ्नो वेबसाइटमा पोस्ट गर्ने बित्तिकै फेसबुक, ट्विटरमा लिंक हाल्न पुग्छन् । सामाजिक सञ्जाल र हाम्रोपात्रो जस्ता एग्रिगेटर एप्सहरू अहिले बलियो डिस्ट्रिब्युसन च्यानलका रूपमा उदाएका छन् ।

सामाजिक सञ्जालमा केही रकम तिरेर ‘बुस्ट’ गरी वितरण व्यापक बनाउन सकिन्छ भने हाम्रोपात्रो जस्ता एप्सहरूले मोबाइलमा ‘पुस नोटिफिकेसन’ पठाई उसले चाहेका कुनै पनि समाचार पाठकलाई हेर्न प्रोत्साहन दिन सक्छन् । यसले सामग्री उत्पादन गर्नेको भन्दा त्यसलाई वितरण गर्ने माध्यम बढी बलियो हुने अवस्था निम्तिएको छ । हालै फेसबुकले ‘स्पोन्सर्ड’ पोस्ट अर्थात् रकम तिरेका पोस्टहरूलाई मात्र प्रयोगकर्ताको ‘न्युज फिड’मा देखिने गरी केही देशमा परीक्षणसमेत गरिरहेको छ । यसले भविष्यमा पैसा नतिर्ने पोस्टहरूलाई पूर्णतया निरुत्साही गराउने लक्ष्य लिएको देखिन्छ ।

कस्ता अनलाइन ?

अहिले नेपालमा मूलतः चार किसिमका अनलाइन मिडिया छन् । पहिलो वर्गमा छापालगायत अन्य मिडियाको सहायकका रूपमा रहेका अनलाइन मिडिया छन् । कान्तिपुर, नागरिक, अन्नपूर्ण आदि छापा मिडियाका अनलाइन यसमा पर्छन् । दोस्रो वर्गमा अनलाइन मात्र चलाउने मिडिया पर्छन् । यसमा अनलाइनखबर, पहिलोपोस्ट, सेतोपाटीलगायत साइटहरू पर्छन् । अनलाइनमात्र चलाउने मिडियामा पनि विषयगत विधा छुट्टिएका अनलाइन र सबै किसिमका समाचार छापिने न्युजपोर्टल गरी दुईथरी मिडिया छन् । तेस्रोमा कम जनशक्ति र कम लगानी रहेका अनलाइनहरू पर्छन्, जसको काम अरू अनलाइनमा आएका समाचारहरू सर्लक्कै ‘कपी पेस्ट’ गरी आफ्नोमा राख्नु हुन्छ । यी अनलाइनहरूमध्ये कतिपयलाई त अरूको समाचार/सामग्री त्यसरी ‘कपी पेस्ट’ गर्न हुन्न भन्नेसमेत थाहा छैन । चौथोमा अनौपचारिक भाषा र वैकल्पिक विचार प्रस्तुत गर्ने ब्लगहरू छन् ।

हाल बजारमा अनलाइनहरूको संख्या बढे पनि तिनका कन्टेन्ट भने लगभग एकै किसिमका देखिन्छन् । विधागत रूपमा पनि शिक्षा, स्वास्थ्य, मनोरञ्जन र अर्थ, व्यापारबाहेक अरू विषयलाई समेट्न सकेको देखिन्न । अधिकांश अनलाइन मात्र रिपोर्ट गर्नमा व्यस्त देखिन्छन् । क्रिटिकल, एनालिटिकल साइटहरूको एकदमै आवश्यकता खट्किएको छ । अनलाइनहरू आफैंमा पनि कस्तो धार समाउने भनेर अलमलमा छन् भने पाठकहरू त झन् कुन न्युज साइट हो, कुन फेक साइट हो थाहा पाउन नसकेर अलमलमा छन् ।

अनलाइन मिडिया सञ्चालन गर्न तुलनात्मक रूपमा सुलभ र सजिलो भए पनि नेपाली भाष बाहेक अन्य भाषाका साइटहरू देख्नै मुस्किल छ । नेपालमा बढी बोलिने भाषाहरू मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, गुरुङ आदि भाषामा किन न्युज पोर्टल र अन्य साइटहरू देखिँदैन, सोचनीय छ । यहाँसम्म कि नेपाल न्युज बन्द भएपछि एउटा इन्डेपेन्डेन्ट अंग्रेजी भाषाको न्युज पोर्टलसमेत चलेको देखिँदैन ।

त्यसैगरी देश संघीय व्यवस्थाअनुसार सात प्रदेशमा विभाजन भए पनि प्रत्येक प्रदेशबाट एउटा राम्रो न्युज पोर्टलसमेत देख्न सकिँदैन । प्रादेशिक समाचारहरू प्रदेशमा जति महत्वपूर्ण हुन्छ, राष्ट्रिय रूपमा त्यसको महत्व कमै हुन्छ । भोलि प्रदेशसभामा भएका खबरहरू सो प्रदेशका लागि जति महत्वपूर्ण हुन्छ, त्यति केन्द्र र राष्ट्रिय रूपमा नहुन सक्छ । त्यसैले प्रादेशिक रूपमा सशक्त न्युज पोर्टलको उपस्थिति हुनु जरुरी हुन्छ । यो ‘ग्याप’लाई जसले छिटो पूर्ति गर्न सक्छ, उसले छिट्टै सफलता पाउँछ ।

अन्नपूर्ण टुडेमा ‘अलमलमा अनलाइन’ शीर्षकमा प्रकाशित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *