नान्सीको टाइम


हरेक अनुच्छेदले आफ्ना हरफहरू आर्जन गर्नुपर्छ र हरेक हरफले यसका शब्दहरू । ‘टाइम’की प्रधान सम्पादक नान्सी गिब्ससँग काम गर्नु भनेको यो एक हजार पटक सुन्नु हो । तर यो अर्थतन्त्रको सूत्रजस्तो भने होइन । यसले पत्रकारका रूपमा उनको मान्यता प्रतिबिम्बित गर्छ । त्यो मूल्यमान्यता जुन उनले टाइम म्यागेजिनमा ३२ वर्षे करिअरका क्रममा अभ्यास गरिन् । यही क्रममा उनलाई पदोन्नति गरी सन् २०१३ मा टाइमको प्रधान सम्पादक बनाइयो । सर्सर्ती भन्दा दृढ बन्नुस्, आफ्नो उत्साहलाई काममा बदल्नुस्, आफ्ना एजेन्डाहरूलाई पर नै राख्नुस् र मुख्य कुरा आफ्ना पाठकको सेवामा ध्यान केन्द्रित गर्नुस् । यसलाई उनले अझ सुन्दर ढंगले भन्न सक्छिन् : हरेक शब्दको महत्व‍ हुन्छ र हरेक मौनताको पनि ।

सेप्टेम्बर १२ का दिन नान्सीले हामीलाई भनिन्, ‘यो नयाँ अध्यायको शुरुवात हो ।’ र, सुनाइन् कि उनको राजीनामा गर्ने योजना छ । त्यसैले यो ठाउँ, जुन सामान्यतया टाइमको प्रधान सम्पादकका लागि छुट्याइएको हो, उनका स्टाफले कब्जा गरे, उनका बारेमा केही अपर्याप्त शब्दहरू लेख्न । अपर्याप्त किनभने एउटा पत्रकारका रूपमा नान्सीको शक्ति असाधारण छ, कसैसँग तुलना गर्नै नसकिने । यो संस्था हाक्ने पहिलो महिला हुनुपूर्व उनले टाइम म्यागेजिनको इतिहासमै सबैभन्दा धेरै कभर स्टोरी लेख्ने पत्रकारको रेकर्ड बनाएकी छन् । उनले लाखौँ मानिसहरूलाई हाम्रो मुलुक र हाम्रो विश्वको जीवित इतिहास सुनाएकी छन्– वृहत्, सशक्त र रुचिपूर्वक । उनले टाइमका माइकल डफीसँग मिलेर दुई वटा राष्ट्रपतीय इतिहास लेखेकी छन्, जुन खुब रुचाइयो । उनले अमेरिकाका पाँच जना राष्ट्रपतिको अन्तर्वार्ता लिएकी छन् र दर्जनौं विश्व नेताहरूको पनि अन्तर्वार्ता गरेकी छन्।

उनले टाइमलाई सफलतापूर्वक नयाँ मिडिया युगमा प्रवेश गराइन्, डिजिटल र मोबाइल पाठकका आवश्यकता पूर्ति गरिन्। सँगसँगै नयाँ पाठकमाझ नयाँ ब्रान्ड पस्किइन् ताकि उनीहरू जहाँसुकै होऊन् वा जुनसुकै तरिकाले, हाम्रो पत्रकारितामा पहुँच राख्न सकून्। गएका चार वर्ष टाइमका पाठक दोब्बर बनाउन र यसको सान्दर्भिकता पुनर्पुष्टि गर्न उनले नेतृत्व गरिन्।

हामीसँग मापनका विधि पनि छन् र मापदण्ड पनि छन् : उनले रोपेको विचार, करिअर र मित्रता। पछिल्ला दुई जति असंख्य छन्, अघिल्लो त्यति नै प्रचुर। र, विस्थापन, अस्तव्यस्तता र विभाजनका वेला उनले मध्यमार्गको संरक्षणका लागि संघर्ष गरिन् जहाँ वास्तविक संवाद हुन सकोस् र आफ्नै गुणका आधारमा विचारहरूको भविष्य निर्धारण होस्। गत वर्षको राष्ट्रपतीय चुनावमा टाइमको पत्रकारिताले निर्वाह गरेको भूमिका र चुनावी परिणामपछिको निरन्तरताले उक्त मिसनको अप्ठ्यारो र मर्म दुवै दर्शाउँछ।

नान्सीले वास्तवमा कहिल्यै टाइम छोड्न सक्दिनन्। उनी यसको उच्च मूल्यकी प्रतीक हुन्। उनले आफ्नो नेतृत्वको बुद्धि, चातुर्य र ज्ञानद्वारा यसलाई बदलेकी हुन्। (यो भन्नु परोइन कि हामीले उनलाई अझ बढी कभर स्टोरीहरू लेखाउने योजना बनाएका छौँ।) तर जसरी उनले टाइमबाट गजबको बहिर्गमन रोजेकी छन्, त्यसरी नै उनले हाम्रो चारैतिर जीवन्त वायु छोडेर गएकी छन्, जुन उनको सम्मानले हस्ताक्षरित छ।

(टाइम म्यागेजिनबाट राजीनामा दिएकी प्रधान सम्पादक नान्सी गिब्सको सम्मानमा टाइमले प्रकाशित गरेको लेखको भावानुवाद अन्‍नपूर्ण टुडेबाट।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *