विजयकुमार अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक


पत्रकार विजयकुमार पाण्डे अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक नियुक्त भएका छन्। उनलाई नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितले बिहीबार संस्थामा स्वागत गरेका छन्।

अन्नपूर्णपोस्ट डट कमका अनुसार पाण्डेले नेटर्वकका ‘अन्नपूर्ण पोस्ट्’ दैनिक, ‘अन्नपूर्ण टुडे’ साप्ताहिक, ‘अन्नपूर्ण सम्पूर्ण’ साप्ताहिक, एपीवान एचडी टेलिभिजन र रेडियो अन्नपूर्ण नेपालको ग्रुप सम्पादकको रुपमा काम गर्नेछन्। यी सबैमा आआफ्ना सम्पादक छन् तर ती सम्पादकहरूलाई पाण्डेले नेतृत्व प्रदान गर्नेछन्।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बिहीबार कर्पोरेट टावर, तीनकुनेमा ग्रुप सम्पादक पाण्डेलाई स्वागत गर्दै भने- ‘प्रतिष्ठित पत्रकार विजयकुमार पाण्डेज्यूलाई यो हाउसमा स्वागत गर्दा हामी खुशी छौँ । उहाँलाई अन्नपूर्ण मिडिया नेटर्वकका सबै प्रोडक्टमा सहयोग गर्ने हिसाबले ल्याएका हौँ।’

नवनियुक्त ग्रुप सम्पादक पाण्डलेले भने- ‘मैले डिजिटल, रेडियो, टेलिभिजन सँगै म्यागेजिन र प्रिन्टलगायत सबै मिडियामा काम गरेको छु, यहाँ त्यही अनुभवले काम गर्ने हो। यहाँका उत्पादन राम्रा छन् र पाठकको मन जित्दै आएका छन्। यसलाई परिस्कृत गर्दै अझ राम्रो बनाउन सकिन्छ।‘ सम्पादक पाण्डेले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई मिलाएर काम गर्न सके राम्रो हुने उल्लेख गरेको अन्नपूर्ण पोस्ट डट कमले जनाएको छ । ‘हामीसँग अनुभव छ, नयाँ पुस्तासँग ऊर्जा छ। ऊर्जा र अनुभवलाई मिलाएर अगाडि बढ्न सके राम्रो गर्न सकिन्छ’, पाण्डेले भने।

‘नेपाल म्यागेजिन’ का संस्थापक सम्पादक विजयकुमारको टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’ चर्चित छ, जुन पछिल्लो समय ‘एपी वान टिभी’ बाट प्रशारण हुन्छ। उनले ‘खुसी’ पुस्तकका लागि २०७१ सालको मदन पुरस्कार पाएका थिए।

युवराज घिमिरेले साउन ६ गते अन्नपूर्ण पोस्ट दैनिकको प्रधानसम्पादक पदबाट राजीनामा दिएपछि राजाराम गौतम सम्पादक नियुक्त भएका थिए । ‘अन्नपूर्ण टुडे’ साप्ताहिक म्यागेजिनका स‌ंस्थापक सम्पादक गौतम दैनिकको सम्पादक भएर गएपछि नेटवर्कले बसन्त बस्नेतलाई म्यागेजिनको सम्पादक नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *