पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्यको उम्मेदवारी किन? अन्तर्वार्ता


नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि तीनजना पत्रकारले उम्मेदवारी घोषणा गरेका छन्। तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगर अध्यक्ष पदमा भिड्दैछन्। हामी अध्यक्ष पदका यी तीनजना उम्मेदवारका एजेन्डा के हुन् भन्नेबारे उनीहरूसँग क्रमशः कुराकानी गर्दैछौँ। आज प्रस्तुत छ महासंघको अध्यक्ष पदका उम्मेदवार गोविन्द आचार्यसँगको कुराकानी :

कतिपयले गोविन्द आचार्य पनि पत्रकार हुन् र? भनेर प्रश्न गरेको देखियो। तपाईँ पत्रकार हो भन्ने कुराको प्रमाण दिनुस् न।

(हाँस्दै) पत्रकारको लागि गोविन्द आचार्य पत्रकार भएको प्रमाण दिइराख्नु पर्दैन। म विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा छु। म विभिन्न सञ्चारमाध्यमको रिपोर्टररदेखि सम्पादकसम्म भएको छु। मैले ‘मातृभूमि’ बाट पत्रकारिता सुरु गरेको हुँ, २०४८ सालमा। पूर्णकालीन रुपमा चाहिँ २०५० सालबाट थालेँ। यसबीचमा ‘समीक्षा’, ‘नेपालतारा’, ‘जनादेश’, ‘महिमा’ हुँदै ‘जनदिशा’ दैनिकमा सम्पादक भएँ। पत्रकारले मलाई पत्रकारका रुपमा बुझेका छन्। पत्रकार बाहेकले त्यस्तो हल्ला गरेका हुन सक्छन्।

जनयुद्धकालमा तपाईँको भूमिका के थियो? कसरी पत्रकारिता गर्नुहुन्थ्यो?

हामी पत्रकारितामै क्रियाशील थियौँ। अलि बढी गणतन्त्र र संविधानसभाको पक्षमा लेख्यौँ। ५२ सालमा जनयुद्ध सुरु भयो। २०५८ सालसम्म  खुला रुपमा नै पत्रकारिता गरिरहेका थियौँ। हामी पत्रकार महासंघमा पनि हामी संलग्न थियौँ। म २०५१ सालदेखि पत्रकार महासंघको सदस्य थिएँ। म पत्रकार महासंघ काठमाडौंमा सदस्य र कोषाध्यक्ष भएँ। ५८ सालको संकटकालपछि हामीलाई जेलमा थुनियो। गणतन्त्र र संविधानसभाको पक्षमा लेखेको कसुरमा एक डेढ वर्ष जेल बस्यौँ। त्यो बेला नेपालका अरु पत्रकारको पनि अवस्था उस्तै थियो। कान्तिपुरका प्रकाशक र सम्पादकलाई पनि गणतन्त्र र संविधानसभाका पक्षमा डा. बाबुराम भट्टराईले लेखेको लेख छापेको आरोपमा थुनामा राखेको अवस्था थियो। राजाको गुणगान गाउने एकातिर तथा संविधानसभा र गणतन्त्रको पक्षमा लेख्ने पत्रकार अर्कोतिर भएको कित्ताकाटको अवस्था थियो त्यो। त्यतिबेला नेपाल पत्रकार महासंघले गणतन्त्र र संविधानसभाको पक्षमा नाराजुलुस गरेको तपाईँलाई थाहा छँदैछ।

तपाईँ एक पटक पत्रकार महासंघमा उपाध्यक्ष भइसक्नुभएको छ। के काम गर्नुभयो?

म ९ वर्ष पहिला पत्रकार महासंघको उपाध्यक्ष भएको हुँ। त्यतिबेला मेरो मुख्य जोड श्रमजीवी पत्रकारहरूको हकहीत र अधिकारमा थियो। महासंघमा पनि म श्रमजीवी पत्रकार संघर्ष समितिको संयोजक थिएँ। मैले सबै मिडिया हाउसमा अनुगमन गरेँ। देशव्यापी अनुगमन भयो। श्रमजीवीका मुद्दाहरू के के छन् पहिल्यायौँ। ती मुद्दाहरू समाधनका लागि के गर्नुपर्छ भनेर राज्य र सम्बन्धित सञ्चारमाध्यमलाई सुझाव दियौँ। त्यो बेला भएका श्रमजीवीहरूका ठूला ठूला आन्दोलनहरूमा मैले प्रत्यक्षरुपमा अगुवाई गरेको छु। नेपाल वान टिभीमा महिनौँ आन्दोलन सफल नभएपछि सिधै पत्रकार महसंघ केन्द्रीय समितिबाट मेरो नेतृत्वमा आन्दोलन भयो। हामीले त्यो बेला भारतीय दूतावास घेर्नेदेखि लिएर सञ्चार मन्त्रालय घेर्नेसम्मको काम भयो। नेपाल वानको प्रशारण नै बन्द गर्नुपर्ने अवस्था आयो। त्यसपछि नेपाल वानको सञ्चालक नलिनि सिंहलाई नेपाल झिकाएर पत्रकारको रोकिएको पारिश्रमिक दिने र क्षतिपूर्ति समेत दिलाएर सहमतिमा ल्याउन बाध्य बनाउने काम मेरै नेतृत्वमा भएको थियो। त्यसबाहेक सबै मिडिया हाउसहरूमा पत्रकारहरूले नियुक्तिपत्र पाउनुपर्छ, न्यूनतम पारिश्रमिक दिलाउनुपर्छ भनेर पहल भयो। कान्तिपुर, राजधानी, उज्यालो नेटवर्क, सगरमाथा लगायत मिडियामा भएका आन्दोलनहरूमा म आफैले समन्वय गरेँ। पत्रकार महासंघको विधान समितिको संयोजक भएर महासंघमा पहिलोपटक समावेशिताको मुद्दा प्रवेश गराएँ। पत्रकार महासंघको पुनर्संरचना गरेर यसलाई संघीय ढाँचामा लाने र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने सैद्धान्तिक प्रतिबद्धता पनि विधानमै लेख्ने काम पनि ९ वर्ष अगाडि मेरै प्रस्तावका आधारमा भएको थियो।

तपाईँलाई अध्यक्षको उम्मेदवार बनाएको गठबन्धनमा आवद्ध तीन संगठनहरूले जारी गरेको ‘प्रतिबद्धता’ मा ‘साझा नेतृत्व चयन गर्न खोजेको तर महासंघमा दलीयकरण गर्दै आएको संगठनका कारण सफल हुन नसकेको’ भनिएको रहेछ। यो भनेको के हो? स्पष्ट भन्दिनुस् त।

प्रेस युनियनले प्रेस सेन्टरको नेतृत्वमा पत्रकार महासंघमा जाने हो भने हामीलाई मान्य छ तर प्रेस चौतारीले अघि सारेका उम्मेदवारलाई हामी मान्दैनौँ भनेर स्पष्ट भन्यो। हामीले पनि पत्रकार महासंघ साझा संस्था हो, हाम्रो नेतृत्वमा जान प्रेस चौतारीले यसभन्दा पहिले पनि सहमति गरेकै हो। त्यसैले प्रेस युनियनले साझा ढंगले प्रेस सेन्टरको नेतृत्वमा जाउँ भनेको अवस्थामा हामीलाई समर्थन गरौँ भनेर (चौतारीसमक्ष) प्रस्ताव राख्यौँ। तर हाम्रो नेतृत्व भए हुन्छ, नत्र साझा हुन सक्दैन भन्ने ढंगले उहाँहरू आउनुभयो, जसले गर्दा महासंघमा अन्य पक्षको अस्तित्व नस्वीकार्ने समस्या देखा पर्‍यो। त्यसैले शान्ति प्रक्रियाका दुई पक्ष कांग्रस र माओवादीका शुभेच्छुक संस्था प्रेस युनियन र प्रेस सेन्टर तथा प्रगतिशील विचार राख्ने पत्रकारहरूको संगठन प्रगतिशील पत्रकार संगठनबीच केही समावेशी समूहहरू समेत भएर गठबन्धन बनाएका हौँ। हामी कुनै दलभन्दा पनि पत्रकार आफैले नेता छानौँ भन्ने प्रस्तावअनुरुप अघि बढेका हौँ।

तपाईँले जे भने पनि सत्ता गठबन्धनको छाया गठबन्धनमा पर्‍यो। उम्मेदवार घोषणा सभामा महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले भन्नु भयो कि- ‘माथि कुरा मिल्यो, यहाँ पनि मिल्यो।‘ त्यही हो त?

पत्रकार महासंघ आस्था र विचारविहीन संस्था होइन। किनभने अहिलेको व्यवस्था लोकतान्त्रिक व्यवस्था हो। यहाँ अभव्यक्ति र विचारको स्वतन्त्रता हुन्छ। दलहरूको शुभेक्षालाई अन्यथा मान्न पनि सकिँदैन। तर निर्णय गर्ने हामी पत्रकारले नै हो। सत्ता गठबन्धनको त यहाँ शुभेक्षा छ नै विपक्षमा रहेको नेकपा मशालको प्रगतिशील पत्रकार संगठन पनि सहभागी छ। त्यसैले यसलाई सत्तागठबन्धन भन्नुभन्दा पनि व्यावसायिक, जनपक्षीय, लोकतान्त्रिक, प्रगतिशील र समावेशी पत्रकारहरूको साझा गठबन्धन भनेर बुझ्नुपर्छ।

कांग्रेस र माओवादी सत्तामा छन्, एमाले बाहिर छ। पत्रकार महासंघमा पनि सत्तापक्ष र प्रतिपक्षी दलका शुभेच्छुकहरू अलगअलग गठबन्धनमा छन्। अर्थ लगाउनु गलत त होइन नि?

अहिलेको आवश्यकता भनेको द्वन्द्वको स्थायी समाधान हो। संविधानको कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ। हिजोको द्वन्द्व र शान्ति सम्झौताका दुई पक्षबीच सहकार्य हुनु राम्रो कुरा हो। कांग्रेस, माओवादीमात्र होइन एमाले पनि सहकार्यमा आउनुपर्छ। झन् यस्ता पेशागत संगठनमा सहकार्यका लागि एमालेजस्ता पार्टीहरूको पनि सद्‍भाव जरुरी हुन्छ। उहाँहरूले आफ्नो नेतृत्व भए हुन्छ नत्र अरुलाई नेतृत्व दिन सकिन्न र साझा बनाउन सकिन्न वा अरुको नेतृत्व हुँदा साझा हुँदैन व्यावसायिक हुँदैन भन्ने जसरी प्रचार गर्नुभएको छ यो गलत हो। अर्को विषय हिजो ९ वर्षअघि मलाई उपाध्यक्ष बनाउँदा त प्रेस चौतारीबाट नै पठाउनुभएको हो नि। मलाई उपाध्यक्ष बनाउँदा म राजनीतिक पनि नहुने, व्यावसायिक हुने अहिले उहाँहरूको प्यानलमा परिनँ भने व्यावसाहिक नहुने भन्ने जुन प्रचार गर्नुभएको छ, त्यो आफैमा गलत छ र अनैतिक पनि छ।

हामी व्यावसायिक पत्रकारिताको खुब कुरा गर्छौँ। खासमा व्यावसायिक हुनु भनेको के हो? तपाईँले के बुझ्नुभएको छ?

व्यावसायिकता बारेको बुझाई फरक फरक छ। मिडियाको ट्रेन्ड के देखियो भने व्यावसायिकताको नाममा अति कर्पोरेटीकरण भयो जसका कारण मिडियालाई नाफा कमाउने साधन मात्र बनाइयो। जनता र राष्ट्रप्रतिको दायित्व क्रमशः भुल्दै गएको देखिन्छ। अमेरिकामा ५ वटा व्यापारिक घरानाले ठूला मिडिया कब्जा गर्ने र विभिन्न संस्करण निकाल्ने गरेपछि जनताको आवाज बोलिदिने मिडिया खै भनेर बहस चलेको छ। जनतालाई सही सूचना दिने, उनीहरूको आवाज बोलिदिने भन्दा पनि प्रायोजित सूचनाहरू दिने र निश्चित वर्गका मात्र आवाज बोल्ने मिडियाको प्रवृत्ति छ। छिमेकी भारतमा पनि पैसा देऊ समाचार छपाउ भनेर ‘पेड न्युज’ को चलन चलेको छ। मिडिया नागरिकको हो कि व्यापारीहरूको भन्ने बहस त्यहाँ पनि छ। मिडिया निजी लगानीमा सञ्चालन हुन्छ। लगानीसँगै मुनाफामा पनि जोडिएर आउँछ। तर देशको बास्तविक चित्र मिडियामा देखिनुपर्छ। सीमित व्यक्तिको हीत होइन, वृहत्तर समाजको यथार्थ अभिव्यक्त गर्नु नै आजको सन्दर्भमा व्यावसायिक हुनु हो।

अध्यक्षको उम्मेदवाका रुपमा तपाईँका मुख्य एजेन्डा के हुन्?

नेपालमा श्रमजीवी पत्रकारहरू निकै पीडित छन्। उनीहरूले नेपाल पत्रकार महासंघबाट धेरै अपेक्षा गरेका छन्। नेपाल पत्रकार महासंघ हामी पत्रकारको मोर्चा हो। त्यो मोर्चालाई श्रमजीवी पत्रकारको हकहीत र अधिकारको निम्ति लड्ने संस्था बनाउने प्रतिबद्धता गर्छु। त्यसबाहेक प्रेस स्वतन्त्रताको मूल्य र मान्यतामा कहीँ र कतैबाट पनि आँच आउन नदिने अर्को प्रतिबद्धता गर्छु। पत्रकारिताको व्यावसायिक विकास, पेशागत र भौतिक सुरक्षा तथा सिंगो मिडिया क्षेत्रलाई राष्ट्रिय सेवामुलक उद्योगको रुपमा अघि बढाउन र मोफसलका साना सञ्चारमाध्यमहरूको संरक्षण र विकासको लागि काम गर्न चाहन्छु। महासंघ पत्रकारको मात्र होइन नागरिक अधिकारको कुरा पनि उठाउँछ। विगतमा पनि गणतन्त्र र संविधानसभाको पक्षमा उभिएका छौँ। संविधानमा लिपिबद्ध परिवर्तनका एजेन्डा गुम्न नदिन र लोकतन्त्रलाई थप सुदृढ बनाउन पत्रकार महासंघको मोर्चाबाट लाग्नेछु।

तपाईँले विचारविहीन वा आस्थाविहीन कोही पनि हुँदैन भन्नुभयो। तर आस्था र विचारको कुरा एकठाउँमा छ। तर हामी त जहाँ पनि विचार र आस्था देखाउन थाल्यौँ। हाम्रा आचरण, हाम्रा बोलाई, लेखाईमा अति राजनीतिकरण हुँदा पत्रकारले नागरिकका तर्फबाट प्रश्न गर्ने अधिकार गुमाउँदै गएको जस्तो लाग्दैन?

हो, ठिक भन्नुभयो। आफ्नो आस्था र विचार चुनावमा भोट हाल्ने बेला व्यक्त गर्ने हो। हामीले सम्पादकीयमार्फत विचार र दृष्टिकोण पस्किन सक्छौँ। तर समाचारहरूमा विचार र आस्था प्रकट गर्ने अहिलेको जुन अवस्था छ यसले नेपालको सिंगो पत्रकारिता क्षेत्रको गुणात्मक विकास रोकिरहेको छ। म आफूले पनि पत्रकार महासंघमा उम्मेदवार बन्नका लागि सबै खालका राजनीतिक आवद्धता त्यागेको छु। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र महासंघको विधानले निर्दिष्ट गरेका उद्देश्य अनुरुप म अघि बढ्छु। हामी पत्रकारिताको मूल्य मान्यताभित्र रहनुपर्छ।

महासंघमा टिकटका लागि त ठूलै छिनाझपटी हुने रहेछ है? खै अहिलेसम्म उम्मेदवार फाइनल भएका?

पत्रकार महासंघमा मनोनयनको बेलामात्रै उम्मेदवार फाइनल हुने चलन हो। मूल नेतृत्व खासगरी पदाधिकारी तहमा को को भन्ने अन्तिम भैसक्या छ। पत्रकार आफैमा जानकार छन्, भोट मागेर क्याम्पेन गरेर  त्यति साह्रो असर पर्दैन। को पत्रकार कस्तो छ, को केका लागि लड्छ, कसको विगत के हो, को पत्रकारको हकहीतको लागि फिल्डमा जान सक्छ भन्ने पत्रकारले बुझेका छन्। पत्रकारले पत्रकारलाई चिन्न बाँकी छैन। उनीहरूले स्वविवेकले निर्णय गर्छ भन्ने लाग्छ।

अन्तिममा, पत्रकार महासंघका एकजना सदस्यले समाचारको पक्षसँग मोलमोलाइ गरेको भिडियो सार्वजनिक भयो। महासंघले छानबिन पनि गर्‍यो। छानबिन प्रतिवेदनबारे पनि आलोचनात्मक टिप्पणीहरू भए। यसबारेमा तपाईँको धारणा के हो?

अध्यक्षको उम्मेदवारको हिसाबले भन्दा पनि पत्रकार महासंघको एउटा सदस्यको हिसाबले मेरो धारणा के हो भने यो पत्रकार महासंघको इतिहासमै कलंक लाग्ने गम्भीर खालको घटना हो। यस्तो घटनालाई पत्रकार महासंघले गम्भीर रुपमा छानबिन गर्नुपर्छ। सबै पक्षका भनाईहरू ल्याउनुपर्छ। त्यो भिडियो पनि राज्यका निकायहरूलाई बुझाएर छानबिनको लागि आग्रह गर्नुपर्छ। बार्गेनिङ पत्रकारिताको मूल्य मान्यता विपरीत हो। दोषी पाइएमा राज्यको कानुन अनुसार कारबाही गर्नुपर्छ। पत्रकार महासंघको महाधिवेशन पनि हुँदैछ। आमपत्रकारहरूले पक्कै पनि यो विषयमा वृहद् छलफल गर्नेछन् भन्ने मलाई लागेको छ।

महासंघको छानबिनमा उहाँ आफैले ‘परिस्थितिजन्य’ भनेर स्वीकार्नुभएको छ। फेरि किन छानबिन गर्नुपर्‍यो र?

उहाँले गर्नुभयो गर्नुभएन भन्नेतिर म प्रवेश गर्न चाहन्न। त्यो भिडियो र घटनाबारे छानबिन गर्न राज्यको निकाय छ। उहाँले बार्गेनिङ गरेको प्रमाणित भयो भने कानुन अनुसार जे कारबाही हुनुपर्छ गरौँ। यदि त्यो भिडियो नक्कली हो, उहाँलाई बदमान गर्न खोजिएको हो भने उहाँले सफाई पाउनुपर्छ। त्यसको आधिकारिकता छुट्याउने प्रयोगशाला पत्रकार महासंघ होइन। यदि आचारसंहिताको कुरा हो भने हामीले प्रेस काउन्सिलमा दिनुपर्छ। आर्थिक लेनदेन पनि जोडिएकाले यो कानुनको उल्लंघन पनि हो। त्यसैले राज्यका आधिकारिक निकायले छानबिन गर्नुपर्छ। उहाँले स्वनिलम्बनको घोषणा पनि गर्नुभएको छ। महासंघले राज्यका निकायमा छानबिनका लागि पठाउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ।

यो पनि पढ्नुस्ः पत्रकार महासंघको अध्यक्षमा मेरो उम्मेदवारी किन? तीर्थ कोइरालाको अपिल

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *