पत्रकार महासंघको राजनीतिका बुझ्‍नैपर्ने १० तथ्य


नेपाल पत्रकार महासंघको महाधिवेशन आउन चार दिनमात्र बाँकी रहँदा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। कसैले औपचारिक कार्यक्रम गरेर उम्मेदवारी दिएका छन् भने कतिपयले सोसल मिडियामार्फत नै उम्मेदवारी घोषणा गरेका छन्। म तपाईँलाई महासंघको २५ औँ महाधिवेशनको सन्दर्भमा यसभित्रको राजनीतिलाई छोटकरीमा बुझाउने कोसिस गर्छु। महासंघको आन्तरिक राजनीतिका खेलाडीहरूलाई यो सामान्य भए पनि आम पाठकका लागि भने रोचक विषय हुन सक्छ।


१. २५ औँ महाधिवेशन

नेपाल पत्रकार महासंघको महाधिवेशन गत असार २२ र २३ गतेका लागि तोकिएको थियो। तर स्थानीय तह निर्वाचनलाई कारण देखाएर महाधिवेशन भदौ ४ र ५ गते सारियो। महाधिवेशन सार्ने निर्णयले पत्रकार महासंघमा भाँडभैलो नै भएको थियो। भदौ ४ र ५ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनको उद्‍घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तयारी छ। महाधिवेशनको नारा ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ राखिएको छ।

२. दलीय गठबन्धन

‘पत्रकारहरूको छाता संगठन’ भनिने नेपाल पत्रकार महासंघ दलीय संगठनहरूको महासंघजस्तो छ। महाधिवेशनको पूर्व सन्ध्यामा उम्मेदवारी चयनदेखि घोषणासम्मका घटनाहरू यसका प्रमाण हुन्। चुनाव त देख्‍नै बाँकी छ। चुनावी जितहारको हिसाब गरेर महासंघमा दलहरूका भातृसंगठनको हैसियतमा रहेका पत्रकारका संगठनहरूबीच तालमेल हुन्छ। यो तालमेल नीति, विचार, एजेन्डा वा मुद्दाका आधारमा भन्दा पनि चुनावी दाउपेचमा आधारित हुन्छ। २०७१ साल बैशाखमा भएको महासंघको २४ औँ महाधिवेशनमा नेपाली कांग्रेस निकट पत्रकारको प्यानल एकातिर र नेकपा एमाले, नेकपा माओवादीसहितका बामपन्थी दल निकट पत्रकारको प्यानल अर्कोतिर भएर चुनाव लडेका थिए। त्यतिबेला डा. महेन्द्र बिष्ट नेतृत्वको बामपन्थी प्यानलले अधिकांश पदमा चुनाव जितेको थियो। तर अहिले एमाले निकट पत्रकारको प्यानल एकातिर र कांग्रेस-माओवादी निकट पत्रकारको प्यानल अर्कोतिर छ। एमाले निकट पत्रकारको प्यानललाई विप्लव माओवादी र नयाँ शक्ति निकट पत्रकार संगठनको साथ छ भने कांग्रेस र माओवादी केन्द्र निकट पत्रकारको प्यानल पनि अन्य साना दल निकट पत्रकारका संगठन फकाउँदैछ। साना दल निकट संगठनहरू कुन प्यानलमा मिसिन्छन् भन्ने उनीहरूले कुन पदमा टिकट पाउँछन् भन्नेमा निर्भर गर्छ। यसको अन्तिम तयारीमा यी संगठनहरू छन्।

३. शक्तिकेन्द्रको चहलपहल

पत्रकार महासंघमा टिकट पाउन शक्तिकेन्द्रहरूमा धाउनु नयाँ कुरा रहेन। दलहरूका नेतृत्वदेखि गुटका प्रमुखहरू र प्रचार विभागहरू कसलाई टिकट दिने भन्ने कसरतमा लागेका हुन्छन्। पत्रकारहरू शक्तिकेन्द्र धाउने त छँदैछ, नेताहरू पनि आफू निकटकालाई टिकट दिलाउन लबिङमा लाग्छन्। महासंघमा चुनावी गठबन्धनहरू पनि यी संगठनका विवेकलेमात्र भने बन्दैनन्। यसमा सिधा हस्तक्षेप तिनका माउ पार्टीको हुन्छ। जस्तो यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाले महासंघको अध्यक्ष जसरी पनि माओवादी केन्द्रलाई दिएर जान आफ्नो दल निकटकालाई निर्देशन नै दिएका थिए। यता एमालेका शीर्ष नेताहरू पनि उम्मेदवार चयनका लागि अन्तिमसम्म कसरतमा थिए। चुनावी तालमेलका कारण पद नपाउने असन्तुष्टहरूलाई मनाउन र बागी उठ्नेहरूलाई फकाउन पनि अन्तिमसम्म शीर्ष नेताहरूको ठूलै हस्याङफस्याङ देख्न पाइन्छ।

४. कतिवटा छन् त संगठन?

नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल हो, जो महासंघको राजनीतिमा सबैभन्दा शक्तिशाली छ। महासंघको नेतृत्व चयनका लागि मतदान गर्ने केन्द्रीय सभासद्‍ (पार्षद्) संख्याको कुरा गर्ने हो भने यो महासंघको राजनीतिमा सबैभन्दा ठूलो संगठन हो। यता नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियन पनि बलियो छ भने नेकपा माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपाल पनि महासंघको चुनावी परिणाममा निर्णायक शक्ति हो। ऊ जोसँग मिल्छ, उसले चुनाव जित्ने सम्भावना भएकैले यसपटक चौतारीसँग मिल्दा पनि र युनियनसँग मिल्दा पनि उसले अध्यक्ष पाउने अवस्था रह्‍यो। अघिल्लोपटक प्रेस चौतारीलाई अध्यक्ष जिताउँदा यो संगठनले यसपटक अध्यक्ष पद पाउने आश्वासन पाएको थियो। यी तीन ठूला संगठनबाहेक महासंघमा अन्य संगठनको पनि प्रभाव छ। जस्तो, विप्लव निकट क्रान्तिकारी पत्रकार संगठन, मशाल निकट प्रगतिशील पत्रकार संघ, वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, नयाँ शक्तिनिकट प्रेस सोसाइटी नेपाल, राप्रपा निकट मिडिया सोसाइटी र मधेसी पत्रकार समाज। विप्लवनिकट पत्रकारको संगठनले उपाध्यक्ष पाउने भएपछि एमालेनिकट प्यानलालाई सघाउने भइसकेको छ। नयाँ शक्तिले पनि खुला सचिव पाउने भएपछि प्रेस चौतारीकै प्यानलमा मिसिएको छ। अन्य साना संगठन भने कुन पद पाइन्छ भन्ने आधारमा समर्थनको तयारीमा छन्।

५. महाधिवेशनमा के हुन्छ?

पत्रकारिता, पत्रकार र मिडियाका समस्याका बारेमा नीतिगत बहस भन्दा नेतृत्व चयनमा बढी केन्द्रित हुने नेपाल पत्रकार महासंघको महाधिवेशनको पुरानै रोग हो। यसअघिको महाधिवेशन र आसन्न महाधिवेशनको छिनाझपटी नजिकबाट देखेको र यसबारे निरन्तर लेखिरहेको आधारमा म भन्न सक्छु भने उम्मेदवारहरूले चुनाव जित्नका लागि व्यवसायिकता, शुद्धिकरण, श्रमजीवीको हकहीत र पुनर्संरचनाका नाराहरू दिन्छन् तर व्यवाहरमा ती मुद्दाहरूलाई सार्थक निष्कर्षमा पुग्नेगरी काम गर्दैनन्। यसपटक भोट माग्न उम्मेदवारहरूले के के मुद्दा बेच्छन्, त्यो हेर्न बाँकी छ।

६. कति जना चुनिन्छन्? कसरी चुनिन्छन्?

महासंघमा अध्यक्षदेखि कोषाध्यक्षसम्मका ११ जना पदाधिकारी हुन्छन्। जसमा दुई उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष हुन्छन्। यसबाहेक महासंघमा ३६ जना सदस्य हुन्छन्। महासंघको केन्द्रीय समिति ४७ जनाको हुन्छ। महासंघमा एक समावेशीसहित दुई जना उपाध्यक्ष हुन्छन्, एक जना महासचिव हुन्छन्, एक खुलासहित ६ जना सचिव हुन्छन्। महासंघको नेतृत्व छान्न केन्द्रीय सभासद (पार्षद) ले मतदान गर्ने व्यवस्था छ। नेपाल पत्रकार महासंघका जिल्ला, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाले केन्द्रीय नेतृत्व चयनमा मताधिकार पाउँछन्। जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसियट संस्थाबाट अध्यक्ष र १० जना साधारण सदस्य बराबर छानिएका एक पार्षदले महासंघको केन्द्रीय नेतृत्व छान्न मतदान गर्छन्। विदेशमा रहेका शाखाहरूका अध्यक्षले मतदान गर्ने अधिकार पाउँछन्। साविकको केन्द्रीय समितिका सबै सदस्यले स्वतः मताधिकार पाउँछन्। एकजना पार्षदले एक पदमा एकजनाका हिसाबले मतदान गरेर नेतृत्व चयन गर्नुपर्ने हुन्छ। देशभरबाट छानिएका पार्षदहरू अहिले मतदानका लागि काठमाडौं आइरहेका छन्। केन्द्रीय समिति कस्तो हुन्छ विधानको व्यवस्था हेर्नुस्।

७. कति छन् पत्रकार? पार्षद कति छन्?

८ महिनाअघि पत्रकार बिमाबारे एक सामग्री तयार पार्दासम्म महासंघमा १० हजार ७७ सदस्य रहेको तथ्यांक थियो। तर अहिले नेपाल पत्रकार महासंघका सदस्य कति छन् भन्नेमा विवाद छ। यदि विवाद नहुँदो हो त न महासंघका तीनजना केन्द्रीय सदस्य दीपेन्द्र कुँवर, माधव दुलाल र रोसन पुरीले महासंघले सदस्यता लुकाएको भन्दै विज्ञप्ति निकाल्थे न त रामप्रसाद दाहालले नयाँ सदस्यहरूको विवरण माग्दै निवेदन दिन्थे। कुवँरले त महासंघको नेतृत्व अपारदर्शी भएको आरोप लगाउँदै राजीनामा नै दिए। सदस्यता विवादको विषयमा मिडिया कुराकानीलाई दिएको एक अन्तर्वार्तामा अध्यक्ष डा. महेन्द्र विष्टले सबै पत्रकार, महासंघको मापदण्ड पुगेकै छन् भनेर आफूले दावी गर्न नसक्ने बताएका थिए।

महाधिवेशनको दिन आउन अब चार दिनमात्र बाँकी छ तर नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने केन्द्रीय सभासद् कतिजना छन् भन्ने तथ्यांक र उनीहरूको नामावली महासंघले अहिलेसम्म सार्वजनिक गरेको छैन। जे होस् केन्द्रीय सभासदको संख्या १५ सय नाघ्ने पक्का छ। पार्षद चयन सम्बन्धी विधानको व्यवस्था पढ्नुस्:

८. को को छन् उम्मेदवार?

अध्यक्षमा अहिलेसम्म तीनजनाले उम्मेदवारी घोषणा गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको तर्फबाट पत्रकार तीर्थ कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै वर्तमान सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले संयुक्त प्यानल बनाएका छन्। यो प्यानलबाट अध्यक्षमा पत्रकार गोविन्द आचार्य उम्मेदवार बनेका छन्। महासंघको अध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा कोइराला र आचार्यबीच हुने निश्चित छ। यता पत्रकार महासंघका वर्तमान महासचिव उजिर मगरले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सत्तारुढ गठबन्धननिकट प्यानलका उजिरले अध्यक्षमा उम्मेदवारी दिएपछि त्यसले तरंग ल्याएको छ। तर उनले अन्तिमसम्म आफ्नो उम्मेदवारी कामय राख्छन् वा फिर्ता लिन्छन् यसै भन्न सकिन्न। खुला सचिवमा दीपेन्द्र कुँवरले उम्मेदवारी घोषणा गरेका छन्। अन्य पदहरूमा कुन प्यानलबाट को उम्मेदवार हुन्छन्, बागी कति हुन्छन् र स्वतन्त्र रुपमा उम्मेदवारी दिने को को हुन्छन् भन्नेबारे अर्को पोस्टमा चर्चा गरौँला किनभने अझै उम्मेदवारी टुंगिसकेको छैन। अध्यक्षका तीनजना उम्मेदवारको प्रोफाइल पढ्नुस्

९. दलनिकट नभइ चुनाव लड्न पाइन्न?

महासंघको विधानमा दलीय संगठनहरूको परिकल्पना नभए पनि नांगो आँखाले देखिने सत्य के हो भने महासंघमा दलका भातृसंगठनहरूको जबर्जस्त प्रभाव छ। यतिसम्म कि उम्मेदवार उठाउने काम नै उनीहरू गर्छन्। राजनीतिक दलनिकटका प्यानलभित्रबाट नउठे महासंघमा चुनाव जित्न गाह्रो छ। यसकारण पनि अन्तिममा दलीय संगठनहरूको टिको लगाउनु उम्मेदवारहरूको बाध्यता (कतिपयको रहर) बन्छ। तर उम्मेदवारी दिनलाई यी प्यानलहरूमा गइरहनुपर्छ भन्ने जरुरी चाहिँ छैन।

१०. महासंघमा यत्रो चासो किन?

प्रश्न उठ्छ- एउटा रिपोर्टरदेखि बडेबडे सम्पादकहरू र मिडियाका लगानीकर्ता (जो आफूलाई श्रमजीवी पत्रकार नै भन्न रुचाउँछन्) सम्म पत्रकार महासंघमा जान किन मरिहत्ते गर्छन्? किन आफूनिकटलाई नेतृत्वमा पुर्‍याउन राजनीतिक दलका प्रोपगन्डा विभागदेखि मिडिया हाउससम्म लबिङ गर्छन्? के छ पत्रकार महासंघमा? यसको सपाट जवाफ मसँग छैन। यो अलगै अध्ययनको विषय हुन सक्छ। महासंघमा यत्रो चासो किन होला? तपाईँको विचार कमेन्टमा लेख्नुस् वा info@mediakurakani.com मा इमेल पठाउनुस्।

मिडिया कुराकानीमा पत्रकार महासंघबारेका सामग्रीहरू पढ्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *