पत्रकार महासंघको अध्यक्षमा मेरो उम्मेदवारी किन?


पत्रकार तीर्थ कोइरालाले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेकपा एमाले निकट प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका हुन्। उता सत्तारुढ गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट क्रमशः नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबाट गोविन्द आचार्य अध्यक्षका उम्मेदवार छन्।

३४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय कोइराला विगतमा नेपाल वातावरण पत्रकार समूह, नेपाल प्रेस इन्स्टिच्युट लगायतसँग आवद्ध थिए। कान्तिपुर टेलिभिजनका पूर्व सम्पादक उनी हाल थाहाखबर डट कमका प्रधान सम्पादक छन्।

पत्रकार कोइरालाले महासंघको अध्यक्षमा आफ्नो उम्मेदवारी किन भन्नेबारे पत्रकारहरूलाई इमेलमा पठाएको सामग्री यहाँ रेकर्डका लागि राखिएको छ।

प्रिय पत्रकार मित्रहरू

आज म जुन भावनाका साथ उभिएको छु, बहुसंख्यक मित्रहरू पनि यही भावनाका साथ टक्क अडिनुभएको हुनुपर्छ- अबको पत्रकारिताको बाटो कुन हो, कता लाने हो र कता लाग्ने हो? यस्ता प्रश्नहरूको उत्तर खोज्दै। पत्रकारिता अब विशुद्ध पत्रकारको मात्र रहेन, सरकार र राजनीतिक दलहरूको मिशनमुखी मात्र पनि रहेन। अब यो पत्रकारका लागि पेसावृत्ति बन्यो र व्यवसायीका लागि नाफाका साथै राज्य र समाजलाई वशमा राख्ने व्यवसाय पनि बन्यो। हामी उभिएको अवस्था यहीँनेर नै हो। यो उपलब्धिसँगै खडा भएको चुनौती हो।

हिजोका दिनमा नेपाली पत्रकारिता जगत यति जटिल थियो भन्ने मलाई लाग्दैनथ्यो। सम्भवतः हाम्रा अग्रज पत्रकारहरूले यस्ता जटिलताहरूलाई समाधान गर्दै हामीलाई सरल र सुगम बाटो बनाइदिनु भएकोले होला। हामी सोही बाटोमा चुपचाप हिँड्यौँ। २०४६ को राजनीतिक परिवर्तनअघि हाम्रा अग्रज पत्रकारहरूले हामीलाई आत्मसात् गराउनुभयो कि, प्रजातन्त्रमा सबै विषय र गतिविधि प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार नै चल्दै जानेछन्।

हामीले यस्तै स्वाभाविक सोचाइ राख्यौँ। प्रजातान्त्रिक मान्यताअनुरूप तपाईं हामीले विश्वास गर्‍यौँ कि पेसागत संगठनहरू सामाजिक संघसंस्थाहरू कर्मचारीतन्त्र सबैले आफ्नो मर्यादामा चल्नुपर्छ। र, राजनीति र पेसा व्यवसायबीच आपसमा सद्भाव सहयोगको अपेक्षा गर्नु जायज छ। तर हाम्रा कथन, मान्यता र विश्वासहरू कताकता बरालिएजस्तो देखियो। पत्रकारिता र राजनीति छ्यासमिस भयो। पत्रकारिताको समाजप्रतिको उत्तरदायित्वलाई नाफामुखी व्यवसायले अँचेट्यो र मुलुकको राजनीतिलाई मूलप्रवाहीकरण गर्ने पत्रकारिता दलीय खोल्सामा माछा मार्न थाल्यो। यस्तो पनि देखियो कि मुलुक र राष्ट्रले तय गरेको मार्गमा पत्रकारिताले कतिपय घटनामा जनसमुदायलाई दीक्षित गर्नुको बदला भ्रमित गरायो। यो मेरो समीक्षा मात्र हो। यो कसैप्रतिको मेरो आग्रह वा विरोध होइन। पत्रकारिता र यसका मूल पात्र पत्रकार विचारविहीन हुन्छ वा दृष्टिकोण र सिद्धान्त नभएको हुन्छ वा हुनुपर्छ भन्ने कदापि होइन। पत्रकार स्पष्ट विचार सिद्धान्त भएको हुनुपर्छ र मुलुकले तय गरेको मार्गलाई फराकिलो बनाउने कार्ययोजनाका साथ उसले संचार गर्नुपर्छ। यसो गरे पत्रकारिताले विश्वसनीयता गुमाउनेछैन। एक अग्रज पत्रकारका शब्दमा “अहिले  पत्रकारले पेसाको मर्यादा राख्न नसकेकैले पत्रकारितामाथि प्रश्न उठ्न थालेको छ।” चिन्ता यही हो। सबै पत्रकार यस्ता छैनन् र पत्रकारिताको आमचरित्र पनि यस्तो होइन; तर  केहीमा यो प्रवृत्ति देखिनाले समग्र पत्रकारिताले आक्षेप खेप्नुपरेको छ र पत्रकारिता विश्वास गुमाउने दिशातर्फ उन्मुख भइरहेको छ।

अहिले हरेक दलका नीति योजना र प्रचार प्रभावकारी बनाउन प्रचार संयन्त्र छन्, प्रेस संयोजक वा प्रचार विभाग प्रमुख छन्, यो राम्रो पक्ष हो। दलहरूका भ्रातृसंगठनहरू सरह पत्रकार संघ, संगठन, युनियन, चौतारी, मञ्च वा सेन्टर पनि खुला रूपमा रहेका छन्, ती हाम्रो देशको पत्रकारितामा पक्षधरता देखिने/देखाउने जिउँदा सत्यहरू हुन्। उनका गतिविधि, तिनले दिने अभिव्यक्ति, क्रिया र प्रतिक्रिया स्पष्ट उनका माउ संगठनसँग मिल्दाजुल्दा हुन्छन्, जसलाई सोही ढंगले हेरिन्छ। यसमा कुनै लप्पनछप्पन पनि रहँदैन। तर जब हामी ती भ्रातृसंगठन भन्दा फरक संघसंस्थाको कुरा गर्छौं, तिनको गरिमा र निस्पक्षता कायम राखिनुपर्छ। यसका लागि नेपाल पत्रकार महासंघलाई सत्ता राजनीतिको गठबन्धनबाट मुक्त मञ्च भइरहन दिनुपर्छ भन्ने मेरो स्पष्ट अडान रहँदै आएको छ। राजनीतिक सद्भावसहित पेसागत मर्यादा र मान्यतायुक्त पत्रकार महासंघ बनाउनै पर्छ। यसो गरिएन भने पत्रकार महासंघको, अझ हामी हरेक पत्रकारको विश्वसनीयता र इज्जतको एकमुष्टमा हत्या हुनेछ, साथै दलहरूको पनि।

त्यसैले अहिलेको आवश्यकता भनेको बृहत लोकतन्त्रमा विश्वास राख्ने तर दलीय राजनीतिको दैनिक खेलभन्दा अलि परको महासंघ हो। हामी दलीय व्यवस्थामा भएकै कारणले महासंघको निष्पक्षता जोगाउन आवश्यक हुन्छ। कुनै एउटा दलको पक्षधर होइन, कुनै दलविशेषको राजनीतिभन्दा पर रहेर बेलाबखत आइपर्ने दलहरूबीचको असमझदारी हटाउन मद्दत गर्ने, बेलाबखत दलहरूलाई मार्गदर्शन गर्नेजस्ता मध्यस्थकर्ता वा मार्गदर्शकको भूमिका पनि निर्वाह पनि गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा सञ्चार अनुगमन गर्ने, निर्वाचन पर्यवेक्षण, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका घटनामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने, अनुसन्धान, विश्लेषण र कुनै पनि विषयमा यसले दिने प्रतिक्रिया, टिप्पणीलाई सच्चा न्यायालयबाट आउने ठहर सरहको मान्यता पाउने अवस्था कायम राख्न सक्यो भने मात्र प्राप्त लोकतन्त्रले पनि स्थायित्व प्राप्त गर्न सक्छ। स्थायी प्रजातन्त्रविना प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिँदैन र स्वतन्त्र पत्रकारिताविना लोकतन्त्रले स्थायित्व पनि प्राप्त गर्न सक्दैन।

यसबेला नेपाली पत्रकारितामा अकल्पनीय प्रविधि, उल्लेखनीय पूँजी र उत्साहजनक ढंगले जनशक्ति आकर्षित भएको छ। तर यस्ता अवसरहरूसँगै हाम्रा सामु जटिल प्रश्नहरू उब्जिएका छन्, जुन माथि उल्लेख गरिएका भए पनि दोहोर्‍याउन चाहन्छु। कतै पत्रकारिताले विश्वसनीयता गुमाउँदै गएको हो कि? बढी राजनीतीकरण भएको हो कि? व्यावसायिक हुने नाउँमा व्यापारले बढी थिचेको हो कि? भाषा, सीप, शैली र खोजमा पत्रकारिता कमजोर हुँदै गएको हो कि? जस्ता प्रश्न मात्र होइन, हामीलाई बेलाबखत जागिरमुखी बनेको र आफ्नै देश, पृष्ठभूमि र परिवेश नबुझेको आरोप पनि लाग्न थालेको छ। अर्कातिर महिना बितेर तलबको आशामा भौँतारिनुपर्ने अवस्था पनि हामीबीच कम पीडादायी रूपमा रहेको छैन। आएको प्रविधिमा कुशल हुनुपर्ने चुनौती एकातिर छ भने अर्कातिर सानो ठूलो जुन लगानी आएको छ, त्यसलाई सुरक्षित गर्ने परिस्थितितर्फ सोच्नुपर्ने पनि कर्तव्य थपिएको छ। पत्रकारको दक्षता अभिवृद्धि गरेर विश्वसनीयता बढाउनु र पेसागत सुरक्षा तथा प्रेस स्वतन्त्रताका खातिर प्रजातन्त्रको पहरेदार पनि बन्नुपरेको छ। यसरी हेर्दा नेपाल पत्रकार संघको स्थापनाकालदेखि पत्रकार महासंघ पछिल्लो कालखण्डसम्म जारी लडाइँ यसरी नयाँ परिवेशमा प्रवेश गरेको देखिन्छ।

यिनै अवस्था र मान्यताभित्र रहेर महासंघको लागि अबको नेतृत्व निर्माण गर्ने सहमतिका लागि म केही प्रमुख दल र तिनका सम्वद्ध संगठन समक्ष पुगेर प्रयास पनि गरेँ। उहाँहरू यस विषयमा सहमत भए पनि यसलाई परिणामको तहमा पुग्ने गरी प्रस्तुत हुनुभएको छैन। तर मेरो आशा पनि मरेको छैन। त्यसैले दलहरूको सद्भाव कायम राख्दै प्रजातान्त्रिक/लोकतान्त्रिक मूल्य मान्यताअनुकूल पत्रकार महासंघको स्वत्व जोगाएर अगाडि बढ्ने नेतृत्व चयन गर्न पत्रकारहरू आफैँ सक्षम छन् भन्ने कुरा सिद्ध गर्ने चुनौती तपाईं हाम्रा सामु खडा भएको छ। विगत छ दशकभन्दा लामो इतिहास बोकेको महासंघ यसबेला आफ्नै भवनमा छ, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिकको विषयमा उल्लेखनीय काम भएका छन्। बीमा र औषधि उपचारका कामले सार्थक रूप लिँदै गएका छन्। अग्रज पत्रकारलाई सांकेतिक भए पनि सुविधा दिलाउने काम भएका छन्। स्वतन्त्रताको लडाइँ सकिँदै गएपछि भएका यी र यस्ता उपलब्धिलाई अझ प्रभावकारी बनाउँदै जानुपर्नेछ। तपाईं हाम्रो थप प्रयासले मात्र यो सम्भव छ भन्ने विश्वासका साथ म तपाईं सामु उपस्थित भएको छु। यही विश्वास बोकेर यी र यस्तै चुनौतीको सामना गर्ने उद्देश्यका साथ मैले नेपाल पत्रकार महासंघको आगामी भाद्र ४ र ५ गते हुने महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेद्वार बन्ने निर्णय गरेको छु।

मेरो पृष्ठभूमि सबै सामु खुला छ। मेरो पक्ष वा विपक्षमा उभिन तपाईं पनि स्वतन्त्र हुनुहुन्छ। हाल मेरा लागि सबै राजनीतिक सिद्धान्तमा विश्वास राख्ने सबै दल, संगठन र व्यक्ति समान हुनुहुन्छ।

अन्त्यमा म के स्मरण गर्न र गराउन चाहन्छु भने मैले मेरो पेसागत जीवनमा आफ्नो कामका सिलसिलामा कही कतै कहिल्यै आग्रह राखेर समाचार सम्प्रेषण गरेको र गर्न लगाएको छैन। तर तपाईँले तथ्यका आधारमा सार्वजनिक जीवनमा रहनेहरूका गतिविधि असल वा खराब भन्नु पत्रकारिताको धर्म हुनेछ, जुन धर्म मैले पनि निर्वाह गर्दै आएको छु। यसबाहेक पटक पटक मैले नेतृत्व गरेका नेपाल वातावरण पत्रकार समूह र नेपाल प्रेस इन्ष्टिच्युटसमेत म जहाँजहाँ कार्यरत रहेँ, राजनीतिक आग्रहविना सञ्चालन गरेको अग्रज पत्रकार, सहकर्मी साथीहरू जानकार हुनुहुन्छ। यसर्थ मेरो जीवनका ३४ वर्ष बिताएको पत्रकारिताको मूल्य मान्यता कायम राख्दै यसलाई अझ समुन्नत तुल्याउँदै संस्थागत प्रयासमा जुट्ने मेरो अठोटमा सबैले पत्रकारको मत पत्रकारलाई भन्ने मान्यतामा रहेर आ-आफ्नो स्थानबाट सद्भाव, सहयोग र आफ्नो अमूल्य मत दिनुहुने अपेक्षा गरेको छु।

धन्यवाद।

तीर्थ कोइराला

२०७४ साउन ३०

काठमाडौँ।

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *