पत्रकारितामा खामबन्दीले ल्याएको विचलन


  • डी.आर. घिमिरे

प्रायः गैह्र सरकारी संस्थाहरूले समाचार लेखाएबापत पत्रकारहरूलाई खामबन्दी दिने गर्छन्। उनीहरूलाई मिडियामा समाचार आओस् भन्ने चाहना हुनु स्वभाविक हो। तर, उनीहरूको भावभंगीमा पत्रकारहरुले समाचार लेख्दैनन्। त्यसैले खामबन्दी गरी समाचार लेखाउने प्रचलन सुरु भयो। रुपन्देहीमा सायद पहिलोपटक नेपाल परिवार नियोजन संघले यसलाई संस्थागत रुप दिएको हो। फिल्डमा पत्रकारलाई लैजाने र सामान्य समाचारलाई पनि प्राथमिकतापूर्वक छपाउने उद्देश्यबाट यस्तो कर्म गरिएको पाइन्छ।

वि.सं.२०७१ सालमा रुपन्देहीको ग्रामीण क्षेत्रमा किसानले छरेको मकै खेतीमा घोंगा लागेन। कृषि विकास कार्यालयले सम्बन्धित किसानलाई पत्रकारमार्फत् समाचार बनाउन सल्लाह दिए। उनले बुटवलबाट केही थान पत्रकारहरू लगे। आफ्नो पीडा बताएपछि उनको मन हल्का त भयो तर हल्का मन धेरै बेर अडिन भने पाएन। बिदा हुने समयमा खामबन्दी नपाएपछि कतिपयले मुखै फोरेर भने। पत्रकारहरूबाट राहत पाउने विश्वासमा रहेका किसानहरूले उल्टै रातो पिरो अनुहार बनाए। यो कुरा उनले कृषि विकास कार्यालयकै हाकिमलाई जानकारी गराएपछि उनी पनि तीन छक परे।

२०७२ साल पुसतिरको कुरा हो, बुटवलको एउटा पार्टी प्यालेसमा कुनै एउटा संस्थाले गरेको कार्यक्रममा पत्रकारहरू पनि आमन्त्रित थिए। आयोजकले दिउसो १ बजे दिवा भोजको अर्डर गरेका थिए। एकजना पत्रकारलाई छिट्टै घर जानुपर्ने रहेछ। अर्थात् उनी खाना खान मात्र छोटो समय लिएर गएका रहेछन्। १० बजे नै खाना नपाएपछि  रिसले चुर चुर भए। आयोजकलाई भनेर एक प्लेट मम खाएर गए। त्यही झोंकमा दुई दिनपछि तथानाम गाली गर्दै पत्रिकामा समाचार आयो। आफ्नो समयमा खाना खान नपाएको झोंक उनले समाचार लेखेर पोखे।

यस्ता अनगिन्ती गुनासाहरू आउने गर्छन् आजभोलि। कुनै संस्थाले नियमानुसार भत्ताको व्यवस्था गरेको रहेछ र त्यो भत्ता भरपाई गरेर दिन्छ भनेपनि लिनु हुँदैन भन्छ पत्रकार आचार संहिताले। तर विना भरपाई लिफामा हालेर सुटुक्क रकम नदिएसम्म समाचार आउँदैन भन्ने धारणा उत्पन्न हुनु सुखद कुरा हैन। संचार गृहहरुले पर्याप्त पारिश्रमिक नदिनु र यातायात खर्च उपलब्ध नगराउनु जस्ता कारणहरुले यी र यस्ता खाले विकृतिहरु जन्मेका हुन् सायद। तथापि पत्रकारलाई किनेर समाचार सम्प्रेषण गर्ने रोग बढेको छ आजभोलि रुपन्देहीको पत्रकारितामा।

पत्रकारितामा ठेकेदारी प्रथा : विकृतिको कारण

आजभोलि पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणमा ठेकेदारी प्रथा छ। कुनै संस्था वा कम्पनीले एक जनालाई पत्रकार सम्मेलनको लागि खबर गर्ने जिम्मा दिन्छ। उसले खबर गरेबापत दुखसो पाउनु स्वभाविक होला। किनकि उसले परिश्रम गरेको हुन्छ। समय व्यतित गर्छ। फोन खर्च हुन्छ। एक पटक हैन दुई तीन पटकसम्म खबर गर्छ।  तर यसबापत उसले नै पत्रकारहरूलाई समेत लिफा दिनका लागि प्रेरित गर्छ । यो यसकारणले पनि गर्नुपर्छ कि यदि लिफामा केही पाएन भने आगामी दिनमा त्यसरी पत्रकारलाई ल्याउन सकिन्न ।

कसैले सहयोग मागेपछि सहयोग गर्नु जसका लागि पनि कर्तब्य हुन आउछ । तर सहयोग सिमा र क्षेत्रभित्र रहेर गर्नुपर्छ । पत्रकारहरूको फोन, मोबाइल, मेल आइडी दिएर पनि सहयोग गर्न सकिन्छ। आयोजकले कमसेकम आफै पत्र पुर्‍याओस्। मोबाइलमा सन्देश आफै पठाओस् वा आफै मोबाइल गरोस्। सूचना दिने यो वा त्यो कुनै विधि अपनाउन सक्छ। तर यसो गरिदैन। सम्पूर्ण जिम्मा कुनै पत्रकारलाई दिइन्छ। अथवा पत्रकारलाई राम्रो कारिन्दा बनाउँछ र आफ्नो काम गराउँछ। यस प्रकारको ठेकेदारी प्रथा तोड्नु जरुरी छ।

आश्चर्यको कुरा यो छ कि पारिश्रमिक दिने भए पछि त्यस्तो कार्यक्रममा पत्रकारहरूको हुल नै पुग्छ। बोलाए भन्दा बढी नै हुन्छन्। अरु बेला खबर नपाएसम्म समाचार लेखिँदैन भन्नेहरू लिफा आउने भएपछि विना खबर पुगेका हुन्छन्। परिणाम के हुन्छ भने एउटै मिडियाबाट २/३ या ४ जना सम्मको उपस्थिति हुन्छ। समाचारको महत्वका हिसाबले दुई या तीन जनासम्म पनि जान सकिएला तर त्यो हिसावले चाहिँ हैन।

पत्रकार सम्मेलनको अवमूल्यन

पत्रकार सम्मेलन कस्तो अवस्थामा गर्ने भन्ने कुराको पनि कुनै मापदण्ड छैन। प्रायः आयोजकहरूले कार्यक्रमको सूचना सम्प्रेषण गर्नका लागि पत्रकार सम्मेलन गर्छन्। यसो गर्दा विज्ञापन गर्नु जरुरी भएन। जबकि कुनै कार्यक्रमको सूचना सम्प्रेषण गर्ने माध्यम विज्ञापन हो। पत्रकार आचार संहिताले विज्ञापनलाई समाचारको विषयवस्तु बनाउन पाइँदैन भन्छ। तर व्यवहारमा यसको ठीक उल्टो छ। यसको अर्थ पत्रकार सम्मेलन गर्नै नहुने विषय हैन। आम नागरिकलाई प्रभावित पार्न सक्ने निर्णयलाई सार्वजनिक गर्न पनि पत्रकार सम्मेलन गर्न सकिन्छ। आवश्यकता अनुसार विज्ञप्ति निकालेर मिडिया हाउसमा पुर्‍याउन सकिन्छ। प्रेस नोट भनेर अनौपचारिक ढंगले सूचना पठाउन पनि सकिन्छ। तर, प्रायः त्यसो गरिँदैन। जस्तोसुकै अवस्थामा पनि पत्रकार सम्मेलन गर्ने विकृतिले घर गरेको छ। कार्यक्रम सम्पन्न भइसकेपछि त्यसले गर्ने निर्णय जनस्तरमा पुर्‍याउनै पर्ने विषय हुन सक्छन् र हुन्छन्। तर, आयोजकहरुमा के भ्रम छ भने कार्यक्रम पूर्वको हुने भनिएको र उद्घाटन शत्रमा वक्ताहरूले बोलेको भाषण आयो भने आयोजकहरू खुसी हुने गर्छन्। पत्रकारहरू पनि सूचनामूलक विज्ञापनलाई  समाचार बनाउन जति उत्साहित हुन्छन्, कार्यक्रम सकिएपछिको निर्णयलाई समाचार बनाउने आवश्यकता देख्दैनन्। विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्न हुँदैन भन्ने पत्रकार आचारसंहिताको खिल्ली उडाउनु दैनिकी जस्तै बनेको छ।

कार्यक्रमको बन्द शत्रमा प्रस्तुत हुने प्रतिवेदन, आर्थिक प्रतिवेदन र कार्यक्रमले गर्ने निर्णय जतिसुकै महत्वका भएपनि त्यसता कुराले समाचारमा स्थान नपाउनु आचारसंहिता विपरीतको कुरा हो।

बढी भए पुरस्कार

पत्रकारिता सम्बन्धि पुरस्कार बढ्नु आफैमा सुखद कुरा हो । पुरस्कारले प्रोत्साहन र उत्साहित बनाउँछ। जिम्मेवार बनाउँछ। तर पुरस्कार राख्ने प्रतिस्पर्धा हुनु त्यति राम्रो कुरा हैन। बढीमा दुई या तीन वटासम्म आकर्षक पुरस्कार स्वभाविक हुन्छ। तर रुपन्देहीमा दर्जनौँ पुरस्कार भइसके। पत्रकारिता क्षेत्रमा पुरस्कार राखेर निजी क्षेत्रले सहानुभूति बटुल्ने प्रयत्न गरेको छ। पत्रकारिता क्षेत्रमा योगदान गरेको तथ्य पनि प्रस्तुत गर्न खोजेको छ। र, उनीहरू आफ्नो उद्देश्यमा सफल पनि छन्। तर पत्रकारिताको सिद्धान्त र मान्यताको हिसाबले यो गलत हो। यसको सट्टा लेखनवृत्ति पहिले नै दिएर अनुसन्धानमूलक समाचार लेखाउनु वा तद्‍अनुसारको वातावरण बनाउनु उपयुक्त हुन्छ। कुनै विधामा पटक्कै लेख्ने अभ्यास छैन भने  विधागत पुरस्कार राखेर त्यसतर्फ आकर्षण गर्न भने सकिन्छ।

पुरस्कार स्थापना गर्नेहरूमा त्यसको मूल भावना के हुनुपर्ने हो भन्ने कुरामा शंका छ। उनीहरूले पुरस्कारलाई खामबन्दी पत्रकारिताकै अर्को रुप सम्झन्छन्। समाजसेवी भइने, सामाजिक उत्तरदायित्व निर्वाह गरिने र परोक्ष ढंगले पत्रकारिताको स्वत्व माथि प्रभुत्व जमाउने माध्यमको रुपमा पनि कतिपयले लिन खोज्छन्। यद्यपि सबैको धारणा यस्तो छैन। वर्षभरी आफू वा आफ्नो संस्थाका कति समाचार लेखिए वा लेखाउन सकियो भन्ने कुरालाई आधार मानेर पुरस्कार दिन खोज्ने संकेत पनि यदाकदा पाइन्छ। पुरस्कारका लागि फोन गरेर प्रभावमा पार्ने प्रयत्न पनि हुने गर्छन्। कतिपय अवस्थामा आफूले लेखेका विषयलाई स्पष्ट पार्ने कुरा ठीकै हुन सक्छ। तर, पुरस्कार प्राप्तिका लागि दवाव र प्रभावमा पार्ने कुराले पुरस्कारको गरिमा र महत्व बढाउँदैन भन्ने कुरा बुझ्नुपर्छ। थोरै लेखे पनि ओजपूर्ण छ, मेहनतका साथ लेखिएको छ, सन्तुलित लेखाई छ र त्यसबाट केही सकारात्मक परिणाम पनि देखा परेको छ भने त्यस्तो अवस्थामा पुरस्कार दिनु उचित  हुन्छ।

पत्रकार आचारसंहिताले कुनै उपहार वा पुरस्कार लिन परेमा वा दिनपरेमा मिडिया हाउससँग स्वीकृति लिनुपर्छ। नाजायज सम्बन्ध नहोस् भन्ने उद्देश्यले यस प्रकारको व्यवस्था गरिएको हो। तर यी कुनै पनि कुरालाई व्यवहारमा अवलम्बन गरिदैन। सिद्धान्त वा नीति व्यवहारमा कार्यान्वयनका लागि हुनु पर्ने हो, जुन सिद्धान्त व्यवहारमा लागू नै गरिदैन त्यसको के अर्थ हुन्छ? कुनै पनि मिडियाको आफ्नो समाचार हुँदैन भने त्यसको औचित्य के हुन्छ? कहीँबाट आएका समाचार कपी पेस्ट मात्र गर्ने हो र समाचार एजेन्सीका मात्र समाचार प्रकाशन र प्रशारण गर्ने हो भने त्यस्तो मिडियाले सम्पादक वा पत्रकार भनेर राख्नै पर्दैन। व्यवस्थापकले पत्रिका चलाउँछ। अहिलेका प्रायः मिडियाहरूका ८० प्रतिशत सामग्री यसै कोटीमा पर्छन्। यसो गर्दा पत्रकारिताको उत्थान हुन्छ कि पतन? उत्तर खोज्नै पर्छ र यसको उत्तर अरु कसैले हैन हामी स्वयं पत्रकारले नै खोज्नुपर्छ ।

समाचारको एकद्वार प्रणाली

एक जनाले समाचार लेखेर सबै मिडियामा पुर्‍याउनु र त्यही समाचार छापिएर आउनु तथा रेडियो टेलिभिजनमा वाचन गरिनुलाई स्वभाविक मान्न थालिएको छ। सबैमा उही समाचार शब्दसः आउनु भनेको कपी पेस्ट पत्रकारिता हो। यसलाई कपी पेस्ट मात्र भनिन्न। समाचारको एकद्वार प्रणाली पनि भनिन्छ । संवद्ध संस्था, कम्पनी वा व्यक्तिले एकजना पत्रकारलाई बोलाएर समाचार लेख्न लगाउँछ र उसैको माध्यमबाट मिडियामा पुर्‍याउँछ। भोलि अक्षरसः त्यही समाचार पढिन्छ र छापिन्छ। कुनै माध्यमबाट प्राप्त समाचारलाई फरक शैलीमा प्रस्तुत गर्ने, थप सूचनाका लागि फोन सम्पर्क गरेर एउटै भए पनि नयाँ सूचना थप्नु पत्रकारको दायित्व हो। कमसेकम आफूले लेखेको समाचार फरक होस् भन्नका लागि, अन्य मिडियामा र आफ्नोमा फरक होस् भन्नका लागि पनि सम्पादन गर्नु जरुरी छ। समाचार एजेन्सीबाट प्राप्त भएको हो भने श्रोत सहित दिनुपर्ने हुन्छ ,अन्यथा एउटा  श्रोतबाट प्राप्त समाचार अलग अलग मिडियामा आउनु किमार्थ सुहाउने कुरा हैन।

भनिन्छ पत्रकारहरु जिज्ञासु हुनुपर्छ। नयाँ नयाँ खोज र अनुसन्धानका लागि प्रयत्नशील हुनुपर्छ। आफ्ना मिडियाका लक्षित पाठक वा श्रोताको पहिचान गर्नुपर्छ। अरुको भन्दा फरक कसरी बनाउने, आकर्षक र सूरुचीपूर्ण लेखन कसरी हुन्छ भनेर घोत्लिनु पर्नेमा त्यसप्रकारको संवेदनशीलता नहुनु पत्रकारिताको धर्म र मर्मलाई नबुझ्नु हो। यसको परिणाम एकद्वार प्रणालीले पत्रकारितामा राम्रो स्थान बनाएको छ। एउटै विषय वा कार्यक्रमलाई विभिन्न कोणबाट लेख्न सकिन्छ। तर त्यस्तो कोण के होला भनेर खोजी गर्ने काम नहुँदा एकद्वार प्रणालीलाई प्रोत्साहन मिलेको छ।

समाचार एकद्वार प्रणालीबाटै आएपनि इच्छा र जाँगर हुने हो भने त्यसरी प्राप्त समाचारलाई प्राथमिक सूचना मानेर थप खोजमा लाग्न सकिन्छ। समाचारको मसिनो गरी अध्ययन गर्ने हो भने समाचार भित्रको समाचार खोज्ने बाटो पत्ता लगाउन सकिन्छ। तर यसो गर्दा मेहनत लाग्छ। समय खर्चनुपर्छ। दौडधुप गर्नुपर्छ। यस खालका समाचार दिनदिनै लेख्नुपर्छ भन्ने हैन। कम्तिमा महिना दुई महिनामा एउटा सम्म भए पनि लेख्दा हुन्छ। यसले ल्याउने जागरण फरक हुन्छ। आखिरी यस्तो किन हुन्न? यसको कारण पनि खामबन्दी पत्रकारिता हो।

खलबलिँदै छ सामाजिक सद्भाव

२०६२/२०६३ को आन्दोलनपछि सामाजिक सम्बन्धहरू खलबलिएका छन्। एउटा समुदायले अर्को समुदायलाई, एउटा जातले अर्को जातलाई, एउटा धर्मले अर्को धर्मलाई जतिसुकै गाली गरे पनि त्यस्ता कुरालाई सञ्चारमाध्यमले स्थान नदिनु पर्ने हो। तर, स्थिति त्यस्तो छैन। मधेसी समुदायलाई ‘धोती’ र पहाडे समुदायलाई ‘पाहाडे’, ‘खस’, ‘आर्यन’ भनेर तुच्छ टिप्पणी गरिन्छ। मधेसका एकाध वा केही सामन्तहरूलाई देखाएर सबैलाई सामन्ती देख्ने र पहाडी समुदायका केही व्यक्तिहरूलाई देखाएर सम्पूर्ण समुदाय नै खराब भन्नु यसकै नतिजा हो। कोही पहाडे भएर जन्मनु, मधेसी भएर जन्मनु, दलित वा जनजाति भएर जन्मनु अपराध हैन। तर अहिले कोही कुनै भएर जन्मनु नै अपराध हो जस्तो गरी प्रचार गरिएको पाइन्छ। कसैले कसैलाई हेपेको छ भन्नुको अर्थ आफूले पनि हेप्न पाउनुपर्छ भन्नु युक्तिसंगत हुन्न। विभिन्न जात, जाति, धर्म, सम्प्रदाय र क्षेत्रका बीच वैमनस्य, फाटो र हिंसा बढाउने समाचार र विचारलाई स्थान दिनु हुँदैन भनेर पत्रकार आचारसंहिताले भन्दै आएको छ। तथापि यस्ता कुरालाई जबर्जस्ती लागू गर्ने हैन। कसैले नमानेमा कारबाही पनि हुँदैन। तर, स्वधर्मको रुपमा पत्रकारहरू आफैले मनन गर्नुपर्ने कुरा हुन्।

आजभोलि सामाजिक सञ्जालले सबै सीमालाई नाघेको छ। जेसुकै भन्ने र जेसुकै गर्ने स्वतन्त्रता दिएको छ। ब्लग बनाएर मन लागि सम्प्रेषण गर्ने अधिकार दिएको छ। शरीर क्षत विक्षत भएका रगताम्य घटना र घृणित दृश्यहरू र फोटोहरू अपलोड गरेर सार्वजनिक गर्नु सामान्य भएको छ। जनयुद्धकाल भरी पनि यी सबै कुरा मान्य भए। यस्ता समाचार वा दृश्य सार्वजनिक गरेर आपराधिक मनोवृत्तिलाई प्रश्रय दिने काम यो वा त्यो ढंगले भइरहेको छ। पत्रकारहरू कहिल्यै पनि आवेगमा आउनु हुन्न। तर आवेगमा आएर मनलागी लेख्ने कुराले पत्रकारिताप्रतिको आस्था कमजोर भएको छ।

वि.सं.२०७२ माघ महिनाको कुरा हो। इलाका प्रहरी कार्यालय बुटवलले आफ्नै लोग्नेको हत्या अभियोगमा एक जना महिलालाई पक्राउ गरी मुद्दा चलाउने प्रक्रियामा थियो। प्रहरीले पत्रकार सम्मेलन गर्‍यो र ती महिलालाई सार्वजनिक गर्‍यो। रुपन्देही पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसीले यो फोटोलाई नछाप्नु पर्ने सल्लाह दिए। सबै पत्रकारले नछाप्ने वचनबद्धता प्रकट गरे। तर तुरुन्तै एउटा अनलाइनले फोटोसहितको समाचार छाप्यो। प्रहरीका अनुसार ती महिलाले कसै मार्फत् हत्या गराएको कुरा स्वीकारेकी थिइन्। पत्रकारका अगाडि ल्याएर ती महिलाको फोटो खिचाइयो। पत्रकार कसैले पनि एउटै प्रश्न गरेनन्। उनलाई उभ्याउनु र प्रहरीले उनी नभएको समयमा दिएको बयानका आधारमा फोटो  सहितको समाचार बन्यो। प्रहरीले मुद्दा चलाएर अदालतले फैसला नगरुन्जेल उनी अभियुक्त मात्र हुन्। अभियुक्तलाई हत्यारा भनेर फोटो नै सार्वजनिक गर्नुले पत्रकारहरुमा संवेदनशीलता हराएको कुरालाई नै संकेत गर्छ।

समाचारमा खै लगानी?

निश्चय नै एउटा राम्रो  समाचारका लागि लगानी गर्नुपर्छ। खामबन्दी पत्रकारितालाई मुक्त गर्नका लागि संख्यामा हैन गुणस्तरमा मूल्यांकन गर्ने परिपाटी हुनुपर्छ। समाचार खोजेर, समाचारको अनुसन्धान गरेर अथवा समाचारको गहिराइमा पुगेर लेख्ने अभ्यास पत्रकारितामा अनिवार्य छ। यसका लागि मिडिया हाउसले समाचारको खोजीका लागि लगानी गर्नु जरुरी हुन्छ। यो परिपाटी मोफसलमा छैन नै भन्दा हुन्छ। समाचार संकलन गर्न र लेख्नका लागि लगानी हुन्छ भएको छ। तर समाचारको गहिराइमा पुग्ने श्रोत छैन। मिडिया सञ्चालकहरू यसप्रति संवेदनशील छैनन्। पत्रिका एक दिन मात्र कमजोर भयो भने त्यसको नकारात्मक सन्देश बजारमा जाने गर्छ। एकपटकको गल्ती सच्चाउन धेरै मेहनत गर्नुपर्छ।

यसको अर्थ मिडिया सञ्चालकहरुले यस क्षेत्रमा एकै पटक धेरै लगानी गर्नुपर्छ भन्ने हैन। व्यवस्थापकीय हिसाबले त्यसो गर्दा दुर्घटना हुन पनि सक्छ। त्यस अर्थमा थोरै अंश भए पनि खोजी समाचारका लागि लगानी गर्नैपर्छ। मिडिया हाउसले वर्षमा २/४ वटासम्म स्टोरीलाई लगानी गर्ने हो भने बाहिर र भित्र दुवै क्षेत्रबाट राम्रा स्टोरी आउन सक्छन्। यसो गर्दा सम्बन्धित मिडियाले आफ्ना पत्रकारको क्षमतालाई पनि जाँच्ने मौका पाउँछ र तद्‍अनुसारको जिम्मा हाउसकै तर्फबाट लगाउन सक्छ। हरेक व्यक्तिमा केही न केही विशिष्ट क्षमता हुन्छ। त्यस्तो क्षमतालाई प्रस्फुटन गराउने विभिन्न उपायहरू हुन सक्छन्। जसमध्ये एउटा उपाय खोज र अनुसन्धानका लागि लगानी गर्ने हो। हाउसहरूले यस्ता विषयलाई गम्भीर भएर सोच्न आवश्यक छ।

(बुटवलमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका घिमिरे नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *