दैनिक पत्रिका छोडेर म्यागेजिन किन ? सम्पादक बसन्‍त बस्‍नेतसँग अन्तर्वार्ता


पत्रकार बसन्त बस्नेत अन्नपूर्ण मिडिया नेटवर्कको ‘अन्नपूर्ण टुडे’ म्यागेजिनको सम्पादक नियक्त भएका छन्। ‘कान्तिपुर’ दैनिकमा राजनीतिक सम्वाददाता रहेका उनले पछिल्ला वर्षहरूमा मुलतः मधेस बिटमा कलम चलाउँदै आएका थिए। ‘नागरिक’ दैनिक र ‘कान्तिपुर’ दैनिकमा उनका लामा समाचार र फिचर पाठकहरूले खुब रुचाएका थिए।

अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामासँगै ‘अन्नपूर्ण टुडे’ का सम्पादक राजाराम गौतम अन्नपूर्ण पोस्टको सम्पादक नियुक्त भएका थिए। टुडेका संस्थापक सम्पादक गौतम दैनिकको सम्पादक बनेपछि खाली ‘अन्नपूर्ण टुडे’ को सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका हुन्। पूर्वी नेपालको इलाम जिल्लामा जन्मेका बस्नेत सात वर्षदेखि मूलधारको पत्रकारितामा क्रियाशील छन्। उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरेका छन्। प्रस्तुत छमिडिया कुराकानीले सम्पादक बस्नेतको पत्रकारिता करिअर र दैनिक पत्रिका छोडेर म्यागेजिन रोज्नुको कारणबारे गरेको कुराकानीको सार संक्षेप :


तपाईँले ‘कान्तिपुर’ दैनिकमा राम्रो पाठक पाइरहनुभएको थियो। दैनिकको तुलनामा कम पाठक हुने म्यागेजिन किन रोज्नुभयो ?  

म इलामको दुर्गम ठाउँमा जन्मेँ/हुर्केँ। त्यहाँ दैनिक पत्रिकाहरू पुग्दैनथे तर म्यागेजिन पुग्थ्यो। मलाई बच्चैदेखि म्यागेजिनको रस थियो, झुकाव थियो। मलाई म्यागेजिनमा काम गर्ने प्रस्ताव आयो। तर मैले दैनिकबाट ठूलो पाठक संख्या पाइरहेको थिएँ। म्यागेजिनका पाठक संसारभरी केही न केही कम नै हुन्छ। हुँदाहुँदै पनि मैले के विचार गरेँ भने केही निश्चित कामहरू म्यागेजिनबाट गर्न सकिन्छ। जमाना दैनिक पत्रिकाबाट अनलाइनतिर जाँदैछ। पाठकलाई सूचना दिनका लागि प्रिन्टलाई धेरै नै चुनौती छ। तर पत्रकारितामा केही सिरियस कामहरू अहिले पनि गर्न सकिन्छ। त्यो कताकता खड्केको जस्तो लाग्छ मलाई। जे कुरा म्यागेजिनमा अहिलेसम्म पढ्न पाइनँ अथवा यस्तो भए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो, एकचोटी त्यो काम किन आफै साहस नगर्ने? एक हिसाबले करिअरकै लागि मैले ठूलो जोखिम लिएँ। मलाई निर्णय लिन केही दिन लाग्यो- झण्डै एकसाता। तर अन्ततः यो जोखिम उठाएँ। यतिखेर मलाई सबैको साथ चाहिएको छ। जहाँसम्म यतिका अनलाइन छन्, टेलिभिजन छन्, पत्रिका छन्, रेडियो छन् तर म्यागेजिन नै किन भन्ने तपाईँको प्रश्न छ, मैले कतै पढेको थिएँ- ओठ चलाएर कुनै पनि कुरा खर्रर पढ्ने पाठक त धेरै छन् तर मुख बन्द गरेर घोत्लिएर पढ्ने पाठक जबसम्म रहन्छन् तबसम्म म्यागेजिनको औचित्य रहिरहन्छ।

कान्तिपुर नेपालको सबैभन्दा ठूलो मिडिया हाउस पनि हो। उसका सबैजसो उत्पादनहरूले राम्रो गरिरहेका छन्। छाड्ने निर्णय किन गर्नुभयो?

म कान्तिपुर छाडेर नेपालको अर्को अग्रणी सञ्चार गृहमा जान लागेको हो। अहिले राजनीति, पत्रकारिता, विचार निर्माता सबै कुरामा एउटा मात्रै भन्ने चिजको संसारमा कुनै प्रभाव छैन। १९९० मा शितयुद्ध सकिएपछि अमेरिका सुपरपावर थियो। अहिले हेर्नुस् सुपर पावर दुईवटा भैसक्यो। अनेकौँ भैसक्यो। अमेरिका छ, चीन छ, युरोपेली युनियन छ। सुपर पावर भन्ने कन्सेप्ट नै छलफल गर्न योग्य भैसक्यो। कान्तिपुर नेपालको अग्रणी मिडिया हाउस हो। तर सँगसँगै अरु फोरमहरू हुर्किँदै जानुमा हामी श्रमजीवी पत्रकारहरूको पनि भलाई छ। र, आएका विकल्पहरू मध्ये अलि उपयुक्त विकल्प छान्नसक्नुमा हामी कति साहस गर्छौँ, कति ट्याक्टफुल छौँ, कति पर सम्म हेर्छौँ वा हेर्दैनौँ भन्ने कुरा पनि जोडिन्छ। मैले सायद त्यो हेर्ने कोसिस गरेरै यहाँ आएको हुँ।

म्यागेजिनमा केही गम्भीर कामहरू गर्न सकिन्छ भन्नुभयो। के योजना छ?  

मेरो ठूलो प्रमिस (प्रतिज्ञा) त केही पनि छैन। ‘अन्नपूर्ण टूडे’ ले अहिले पनि राम्रै गरिरहेको छ। त्यसलाई निरन्तरता दिनु एउटा काम हो। त्यस पछाडि अहिलेको सेटअप भित्रै केही नयाँ चिजहरू गर्न सकिने ठाउँ देखेको छु। त्यो म अहिले सबै डिस्क्लोज (सार्वजनिक) गर्दिनँ। म एकैचोटी एग्रेसिभ्ली (आक्रामक रुपमा) आउने कुरामा पनि विश्वास गर्दिनँ। अलिअलि अलिअलि गर्दै परिवर्तन भयो भन्ने अनुभूति दिन सक्नु नै सफलता हुन्छ जस्तो लाग्छ। एकदम तातिएर एग्रेसिभ भएर आउनु र हराउनुभन्दा स्टेबल (स्थिर) भएर जान सक्नुमा र त्यसलाई रिफर्म (सुधार) भएर जान सक्नुमा नै संस्थाको पनि र आफ्नो करिअरको हिसाबले पनि राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईँको पत्रकारिता करिअरबारे बताइदिनुस्। कहिलेबाट थाल्नुभयो, कहाँ कहाँ काम गर्नुभयो?

एउटा छोटो छ अर्को लामो छ।

दुवै भन्नुस्। 🙂

छोटो नागरिक र कान्तिपुर हो।

लामो चाहिँ मैले २०५७ को अन्तिममा अहिलेका राष्ट्रिय फुटबलर गणेश लावतीको फुल पेज अन्तर्वार्ता गरेको थिएँ पाँचथरबाट निस्कने ‘रवि’ साप्ताहिकमा। त्यसबेलाबाट लेख्न थालेको हुँ। इलाममा छँदा त्यहाँका अखबरहरूमा नियमित स्तम्भ र समाचार विश्लेषण लेख्ने गर्थेँ। म इलाम एफएमको स्थापनाकालदेखि नै रेडियो कमेन्टेटर र कार्यक्रम उत्पादक हो। म २०६५ को अन्तिममा मास्टर्स पढ्न काठमाडौं आएँ। मास्टर्स पढ्दापढ्दै मेरो दुईवटा लेख नागरिकमा छापियो। त्यसपछि सम्पादक नारायण वाग्लेले भेटौँ, कफी खाउँ भन्नुभयो। काम गरौँ भन्ने प्रस्ताव गर्नुभयो। त्यसपछाडि नागरिक ज्वाइन गरेको हो।

नागरिकमा म साढे ३ वर्ष बसेँ। त्यहाँ नारायण वाग्ले, किशोर नेपाल र प्रतीक प्रधान तीनजना सम्पादकसँग नजिकबाट काम गर्ने अवसर मिल्यो। सुदिप श्रेष्ठसँग पनि निकै राम्रोसँग काम गर्न पाइयो। सुदिपबाट मैले धेरै कुरा सिकेँ। मलाई लङफर्म (लामो लेखन) मन पर्ने, कान्तिपुरका सम्पादक सुधीर शर्माले मैले नागरिकमा जुन खालको पत्रकारिता गरिरहेको थिएँ, शनिबार कान्तिपुरमा त्यस्तै किसिमको गरौँ भनेर अफर गर्नुभयो। अनि म २०७१ को असारदेखि कान्तिपुर आएँ।

सुरुमा शनिबारका लागि नियमित लेखेँ। चार हजार शब्दसम्मका लङफर्म लेखेँ। मान्छेहरू अचम्म मान्थे। दैनिक पत्रिकामा यत्रो स्पेस? भन्ने खालको थियो। एउटा त्यति लामो पढ्ने बानी थिएन, अर्को त्यो कान्तिपुरको स्पेस हो भन्ने खालको (प्रतिक्रिया) हुन्थ्यो। मैले सम्पादकलाई पनि भनेको थिएँ- पहिला म मास्टर्स पढिरहेकोले मलाई बिट रिपोर्टिङको तुरुन्तै वातावरण भएन। अफर भए पनि मैले गरिनँ। मास्टर्स सकिएपछि मैले बिट रिपोर्टिङको इच्छा गरेँ। उहाँले मलाई मधेस बिट दिनुभयो। त्यसअघि अतुल मिश्र, अब्दुल्ला मियाले मधेस बिट हेरिरहेका थिए।  भूकम्प त्यहीबीचमा गयो। त्यही वर्षमा ठूलो मधेस आन्दोलन भयो। हिंसा धेरै भयो। नाकाबन्दी भयो। यस्तो उतारचढावमय तीन वर्ष रह्‍यो मेरो कान्तिपुरमा। संकटको बेला कसरी जिम्मेवार भएर पत्रकारिता गर्नुपर्छ भन्ने कुरा कान्तिपुरबाट सिकेको मूल मन्त्र हो।

तपाईँसँग अन्य विकल्प पनि हुँदा हुन्, पत्रकारिता पेशामा नै किन आउनुभयो? 

अभिव्यक्तिको अनेक विधामध्ये लेखन पनि एक हो। मलाई बच्चैदेखि पढ्ने र लेख्ने काम एकदम मन पर्‍यो। सायद म पत्रकारितामा किन आएँ होला भने, एकलाइनमा भन्दा, म आफूलाई पोख्न पाउँछु। आफूलाई चाहेको आइडिया, आफूलाई लागेको विचारहरू यसबाट व्यक्त गर्न पाउँछु। सायद म ठूलो सपना देखेर वा सामाजिक उत्तरदायित्व, राष्ट्रिय दायित्व, परिवर्तनप्रतिको दायित्व, के के भन्छन् नि, म त्यो केही पनि गर्न आएको होइन। सिम्पल के हो भने यहाँ म आफूलाई एक्सप्रेस गर्न पाउँछु। मैले मूलधारमा आएर पत्रकारिता गर्छु भन्ने पहिला सोच्दैनथेँ। लेखौँला भन्ने चाहिँ बच्चैदेखि थियो।

पत्रकारहरूलाई तपाईँको सल्लाह के छ? के गर्‍यो भने राम्रो पत्रकार हुन सकिन्छ? 

काठमाडौंमा हजारौँ पत्रकार छन् तर राम्रो लेख्ने मान्छेको अहिले पनि न्युज रुमहरूलाई अभाव छ। मिडियामा अवसर एकदमै धेरै छ। तर त्यो अवसरका लागि आफूलाई तयार राख्ने कि नराख्ने त्यो चाहिँ तपाईँको कुरा हो। संगीतमा लाग्ने मान्छेले सधैँ साधना गरिरहेको हुन्छ। खेलकुदमा लाग्ने मान्छेले हरेक दिन अभ्यास गरिरहन्छ। किसान  बिहानदेखि रातिसम्म काममा तल्लिन हुन्छ। हामी पत्रकारले किन नगर्ने? हामी सबै जानेजस्तो गर्छौँ। हामी पत्रकारलाई ट्रेनिङ नै पुगेको छैन। ट्रेनिङ भनेको पढाई र समाजसँगको संगतबाट आउँछ। पत्रकारितामा अवसर छ तर त्यसको लागि आफूलाई तयार राख्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *