‘समाचारमा मोलमोलाइ’ बारेको छानबिन प्रतिवेदनले उब्जाएका प्रश्नहरू


पत्रकार, पत्रकारिता र मिडियासँग सम्बन्धित ससाना विषयमा पनि बोल्ने नेपाल पत्रकार महासंघ आफ्नै केन्द्रीय सदस्य समेत रहेका पत्रकार सुरज आचार्यले एक ग्यारेज सञ्चालकसँग समाचारमा मोलमोलाइ गरेको विषयमा लामो समय मौन बस्यो। स्टिङ अपरेसन सार्वजनिक भएको २७ दिनपछि बल्ल उसले मौनता तोडेको छ तर काइते भाषामा।

समाचारमा मोलमोलाइबारेको मौनतामाथि प्रश्न गर्दै यसअघि लेखिएको लेखकै शब्द साभार गर्छु : ‘कुरा सुरजको होइन। उनी त एक पात्रमात्र हुन्। उनी हाम्रा सहकर्मी हुन्, मित्र हुन्, नेता हुन्। उनीप्रति सहानुभूति छ। कुरा पत्रकारिताको विश्वसनीयताको हो। पेशागत नैतिकता र मर्यादाको हो। हामीलाई समाजले हेर्ने दृष्टिकोणको हो। हामी को हौँ र के गरिरहेका छौँ भन्ने हो।‘ पढ्नुस्ः समाचारमा बार्गेनिङ : तैँ चुप मै चुप !

स्पष्ट पारिहालुँ – गर्नै नहुने काम गरेर आफ्नो पत्रकारिता करिअर ध्वस्त बनाएका सुरजप्रति मेरो सहानुभूति छ। उनलाई थप पीडा दिने मेरो उद्देश्य र नियत होइन। बरु यो घटना नेपाली पत्रकारितामा एउटा ‘टर्निङ प्वाइन्ट’ बनोस् भन्ने मेरो चाहना हो। मिडिया सञ्चालकहरू, सम्पादकहरू, पत्रकार महासंघ, प्रेस काउन्सिल, सरकार, पत्रकारहरू र हाम्रो पेशासँग सरोकार राख्ने सबैले यसबारेमा सोचुन् भन्ने हो। पत्रकारले समाचारका आधारमा सम्बन्धित पक्षसँग आर्थिक मोलमोलाइ गर्नु समान्य हो वा यसका पछाडि खास कारणहरू छन् छलफल गरौँ भन्ने हो।

तर त्यसअघि पत्रकार महासंघले तोडेको मौनताकै विषयमा चर्चा गरौँ।

महासंघका सचिव प्रभात चलाउनेद्वारा साउन २३ गते सोमबार जारी गरेको विज्ञप्ति पढेपछि मात्र थाहा भयो कि समाचारमा मोलमोलाइ गरेको उक्त घटनाबारे छानबिन गर्न समिति बनाइएको रहेछ। पत्रकार महासंघ किन चुप भनेर दुनियाले प्रश्न गरिरहँदा महासंघले छानबिनका लागि समिति बनाएको विषयलाई किन सार्वजनिक गर्ने आवश्यकता देखेन? पहिलो प्रश्न यो उठ्छ।

असार ३० गते महासचिव उजिर मगरको संयोजकत्वमा समिति गठन भएको रहेछ। समितिले गरेको अध्ययनको प्रतिवेदन महासंघ सचिवालयको साउन २२ गतेको बैठकमा प्रस्तुत गरी कार्यान्वयन गर्ने निर्णय भएको सचिव चलाउनेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

के छ प्रतिवेदनमा?

महासंघले ‘अध्ययनको सारांश तथा निष्कर्ष’ ६ बुँदामा सार्वजनिक गरेको छ। पृष्ठभूमि समेटिएको पहिलो बुँदा छोडेर अन्य बुँदाबारे क्रमशः छलफल गरौँ।

दुई नम्बर बुँदामा समाचारमा मोलमोलाइ गर्ने सुरज र ग्यारेज सञ्चालक  गुणबहादुर दर्लामीको बयान राखिएको छ। ‘सुरज आचार्यले केही आन्तरिक समस्यामा परेर ग्यारेजमा गई भेटघाट र कुराकानी गरेको, केही दवावको स्थिति र केही परिस्थितिजन्य कारण पनि रहेको तर समाचारमा आएजस्तो समाचारको बार्गेनिङ भने नगरेको बताएको’ प्रतिवेदनको सारांशमा उल्लेख छ।

यो बुँदाले मुख्य रुपमा तीनवटा प्रश्न उब्जाएको छ। पहिलो, ‘केही आन्तरिक समस्यामा परेर’ भनेको के हो? दोस्रो, ‘केही दवावको स्थिति रहेको’ भनेको के हो? तेस्रो, ‘केही परिस्थितिजन्य कारण रहेको’ भनेको के हो? यस्ता अमूर्त कुराहरू राखेर जसरी छानविन समितिले टालटुले प्रतिवेदन तयार पारेको छ, यो चित्तबुझ्दो छैन। समाजिक सञ्जालमा पत्रकारले पोखेका असन्तुष्टि त्यसको उदाहरण हो।





तीन नम्बर बुँदा इमेज टेलिभिजनसँग सम्बन्धित छ जहाँ सुरज काम गर्थे। महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सम्पादक रहेको इमेज टेलिभिजनमा प्रसारण हुन लागेको समाचार रोक्न भन्दै सुरज उक्त ग्यारेजमा मोलमोलाइ गर्न पुगेका थिए। ग्यारेजको विषयमा सम्पादकीय बैठकमा कहिल्यै छलफल नभएको र कुनै पनि रिपोर्टरलाई असाइन गरेको नदेखिएको भन्दै प्रतिवेदनमा ‘सुरज आचार्यबाहेक इमेज च्यानलमा यस विषयमा कसैलाई पनि कुनै जानकारी भएको वा संलग्नताको अवस्था नरहेको’ उल्लेख छ। यो बुँदाले पनि केही प्रश्न जन्माएको छ- आफ्नो समेत नाम र आफ्ना वरिष्ठ उपसम्पादक मुछिएको घटनामा इमेज टेलिभिजनले किन मौनता साँध्यो? पत्रकार महासंघका अध्यक्षसमेत रहेका इमेज टिभीका सम्पादक डा. विष्टले किन सम्पादककै हैसियतमा यसबारे बेलैमा स्पष्ट पार्ने कोसिस गरेनन्? अरुका बारेमा बोलिरहने मिडियाहरू आफ्नाबारे सार्वजनिक रुपमा प्रश्न उठ्दा किन मौन रहन्छन्?

छानबिन प्रतिवेदनको चार नम्बर बुँदामा समाचारमा मोलमोलाइको स्टिङ अपरेसन गर्ने पत्रकारमाथि नै प्रश्न उठाइएको छ। जसमा ‘स्टिङ अपरेसन गरेपछि २२ दिनसम्म समाचार प्रकाशन नगरिएको र (त्यसको) उचित कारण पनि खुल्न नसकेको’ उल्लेख छ। तर स्टिङ अपरेसन गर्ने डिसी नेपालले भने आफूसँग सोधपुछ नै नगरी पत्रकार महासंघले प्रतिवेदन तयार पारेको आरोप लगाएको छ। ‘सम्बन्धित पक्षलाई सोध्दै नसोधी मनगढन्ते रुपमा प्रतिवेदनमा २२ दिनसम्म प्रसारण नभएको तथ्यहीन कुरा राखिएको छ’, स्टिङ अपरेसन गर्ने पत्रकारद्वय टेकनारायण भट्टराई र दामोदर नेपालले घुस प्रकरणमा बदमासी संस्थागत गर्दै पत्रकार महासंघ शीर्षकको ब्लगमा लेखेका छन्, ‘तथ्य बंग्याएर महासंघ समाचार लेख्ने पक्षको हुर्मत काढ्ने तहमा उत्रिएको छ।‘२०७४ असार २६ गते बिहान भिडियो खिचिएको र त्यसको दुईदिन पछि २८ गते समाचारसहित भिडियो सार्वजनिक गरेको डिसी नेपालले स्पष्ट पारेको छ। महासंघको छानबिन प्रतिवेदनको यो बुँदा र डिसी नेपालको काउन्टरले उब्जाएको अर्को प्रश्न के हो भने- डिसी नेपालसँग सोधपुछ नै नगरी महासंघले २२ दिन समाचार रोकिएको कसरी थाहा पायो? के छानबिन समितिलाई सुरज आफैले त्यसो भनेका थिए? वा डिसी नेपालले भने झैँ महासंघले प्रतिवेदनमा झूटो कुरा गरेको हो?

अब लागौँ पाँच नम्बर बुँदातर्फ। स्टिङ अपरेसन सार्वजनिक भएलगत्तै सुरजले आफूआवद्ध मिडिया र महासंघको जिम्मेदवारीबाट हटेको घोषणा गरेर छानबिनमा सहयोग गरेको चर्चा गर्दै यो बुँदामा उनको विगतबारे उल्लेख छ। प्रतिवेदनमा भनिएको छ- ‘आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एवं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैर व्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको।‘ विगतमा उनी खराब काममा संलग्न थिएनन् भनेर छानबिन प्रतिवेदनले के स्थापित गर्न खोजेको हो? जीवनकालमा यो उनले पहिलोपटक गरेका हुन्, त्यसैले माफी पाउनुपर्छ भन्न खोजेको कि? वा ‘परिस्थितिजन्य घटना’ भएकोले एकपटकलाई बिर्सिदिउँ भन्न खोजेको कि?

अब अन्तिम बुँदामाथि चर्चा गरौँ। प्रतिवेदनले सुरजले पेशागत कमजोरी गरेको ठहर गर्दै उनलाई सार्वजनिक रुपमै आफ्नो कमी कमजोरी स्वीकार्न र भावी दिनमा कमी कमजोरी हुन नदिन प्रतिबद्धता व्यक्त गर्न सुझाव दिएको छ। तर सुझाव दिनुअघि प्रयोग गरिएका शब्दावली चर्चायोग्य छन्। प्रतिवेदनमा भनिएको छ- ‘यस प्रकरण अघि र त्यसपछिका सबै घटनाक्रम, सम्बद्ध पक्षका भनाइ, प्राप्त आधार–प्रमाण र तथ्यहरूको अध्ययन विश्लेषण गर्दा परिस्थितिजन्य कारणहरूको अनुमान गर्न सकिने अवस्था भए पनि घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ।‘ प्रश्न उठ्छ- ‘परिस्थितिजन्य कारणहरूको अनुमान गर्न सकिने अवस्था’ भनेको के? कस्तो परिस्थितिजन्य कारण? अहँ मैले त बुझ्नै सकिनँ।

मोलमोलाइ भए पनि आर्थिक लेनदेन नभएको विषयलाई प्रतिवेदनमा पटक पटक उल्लेख गरिएको छ। ग्यारेज सञ्चालकले रकम नदिएका कारणमात्र लेनदेन नभएको हो, मोलमोलाइ नै काफी छैन र?

‘पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिकरूपमा गम्भीर प्रश्न उठेको’ यो पहिलोपटक होइन। समाचारमा मोलमोलाइ भएको पनि यो पहिलोपटक होइन। तर ठोस प्रमाण मिलेको घटना भने यो पहिलो हो। महासंघले यो घटनालाई पत्रकारिता पेशालाई शुद्धिकरण गर्ने प्रस्थान विन्दु बनाउन सक्थ्यो, एउटा केस स्टडी बनाउन सक्थ्यो। तर दुखको कुरा काइते शब्दहरू थुपारेर उसले झन् शंका गर्ने परिस्थिति बनायो।

रह्‍यो कुरा सुरजको। उनले बार्गेनिङ गरेकै हुन्। फरक यत्ति हो कि उनले स्वीकार गर्न सकेनन्। स्टिङ अपरेसनपछि पहिलोपटक फेसबुकमा प्रतिक्रिया दिँदै उनले भनेका थिए- ‘निकट भविष्यका सम्भावनाहरूलाई समेत ध्यानमा राखेर गरिएको घृणित र नियोजित षडयन्त्र हो। फरक प्रसंग/सन्दर्भमा गरिएको कुराकानीलाई नाटकीय मोड दिने गरी आवश्यक प्रबन्ध मिलाइएको छ। अहिलेलाई यति मात्र भनौँ पर्दाहरू बिस्तारै खुल्नेछन् र समयक्रममा सबै प्रष्ट हुनेछ।‘

महासंघको प्रतिवेदनमा पनि उनले आफूलाई बचाउ गरेका छन्। प्रतिवेदनको दुई नम्बर बुँदामा सुरजले ‘समाचारमा आएजस्तो समाचारको बार्गेनिङ भने नगरेको बताएको’ उल्लेख छ। यसको अर्थ हुन्छ कि सुरज अहिले पनि आफ्नो कमजोरी स्वीकार्न तयार छैनन्। माफी माग्नु त परको कुरा।

सुरजले इमेज टिभी छोडिसकेका छन्, महासंघको जिम्मेवारीबाट हटिसकेका छन्। सम्भवतः यही घटनाका कारण उनको पत्रकारिता करिअरमा ब्रेक लागेको छ। भावी दिनमा उनले आफूलाई कसरी अघि बढाउँछन् र आफ्नो कमजोरीको कसरी प्रायश्चित गर्छन्, त्यो उनको व्यक्तिगत कुरा भयो। तर उनका लागि पनि आफूले गरेको कुकर्म स्वीकार्नु र आफ्ना पाठक/दर्शक/स्रोतासँग माफी माग्नु उचित ठहर्छ। त्यसो हुन सक्यो भनेमात्र पत्रकारिताको शुद्धिकरणमा यो घटना एउटा ‘केस स्टडी’ हुन सक्छ। र, सुरजले पनि प्रायश्चितको मौका पाउँछन्। नत्र उनले गल्ती नस्वीकार्ने, छानबिन गर्ने निकायले गल्ती ढाकछोप गर्ने गरी प्रतिवेदन बनाउने हो भने झन् शंका गर्नुबाहेक के नै गर्न सकिन्छ र?

कि यसलाई समान्य ठानेर चुपचाप बस्ने? किनकि पत्रकारले लेखेका समाचारलाई हतियार बनाएर मिडियाहरूले संस्थागत रुपमा गर्ने बार्गिनिङको त चर्चा गर्न बाँकी नै छ। कमेन्ट लेख्नुस् वा info@mediakurakani.com मा इमेल गरेर बहसमा सहभागी हुनुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *