सञ्‍चार मन्त्रालयको वार्षिक कार्ययोजना : पत्रकारलाई एडिएसएलमा छुटदेखि फ्रि वाइफाइसम्म


सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार मन्त्री मोहनबहादर बस्नेतले शुक्रबार मन्त्रालयको आगामी कार्यदिशा तथा कार्यक्रम कार्यान्वयनको ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।

के छ कार्ययोजनामा? पढ्नुस् मुख्य बुँदा

स्पष्ट जिम्मेवारी र समयावधि सहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्न नसक्दा विगतका वर्षमा कतिपय कार्यक्रमहरूको परिणाम सन्तोषजनक नभएको यथार्थलाई ध्यान दिँदै विगतका राम्रा कामको अनुसरण गर्ने र लक्ष्य बमोजिम काम हुन नसकेकोबाट सिक्दै कार्ययोजना बनाइएको मन्त्रालयले सार्वजनिक गरेको ३१ बुँदे कार्ययोजनामा उल्लेख छ।

कार्ययोजनाले जिम्मेवार पदाधिकारीलाई उत्तरदायी बनाउन मद्दत पुग्ने, निर्धारित समयमा कार्य सम्पन्न हुने, समन्वय प्रभावकारी हुने, कार्यान्वयनको अन्योलता हट्ने र नियमित रुपमा हुने अनुगमन र मूल्याङ्कनलाई सहजीकरण भई अपेक्षित नतिजा हासिल गर्न सहयोग पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ। हरेक महिना कार्ययोजनाको समीक्षा हुने उल्लेख छ।

१) आमसञ्चार प्राधिकरण : आमसञ्‍चार क्षेत्रमा आएको प्रविधिगत विकास र स्वतन्त्र प्रेसको अन्तरराष्ट्रिय अभ्यास अनुरुप नेपाली आमसञ्‍चार माध्यम र सेवा प्रदायकहरूको दर्ता, नवीकरण, अनुगमन, सहजीकरणलाई एकीकृत, सर्वसुलभ, झन्झटरहित, पारदर्शी, उत्तरदायी बनाउन तथा विशेषज्ञ सेवा प्रदान गर्न स्वतन्त्र प्रेस रजिस्ट्रारसहितको स्वायत्त र स्वतन्त्र आमसञ्‍चार प्राधिकरण स्थापना र सञ्चालन गर्न सो सम्बन्धी ऐनको मस्यौदा २०७४ कात्तिक सम्ममा तयार गरिने।

२) जेष्ठ पत्रकार वृत्ति कोष : पत्रकारिता क्षेत्रमा लामो समय निरन्तर योगदान गरेका जेष्ठ पत्रकारहरूलाई सम्मान स्वरुप मासिक वृत्ति प्रदान गर्न “पत्रकार वृत्ति कोष” को स्थापनाका लागि आगामी २०७४ मंसिर सम्ममा कार्यविधि तयार गरिने।

३) विज्ञापन सम्बन्धी ऐन : आमसञ्‍चार माध्यम तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण र प्रदर्शन गरिने विज्ञापन र विज्ञापन व्यवसायलाई नियमित, पारदर्शी, व्यवस्थित, जिम्मेवार र उपभोक्ता मैत्री बनाउन विज्ञापन सम्बन्धी ऐनको मस्यौदा आगामी ३ महिना भित्र तर्जुमा गरिने।

४) प्रेस पासका लागि अनलाइन आवेदन : पत्रकारहरूको सुविधालाई ध्यानमा राखी प्रेस पास लिनका लागि अनलाइन माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था यसै आर्थिक वर्षदेखि सुरु गरिने।

५) केबल टिभीलाई एनालगबाट डिजिटल : केबलमा आधारित टेलिभिजन वितरण प्रणालीलाई व्यवस्थित, गुणस्‍तरीय, पारदर्शी बनाइ राजश्‍वमा वृद्धि र ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि एनालग प्रणालीमा संचालित केबल प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने कार्य अगाडि बढाइने।

६) प्रसारण संस्थाहरूको जिआइएस म्यापिङ : मन्त्रालयबाट नेपालभरीकै प्रसारण संस्था (एफएम, टेलिभिजन, केबल टेलिभिजन) हरूलाई वितरण गरिएका अनुमतिपत्र अनुसार प्रसारण संस्थाहरूको अवस्थिति र डिजिटल प्रणालीबाट अभिलेखिकरण गर्न यसै आर्थिक वर्षमा GIS Mapping गरिने।

७) राष्ट्रिय चलचित्र नीति : नेपाली चलचित्र क्षेत्रलाई सृजनशील, सांस्कृतिक एवं मनोरञ्‍जन उद्योगको रुपमा विकास, विस्तार र सम्वर्द्धन गर्न राष्ट्रिय चलचित्र नीति, २०७१ लाई कार्यान्वयनमा लगिने।

८) हुलाक सेवालाई स्वायत्त बनाइने : हुलाक सेवालाई व्यवसायिक र आत्मनिर्भर बनाउन स्वायत्त निकायको रुपमा पुनर्संरचना गर्न २०७४ भाद्र मसान्तसम्म हुलाक सेवा सम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार गरिने।

९) सुरक्षण मुद्रण : नेपालमा सुरक्षण मुद्रणालय स्थापना गरी राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, बैंक नोट, स्मार्ट कार्ड, चेकबुक जस्ता सुरक्षण कागजात नेपालमा नै मुद्रण गर्न सुरक्षण मुद्रणको कार्य अगाडि बढाइने।

१०) नेपाल राजपत्र अब एपमा : मुद्रण विभागबाट प्रकाशित राजपत्रलाई प्रकाशन भएको २४ घण्टा भित्र नै सेवाग्राहीले  वेबसाइट मार्फत हेर्न सक्ने सुविधा प्रदान गर्दै आइरहेकोमा सबैको पहुँच पुग्ने बनाउन नेपाल राजपत्र (Nepal Gazette) मोबाइल एपको २०७४ साल भदौ मसान्तसम्म प्रारम्भ गरिने।

११) पत्रकारितामा छात्रवृत्ति : संविधानको भावना र मर्म अनुरुप समावेशी सिद्धान्तलाई अबलम्वन गर्दै स्नातक तहमा पत्रकारिता विषयमा अध्ययन गर्ने छात्र छात्रा मध्ये महिला, दलित, अपाङ्ग, आदिवासी, जनजाति, मधेसी, मुसलमान, अल्पसंख्यक, सीमान्तकृत विद्यार्थी मध्ये प्रत्येक समूहबाट एक एक जनालाई छात्रवृत्रि प्रदान गरिने।

१२) नेपाल टेलिभिजन संघीय प्रसारणमा : आमसञ्‍चार माध्यममा सबै नेपालीको पहुँच पुर्‍याउन प्रदेश नम्बर १ को इटहरीबाट नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण यसै आर्थिक वर्षदेखि सुरु गरिने।

१३) गोरखापत्र पनि संघीय प्रकाशनमा : गोरखापत्रको क्षेत्रीय प्रकाशन विराटनगरबाट सुरु गर्न भवन निर्माणको कार्य भैरहेकोले यसै आर्थिक वर्षदेखि प्रारम्भ गर्ने गरी कार्य अघि बढाइने।

१४) रेडियो नेपाल संघीय प्रसारणमा : नेपाल सरकारको नीति अनुरुप हरेक प्रदेशका जनताले आफ्नै भाषामा सुसुचित हुने अधिकारलाई कार्यान्वयन गर्नका लागि प्रदेश स्तरबाट १८ घण्टा सोही प्रदेशको स्थानीय भाषामा समेत समाचार र कार्यक्रम २०७५ साल भाद्र १ बाट प्रसारण गर्नका लागि प्रदेश नम्बर २ को महोत्तरी (बर्दिवास) र प्रदेश नम्बर ५ को दाङ (तुल्सीपुरमा) बाट रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय स्थापना र  सञ्‍चालन गरिने।

१५) अप्टिकल फाइबर र सूचना महामार्ग : राष्ट्रिय लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा आगामी २ वर्षभित्रमा मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग तयार पार्ने कार्यको सुरुवात ३ महिनाभित्र गरिने।

१६) दूरसञ्चारमा मर्जर नियमावली : दूरसञ्‍चारको क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धात्मक वातावरण सृजना गरी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप सेवा प्रदायकलाई एक आपसमा गाभिएर सेवा प्रदान गर्न सक्ने व्यवस्थाका लागि गाभिने तथा प्राप्ति (Merger and Acquisition) सम्बन्धी नियमावली ३ महिना भित्र स्वीकृत गराई कार्यान्वयनमा लगिने।

१७) दूरसञ्चार पूर्वाधार कम्पनी : दूरसञ्‍चारको क्षेत्रमा पूर्वाधार विकास तथा विस्तारमा भइरहेको दोहोरो लगानीलाई निरुत्साही गर्न तथा ठूलो मात्रामा भइरहेको दूरसञ्‍चार उपकरणको आयातलाई न्यूनीकरण गर्न स्वतन्त्र पूर्वाधार विकास कम्पनी स्थापना गर्न पूर्वाधार सहप्रयोग नियमावली १ महिनामा ल्याइने।

१८) दूरसञ्चार ऐन परिमार्जन : दूरसञ्‍चार क्षेत्रमा भइरहेको नवीनतम प्रविधिको विकास तथा उपयोगलाई समेट्न तथा दूरसञ्‍चार सेवालाई विविधिकरण, विस्तार तथा नियमित गर्ने र दूरसञ्‍चार सेवा सर्वसुलभ र भरपर्दो बनाउन दूरसञ्‍चार ऐन, २०५३ लाई समय सापेक्ष परिमार्जन गरी ३ महिना भित्र ऐनको मस्यौदा तयार गरिने।

१९) सञ्चारकर्मीलाई एडीएसएलमा छुट : देश विकासमा सञ्‍चारकर्मीहरुको योगदान र आवश्कतालाई ध्‍यानमा राखी सञ्‍चारकर्मीहरूले प्रयोग गर्ने एडिएसएल (ADSL) को महसुलमा ६० प्रतिशत छुट दिने व्यवस्था मिलाइने।

२०) चीनबाट अप्टिकल फाइबर : अन्तरराष्‍ट्रिय व्याडविथको लागि मित्रराष्‍ट्र चीनबाट समेत अप्टिकल फाइबर (Optical Fiber) जडान गरी आगामी कार्तिक मसान्तसम्ममा संचालनमा ल्याइने।

२१) विराटनगरमा आधुनिक सञ्चारग्राम : नेपाली जनतालाई सहज रुपमा सञ्‍चारमा पहुँच, सञ्‍चारकर्मीहरूलाई प्रशिक्षण र पूर्व क्षेत्रको कला साहित्य र संस्कृतिको प्रबर्द्धनका लागि रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगर महानगरपालिकाको सहयोग र सहकार्य तथा नेपाल सरकारको आर्थिक सहयोगमा विराटनगर महानगरपालिका भित्र खारजी चोक स्थित ७ कठ्ठा जग्गामा आधुनिक संचारग्राम निर्माण गर्न बोलपत्र प्राप्‍त भई मूल्यांकन प्रक्रियामा रहेको र २०७६ भदौ १ गते देखि सञ्‍चालनमा ल्याइने।

इन्टरनेट/फ्रि वाइफाइ

२३) सूचना तथा सञ्‍चार मन्त्रालयको परिसर, सिनामंगलस्थित सञ्‍चार ग्राममा सञ्‍चारकर्मीहरूको आवागमन भइरहने र सञ्‍चारकर्मीहरूले इन्टरनेट प्रयोग बढी नै गर्ने गरेको हुँदा सूचना तथा सञ्‍चार मन्त्रालयको परिसर र सिनामंगलस्थित सञ्‍चार ग्राममा केही महिनाभित्र नै फ्रि वाइफाइ (Free WiFi) उपलब्ध गराइने।

२४) त्रिभुवन विश्‍वविद्यालय अन्तर्गतको पद्मकन्या क्याम्पसमा २ वर्षका लागि निःशुल्क Free WiFi (निश्‍चित समयको लागि) आगामी ३ महिनाभित्र प्रदान गरिने।

२५) भूकम्पबाट अतिप्रभावित काठमाण्डौं उपत्यका बाहेकका ११ जिल्लाका नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरू, विद्यालय (माध्यमिक) र स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याइने कार्यको सुरुवात यही भदौ महिनाभित्र गरिने। यस अन्तर्गत २३ नगरपालिका र अन्तर्गतका २८३ वडाहरू, ८५ गाउँपालिका र अन्तर्गतका ६६३ वडाहरू, ५२५ स्वास्‍थ्य सेवा केन्द्रहरू, ८२६ माध्यामिक विद्यालयहरूमा २ वर्षका लागि निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइनेछ।

२६) कर्णाली लगायतका ८ जिल्लाहरु रोल्पा, रुकुम, जाजरकोट, कालिकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुका नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरू, विद्यालय (माध्यमिक) र स्वास्थ्य केन्द्रका १११० स्थानहरुमा इन्टरनेट सेवा पुर्‍याइने। यी स्थानहरूमा उपकरण जडान कार्य २०७४ भदौ मसान्त पश्‍चात सुरु भई २०७५ भदौसम्ममा सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको।

२७) प्रदेश नम्बर २ का ८ जिल्लाहरू सिरहा, सप्‍तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका १२०५ स्थानहरूमा नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरू, विद्यालय (माध्यमिक) र स्वास्थ्य केन्द्रमा अप्टिकल फाइबर नेटवर्क मार्फत इन्टरनेट सेवा पुर्‍याइनेछ। यी स्थानहरूमा उपकरण जडान कार्य २०७४ मंसिर महिनामा सुरु भई २०७५ कार्तिकसम्ममा सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको।

२८) हालसम्म सञ्‍चार सेवा नपुगेको बाजुरा जिल्लाको बाजु र बिच्यामा नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेडको सेवा विस्तार आगामी ३ महिनाभित्रमा गरिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *