अन्‍नपूर्ण पोस्टको सम्पादकमा राजाराम गौतम नियुक्त, प्रधान सम्पादक पद खाली ?


अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकमा पत्रकार राजाराम गौतम नियुक्त भएका छन्। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआइ) को बोर्ड बैठकले गौतमलाई सम्पादक नियुक्त गरेको हो।

अन्नपूर्ण पोस्टका नवनियुक्त सम्पादक गौतमले मिडिया कुराकानीसँग कुरा गर्दै माध्यमहरूको विविधता र सहज उपलब्धताले पत्रिकामा पाठकहरूको आकर्षण घट्दै गएको अहिलेको परिवेशमा पाठकमा अभिरुची जाग्ने सामग्री पस्किने आफ्नो प्रयास हुने गौतमले बताए।

‘पाठकलाई सूचनाका स्रोत धेरै छन्, माध्यमहरूमा पनि विविधता छ, त्यसैले पत्रिकामा पाठकको आकर्षण घटेको छ’, गौतमले भने, ‘नयाँ नयाँ सूचना र ज्ञान दिन सक्यौँ भने पाठकको अभिरुची जगाउन सकिन्छ। त्यसैमा मेरो ध्यान हुन्छ।‘

पत्रकार युवराज घिमिरेले गत शुक्रबार प्रधान सम्पादक पदबाट राजीनामा दिएका थिए। आइतबारसम्म अन्नपूर्ण पोस्टको प्रिन्टलाइनमा घिमिरेकै नाम थियो। सोमबारदेखि प्रिन्टलाइनबाट घिमिरेको नाम हट्ने छ। तत्कालका लागि अन्नपूर्ण पोस्टमा प्रधान सम्पादक पद खाली हुने देखिएको छ।

बजारका चल्तीका सम्पादकहरू प्रधान सम्पादकका रुपमा आउने चर्चाका बीच अन्नपूर्ण व्यवस्थापनले गौतमलाई सम्पादकीय जिम्मेवारी सुम्पेको हो।

सम्पादक गौतमलाई स्वागत गर्दै थ्रीएनआइका अध्यक्ष क्याप्टेन रामेश्वर थापा। फोटोः AnnapurnaPost.com

को हुन् गौतम?

भारतको इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट समाजशास्त्रमा स्नातकोत्तर ४१ वर्षीय गौतम दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनले पत्रकारितासँग सम्बन्धित अन्तर्राष्ट्रिय सेमिनारहरूमा भाग लिएका छन्।

गौतम अन्नपूर्ण मिडिया नेटवर्ककै ‘अन्‍नपूर्ण टुडे’ साप्ताहिकको सम्पाद पनि हुन्। उनलाई अन्नपूर्ण पोस्टको सम्पादक नियुक्त गरिएपछि अब ‘अन्नपूर्ण टुडे’ म्यागेजिनले पनि नयाँ सम्पादक पाउने निश्चित छ।

यसअघि उनी यही संस्थाको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाअर्जको स्टेसन प्रमुख थिए। गौतम राजनीति, सुशासन र विकासका मुद्दामा विशेष दख्खल राख्छन्।

सम्पादक गौतमलाई स्वागत गर्दै नायव सम्पादक मनोज दाहाल। फोटोः AnnapurnaPost.com

राजधानी काठमाडौंमै जन्मे हुर्केका गौतमले २०५१ सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए। त्यसपछि जनआस्था, काठमाडौं टुडे (म्यागेजिन), पत्रिका सात दिने (ट्याब्लोइड) मा काम गरेका गौतम २०५७ सालमा कान्तिपुर पब्लिकेसनमा काम थालेका थिए।

‘नेपाल’ म्यागेजिनमा सम्वाददाताका रुपमा काम थालेका उनी पछि त्यसैको न्युज कोअर्डिनेटर पनि भए। २०६३ सम्म उनी ‘नेपाल’ मा रहे। त्यसपछि कान्तिपुर दैनिकमा रिपोर्टिङ थालेका उनी पछि कान्तिपुरकै राजनीतिक ब्युरो प्रमुख पनि भए। साढे ७ वर्ष कान्तिपुर दैनिकमा काम गरेका उनी पछिल्लो पटक ‘अपएड इडिटर’ थिए।

उनी साढे दुई वर्षअघि कान्तिपुर छोडेर अन्नपूर्ण मिडियामा आबद्ध भएका थिए।

‘सम्पादकीय नेतृत्वमा युवा’

आइतबार कर्पोरेट टावर, तीनकुनेमा अन्नपूर्ण पोस्ट्का नायब सम्पादक मनोज दाहालले नव नियुक्त सम्पादक गौतमलाई स्वागत गरे।

कार्यक्रममा अन्नपूर्ण पोस्टको प्रकाशन संस्था थ्रीएनआइका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ‘गौतमलाई सम्पादक नियुक्त गरेर नयाँ पुस्तालाई सम्पादक बन्ने ढोका खुला गरेको’ बताएको अन्नपूर्ण पोस्ट डट कमले लेखेको छ। ‘तपाईंहरु सबै युवा पत्रकार हुनुहुन्छ। यो निर्णयबाट युवा पत्रकारका लागि सम्पादक बन्ने ढोका खुलेको महसुस गरेको छु’, अध्यक्ष थापाले भने।

स्वागत कार्यक्रमममा बोल्दै सम्पादक गौतम। फोटोः AnnapurnaPost.com

युवा पुस्तालाई सम्पादकीय नेतृत्वमा पुर्‍याएर अन्नपूर्ण ग्रुपले चुनौती लिएको थापाले बताए। ‘नेपालमा युवा पुस्ताको सम्पादकीय नेतृत्व थिएन, हामीले एउटा चुनौती लिएर जिम्मेवारी सुम्पिने निर्णय गर्‍यौँ’, अध्यक्ष थापाले भने, ‘तपाईंहरूको पूर्ण सहयोग चाहिन्छ, त्यसपछि मात्र अन्नपूर्ण मिडिया ग्रुपको जेठो सदस्य अन्नपूर्ण पोस्ट्लाई सफल रुपमा लान सक्नु हुनेछ।’

तीन वर्ष प्रधान सम्पादकको जिम्मेवारीमा रहेर गत शुक्रबार राजीनामा गरेका युवराज घिमिरेको प्रसंसा गर्दै थापाले भने- ‘युवराज घिमिरे नेपालको गहना हुनुहुन्छ। युवराज घिमिरे लाखौँ होलान्। तर, उहाँ चाहिँ पृथक युवराज घिमिरे, सम्पादक युवराज घिमिरे हो। उहाँले आफूलाई दक्षिण एसियामै उत्कृष्ट पत्रकारका रुपमा स्थापित गर्नुभयो। उहाँले कहिल्यै पनि आफूलाई माथिल्लो सम्पादक बनाउन चाहनु भएन, सधै रिपोर्टर नै भएर हिँड्न चाहनु हुन्थ्यो। उहाँलाई फलो गर्‍यौँ भने त्यो हाम्रा लागि सफलताको बाटो बन्न सक्छ।‘

अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट दैनिकसँगै एपी वान टेलिभिजन, रेडियो अन्नपूर्ण नेपाल, अन्नपूर्ण पोस्ट डटकम, अंग्रेजी न्यूजपोर्टल अन्नानोट डटकम, अन्नपूर्ण टुडे साप्ताहिक प्रकाशन/प्रसारणमा छन्।

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *