अन्‍नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेद्वारा राजीनामा


अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेले राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएको मिडिया कुराकानीलाई बताए।

‘आज राजीनामा दिएँ’, घिमिरेले भने, ‘अहिले यत्ति भन्न सक्छु कि- मैले साथीहरूलाई भनेँ- तीन वर्षसम्म तपाईँहरूसँग काम गरेँ, सहयोग पाएँ, गरेका कामहरूमा टिम वर्कका कारण सफलता पनि पायौँ, इमान्दारितासाथ काम गर्‍यौँ’, घिमिरेले भने।

घिमिरेले ‘दुई तीन वर्ष एकै ठाउँमा रहँदा समान्यतया जोशजाँगर हराउने’ भएकोले बाहिर रहन चाहेको बताए।

सम्पादकभन्दा अन्य भूमिकामा टिमसँग सम्पर्कमा रहने आफूले बताएको उनले जानकारी दिए।

घिमिरेले भारतको पत्रिका इन्डियन एक्सप्रेसमा नियमित स्तम्भ लेख्ने बाहेक तत्काल आफूसँग केही योजना नभएको मिडिया कुराकानीलाई बताए।

घिमिरे तीन वर्षअघि (२०७१ असार १७ गते) अन्नपूर्ण पोस्टको प्रधान सम्पादक नियुक्त भएका थिए।

घिमिरे इन्डियन एक्सप्रेसका नियमित स्तम्भकार हुन्। उनी यसअघि सेतोपाटी डट कमका स्तम्भकार थिए।

बेलायत र भारतका मिडियामा करिब दुई दशक बिताएका उनी २०५७ सालमा कान्तिपुर दैनिकको सम्पादकको रुपमा नेपाली पत्रकारितामा प्रवेश गरेका थिए। कान्तिपुरमा आउनुअघि उनी बीबीसी नेपाली सेवा लन्डनमा कार्यरत थिए।

द काठमाडौं पोस्ट अंग्रेजी दैनिक, समय साप्ताहिक, न्युज फ्रन्ट, नागरिक दैनिक, राजधानी दैनिक, द रिपोर्टर लगायत पत्रिकाका उनी सम्पादक थिए।

उनले भारतका टेलिग्राफ दैनिक, इन्डिया टुडे, आउटलुक लगायत पत्रिकामा काम गरेका छन्।

5 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *