समाचारमा बार्गेनिङ : तैँ चुप मै चुप !



समाचारमा मोलमोलाइको विषयलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत सरोकारवाला निकाय र व्यक्तिहरूले गम्भीरताका साथ लिइदिएको भए सम्भवतः पत्रकार टेकनारायण भट्टराईले ट्‍विटरमा यस्तो मनोवाद लेख्नु पर्दैनथ्यो। तर हाम्रो पेशागत जीवनलाई मर्यादित बनाउन, हामीलाई जिम्मेवार बनाउन र खबरदारी गर्न गठन भएका संगठन/संरचनाहरू कतिसम्म बेकामे भैसकेका छन् भन्ने हालैको यो घटनापछिको मौनताले प्रष्ट पारेको छ।

पत्रकार, पत्रकारिता र मिडियासँग सम्बन्धित ससाना विषयमा पनि बोल्ने नेपाल पत्रकार महासंघ आफ्नै केन्द्रीय सदस्य समेत रहेका पत्रकार सुरज आचार्यले एक व्यवसायीसँग समाचारमा मोलमोलाइ गरेको विषयमा भने मौन बस्यो। प्रेस काउन्सिल नेपालको त कुरै नगरौँ जहाँ साढेँहरूको जुधाई छ। सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लंघन गर्ने, बिना स्रोतका समाचार लेखेर जो कसैको छवि र जीवन ध्वस्त गर्ने हैसियत राख्नेहरूको कब्जामा रहेको प्रेस काउन्सिलले पत्रकारलाई आचारसंहितामा राख्न सक्ने कुरै भएन।

कुरा सुरज आचार्यको होइन, पत्रकारितामा रहेको गलत प्रवृत्तिको हो। मिडियाहरूमा संस्थागत रुपमा करौडौँका डिल भएको चर्चा सुनिन्छ, हालै सार्वजनिक भएको स्टिङ अपरेसनले त्यस प्रकारको डिल खुलमखुल्ला देखाएर हाम्रो आँखा खोलिदिएको मात्र हो।

समाचार पोर्टल डीसीनेपाल डट कमले स्टिङ अपरेसन गरी समाचारमा भएको बार्गेनिङबारे असार २८ गते विस्तृत कभरेज गरेको थियो। उक्त कभरेजबाट के थाहा हुन्छ भने काठमाडौंको चाबहिलमा रहेको एउटा वर्कशपका सञ्चालकसँग पत्रकार आचार्यले पटक पटक पैसा मागेका छन्, नत्र उनको व्यवसायसँग जोडिएको समाचार (प्रशारण गर्न) आफूले रोक्न नसक्ने भन्दै त्रास देखाएका छन्। पटक पटकको छलफलपछि एक लाख रुपैयाँमा डिल भएको देखिन्छ।

एउटा पत्रकारले अर्को पत्रकारलाई स्टिङ अपरेसन गरी समाचारमा भएको मोलमोलाइ सप्रमाण खुलासा गरेको नेपालमा सम्भवतः यो पहिलोपटक हो।

फेसबुकमा प्रतिक्रिया

उक्त घटनामा कतिपयले आफ्नो पनि नाम जोडेको भन्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले फेसबुकमार्फत आफ्नो स्पष्टीकरण दिए पनि महासंघका तर्फबाट औपचारिक विज्ञप्ति वा धारणा भने आएन।

मानिसहरूले महासंघ अध्यक्ष डा. विष्टलाई सोसल मिडियामा मेन्सन गर्नुका पछाडि दुईवटा कारण थिए। पहिलो, उनी पत्रकारहरूको ‘छाता संगठन’ नेपाल पत्रकार महासंघका अध्यक्ष हुन्। त्यसैले मानिसहरूले उनीबाट घटनाबारे स्पष्ट जवाफको अपेक्षा गर्नु स्वभाविक नै थियो। दोस्रो, डा. विष्ट इमेज टेलिभिजनका सम्पादक समेत हन् जहाँ समाचारमा मोलमोलाइ गर्ने आचार्य पनि काम गर्थे। स्टिङ अपरेसनमा आचार्यले पटक पटक ‘टिम’ र ‘सम्पादक’ भनिदिएकाले मानिसहरूले शंकाकै भरमा विष्टलाई पनि विवादमा तानेका थिए। जुन स्वभाविक नभए पनि टेलिभिजनको सम्पादकको हिसाबले विष्टले वा टेलिभिजन स्वयंले चित्त बुझ्दो गरी जवाफ दिनुपर्ने विषय भने थियो। तर यी दुबै काम भएनन्।

समयले लगाएको घाऊ

स्टिङ अपरेसन सार्वजनिक भएपछि पत्रकार आचार्यले घटनाको छानबिनमा सघाउन आफू कार्यरत इमेज टेलिभिजन र नेपाल पत्रकार महासंघबाट अलग भएको घोषणा गरेका छन्। यद्यपि उनले स्टिङ अपरेसनलाई ‘घृणित र नियोजित षड्यन्त्र’ भनेका छन्। ‘समयले लगाएको घाऊ समयले नै पुर्ने’ आशा गर्दै उनले फेसबुकमा लेखेका छन्-

तत्कालीन केएटिएच एफएम हालको ईमेज एफएमबाट २०५८ सालमा पत्रकारिता सुरु गरेयता आजको मितिसम्म मबाट पत्रकारिताको धर्म, यसको सीमा र मर्यादा भन्दा बाहिर रहेर कहिल्यै कुनै काम भएन र हुने छैन। जहाँसम्म बार्गेनिङको विषय छ, निकट भविष्यका सम्भावनाहरूलाई समेत ध्यानमा राखेर गरिएको घृणित र नियोजित षडयन्त्र हो। फरक प्रसंग/सन्दर्भमा गरिएको कुराकानीलाई नाटकीय मोड दिने गरी आवश्यक प्रबन्ध मिलाइएको छ। अहिलेलाई यति मात्र भनौँ पर्दाहरू बिस्तारै खुल्नेछन् र समयक्रममा सबै प्रष्ट हुनेछ। म यसबारे सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्दछु। सम्पूर्ण घटनाक्रमको छानबिन नभएसम्मका लागि नैतिक रुपमा म संलग्न सञ्चार संस्था र नेपाल पत्रकार महासंघको जिम्मेवारीबाट अलग रहने जानकारी गराउँछु। यसबीच सामाजिक सञ्जालमा प्रतिक्रिया दिने, टिप्पणी गर्ने र गम्भीर चासो देखाउने सबैमा हार्दिक धन्यवाद छ। विभिन्न माध्यमबाट धैर्यता र परिस्थितिको सामना गर्न प्रेरित गर्नुहुने सबै अग्रज, आफन्तजन, मित्र र शुभेच्छुकहरूमा हार्दिक धन्यवाद। आशा र विश्वास छ- समयले लगाएको घाऊ समयले नै पुर्नेछ।

आचार्यको फेसबुक स्ट्याटसमा कमेन्ट गर्दै धेरैले उनले भनेजस्तै यो षड्यन्त्र नै साबित होस् भनेर शुभेक्षा प्रकट गरेका छन्।

महासंघका तर्फबाट औपचारिक धारणा नआए पनि अध्यक्ष डा. विष्टले फेसबुकमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले समाचारमा मोलमोलाइ भएको विषयमा पत्रकार महासंघ, इमेज च्यानल र व्यक्तिगत रुपमा आफू गम्भीर र संवेदनशील रहेको जनाएका छन्। उक्त घटनाको ‘सबै पहलु खुल्ने गरी आवश्यक अध्ययन थालिसकिएको’ उल्लेख गर्दै उनले भनेका छन्- ‘चिज के हो जानकारीमा आउने नै छ।‘

यद्यपि उनले सोसल मिडियामा आएका विषयहरूको गम्भीरतामाथि प्रश्न उठाएका छन्। ‘सामाजिक सञ्जालमा आदत डाल्ने र त्यसमा आउने सबै विषयलाई गम्भीरतापूर्वक लिने हो भने कुनै पनि मान्छेको के हालत हुन्छ धेरैलाई थाहै छ’, उनले लेखेका छन्।

डीसी नेपालले स्टिङ अपरेसनको विषयमा विस्तृत विवरण नखुलाई सैद्धान्तिक विषयमा कुरा गरेर बिना अनुमति आफूलाई उद्‍धृत गरेको पनि उनले आरोप लगाएका छन्। ‘पत्रकारले समाचारको विषयवस्तुलाई लिएर सौदाबाजी गर्नु अपराध हुने’ अध्यक्ष डा. बिष्टले बताएको डीसी नेपालको उक्त समाचारमा उल्लेख छ। विषयको विस्तृत विवरण नखुलाई सैद्धान्तिक विषयमा कुरा गरेर आफूलाई ‘कोट’ गरिएको उनको आरोप छ।

कार्टुन सौजन्यः वाशु क्षितिज

समाचारमा कतिपयले आफूलाई समेत मुछेर तुच्छ शब्द प्रयोग गरी टिप्पणी गरेकोमा दुःख लागेको उनले उल्लेख गरेका छन्। नेपाली मिडियाको बास्तविकता आफूले राम्रोसँग बुझेको भन्दै अध्यक्ष डा. विष्टले हालै आफ्नो पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता’ विमोचनको प्रसंग उठाएका छन्।

‘एकसाता अघि मात्र मेरो पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष पूर्व प्रधान न्यायाधीश अनुपराज शर्माले मिडिया ट्रायलको अनि प्रधानमन्त्री र अरु वक्ताले मिडियाको विश्वसनीयताको प्रश्न उठाउनु भएको थियो’, उनले फेसबुकमा लेखेका छन्, ‘म मिडियाको प्रतिरक्षा गर्ने जिम्मेवारीमा छु, तर हाम्रा मिडियाको वास्तविकता पनि मैले राम्रैसँग बुझेको छु।‘

महासंघ अध्यक्ष विष्टको फेसबुक स्ट्याटस

आमाको स्वास्थ्यमा खरावी आएको कारण विगत १२ दिनदेखि अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचारमा ब्यस्त हुनुपरेको कारण सामाजिक सञ्जालमा त्यति अपडेट हुन र तत्काल प्रतिक्रिया जनाउन पाइरहेको छैन। उसो त सामाजिक सञ्जालमा आदत डाल्ने र त्यसमा आउने सबै विषयलाई गम्भीरतापूर्वक लिने हो भने कुनै पनि मान्छेको के हालत हुन्छ धेरैलाई थाहै छ। यद्यपि हिजोदेखि पत्रकार मित्र सुरज आचार्यको विषयमा समाचार बनेको, समाचारको विस्तृत विवरण नखुलाई सैद्धान्तिक विषयमा कुरा गरेर बिना अनुमति मलाई नै कोट गरेको, हिजै राती उहाँले समाचारको सत्यतामाथि चुनौती दिँदै छानवीनको माग गरेको र छानवीन टुंगो नलागेसम्म महासंघ, इमेज लगायत कार्यरत सबै ठाउँबाट स्वनिलम्बनको घोषणा गरेको पनि देखेँ। साथै त्यही समाचारमा कतिपयले त मलाई समेत मुछेर तुच्छ शब्द प्रयोग गरी टिप्पणी गरेको पनि पाएँ। बहुत दुःख लागेको छ। त्यसमा कसैले विश्वास गर्छ वा मलाई त्यो हदसम्म शंकाको दायरामा राख्छ भने म के भनौं !! एकसाता अघि मात्र मेरो पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष पूर्व प्रधान न्यायाधीश अनुपराज शर्माले मिडिया ट्रायलको अनि प्रधानमन्त्री र अरु वक्ताले मिडियाको विश्वसनीयताको प्रश्न उठाउनु भएको थियो। म मिडियाको प्रतिरक्षा गर्ने जिम्मेवारीमा छु, तर हाम्रा मिडियाको वास्तविकता पनि मैले राम्रैसँग बुझेको छु। यद्यपि मूल विषयमा महासंघ, इमेज च्यानल र व्यक्तिगतरुपमा म आफै पनि गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दछु। त्यसका सबै पहलु खुल्ने गरी आवश्यक अध्ययन थालिसकिएको छ। चिज के हो जानकारीमा आउने नै छ।

महासंघको मौनता

आफू निर्दोष रहेको दावीसहित सुरजले लेखेको स्ट्याटस र आफूलाई विषयको विस्तृत विवरण नै नदिई उद्‍धृत गरिएको भन्ने महासंघ अध्यक्ष डा. विष्टको प्रतिक्रियापछि स्टिङ अपरेसन गर्ने पोर्टलका पत्रकारहरू टेकनारायण भट्टराई र दामोदर नेपालले एउटा ब्लग लेखेका छन्- पत्रकार महासंघको मौनता र अध्यक्षको फेरिएको ‘कोट’ शीर्षकमा।

‘हाम्रा अभिभावक (महासंघ अध्यक्ष) पात्र केन्द्रित नभएर प्रवृत्ति केन्द्रित हुनेमा विश्वास कायमै छ। तर प्रश्नहरू अब हाम्रो बसमा मात्रै छैनन, सार्वजनिक भैसकेका छन्। जवाफ हजारौं संचारकर्मीले पर्खिरहेका छन्’, ब्लगमा उल्लेख छ, ‘….नेपाली पत्रकारिता इतिहासको यो दुर्लभ क्षणले अध्यक्षबाट फराकिलो हृदयसहितको पहलको माग गरिरहेको छ।‘

कुरा सुरजको होइन। उनी त एक पात्रमात्र हुन्। उनी हाम्रा सहकर्मी हुन्, मित्र हुन्, नेता हुन्। उनीप्रति सहानुभूति छ। कुरा पत्रकारिताको विश्वसनीयताको हो। पेशागत नैतिकता र मर्यादाको हो। हामीलाई समाजले हेर्ने दृष्टिकोणको हो। हामी को हौँ र के गरिरहेका छौँ भन्ने हो।

के हामी नेपाली पत्रकारितामा रहेको यो गलत प्रवृत्तिको बारेमा खुलेर कुरा गर्छौँ? नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालजस्ता संस्थाहरू प्रोएक्टिभ बनेर काम गर्छन्? हाम्रा मिडिया हाउस र सम्पादकहरू सम्वेदनशील बन्छन् कि एउटा पत्रकार किन समाचार बोकेर पैसाको बार्गेनिङमा लाग्छ? अनि पत्रकारले लेखेका समाचार छापेर वा नछापेर (किल गरेर) बार्गेनिङ गर्ने सम्पादक र मिडिया सञ्चालकहरूको बारेमा हामी पत्रकार बोल्न थाल्छौँ? कि हामी यसलाई सामान्य मानेर यसरी नै मौन बसिदिन्छौँ?

नत्र पत्रकारमाथि स्टिङ अपरेसन गर्ने पत्रकार भट्टराईले ट्विटर मनोवादमा भनेजस्तै पत्रकारितामा घुस लिनु वैध ठहर हुनेछ। मिडियामा बार्गेनिङ स्वीकार्य हुनेछ, जनअनुमोदित हुनेछ। केही व्यक्तिले गरेको गलत कामले सिंगो पेशालाई नै बदनाम बनाउने छ। र, धेरै मिडियाकर्मी/पत्रकारहरूले शिर ठाडो पार्न सक्ने छैनन्।

तैँ चुप मै चुप नगरौँ ! बेलैमा बोलौँ ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *