महाधिवेशन सार्ने निर्णयले पत्रकार महासंघमा भाँडभैलो


यही असार २२ र २३ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको महाधिवेशन भदौ पहिलो साता सारिएपछि महासंघभित्र विवाद देखिएको छ। महासंघको भावी अध्यक्षको उम्मेदवारका रुपमा पत्रकारहरूमाझ चर्चा हुने गरेका पूर्व महासचिव एवं वर्तमान सल्लाहकार पोषण केसीले महासंघको वर्तमान नेतृत्व अवैधानिक भएकोले यसले पछिल्ला दिनमा गरेका कुनै पनि निर्णय नमान्ने घोषणा गरेका छन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षसमेत रहेका नेपाल पत्रकार महासंघका पूर्व महासचिव एवं वर्तमान सल्लाहकार पोषण केसीले विज्ञप्ति निकालेर ‘तोकिएको समयमा महाधिवेशन नगरेर विधान विपरीत कार्यकाल बढाउने अवैधानिक निर्णय गरेको’ आरोप लगाएका छन्। उनले महासंघको नेतृत्व ‘इतिहासकै सर्वाधिक विवादित र आलोचित बनेको’ टिप्पणी गरेका छन्।

नेपाल पत्रकार महासंघको असार ८ गते बसेको सचिवालय बैठकले असार २२ र २३ गते हुने भनिएको महाधिवेशन डेढ महिनापछि सारेर भदौ ४ र ५ गते गर्ने निर्णय गरेको थियो।

नेपाल पत्रकार महासंघबारेका सामग्रीहरूः

पत्रकार महासंघले ‘केन्द्रीय सभासदसमेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार संकलन र सम्प्रेषणमा अधिक व्यस्त हुनुपर्ने भएकोले महाधिवेशनमा सहभागी हुन सम्भव नभएकोले मिति सार्न जिल्ला जिल्लाबाट अनुरोध भएकोले’ महाधिवेशन सार्नुपरेको जनाएको थियो। हुन पनि हो पत्रकारहरूलाई भ्याइनभ्याइ देखिन्छ। कोही चुनावी रिपोर्टिङमा व्यस्त छन्, कोही भोट हाल्न हिँडेका छन्, कोही भोट माग्दिन हिँडेका छन् त केही त उम्मेदवार बनेर भोट माग्दै पनि हिँडेका छन्। पत्रकारहरूले महाधिवेशन सार्ने निर्णयको स्वागत पनि गरेका थिए।

‘परिस्थितिजन्य बाध्यता र सहभागीको सहजताको निम्ति आवश्यकताको सिद्धान्तको आधारमा’ निर्वाचन सारेको महासंघको भनाई थियो।

पत्रकार मातृका पौडेलको टिप्पणी

पत्रकारहरूमाझ महासंघको भावी अध्यक्षको उम्मेदवारका रुपमा चर्चा हुने गरेका पोषण केसीले महाधिवेशनको मिति सार्ने महासंघको निर्णयको सार्वजनिक रुपमा विरोध गर्दै भनेका छन्- ‘तोकिएको समयमा महाधिवेशन नगरी विधान विपरीत आफ्नो कार्यकाल बढाउने अवैधानिक निर्णय गरेको देख्दा उदेक लागेको छ।’

केसीले महासंघको वर्तमान कार्यसमितिको कार्यकाल समाप्त भएको मिति बैशाख २० गतेपछि भएका निर्णयहरूमा आफ्नो सहमति नरहेको पनि जनाएका छन्। ‘विधान विपरीत विभिन्न बहानामा पटक पटक महाधिवेशन तिथि सार्दै आफ्नो कार्यकाल लम्ब्याउने निर्णय प्रति असहमति जनाउँदै वर्तमान कार्य समितिको वैधानिकता समाप्त भएको गत बैशाख २० गते (May 3rd) पछि भएका हरेक निर्णयमा आफ्नो सहमति नभएको जानकारी गराउँदछु’, उनले भनेका छन्।

उनले २०७३ चैतमा नगरकोटमा सम्पन्न महासंघको अन्तिम बैठकले गठन गरेको केन्द्रीय निर्वाचन समितिलाई यथासक्य चाडो आसन्न २५ औँ महाधिवेशन सम्पन्न गर्न जिम्मा दिई विधानतः आफ्नो कार्यकाल समाप्त भएको स्वतः घोषणा गर्न महासंघको नेतृत्वलाई आग्रह गरेका छन्।महासंघले महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेको थियो।

महासंघका एक जना पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारले महासंघको बैठकमा सहभागी नहुने औपचारिक घोषणा गर्नु र निर्वाचित केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले असहमित जनाउँदै राजीनामा गर्नु महासंघका अनुचित र अशोभनीय क्रियाकलापका प्रमाण भएको केसीले उल्लेख गरेका छन्।

महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले महासंघको बैठकमा सहभागी नहुने घोषणा गरेका थिए भने महासंघका केन्द्रीय सदस्य कुवँरले पत्रकार महासंघको नेतृत्व अपारदर्शी भएको भन्दै  २०७३ चैत २० गते राजीनामा दिएका थिए।

पढ्नुस् केसीको विज्ञप्तिः

आफू अनुकूल सदस्यता वितरण लगायत शाखा अधिवेशनहरूमा सदस्यता प्राप्त पत्रकारहरूलाई समेत अधिवेशबाट वञ्चित गराउने जस्ता अशोभनीय कार्यबाट महासंघकै इतिहासमा सर्वाधिक विवादित र आलोचित बन्न पुगेको वर्तमान नेतृत्वले विभिन्न बहाना देखाएर तोकिएको समयमा महाधिवेशन नगरी विधान विपरीत आफ्नो कार्यकाल बढाउने अवैधानिक निर्णय गरेको देख्दा उदेक लागेको छ।

महासंघको संघर्षपूर्ण गौरवमय इतिहासको स्थापित मान्यता र परम्पराका साथै ३ वर्ष भित्र महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतालाई समेत लत्याउँदै वर्तमान नेतृत्वले गरेको गैर जिम्मेवारीपूर्ण र गलत निर्णयलाइ कदापी उचित मान्न सकिँदैन। यी र यस्तै अनुचित र अशोभनीय क्रियाकलापका कारण महासंघका एक जना पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारले समेत महासंघको गरिमा र मर्यादालाई कायम राख्दै महासंघको बैठकमा सहभागी नहुने औपचारिक घोषणा गर्नु र एक जना निर्वाचित केन्द्रीय सदस्य (दीपेन्द्र कुँवर) ले पनि सोही विषयमा असहमित जनाउँदै राजीनामा गर्नु यिनका यथेष्ट प्रमाण हुन्।

पूर्व महासचिव तथा वर्तमान सल्लाहकारको हैसियतले मैले पनि महासंघको गरिमा र मर्यादालाई ख्याल गर्दै आज दु:खका साथ भन्नु परेको छ, विधिको शासनका लागि लडेका हामी पत्रकारहरूले विधि र विधान विपरीत हुने यस्ता अनुचित कार्यको साक्षी भएर बस्न सकिँदैन। तसर्थ विधान विपरित विभिन्न बहानामा पटक पटक महाधिवेशन तिथि सार्दै आफ्नो कार्यकाल लम्ब्याउने निर्णय प्रति असहमति जनाउदै वर्तमान कार्य समितिको वैधानिकता समाप्त भएको गत वैशाख २० गते (May 3rd) पछि भएका हरेक निर्णयमा आफ्नो सहमति नभएको जानकारी गराउँदछु। साथै वर्तमान कार्य समितिको वैधानिकता भित्रै गत २०७३ चैतमा नगरकोटमा सम्पन्न महासंघको अन्तिम बैठकले गठन गरेको केन्द्रीय निर्वाचन समितिलाई यथासक्य चाडो आसन्न पच्चिसौ महाधिवेशन सम्पन्न गर्न जिम्मा दिई विधानतः आफ्नो कार्यकाल समाप्त भएको स्वतः घोषणा गरी पदलोलुपता प्रदर्शन नगर्न पनि सल्लाहकारको रुपमा वर्तमान नेतृत्वलाई आग्रह गर्दछु।

पोषण के.सी.
पूर्व महासचिव तथा सल्लाहकार
केन्द्रीय समिति

कमेन्ट बक्समा आफ्नो विचार व्यक्त गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *