पत्रकार महासंघ कहिलेसम्म दुईटा मुख र एउटा पेट बोकेर हिँड्ने?


  • दीपेन्द्र कुँवर-

२०७२, चैतको अन्तिम हप्ता सञ्चार मन्त्रालयले गरेको छलफलमा एकजना मिडिया मालिकले पत्रकार महासंघका पदाधिकारीलाई लक्षित गर्दै भने–‘पत्रकार भन्दा पनि हामी एउटै बास्केटमा र सञ्चालक भन्दा पनि एउटै हामी बास्केटमा छौं।’ उनको कुरा प्रष्ट थियो– हामी मात्रै होइन, तिमीहरु पनि मिडिया मालिक हौ।’ र, पत्रकारलाई मिडिया मालिक पुष्टि गर्ने तर्क सहित उनले थपे– हामी यहाँ आएका मध्ये एकाध साथीहरु बाहेक सबै सञ्चालक छौं, यो वा त्यो रुपमा। या त हाम्रो प्रोडक्सन हाउस छ, या साप्ताहिक पत्रिका या अनलाइन। त्यसकारण हामी एउटै बास्केटमा छौं।’

त्यो छलफलमा मैले हामी पत्रकार र मिडिया सञ्चालक ‘एउटै हौं’ भन्ने उनको कुरा ‘फन्डामेन्टली’ गलत छ भनेर प्रतिवाद गरेको थिएँ। त्यो बाहेक यो विषयमा खासै छलफल भएन र त्यो दिन छलफलको खास मुद्दा यो थिएन पनि। तर जुन व्यक्तिले त्यो भनेका थिए उनी एउटा चल्तापूर्जा संचार माध्यमको सञ्चालक, पत्रकार महासंघको विधानले मानेको पत्रकार र पत्रकार महासंघको सभाषद् पनि हुन। त्यसैले उनले उठाएको विषय निकै गम्भीर छ। किनकि उनले नेपाल पत्रकार महासंघको पहिचान र यसको वर्ग प्रतिनिधित्वका बारेमा सीधा प्रश्न उठाएका छन। पत्रकार महासंघ के हो? यसले कसको प्रतिनिधित्व गर्छ? भन्ने कुरा उनले उठाएका विषयमा निहित छ। यो वा त्यो रुपमा उनले पत्रकार महासंघमा आफ्नो हक दावी गरेका छन्।

भनिन्छ, आफूलाई चिन्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। आफूलाई चिन्नुको अर्थ कहीँ न कहीँ आफ्नो क्षमता र जिम्मेवारीबारे थाहा पाउनु हो। प्रश्न उठ्न सक्छ, एउटा पत्रकार र त्यसको छाता संगठनको केन्द्रीय सदस्यका रुपमा यो विषय उठाउनुको के अर्थ छ? नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा दुई वर्ष बसेर हेर्दा र त्यो भन्दा बाहिर बसेर हेर्दा पनि यसको अर्थ छ र अर्थ खोजिनुपर्छ भन्ने मलाई लाग्छ। किनकि ती मिडिया सञ्चालकले हामीलाई प्रश्न त्यतिकै गरेका होइनन्। उनले पत्रकार महासंघको नेतृत्व चुन्ने क्रममा भोट हालेका छन, त्यसकारण त्यो भन्ने अधिकार उनी राख्दछन पनि। किनकि उनी नेपाल पत्रकार महासंघको सदस्य हुन र नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व उनको पनि प्रतिनिधित्व गर्छ। के गाँठी कुरो यही हो त? हुनै पर्ने यही हो त?

पत्रकार महासंघमा दुई वर्ष बसेर हेर्दा मलाई सबैभन्दा खड्केको विषय र मनमा उठेको प्रश्न यही हो–म कसको प्रतिनिधि हुँ? सञ्चार मन्त्रालयमा हामीलाई तिमीहरु पनि मालिक हौ भन्ने ती पत्रकार– मिडिया मालिकको कि कुनै सञ्चार माध्यममा कम्तीमा आठ घण्टा जोतिएर बल्ल तल्ल मालिकले चाहेका बेला ज्याला थाप्ने श्रमजीवी पत्रकारको? म एकजना व्यक्तिले भन्न सजिलो छ र रेडिमेड जवाफ दिन पनि सकिन्छ–म श्रमजीवी पत्रकारको प्रतिनिधि हुँ र पत्रकार महासंघ श्रमजीवी पत्रकारको संस्था हो।

तर विधि, विधान र व्यवहारले हामीलाई त्यो भन्ने छुट दिन्न। उनी जस्तै धेरै मान्छेहरु पत्रकार र मिडिया सञ्चालक दुवै छन। आफू मातहत दर्जनौं श्रमजीवी राखेर रेडियो, टीभी, पत्रिका र अनलाइन चलाइरहेका छन पत्रकारहरु। त्यसैले हामी अहिले पनि मिडिया सञ्चालक र श्रमजीवी पत्रकार दुवैको प्रतिनिधि हौं। जव हामी दुवैको प्रतिनिधित्व गर्छौँ भने काम के कस्तो हुन्छ? यो प्रश्नको जवाफ अब नेपाल पत्रकार महासंघका हरेक सदस्यले खोज्नु जरुरी भैसकेको छ। किनकि हरेक संस्थाको उद्देश्य हुन्छ र त्यसले कसको हित गर्छ भन्ने प्रष्ट हुन जरुरी छ। दिशा प्रष्ट भए मात्रै दशा बदलिन्छ। अन्यथा कुरो अहिलेकै जस्तो हुने हो।

मैले यो अहिले हाम्रो सन्दर्भमा मात्रै भनिरहेको छैन, मेरो प्रश्न यो भन्दा अघिको नेतृत्वको हकमा पनि हो। यो छलफलको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ। दुई वर्षको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा रहँदाको मेरो अनुभवले के भन्छ भने जबसम्म पत्रकार महासंघ विशुद्ध श्रमजीवीको संस्था हुन सक्दैन, तबसम्म हामीले त्यो उद्देश्य प्राप्त गर्न सक्दैनौं। यहाँ हजारौंको रोजीरोटीको विषय छ, श्रम शोषणको विषय छ। त्यसैले शोषणका विरुद्ध लड्न नसक्ने संस्थाले अरु अधिकार स्थापित गर्नै सक्दैन। यसो भन्दा कसैलाई महासंघलाई दाल रोटीको संस्था बनाउन लागियो भन्ने चिन्ता पनि लाग्न सक्छ, तर यो हल्का कुरा होइन। यो शोषणका विरुद्ध लड्नु पर्छ भन्ने आवाज हो।

पत्रकार महासंघको अहिले दुई वटा मुख र एउटा पेट छ। एकसुत्रीय ढंगले श्रमजीवीको कुरा उठाउने स्थितिमा पत्रकार महासंघ छैन। यसमा लगानीका स्वार्थहरुले एजेण्डा सेटिङ र कार्यशैलीमा प्रभाव पार्ने नै भयो र परिरहेको छ। आजको अवस्थामा यसलाई पुरै गलत भन्न सकिने अवस्था पनि छैन किनकि पत्रकार महासंघको विधान, नेतृत्व चुन्ने तरिका यी सबैले यसलाई स्वाभाविक बनाएको छ । श्रमजीवी पत्रकार, लगानी सहितका पत्रकार र लगानीकर्ताले पनि पत्रकार महासंघको नेतृत्व चुन्ने अवस्था रहँदासम्म पत्रकार महासंघ दुईटा मुख र एउटा पेट बोकेर हिँड्नै पर्छ र जुन मुखले खाए पनि एउटै पेटमा जाने भएकोले काम प्रभावकारी नहुने कुरा प्रष्टै छ।

त्यसैले पत्रकारको सेवा,सुविधा र सुरक्षाका लागि पत्रकार महासंघलाई विशुद्ध श्रमजीवीको संस्था बनाउनै पर्छ, त्यो भनेको चुन्ने र चुनिने विशुद्ध श्रमजीवी हुनुपर्छ, अहिलेको जस्तो सबै छ्यासमिसको अवस्था अन्त्य हुनुपर्छ। तब मात्रै हाम्रो निशाना र संघर्ष सही हुन्छ अनि उपलब्धि पनि हात पर्छ। लगानी गर्नेहरुले छुट्नै संगठन बनाउने दिशामा जानुपर्छ र पत्रकार महासंघलाई श्रम गरे वापत ज्याला लिनेको संस्था बनाउनुपर्छ, पैसा लगानी गरेर नाफा कमाउनेको होइन। यस्तो कुरा अहिले धेरैलाई नपच्न सक्छ तर, सबै पक्षको हितका लागि यो नै आवश्यक र सही कदम हुनेछ। सहकार्य त मुद्दामा छुट्टै संगठन भएपनि गर्न सकिन्छ, हामीले बोक्ने मुद्दा प्रष्ट भएपछि समाधान पनि प्रष्ट हुन्छ।

हिजो पत्रकारितामा भएका र अहिले आफै मिडिया चलाइरहेका धेरै साथीको रहर मिडिया सञ्चालन होइन, मिडियामा श्रम अनुसारको ज्याला नभएको, शोषणमा परेको अनुभूति गरेर नै धेरै साथीहरुले आफै मिडिया संचालन गरेका छन, ह्याण्डसम स्यालरी भएको भए, पत्रकार महासंघ ट्रेड यूनियन भएको भए र शोषण विरुद्ध सशक्त ढंगले लड्न सक्ने बनाएको भए उनीहरु त्यता लाग्ने थिएनन। त्यसैले यसो हुनुको पछाडिको कारण पनि नेपाल पत्रकार महासंघको ‘भारण्यपंक्षी’ स्थिति नै हो। त्यसैले अहिले मिडियामा लगानी गरिरहेका साथीहरुले पनि पत्रकार महासंघलाई विशुद्ध श्रमजीवीको संस्था बन्न सहयोग गरेर, आफूले पनि आफ्ना हितहरुको रक्षार्थ छुट्टै संगठन बनाएर मिल्ने मुद्दामा सहकार्यको वातावरण बनाउनुपर्छ। यसो भन्दा साथीहरुलाई नराम्रो पनि लाग्न सक्छ तर पत्रकार भएर काम गर्ने छुट जो कसैलाई छ, त्यो कसैले रोक्न सक्दैन।

तर कम्तीमा पत्रकार महासंघलाई दुईटा मुख र एउटा पेट भएको संस्था नबनाउँ। त्यसैले सबै श्रमजीवी पत्रकारको दायित्व पत्रकार महासंघलाई विशुद्ध श्रमजीवीको बनाउने दिशामा लैजाने हो, त्यसका लागि आवश्यक कदम चाल्न पहल गरौं।

[नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको प्रकाशन ‘पत्रकारिता’ (२१, वैशाख २०७३) मा प्रकाशित। लेखको मूल शीर्षक ‘हामी को हौं? म को हुँ?’ थियो।]

Leave a Reply

Your email address will not be published. Required fields are marked *