खोज पत्रकारिता गर्न चाहनुहुन्छ? यस्तो छ खोपकेमा ‘स्टोरी पिच’ गर्ने तरिका


पत्रकारहरुलाई थाहा भएकै हुनुपर्छ कि खोज पत्रकारिता गर्न इच्छुक उत्साही पत्रकारलाई खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले आर्थिक सहायता तथा सम्पादकीय परामर्श उपलब्ध गराउँदै आएको छ।

बुधबार खोपकेका सम्पादक शिव गाउँलेले आफ्नो फेसबुकमा लेखे- ‘खोज पत्रकारिताः विषयवस्तुको छनौट, उत्पादन र प्रकाशन/प्रशारणमा हामी सहकार्य गर्न तयार छौँ।‘ उनले खोज पत्रकारिता केन्द्रको वेबसाइटबाट फारम डाउनलोड गर्न र प्रस्ताव पठाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।

हामी तपाईँलाई उक्त फारममा तपाईँले के के भर्नुपर्छ जानकारी दिँदै छौँ। तर त्यसअघि तपाईँलाई एउटा कुरा भनिहालौँ। तपाईँ कुनै समाचार गर्दै (लेख्दै) हुनुहन्छ भने पहिला सम्पादकलाई आफूले लेख्न लागेको समाचारको विषयबारे भन्नुहुन्छ। त्यो समाचार के विषयमा हो, त्यो विषय किन समाचार बन्न लायक हो, समाचार कुन एंगलमा गर्ने, समाचारले के प्रभाव पार्ला, कोकोसँग कुरा गर्नुपर्ला, के के लिखत र सन्दर्भ लिनुपर्ला आदिबारे तपाईँले सम्पादकसँग सल्लाह गर्नुहुन्छ।

यसलाई अंग्रेजीमा स्टोरी पिच (Story Pitch) भनिन्छ। नेपालीमा यसलाई ठ्याक्क के भनिन्छ मलाई ज्ञान भएन (तपाईँलाई थाहा छ भने तल कमेन्ट बक्समा लेख्‍नुस्) तर यसलाई ‘समाचार प्रस्ताव’ भन्न सकिन्छ। समाचार प्रस्ताव मौखिक हुन पनि सक्छ लिखित हुन पनि सक्छ। यदि तपाईँ कुनै मिडियामा तलबी रुपमा दैनन्दिन काम गर्नुहुन्छ भने त्यो मौखिक हुन सक्छ तर यदि तपाईँ जुनसुकै मिडियामा लेख्ने स्वतन्त्र पत्रकार (Freelance Journalist) हुनुहुन्छ वा कुनै लेखन वृत्तिका लागि लेख्दै हुनुहुन्छ भने लिखित रुपमा समाचार प्रस्ताव गर्नुपर्ने हुन्छ।

अब तपाईँलाई खोज पत्रकारिता केन्द्रमा कसरी स्टोरी पिच (समाचार प्रस्ताव) गर्ने भनेर जानकारी दिँदैछौँ।

खोज पत्रकारिता केन्द्रको वेबसाइटमा तपाईँले खोजी गर्न चाहेको विषय प्रस्तावका लागि नमूना फारम छ। यो फारममा तपाईँले खोजी गर्न चाहेको विषयबारे लेख्नुपर्ने हुन्छ।

के के छन् त फारममा?


खोज गर्न चाहेको विषय  

यस विषयबारे बुझ्नु पर्ने पाँचवटा बुँदा खुलाउनोस्।

हल्ला होइन साँच्चै हो भन्ने आधार खुलाउनोस।

मान्यता (यस विषयमा तपाईँको के धारणा हो?)

तपाईँको मान्यताका आधार/प्रमाणहरु के हुन?

यो विषय समाजको लागि कत्तिको महत्वपूर्ण छ? कति जनसंख्याको वा कति ठूलो क्षेत्रको समस्या हो?

यो विषय कत्तिको गम्भीर छ? किन ? प्रष्ट पार्नोस्।

स्टोरीले कुन क्षेत्र/पक्षलाई समेट्छ? समेट्न सकिने पक्ष जति खुलाउनोस्।

तपाईँले भनेका कुरा प्रमाणित गर्न सकिन्छ? आधार के के छन्?

तपाईँको स्टोरीमा यो विषयसँग सम्बन्धित कुन कुन पक्ष र कुन कुन कुरा समावेश हुनेछन्?

त्यो कुरा प्रमाणित गर्न तपाईँ कुन कुन लिखत खोज्नुहुन्छ? त्यसबाट के के सूचना पाउन सकिन्छ?

यो विषयसँग सम्बन्धित कुन कुन लिखत तपाईँसँग अहिल्यै छ?

यो कुरा प्रमाणित गर्न तपाईँ कस्ता कस्ता खालका मानिसहरुसँग कुरा गर्नुहुन्छ? उनीहरुबाट के कस्ता कुरा पाउन सकिन्छ? सम्भावित् स्रोतहरुको नाम लेख्नोस्।

यो विषयसँग सम्बन्धित को को मान्छेसँग तपाईँले कुरा गरिसक्नु भएको छ? महत्वपूर्ण नाम, पद र ठेगाना खुलाउनोस्।

यो कुरा प्रमाणित गर्न तपाईँ थप कस्ता कस्ता दृश्य/अवस्था अवलोकन गर्नुपर्ने ठान्नुहुन्छ?

यो विषयसँग सम्बन्धित कुनु कुन दृश्य वा अवस्था तपाईँले अवलोकन गरिसक्नु भएको छ? छोटकरीमा लेख्नोस।

यो कुरा प्रमाणित गर्न तपाईँ कुन कुन वेबसाइट हेर्नुहुन्छ? त्यहाँ के कस्ता सामग्री पाउन सकिएला?

यो स्टोरीले के कस्तो प्रभाव पार्नेछ वा पारोस् भन्ने आशा गर्नु भएको छ?

यो स्टोरी गर्न कति समय लाग्छ? कहाँ कहाँ कहिले जाने? कार्यसूचि दिनोस्।

यो स्टोरी गर्न कुन कुन उपकरण प्रयोग गर्नु हुनेछ र तपाईलाई कुन कुन उपकरणको सहयोग चाहिएको छ। सूची दिनोस्।

प्रस्तावकको नामः—

कार्यरत संस्थाः—

सम्पर्क फोनः—


तपाईँले खोज पत्रकारिता केन्द्रमा समाचार प्रस्ताव गर्दा फारममा के के भर्ने थाहा पाउनुभयो। तपाईँ पनि खोज पत्रकारिता केन्द्रको आर्थिक सहायता र सम्पादकीय परामर्शमा कुनै खोजी समाचरा गर्न चाहनुहुन्छ भने फारम डाउनलोड गर्नुस्, भर्नुस् र mail@cijnepal.org मा पठाउनुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.