यी हुन् पत्रकारले गर्न हुने र नहुने कुरा, नयाँ पत्रकार आचारसंहिताको पूर्ण पाठ


पत्रकारिता पेसालाई थप मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गरेका छन्। प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरे।

नयाँ आचारसंहिता जारीसँगै ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४) खारेज गरिएको छ। अब काउन्सिलले मिडियामा आचारसंहिता पलानाको अवस्था अनुगमन गर्दा यसैलाई आधार बनाउने छ।

राष्ट्रपति निवास (शीतल निवास) मा पत्रकार आचार संहिता जारी गर्दै काउन्सिल अध्यक्ष वोर्णबहादुर कार्की र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट। फोटोः प्रदीपराज वन्त/रासस
राष्ट्रपति निवास (शीतल निवास) मा पत्रकार आचार संहिता जारी गर्दै काउन्सिल अध्यक्ष वोर्णबहादुर कार्की र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट। फोटोः प्रदीपराज वन्त/रासस

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त कार्यदलबाट २०७३ भदौ २० मा पारित पत्रकार आचारसंहिता २०७३ को अन्तिम मस्यौदा काउन्सिलबाट २०७३ भदौ २२ मा स्वीकृत भएको हो।

पढ्नुस् पत्रकार आचारसंहिताः

पत्रकार आचारसंहिता, २०७३

प्रस्तावनाः

विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवर्द्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले यो आचारसंहिता २०७३ जारी गरेको छ।

प्रारम्भिक

१. नाम, प्रारम्भ र विस्तारः

(१) यस आचारसंहिताको नाम ‘पत्रकार आचारसंहिता, २०७३’ रहेको छ।

(२) यो आचारसंहिता तुरुन्त लागू हुनेछ।

(३) यो आचारसंहिता सबै प्रकारका सञ्चारमाध्यम र पत्रकारलाई लागू हुनेछ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचारसंहितामा,

(१) ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ।

(२) ‘सञ्चारमाध्यम’ भन्नाले नेपालमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना तथा विचारमूलक कार्यक्रम उत्पादन, वितरण र संप्रेषण गर्ने संस्था र सेवा सम्झनुपर्छ।

(३) ‘व्यवस्थापक’ भन्नाले कुनै सञ्चार प्रतिष्ठानको कार्यसञ्चालनमा अन्तिम निर्णय गर्ने अधिकारप्राप्त व्यक्ति सम्झनुपर्छ।

(४) ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाल सम्झनुपर्छ।

(५) ‘ऐन’ भन्नाले प्रेस काउन्सिल ऐन, २०४८ सम्झनुपर्छ।

(६) ‘तोकिए बमोजिम’ भन्नाले काउन्सिलबाट तोकिएको वा तोकिए बमोजिमको निर्देशिका, कार्यविधि समेत सम्झनुपर्छ।

३. व्याख्या गर्ने अधिकारः यस आचारसंहिताको व्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहनेछ।

पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

४. पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कर्तव्य पालना गर्नुपर्दछः

(१) प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनः पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवर्द्धनका निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नुपर्दछ।

(२) मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मानः

(१) पत्रकार तथा सञ्चारमाध्यमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता, समावेशिता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रहरूबीच भाइचाराको संरक्षण तथा संवर्द्धन गर्नुपर्दछ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहनुपर्दछ।

(३) पेशागत मर्यादा तथा व्यवहारः

(१) पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन र संप्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ।

(३) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्दछ।

(४) पत्रकार तथा सञ्चारमाध्यमबीचको आपसी सम्बन्ध व्यावसायिक, स्वस्थ, संयमित, मर्यादित र पेशानिष्ठ हुनुपर्दछ।

(४) सामाजिक दायित्वः पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पुर्‍याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ।

(५) सम्पादकीय स्वतन्त्रताको सम्मानः

(१) समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ। सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम सञ्चारमाध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्नुपर्दछ।

(२) सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र सम्बर्द्धन गर्नुपर्दछ।

(६) सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषणः पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ भई सत्य–तथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नुपर्दछ।

(७) समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषणः

(१) पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी प्रचलित विश्वव्यापी मान्यता अनुसार समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नुपर्दछ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ।

(८) गोप्य स्रोतको संरक्षणः

(१) समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ। तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपयोग गर्दा मूल स्रोत उध्दृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ।

(९) गोपनीयताको हकको सम्मानः पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्दछ। तर सार्वजनिक हितमा त्यस्तो सूचना वा सामग्री सम्प्रेषण भएमा गोपनीयताको हकको सम्मान प्रतिकूल भएको मानिनेछैन।

(१०) भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिताः पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रायोजित भ्रमण तथा लेखनवृत्ति ग्रहण गरी तयार पारिएका सामग्रीको प्रायोजन वा वृत्ति लिइएको बारेमा सोही सामग्रीमा स्पष्ट खुल्ने गरी प्रकाशन वा प्रसारण गर्नुपर्दछ।

(११) राष्ट्रिय विपद्‍मा संयमः पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सूचना सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भाव जस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ।

(१२) मत सर्वेक्षणमा सतर्कताः पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ। यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमि जस्ता विषयलाई यथासम्भव प्रस्तुत गर्नुपर्दछ। तर, मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पर्ने गरी गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण वा सामग्री प्रकाशन वा प्रसारण गर्नुहुँदैन।

(१३) अन्तर्वार्तामा सजगताः पत्रकारले अन्तर्वार्ता दिने व्यक्तिलाई निजका भनाइहरू कुन सन्दर्भ, माध्यम र प्रयोजनका निम्ति प्रयोग गरिनेछ भन्ने विषयको पूर्व जानकारी दिएर अन्तर्वार्ता लिनुपर्दछ।

(१४) अनलाइन सञ्चारमाध्यमको जिम्मेवारीः अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन–प्रसारण वा बाह्य लिंकहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्नेछ र प्रकाशित वा प्रसारित भएका सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नुपर्दछ।

(१५) गल्ती सच्याउन तत्परताः

(१) पत्रकार तथा सञ्चारमाध्यमले समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नुपर्दछ। त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्दछ।

(२) सामान्यतः कुनै एउटा सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित समाचारको खण्डन पीडित पक्षले सोही सञ्चारमाध्यम मार्फत गर्नुपर्दछ।

तर, सार्वजनिक स्वास्थ्य र सुरक्षा जस्ता संवेदनशील विषयमा तत्काल गम्भीर प्रतिकूल असर पार्ने अवस्थामा भने अर्को सञ्चारमाध्यम मार्फत खण्डन, टिप्पणी वा स्पष्ट गर्न सकिनेछ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने

५. पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कार्यहरू गर्नुहुँदैनः

(१) सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्नेः पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरूद्ध एवं विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन।

(२) भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषणः

(१) पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पुर्‍याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकूल कार्य गर्नुहुँदैन।

(३) पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नुहुँदैन।

(३) हिंसा, आतंक र अपराधलाई प्रश्रय हुनेः पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन।

(४) पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषणः

(१) पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवताविरोधी अपराधबाट प्रभावित व्यक्ति (Surviver) वा पीडित व्यक्ति (Victim) लाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन। त्यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृति विना र प्रभावको मूल्यांकन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउनुहुँदैन।

(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेखः

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजीकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नुहुँदैन।

(२) यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा सन्दर्भमा प्रभावितको सचेत स्वीकृति र प्रभावको मूल्यांकन विना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्वीर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन।

(६) बीभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारणः पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्वीरहरू सम्प्रेषण गर्नुहुँदैन।

(७) फोटो तथा दृश्यको गलत प्रयोगः

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै टिप्पणी वा स्पष्टता विना तस्वीर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्नुहुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउन, छाँटकाँट वा तोडमोड गर्नहुँदैन। मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा श्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नुपर्दछ।

(८) विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुतिः

(१) पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई समाचार, लेख वा अन्य कुनै सम्पादकीय सामग्रीको रूपमा र समाचारलाई विज्ञापनको रूपमा प्रस्तुत गर्नुहुँदैन।

(२) विज्ञापन मार्फत समाचारको खण्डन गर्नुहुँदैन।

(९) पोस्ट डिलिटः

(१) अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउन (Post Delete गर्न) हुँदैन। तर असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पुर्‍याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ।

(२) प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनुहुँदैन। सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित अनलाइन सञ्चारमाध्यमको हुनेछ।

(१०) अनुचित दवाब वा सम्बन्धः

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दवाब वा प्रलोभनमा पर्नुहुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले प्रायोजकबाट प्रभावित भै समाचार सामग्री सम्प्रेषण गर्नुहुँदैन।

(३) पत्रकार तथा सञ्चारमाध्यमले समाचार स्रोतसँग पेशागत मर्यादा विपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरूपयोग गर्नुहुँदैन।

(११) प्रविधिको अदृश्य प्रयोगः

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रविधिको अदृश्यरूपमा प्रयोग गर्नुहुँदैन।

(२) उपदफा (१) बमोजिम सार्वजनिक हितका लागि प्रविधिको गोप्यरूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामग्री प्रस्तुत गर्दा पाठक, श्रोता वा दर्शकलाई जानकारी दिनुपर्दछ।

(१२) न्याय निरूपणमा प्रभावः पत्रकार तथा सञ्चारमाध्यमले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नुहुँदैन।

(१३) पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहणः पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन।

(१४) मर्यादा र आत्मसम्मानमा प्रतिकूल असरः

(१) पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय तथा अन्य अल्पसंख्यक समुदायका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउनु हुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउनु हुँदैन।

(३) पत्रकार तथा सञ्चारमाध्यमले अपांगता भएका व्यक्तिका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउन र होच्याउनु हुँदैन।

(४) बालबालिकासम्बन्धी सामग्री सङ्कलन तथा सम्प्रेषण गर्दा बाल संवेदनशीलता प्रतिकूल हुने गरी देहायका कार्यहरू गर्नुहुँदैनः

(क) बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानि हुने गरी समाचार संकलन तथा सम्प्रेषण गर्नु हुँदैन।

(ख) कानून विपरीत कार्य वा बाल बिझ्यार्इँमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्त विपरीत गोपनीयता खोल्नु हुँदैन।

(ग) आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यहरूको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नु हुँदैन।

(घ) सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता वा तस्वीर अभिभावक, संरक्षक वा परिवारको अनुमति विना लिनु हुँदैन।

(१५) जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जनाः पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन।

उजुरी र कारवाही

६. उजुरी र कारवाहीसम्बन्धी व्यवस्थाः

(१) कुनै पत्रकार वा सञ्चारमाध्यमले यो आचारसंहिता उल्लंघन गरेमा सोसम्बन्धी उजुरी तथा कारवाही प्रक्रिया देहाय बमोजिम हुनेछः

(क) कुनै सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएको लागेमा सोबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले सम्बन्धित सञ्चारमाध्यममा आफ्नो प्रतिक्रिया वा खण्डन पठाउन सक्नेछ। प्रतिक्रिया वा खण्डन संक्षिप्त, तथ्यपरक, शिष्ट र मर्यादित हुनुपर्नेछ।

(ख) खण्ड (क) बमोजिम प्रतिक्रिया वा खण्डन प्राप्त भएपछि त्यसलाई उचित स्थान दिई यथाशीघ्र प्रकाशन वा प्रसारण गर्नु सम्बन्धित सञ्चारमाध्यमको कर्तव्य हुनेछ।

(ग) खण्ड (ख) बमोजिम सम्बन्धित सञ्चारमाध्यमले प्रतिक्रिया वा खण्डन प्रकाशन वा प्रसारण नगरेमा वा चित्तबुझ्दो जवाफ नदिएमा मर्का पर्ने पक्षले पैंतीस दिनभित्र काउन्सिलमा उजुर गर्न सक्नेछ। तर, त्यस्तो म्यादभित्र उजुर गर्न नसकेको मुनासिब कारण देखाउन सकेमा काउन्सिलले म्याद नाघेपछि पनि त्यस्तो उजुरी लिन सक्नेछ।

(२) उपदफा (१) (ग) बमोजिमको उजुरीमा देहाय बमोजिमको विवरण र प्रमाण संलग्न गर्नुपर्नेछः–

(क) प्रकाशित वा प्रसारित सामग्रीको प्रतिलिपि;

तर, उजुरीकर्ताले त्यस्तो विवरण संलग्न गर्न सम्भव नभएको ब्यहोरा उल्लेख गरी दिएको उजुरी मनासिब देखिए काउन्सिल आफैंले सम्बन्धित सञ्चारमाध्यमसँग अभिलेख झिकाई सुनुवाइ गर्न सक्नेछ।

(ख) त्यस्तो सामग्रीबाट हुन गएको आचारसंहिता उल्लंघन वा पर्न गएको नकारात्मक प्रभावको विवरण;

(ग) सम्बन्धित सञ्चारमाध्यम समक्ष दिएको प्रतिक्रिया वा खण्डनको प्रति;

(घ) सम्बन्धित सञ्चारमाध्यमले त्यससम्बन्धमा कुनै जवाफ दिएको रहेछ भने त्यसको विवरण;

(ङ) सम्बद्ध अन्य सामग्री वा विवरण।

(३) उपदफा (१) (क) (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि अविलम्ब खण्डन प्रकाशित नहुँदा आफूलाई अपूरणीय क्षति पुग्ने भनी मर्का परेको पक्ष वा सरोकारवालाले खण्डनसहित प्रेस काउन्सिलमा निवेदन दिएमा काउन्सिलले सो खण्डन प्रकाशन वा प्रसारणका लागि सम्बन्धित सञ्चारमाध्यममा पठाउन सक्नेछ।

(४) उपदफा (३) बमोजिम प्रतिक्रिया वा खण्डन प्राप्त भएपछि त्यसलाई उचित स्थान दिई यथाशीघ्र प्रकाशन वा प्रसारण गर्नु सम्बन्धित सञ्चारमाध्यमको कर्तव्य हुनेछ। खण्डन प्रकाशन गर्न नसकिने कारण भए सम्बन्धित सञ्चारमाध्यमले आधार र कारणसहित सात दिनभित्र काउन्सिलमा जवाफ दिनुपर्नेछ। जवाफ चित्तबुझ्दो नलागेमा सम्बन्धित सञ्चारमाध्यमलाई खण्डन प्रकाशन, प्रसारण गर्न काउन्सिलले आदेश दिन सक्नेछ।

(५) उपदफा (४) बमोजिम सम्बन्धित सञ्चारमाध्यमले प्रतिक्रिया वा खण्डन प्रकाशन वा प्रसारण नगरेमा वा चित्तबुझ्दो जवाफ नदिएमा यो आचारसंहिता अनुसार काउन्सिलले कारवाही गर्न सक्नेछ।

(६) दफा ६ को अन्य खण्डमा जुनसुकै कुरा लेखिएको भए तापनि आरोपित पक्षलाई म्याद/सूचना पठाउनुपूर्व उजुरीका सम्बन्धमा काउन्सिलले प्रारम्भिक जाँचबुझबाट तत्कालै सच्याउनुपर्ने, खण्डन गर्नुपर्ने वा क्षमायाचना गर्नुपर्ने वा मुनासिब जवाफ पठाउन लगाउने जस्ता आवश्यक निर्देशन सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई दिन सक्नेछ।

(७) कुनै सञ्चारमाध्यमले आफ्नो चरित्र, सामाजिक प्रतिष्ठामा गम्भीर चोट पुर्‍याउन आचारसंहिता उल्लंघन गरी नियतवश समाचार सम्प्रेषण गरेको हुँदा खण्डन मात्र पर्याप्त नहुने भनी मर्का पर्ने पक्षले आधार प्रमाण सहित उजुरी दिएमा छानबीन गरी उजुरीको ब्यहोरा सत्य तथ्य देखिएमा काउन्सिलले यो आचारसंहिता अनुसार कारवाही गर्न सक्नेछ।

(८) उपदफा (१) (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पत्रकार वा सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको भनी सार्वजनिक हित, सरोकारको विषयमा उजुरी परेमा वा काउन्सिलको नियमित अनुगमनबाट यो आचारसंहिता उल्लंघन भएको पाइएमा छानबीन गरी काउन्सिलले आवश्यक कारवाही गर्न सक्नेछ।

(९) काउन्सिलले उपदफा (१) (ग) बमोजिमको उजुरी तथा उपदफा (५), (७) र (८) बमोजिमको कारवाहीका सम्बन्धमा सबुत प्रमाण बुझी सामान्यतया तीस दिनभित्र निर्णय गर्नेछ।

(१०) काउन्सिलले उपदफा (९) बमोजिम निर्णय गर्नुअघि सम्बन्धित विषयमा सबुत प्रमाण बुझ्ने, आवश्यक कागजात र प्रमाण सम्बन्धित पक्षबाट पेश गर्न लगाउने वा निरीक्षण र तत्सम्बन्धी जाँचबुझ गर्ने–गराउने, सम्बन्धित पक्षलाई बोलाई त्यससम्बन्धी सत्य, तथ्य पत्ता लगाउने जस्ता कार्य गर्न सक्नेछ।

७. कारवाही तथा निर्णयः

(१) यो आचारसंहिताको दफा ४ को पालना नगरेमा वा दफा ५ को उल्लंघन गरेमा वा काउन्सिलको निर्णय वा निर्देशन नमानेमा उल्लंघनको गम्भीरताका आधारमा सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई काउन्सिलले देहाय बमोजिम एक वा सोभन्दा बढी कुनै पनि कारबाहीको निर्णय गर्न सक्नेछः

(क) क्षमायाचना गर्न निर्देशन दिने;

(ख) प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने;

(ग) वर्गीकरणको प्रक्रियाबाट अलग गर्ने;

(घ) काउन्सिलको कल्याणकारी कोष वा काउन्सिलले प्रदान गर्ने अन्य सुविधाबाट अवधि तोकी वञ्चित गर्ने;

(ङ) सरकारी वा कुनै पनि सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने कुनै पनि प्रकारका विज्ञापन वा सुविधाहरू निश्चित अवधिका लागि उपलब्ध नगराउन सम्बन्धित निकायलाई सिफारिश गर्ने;

(च) कुनै पनि सरकारी भ्रमणमा राज्यका तर्फबाट सहभागी नगराउन सम्बन्धित निकायलाई सिफारिश गर्ने;

(छ) गम्भीर रूपमा आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चारमाध्यमलाई थप कारवाहीका लागि नेपाल पत्रकार महासंघ र सम्बन्धित सञ्चारसंस्थामा सिफारिश गर्ने।

(ज) काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकता अनुसार सार्वजनिक गर्ने।

(२) काउन्सिलले आवश्यकता अनुसार सम्बन्धित पक्षहरूका बीच मेलमिलाप गराउन सक्नेछ।

८. कारवाहीका लागि सिफारिश गर्न सक्नेः सरकारी वा गैरसरकारी निकाय वा पदाधिकारी वा कसैले प्रेस स्वतन्त्रता वा संविधानप्रदत्त सञ्चारसम्बन्धी हक हनन गरेको उजुरी परेमा वा काउन्सिलको स्वअनुगमनबाट त्यस्तो पाइएमा काउन्सिलले उपयुक्त कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गर्न सक्नेछ। कारवाहीको सिफारिश गर्नुभन्दा अघि सम्बन्धित व्यक्ति वा संस्थालाई सफाइको मौका दिनुपर्नेछ।

विविध

९. आचारसंहिता अनुगमन उपसमिति गठन गर्न सक्नेः

(१) आचारसंहिता उल्लंघनका विषयमा उजुरीको सुनुवाइ र छानबीन गरी आवश्यक निर्णय गर्न काउन्सिलले अध्यक्षको संयोजकत्वमा आचारसंहिता अनुगमन उपसमिति गठन गर्न सक्नेछ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिताको पालना गरे नगरेको सम्बन्धमा आचारसंहिता अनुगमन उपसमितिले आवश्यकता अनुसार काउन्सिलका पदाधिकारी वा काउन्सिलका कर्मचारी वा अन्य तत्सम्बन्धी विषयका विज्ञलाई छानबीन र अनुगमनका लागि खटाउन सक्नेछ।

१०. कार्यविधि बनाउन सक्नेः काउन्सिलले यस आचारसंहिताले गरेको व्यवस्थाको अधीनमा रही उजुरी र कारवाहीसम्बन्धी आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ।

११. आन्तरिक आचारसंहिता बनाउनुपर्नेः प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन गर्नुपर्नेछ। सञ्चारमाध्यम वा सञ्चारसंस्थाले तर्जुमा गरेको आचारसंहिता पालना भए–नभएको प्रेस काउन्सिलले अनुगमन गर्न सक्नेछ।

१२. अभिन्न अंग मानिनेः यो आचारसंहिता लागू भएपछि काउन्सिलद्वारा पत्रकार तथा सञ्चारमाध्यमका निमित्त जारी गरिने आचारसंहिता सम्बन्धी विशिष्टीकृत निर्देशिकाहरू यस आचारसंहिताको अभिन्न अङ्ग मानिनेछन्।

१३. खारेजी तथा बचाउः

(१) पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित, २०६४) खारेज गरिएको छ।

(२) पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित, २०६४) बमोजिम भए गरेका सम्पूर्ण काम कारबाहीहरू यसै आचारसंहिता बमोजिम भए गरेको मानिनेछ।

(३) यो आचारसंहिता जारी हुनुपूर्व काउन्सिलमा परेका आचारसंहितासँग सम्बन्धित उजुरीहरूको कारवाही र किनारा यस आचारसंहिता बमोजिम गरिनेछ।

पत्रकार आचारसंहिता पिडिएफ डाउनलोड गर्न क्लिक गर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *