अनलाइन पत्रकार बन्‍न सिक्नैपर्छ यी १० सीप


  • म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ?
  • पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्‍यो। लौ न कतै काम खोजिदेउ।
  • म पनि अनलाइन सुरु गर्न चाहन्छु। लौ न आइडिया दिनुपर्‍यो।
  • अनलाइनमा काम गर्ने कोही मान्छे छैनन्? राम्रो मान्छे खोज्दिनुपर्‍यो।
  • अनलाइनमा काम गर्न जो पायो त्यसैले कहाँ सक्छ? एउटा कुरा जानेर हुन्छ र?
Photo : scribblelive.com
Photo : scribblelive.com

केही वर्षदेखि मैले सुन्दै आएका प्रश्न हुन् यी। प्रश्न सोध्नेहरु कोही पत्रपत्रिकामा काम गर्नेहरु छन्, कोही टेलिभिजनमा त कोही रेडियोमा। कोही अनलाइन सञ्‍चालकहरु हुन्छन् त कतिपय पत्रकारितामा ‘इन्ट्री’ मार्न चाहनेहरु पनि हुन्छन्। यो मेरो वशको विषय होइन भनेर तर्किने वा संस्था ‘ज्वाइन’ गरेको केही दिनमै काम छोड्नेहरु पनि मैले भेटेको छु। ‘नजाने गाउँको बाटै नसोध्नु’ भनेर अनलाइन पत्रकारिताका तौरतरिका र यसमा आफूलाई अब्बल साबित गर्न सिक्नुपर्ने सीपबारे मतलब नगर्ने पत्रकारको संख्या पनि ठूलै छ जस्तो लाग्छ।

अनलाइन पत्रकार बन्न यसै गर्नुपर्छ भन्ने जवाफ छैन तर यस्ता केही सीप छन्, जुन तपाईँले जान्नुभयो भने पछाडि फर्केर हेर्नुपर्दैन। यो पोस्ट तयार पार्दैगर्दा तल लिस्ट गरेका सबै सीप पूर्ण रुपमा म पनि जान्दिनँ बरु सिक्दैछु। विगतमा उज्यालो, अन्नपूर्ण पोस्ट, पहिलोपोस्ट र अहिले थाहाखबरमा काम गर्दा सिकेका (र, सिक्न बाँकी) ज्ञान/सीपका आधारमा यो पोस्ट तयार पार्दैछु।

एकातिर केही वर्षदेखिको ‘मोबाइल क्रान्ति’ ले समाचार पढ्ने पाठकको व्यवहार परिवर्तन भएको छ भने अर्कोतिर अनलाइन मिडियाले परम्परागत मिडियालाई चुनौती पनि दिइरहेको छ। नेपालमै हेर्ने हो भने पनि काठमाडौंबाट चल्ने समाचार पोर्टलसँगै क्षेत्रीयस्तर र स्थानीयस्तरका समाचार पोर्टल बढिरहेका छन्। बढ्दो लगानी र प्रतिस्पर्धाले गर्दा अनलाइनहरुमा दक्ष जनशक्तिको माग छ। तर न विश्वविद्यालयहरुमा पढाइ, न त सीप सिकाउन सम्बन्धित अनलाइन मिडियाकै चासो। कसरी ल्याउने त दक्ष जनशक्ति? त्यसैले यो पोस्ट अनलाइन पत्रकार बन्न जान्नुपर्ने सीपबारे केन्द्रित छ। मुख्यगरी अनलाइन पत्रकारितामा आउन चाहनेहरुलाई सहयोगी होस् भन्ने मेरो चाहना हो।

चाहे जुनसुकै खालको पत्रकारिता होस्, आधारभूत सिद्धान्त, मान्यता र  तौरतरिका उस्तै हुन्। चाहे तपाईँ पत्रिकामा काम गर्नुस् वा टेलिभिजनमा, रेडियोमा काम गर्नुस् वा अनलाइन पोर्टलमा वा समाचार एजेन्सीमा, समाचार संकलन, लेखन, सम्पादन र वितरणका प्रक्रिया उस्तै हुन्। माध्यम फरक हुन् तर काम उस्तै। तपाईँले सूचना र समाचारबीचको फरक छुट्याउन सक्नुपर्छ। समाचार सुँघ्न जान्नुपर्छ। प्रस्तुति राम्रो हुनुपर्छ। फरक यत्ति हो, अनलाइन पत्रकार बन्न थप केही सीप चाहिन्छ।

१) भाषिक शुद्धता

त्यसो त सबैखालका माध्यममा भाषा महत्वपूर्ण हुन्छ तर अनलाइनमा भाषिक शुद्धता मुख्य विषय हो। पत्रकारितालाई हतारको साहित्य भनिन्छ तर अनलाइन पत्रकारिता ‘रफ्तारको साहित्य’ हो। यहाँ पर्खिने फुर्सद नै हुँदैन। सयौँ अनलाइनबीच कुनै समाचार दिन केही मिनेट ढिलो हुनु भनेको हजारौँ पाठक गुम्नु हो। पत्रिकामा प्रुफ हेर्ने मान्छे हुन्छन्, भाषा सम्पादकहरु हुन्छन्। रेडियोमा लेखेको कुरा बुझिनेगरी पढ्न सके पुग्छ, ह्रश्व दीर्घ वा भाषिक शुद्धता त्यति सरोकारको विषय नहुन सक्छ। तर अनलाइनमा एउटै व्यक्तिले समाचार लेख्ने, सम्पादन गर्ने र पोस्ट गर्ने गर्नुपर्छ। त्यसैले त यसलाई ‘वन म्यान जर्नालिज्म’ अर्थात् एउटै व्यक्तिले गर्ने पत्रकारिता पनि भनिन्छ।

विदेशको अभ्यास के छ कुन्नी, तर नेपालमा देखे भोगेको के हो भने एउटै व्यक्तिले सबै काम गर्न सक्नुपर्छ। मान्नुस्, तपाईँको सम्पादक एक घण्टा समाचार कक्ष बाहिर छ र कुनै महत्वपूर्ण सूचना आइपुग्यो जुन ब्रेकिङ समाचार बन्न सक्छ। तपाईँ के गर्नुहुन्छ? सम्पादक कुरेर बस्नुहुन्छ? यस्तो अवस्थामा तपाईँ आफैले समाचार पोस्ट गर्नुपर्ने हुन्छ। यदि तपाईँसँग भाषिक शुद्धता छैन भने पोस्ट हुन नपाउँदै तालीको साटो पाठकको गाली खानुपर्ने हुन सक्छ। नेपाली भाषाको कुरा गर्ने हो भने ह्रश्व दीर्घ, स श ष को प्रयोग, ब र व को प्रयोग, शब्दको अर्थ, वाक्य संरचना आदिबारे तपाईँ पूर्णरुपमा जानकार हुनैपर्छ। तपाईँसँग सिर्जनात्मकता र स्रोतसँगै भाषिक शुद्धता छ भने मान्नुस्, तपाईँ  सम्पादक हुने लाइनमा हुनुहुन्छ। यदि छैन भने आजैदेखि भाषाका बारेमा लेखिएका पुस्तक खोज्नुस् र पढ्न थाल्नुस्। लेख्ने अभ्यास गर्नुस्। सबैभन्दा बढी गल्ती केमा हुन्छ पत्ता लगाउनुस् र सुधार गर्नुस्। जहाँ इच्छा, त्यहाँ उपाय।

२) युनिकोड टाइपिङ

keyboardlayout-traditionalभाषाको कुरा माथि नै भयो। तपाईँ अंग्रेजी भाषामा पत्रकारिता गर्नुहुन्छ भने त्यो बेग्लै कुरा भयो। यदि तपाईँ नेपाली भाषामा पत्रकारिता गर्नुहुन्छ भने तपाईँले युनिकोडमा टाइप गर्नैपर्छ। प्रिती वा यस्तै अन्य फन्टमा लेखेर अनलाइन वा अफलाइन कन्भर्टरमा लगेर युनिकोड बनाउन सकिन्छ तर यो उपयुक्त विकल्प भने होइन। शुद्ध लेख्ने हो भने अनलाइन पत्रकारले युनिकोडमै टाइप गर्नुपर्छ। युनिकोड पनि दुई प्रकारका छन्- ‘ट्रेडिसनल’ र ‘रोमनाइज्ड’। यी मध्ये जुन जान्दा पनि हुन्छ। तर यदि तपाईँ प्रिती फन्टमा अभ्यस्त हुनुहुन्छ भने ट्रेडिसनल युनिकोड जान्नु राम्रो किनभने यी दुईमा धेरै समानता हुन्छ। त्यसो त नेपालीमा लेख्न गुगल इन्पुट टुल्स पनि छ तर यो पनि उपयुक्त विकल्प भने होइन।

तपाईँको मनमा प्रश्न आयो होला- म प्रितीमा टाइप गर्छु अनि युनिकोडमा कन्भर्ट गर्छु भैहाल्यो नि? ल, मानौँ कीर्तिपुरमा क्रिकेट म्याच छ, लाइभ दिनु छ। वा संसदमा बैठक छ, लाइभ दिनु छ। वा तपाईँको घरगाउँमा हुने कुनै कार्यक्रमको तपाईँलाई लाइभ दिन मन लाग्यो। के गर्नुहुन्छ? कन्भर्ट गर्दै पोस्ट गर्नु त दोब्बर काम भयो नि। यदि कुनै काम सजिलै हुन्छ भने दुःख गर्ने किन? फेरि अहिलेको जमानामा दुःख गरेर काम पनि छैन, जसले तरिका लगायो उसले खायो। त्यसैले मदन पुरस्कार पुस्तकालयको वेबसाइटमा जानुस्, युनिकोड डाउनलोड गर्नुस् र सिकिहाल्नुस्। अनलाइन पत्रकारितामा यसले तपाईँलाई एक फड्को अगाडि बढाउँछ।

३) फोटोसप

photoshopeando.com
photoshopeando.com

भाषिक शुद्धता हुँदैमा र राम्रो समाचार लेख्दैमा अनलाइन पत्रकार कहाँ भइन्छ र ! समाचारसँग सम्बन्धित फोटो पनि तपाईँले नै जुटाउन सक्नुपर्छ। रिपोर्टिङका लागि फिल्डमा जाँदा हरेकपटक फोटो पत्रकार तपाईँसँग हुन्छ भन्ने हुँदैन। यस्तो अवस्थामा तपाईँ आफैले फोटो खिच्नुपर्ने हुन्छ। फोटो खिचेरमात्र भएन, त्यो फोटोलाई आवश्यक सम्पादन पनि तपाईँले नै गर्न सक्नुपर्ने हुन्छ। यसका लागि फोटोसपको ज्ञान अनिवार्य हुन्छ। फोटो क्रप गर्ने, रङ मिलाउने, फोटोहरु जोड्ने, फोटोमा अक्षर राख्ने, ग्राफिक्स बनाउने जस्ता काम गर्न सक्नुभएन भने तपाईँ सक्षम अनलाइन पत्रकार नगनिन सक्नुहुन्छ। गुगल फोटो (पहिलेको पिकासा) जस्ता फोटोसपका विकल्प पनि छन्। यस्ता अनलाइन टुल्सको पनि जानकारी तपाईँमा हुनुपर्छ। फोटो र फोटोसप जस्ता फोटो सम्पादन टुल्सको ज्ञान तपाईँको करिअरमा दोस्रो फड्को हो।

४) सिएमएस

अनलाइन पत्रकारितामा सिएमएसको ज्ञान पनि अत्यावश्यक हुन्छ। सिएमएसको पूरा रुप हो कन्टेन्ट म्यानेज्मेन्ट सिस्टम। कतिपयले यसलाई एडमिन भनेर पनि बुझ्छन्। समाचार साइटमा जे जति पनि सामग्री पाठकले पढ्छन्/हेर्छन्, ती सबै सिएमएसबाट हालिएका हुन्छन्। तपाईँ युजर र पासवर्ड हानेर जब भित्र छिर्नुहुन्छ, त्यहाँ समाचार हाल्ने, फोटो भिडियो राख्ने लगायतका फिचर हुन्छन्। समाचारमा उपशीर्षक राख्ने, आवश्यकता अनुसार फन्ट बढाउने घटाउने आदि सिएमएसमै गर्नुपर्छ। समाचार लेखेर इमेल गर्नुहोला, कम्प्युटरमा सेभ गर्नुहोला तर जबसम्म आफै समाचार पोस्ट गर्न सक्नुहुन्न तबसम्म तपाईँ पछाडि नै पर्नुहुन्छ। सिएमएसको कखरा पनि थाहा छैन भने आजै वर्डप्रेस, ब्लगस्पट जस्ता ब्लगिङ साइटहरुमा खाता खोल्नुस् र ब्लग बनाउनुस्। सिएमएसमा कसरी काम गर्नुपर्छ भन्ने सिक्न गाह्रो छैन।

५) भिडियो

अनलाइन पत्रकारिता पत्रिका, रेडियो र टेलिभिजनको ‘फ्युजन’ हो, जहाँ अक्षर, आवाज, फोटो र दृश्य सबै हुन्छन्। त्यसैले त यसलाई मल्टिमिडिया पत्रकारिता पनि भनिन्छ। यसअर्थमा अनलाइन पत्रकारले यी सबै कुराको उत्पादन, सम्पादन र वितरणको प्रक्रिया बुझ्नुपर्छ। सोसल मिडिया भनिने फेसबुक, ट्विटर लगायत साइट पनि अहिले भिडियो सामग्रीलाई प्राथमिकता दिन लागिपरेका छन्, युट्युबको त कुरै बेग्लै भयो। यसले के देखाउँछ भने भविष्य भिडियोमा छ। त्यसैले भिडियो खिच्ने, सम्पादन गर्ने, युट्युब लगायत साइटमा अपलोड गर्ने लगायतका ज्ञान अनलाइन पत्रकारमा हुन जरुरी छ। यतिमात्र होइन, कसैले फेसबुकमा समाचार बनाउन लायक भिडियो अपलोड गर्‍यो वा युट्युबमा त्यस्तो कुनै भिडियो भेटियो जुन पाठकलाई रुचिकर हुन सक्छ। वेबसाइटमा भिडियो कसरी इम्बेड गर्ने भन्ने पनि ज्ञान तपाईँसँग हुन जरुरी हुन्छ। त्यसैले आजैदेखि सिक्न लागिहाल्नुस्। शुभकार्यमा किन ढिला?

६) मोबाइल प्रविधि

linkedin.com
linkedin.com

विदेशतिरका विश्वविद्यालयमा ‘मोबाइल पत्रकारिता’विषयमा अध्ययन अध्यापन हुन थालिसकेको छ। किनभने पत्रकारितामा मोबाइलबाट गर्न नसकिने कुरा कमै छन्। तपाईँ समाचार लेख्न सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ, फोटो/भिडियो खिच्न सक्नुहुन्छ, सम्पादन गर्न र अपलोड गर्न सक्नुहुन्छ। सोसल मिडियामा सेयर गर्न सक्नुहुन्छ। त्यतिमात्र होइन, कुनै पनि घटना भैरहेका बेला फेसबुक वा युट्युबमा लाइभ गर्न सक्नुहुन्छ। अहिले समाचार सामग्रीको उपभोगमात्र मोबाइलबाट भैरहेको छैन, यसको उत्पादन पनि मोबाइलबाट भैरहेको छ। फिल्डमा जाने, ल्याउने, कार्यालयमा आएर समाचार लेख्ने, त्यसलाई सम्पादकले हेर्ने र प्रकाशन गर्ने समाचार चक्र फेरिएको छ। सूचनाको सत्यापन (भेरिफिकेसन) अनलाइन पत्रकारितामा निकै महत्वपूर्ण छ तर त्यसको पनि प्रक्रिया फेरिएको छ। अनलाइनको सम्वाददातामा समाचार रिपोर्टिङ, लेखन, सम्पादन, सत्यापन, प्रकाशन र सोसल मिडियामा सेयरिङ गर्नेसम्मको  ज्ञान आवश्यक पर्छ।

७) सोसल मिडिया

niemanlab.org
niemanlab.org

६ नम्बर बुँदाबाट थाहा पाइहाल्नुभयो कि तपाईँले आफ्नो अनलाइनमा पोस्ट भएको समाचार सोसल मिडियामा सेयर गर्न जान्नुपर्छ। अनलाइन पत्रकारसँग सोसल मिडिया भनिने फेसबुक, ट्विटर, युट्युब जस्ता साइट प्रयोगको पूर्ण ज्ञान आवश्यक हुन्छ। यदि तपाईँ फेसबुक चलाउन राम्रोसँग जान्नुहुन्न वा ट्विटर चलाउनुहुन्न भने तपाईँ अनलाइन पत्रकारिताका लागि फिट नहुन सक्नुहुन्छ। इमेल चलाउन जान्नुपर्छ त भन्नु नपर्ला। समाचार पोस्ट भैसकेपछि फेसबुक तथा ट्विटरमा समाचार सेयर गर्न जान्नुपर्छ।

जसरी समाचार पढ्ने चलन फेरिएको छ, त्यसै गरी रिपोर्टिङको चलन पनि फेरिएको छ। फेसबुक र ट्विटरमा मानिसहरु के भनिरहेका छन्, किन भनिरहेका छन् भन्ने तपाईँले बुझ्न आवश्यक हुन्छ। सार्वजनिक व्यक्तित्वहरु सार्वजनिक विषयहरुमा कस्ता धारणा व्यक्त गरिरहेका छन् भन्ने कुरा तपाईँ फेसबुक र ट्विटरको टाइमलाइनमा पढ्न सक्नुहुन्छ, जुन समाचारका लागि राम्रो विषय हुन सक्छ। कतिपय अवस्थामा सोसल मिडियामा भएका अन्तर्क्रियाहरुलाई तपाईँले समाचार बनाउन सक्नुपर्ने हुन्छ। हालै एमाले नेता शंकर पोखरेलले ट्विटरमा लेखेको कुराले कत्रो बहस र विवाद ल्यायो तपाईँलाई थाहै होला। तपाईँले आफूले लेखेका समाचार सोसल मिडियामा सेयर गर्न सक्नुपर्ने हुन्छ। स्रोतसँग अनलाइनमै पनि सम्बन्ध बनाउने तथा सूचना लिनुपर्ने हुन सक्छ। सोसल मिडिया किन पनि महत्वपूर्ण छन् भने अहिले जुनसुकै समाचार पोर्टल पनि पाठकका लागि यसैमा निर्भर छन्। यसबाहेक सोसल मिडियामा तपाईँले सेयर गरेका समाचारमा पाठकले प्रतिक्रिया (कमेन्ट) दिइरहेका हुन्छन्, त्यो पनि पढ्नुपर्‍यो। आवश्यक परेमा त्यसमा तपाईँले प्रतिक्रिया पनि दिनुपर्‍यो। त्यसैले आजैदेखि नयाँ नयाँ सोसल मिडिया साइट चलाउने र त्यहाँ कसरी काम गर्ने भन्ने सिक्न थालिहाल्नुस्।

८) अनलाइन इज हेडलाइन

अनलाइन पत्रकार बन्न तपाईँले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने – ‘अनलाइन इज हेडलाइन।‘ अर्थात अनलाइन भनेको शीर्षक हो। पत्रकारितामा पहिलैदेखि भन्दै आएको कुरा के हो भने समाचार सामग्रीको शीर्षकले नै उक्त समाचारको सफलता/असफलता दर्शाउँछ। पाठकलाई समाचारको हेडलाइनले तान्छ कि तान्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ। झन् अनलाइन पत्रकारितामा त त्यसको विशेष महत्व हुन्छ। त्यसैले समाचारको मुख्य विषय झल्किने गरी पाठकलाई समाचार पढ्न प्रेरित गर्ने गरी हेडलाइन राख्नु अनलाइन पत्रकारितामा निकै महत्वपूर्ण हुन्छ। अनलाइन पत्रकारसँग समाचार लेख्ने, सम्पादन गर्ने र पोस्ट गर्ने ज्ञानका अलावा समाचारको हेडलाइन राख्ने ज्ञान पनि आवश्यक छ। तपाईँ नै भन्नुस्, राम्रो हेडलाइन भएको समाचारमा तपाईँको ध्यान जाँदैन? समाचार जति राम्रो भए पनि हेडलाइन नै झुर छ भने पाठकहरु समाचार पढ्न भित्र आउँदैनन् भन्ने कुरा बुझ्नु भयो नि?

९) इन्टरनेट टुल्स

googleअनलाइन पत्रकारले अनगिन्ति इन्टरनेट टुल्सहरुको ज्ञान राख्नुपर्छ। मानौँ, तपाईँले अडियो पाउनुभयो तर तपाईँको डिभाइसले सपोर्ट गरेन। के गर्नुहुन्छ? गुगलमा जानुस् अडियो कन्भर्टर टुल्स खोज्नुस् र फाइल फर्म्याट परिवर्तन गर्नुस्। यही कुरा भिडियोमा पनि लागू हुन्छ। त्यतिमात्र होइन, तपाईँले फन्ट कन्भर्टरबारे पनि जान्नुपर्ने हुन्छ। इन्फोग्राफिक्स बनाउने अनलाइन सफ्टवेयर बारेको जानकारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। भिडियो सम्पादन गर्न मुभीमेकर र एडोब प्रिमियर जस्ता सफ्टवेयरको ज्ञान तपाईँमा आवश्यक पर्छ यदि तपाईँ आफूलाई ‘इन्डस्ट्री’ मा अब्बल साबित गर्न चाहनुहुन्छ भने। झण्डै बिर्सिएको, गुगल गर्न त आउँछ नि? कति विषय गुगलमा खोज्नुपर्ने हुन्छ, त्यसैले गुगल लगायतका सर्च इन्जिनको प्रयोग पनि तपाईँले जान्नुपर्ने हुन्छ।

१०) आचारसंहिता

अन्य माध्यममा जस्तै अनलाइनमा पनि आचारसंहिता अत्यन्त महत्वपूर्ण हुन्छ। रेडियो, टेलिभिजन र पत्रपत्रिकामा लागू हुने आचारसंहिता बाहेक अनलाइनका सन्दर्भमा जान्नुपर्ने थप कुरा छन्। जस्तो एकपटक पोस्ट गरेको समाचार, फेसबुक पोस्ट वा ट्विट डिलिट गर्नुहुँदैन। डिलिट गर्नैपरे किन डिलिट गरेको भनेर पाठकलाई जानकारी दिनुपर्छ। अर्को कुरा समाचारलाई पूर्णतया परिवर्तन गर्नु हुँदैन। कुनै गल्ती सच्याएमा के सच्याएको र किन सच्याएको भनेर त्यही पोस्टमा स्पष्टीकरण दिनुपर्छ। उदाहरणका लागि पहिलोपोस्टको डिजिटल पब्लिसिङ गाइडलाइन्स पढौँ न, जहाँ लेखिएको छ- ‘कथ‍ंकदाचित कुनै गल्ती हुन गएमा स्पष्ट उल्लेख हुने गरी सम्पादकको नामबाट तत्काल भूल सुधार गरिनेछ। भूल सुधार गरिएको सूचना समाचारमा स्पष्ट उल्लेख हुनुपर्नेछ। एक पटक प्रकाशित भइसकेको समाचारमा सूचना दिएर भूल सुधार गर्न सकिनेछ तर कुनै पनि हालतमा पूरै समाचार डिलिट गरिने छैन। समाचार डिलिट गर्नुपरे प्रस्तुत नीतिविपरीत भएको कारण दर्शाउँदै लिखित निर्देशन सम्पादकले दिनुपर्नेछ। त्यस्तो समाचार डिलिट गरिँदा पर्मालिङ्कमा फलानो कारणले फलानो मितिदेखि डिलिट गरिएको भनी उल्लेख गरिनेछ।‘

हालै सुरु भएको क्लिकमाण्डु डट कमको सम्पादकीय नीति पढ्नुस्, जहाँ लेखिएको छः एक पटक प्रकाशित समाचार कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन। तपाईँले बुझिहाल्नुभयो नि अनलाइन पत्रकारिताका बेग्लैखाले आचारसंहिता।

यी बाहेक

  • तपाईँले आफूलाई चाहिने सन्दर्भ सामग्रीको राम्रो अर्काइभ राख्नुपर्ने हुन्छ।
  • राजनीतिक घटनाक्रम वा ऐतिहासिक पक्षबारे सामान्य ज्ञान तपाईँसँग हुनुपर्छ।
  • पाठकले कुन समाचार पढिरहेका छन्, उनीहरुको व्यवहार के छ पनि त थाहा पाउनुपर्‍यो नि। यसका लागि गुगल एनालिटिक्सको पनि चलाउन जान्नुपर्‍यो।
  • अनि देशको कुरामात्र गरेर भएन, छिमेकी मुलुकमा के भैरहेको छ, विदेशमा के भैरहेको छ पनि थाहा पाउनुपर्‍यो। त्यसका लागि त्यहाँको भाषा (नेपालको सन्दर्भमा हिन्दी र अंग्रेजी) जान्नैपर्‍यो। सबैका भाषा जानेर पनि कहाँ पार लाग्छ र? तर भाषा अनुवाद गर्ने गुगल ट्रान्सलेट त जान्नुपर्‍यो नि !
  • अनि न्यु मिडियामा के के नयाँ ट्रेन्ड आइरहेका छन्, पत्रकारितालाई प्रविधिले कसरी प्रभाव पारिरहेको छ भन्ने कुरा पनि जानिरहनुपर्‍यो।
  • स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार साइटको नियमित अध्ययन चाहियो। नत्र आइडिया कसरी आउँछ?
  • एसइओ अर्थात सर्च इन्जिन अप्टिमाइजेसनका बारेमा पनि तपाईँलाई थाहा छ भने सुनमा सुगन्ध। किनकि यसबाट सर्च इन्जिनमा साइटको र्‍यांक बढाउन सकिन्छ।
  • अनलाइन पत्रकारिता सजिलो छैन। बिहान, दिन र रात आठैप्रहर खट्नुपर्ने हुनसक्छ।
  • अनि अन्त्यमा, मैले अझ धेरै कुरा सिक्नु छ भन्ने दिमाग पनि चाहियो नि !

यी त भए मैले देखेका केही विषय। यी बाहेक पनि सिक्नुपर्ने धेरै कुरा हुन सक्छन् जुन मलाई नै थाहा छैन। माथि लेखिएका सबै कुरा जानेर मात्र अनलाइन पत्रकारितामा आउनुस् भनेको होइन तर अनलाइनमा आफूलाई अब्बल साबित गर्न यतिचाहिँ जान्नुपर्छ भनिएको हो। अरु के के चाहिएला? तपाईँलाई थाहा छ भने कमेन्ट गर्नुस्। यदि तपाईँलाई यो पोस्ट मन पर्‍यो भने अनलाइन पत्रकारितामा आउन चाहनेहरुलाई पढ्न भन्दिनुस् है !

यो पोस्ट तयार गर्ने क्रममा मैले मनोज सत्याल (पहिलोपोस्ट), बीपी साह (हुलाकीन्युज), अपार प्रमोद (W3 Developers) र रमेश भट्टराईसँग आइडिया लिएको थिएँ। धन्यवाद सबैलाई।

6 Comments

  • Dhyan Kulung (#)
    September 9th, 2016

    Sabai bhanda sajijo CMS chai kun hola??

  • Rahul Raut (#)
    September 10th, 2016

    Loved the article Rabi Raj Dai.. I have just completed the 1st year examination of B.A. in Mass Communication and now I am looking to enter into the working field of Journalism. And what can be better than online for the beginning? The best part is that, I already have 9 out of 10 skills you mentioned here.

    One more thing I would like to suggest: Those who are aspiring to become online journalist or freelancer must need a strong social media presence. He doesn’t need a Facebook and Twitter account just to share the links of his work. He would have to be active there with usual interaction with his followers. There are quite more small things that an online media personality need to succeed in his field but almost all the main skills you have already covered. Thanks for this wonderful article!

    @Rahulrautwrites

    • Media Kurakani (#)
      September 16th, 2016

      Thanks Rahul Jee for your inspiring words. All the best for your writing journey. Since you are “jumping for journalism” and you are confident about your skills, contact Editors and share your areas of interests to begin. They are always hunting people like you! All the best. 🙂

      • Rahul Raut (#)
        November 22nd, 2016

        Thanks for your wishes. I always look for your articles. Keep posting and teaching us.

  • baburam gaire (#)
    September 12th, 2016

    Thanks for all these information ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *