पत्रकार बन्न अब लिनुपर्ने छ लाइसेन्स, यस्तो छ प्रस्तावित पाठ्यक्रम


पत्रकारितालाई पेशा बनाउन चाहनेले अब प्रवेश परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र अर्थात लाइसेन्स लिनुपर्छ भन्ने तपाईँलाई थाहा छ? प्रेस काउन्सिल नेपाल यसको अन्तिम तयारीमा जुटेको छ। २०७३ साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले प्रेस काउन्सिल नेपाललाई प्रतिवेदन बुझाउँदै पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न सिफारिस गरेको छ। प्रेस काउन्सिल नेपालले जतिसक्दो चाँडो यससम्बन्धी व्यवस्था गर्ने बताएको छ।

फोटोःajr.org
फोटोःajr.org

अध्ययन प्रतिवेदनको निष्कर्षमा भनिएको छ- ‘पत्रकारिता व्यवसायको लागि योग्यता परीक्षणको व्यवस्था नहुँदा दिनप्रतिदिन मिडियाको गुणस्तर खस्किँदै गएको र सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता पालनाको स्थिति समेत सन्तोषजनक नरहेकोले मिडियाको गुणस्तर अभिवृद्धि र आचारसंहिता पालनाको स्थितिलाई सुधार गर्नको लागि पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न नितान्त आवश्यक भएको देखिन्छ।’ हामी तपाईँलाई कार्यदलको प्रतिवेदनको सारांशका आधारमा यसमा रहेका मुख्य विषय जानकारी दिँदै छौँ।

१) कार्यदल

प्रेस काउन्सिल नेपालले २०७२ फागुन १९ गते एउटा कार्यदल गठन गरेको थियो। सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा गठित कार्यदलमा रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल सदस्य थिए। कार्यदलमा काउन्सिलका तत्कालीन उपप्रशासकीय अधिकृत दीपक खनाल सचिव थिए। कार्यदललाई ‘पत्रकारिता पेशामा प्रवेश पूर्व योग्यता परीक्षणको व्यवस्था के कसरी गर्न उपयुक्त हुन्छ अध्ययन गरी अवधारणा, पाठ्यक्रम तथा कार्यप्रक्रिया सहितको प्रतिवेदन पेश गर्ने’ जिम्मा दिइएको थियो। कार्यदलले गठन भएको पाँच महिनामा काउन्सिललाई प्रतिवेदन बुझाएको छ।

२) योग्यता तोक्नुपर्ने औचित्य

कार्यदलले ‘योग्यता तोक्नुपर्ने औचित्य’ शीर्षकमा चार कारण दिएको छ। पहिलो औचित्य दिइएको छ- ‘लोकतन्त्रलाई अझ बढी सवल बनाउन, स्वतन्त्र, सक्षम, मर्यादित एवं वैधानिक पत्रकारिताको स्थापना र विकासको लागि।’ (यहाँ वैधानिक पत्रकारिता भनेर के भन्न खोजिएको होला?) दोस्रो औचित्य- पत्रकारितालाई पेशाको मापदण्डअनुकूल बनाउन। तेस्रो औचित्य- भैरहेका पत्रकारहरुको हकहीत यथावत राखी अब पत्रकारितामा आउने व्यक्तिको योग्यता परीक्षण प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन। चौँथो औचित्य- अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने पत्रकारिताको विकास गरी पत्रकारिताको आत्मसम्मान कायम राख्न।

३) काउन्सिललाई छ त अधिकार?

नेपाल मेडिकल काउन्सिलले डाक्टरको लाइसेन्स र नेपाल बार काउन्सिलले वकिलको लाइसेन्स दिएजस्तै पत्रकारलाई लाइसेन्स दिने अधिकार प्रेस काउन्सिल नेपाललाई छ त? प्रेस काउन्सिल ऐन, २०४८ मा काउन्सिलका उद्देश्य अन्तर्गत ‘योग्यता परीक्षण परीक्षा’ बारे उल्लेख छैन। त्यसैले कार्यदलले ऐनको दफा ५ मा रहेका काउन्सिलका उद्देश्यहरुको लागि नियम बनाउन सक्ने ऐनको दफा १७ र विनियम बनाउन सक्ने दफा १८ मा रहेको व्यवस्थालाई टेकेर पत्रकारको योग्यता परीक्षण सम्बन्धी व्यवस्था गर्न सुझाव दिएको छ।

४) कसले लिन्छ त परीक्षा?

कार्यदलले पत्रकार लाइसेन्स परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विशेषज्ञहरुको समिति गठन गर्न सुझाव दिएको छ। सरकारको हस्तक्षेपरहित यो समितिमा स्वतन्त्र र निष्पक्ष व्यावसायिक व्यक्ति रहनेछन्। समितिले पत्रकारको योग्यता तोक्ने, परीक्षा सञ्चालन गर्ने र प्रमाणपत्र प्रदान गर्ने काम गर्ने छ। कार्यदलले समितिका संयोजक र सदस्यको मापदण्ड निम्नलिखित तोकेको छ।

  • न्याय प्रशासनको उच्च तहमा रही कार्यसम्पादन गरेको।
  • निरन्तर २५ वर्ष नेतृत्व तहमा रही पत्रकारिता गरेको।
  • पत्रकारिता विषयमा उच्च प्रज्ञिक कार्यमा कम्तिमा १५ वर्ष अनुभव हासिल गरेको।

५) कस्तो हुन्छ परीक्षा?

लाइसेन्स लिन चाहनेले लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षा नेपाली र अंग्रजी भाषामा हुनेछ।

६) ककसले दिनुपर्छ त लाइसेन्स परीक्षा?

यस विषयमा कार्यदलको प्रतिवेदन नै कन्फ्युजनमा छ। यही प्रतिवेदनमा एक ठाउँमा भूतप्रभावी नहुने व्यवस्था गर्न सुझाव दिइएको छ भने अर्को ठाउँमा एसएससी उत्तीर्ण गरी पत्रकारिता गरिरहेकाहरुले पनि लाइसेन्स परीक्षा दिन उपयुक्त हुने लेखिएको छ। कार्यदलको सिफारिस लागू भयो भने पत्रकारिता वा अन्य विषयमा भर्खर स्नातक गरेर पत्रकारिता पेशामा प्रवेश गर्न लागेका नयाँ जनशक्तिले लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने छ। यो व्यवस्था लागू हुनु अघिदेखि एसएलसी उत्तीर्ण गरी पत्रकरिता गर्दै आएकाहरुले पनि योग्यता परीक्षण परीक्षा दिनुपर्ने कार्यदलको सुझाव छ। कार्यदलकै प्रतिवेदनमा एक ठाउँ लेखिएको छ- ‘यसरी योग्यता र परीक्षण तोक्दा सुविधा भोग गरिरहेका व्यक्तिलाई असर नपरोस् भनी पश्चातदर्शी रुपमा लागू नहुने भविष्यका दिनमा मात्र लागू हुने गरी व्यवस्था मिलाउन उपयुक्त देखिन्छ।’ अर्थात पत्रकारिता पेशामा आउने नव प्रवेशीले मात्र लाइसेन्स परीक्षा दिनुपर्नेछ। यस विषयमा कार्यदलको प्रतिवेदनमा एक आपसमा बाझिने खालका सुझाव दिइएको छ।

७) लाइसेन्स परीक्षाका लागि के के पढ्ने त?

३५० पूर्णांकको लाइसेन्स परीक्षाका लागि १०० अंकभारको ‘पत्रकारिताको सामान्य परिचय’, १०० अंकको ‘प्रेस काउन्सिल र पत्रकार आचारसंहिता’, १०० कै ‘पत्रकारिताको अभ्यास’ र ५० को अन्तर्वार्ता रहने गरी कोर्स डिजाइन गर्न कार्यदलले सुझाव दिएको छ। १०० मा ४० ल्याए परीक्षामा उत्तीर्ण भइनेछ।

८) पत्रकारको पनि हुनेछ वर्गीकरण

लाइसेन्स परीक्षा लिएरमात्र पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउन सम्भव छैन भन्ने निष्कर्ष कार्यदलको छ। ‘यस पेशामा लाग्नेहरुकै बिचमा एउटा स्तर पनि कायम गर्न जरुरी छ। पत्रकारको योगदान र वरिष्ठतालाई कदर गर्दै वर्गीकरण गर्नुपर्छ’, कार्यदलको प्रतिवेदनमा उल्लेख छ। विशेषज्ञ टोलीको सिफारिसमा पत्रकारको स्तर कायम गर्ने वा वर्गीकरण गर्ने गरी व्यवस्था गर्न कार्यदलले सुझाव दिएको छ।

९) लाइसेन्स परीक्षाको कोर्स अफ स्टडी

कार्यदलले लाइसेन्स परीक्षाको पाठ्यक्रम पनि डिजाइन गरेको छ। लाइसेन्स लिन चाहनेले लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षा नेपाली र अंग्रजी भाषामा हुनेछ। यो पाठ्यक्रम अनुसारको परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुमा निम्न गुण हुने कार्यदलको बुझाइ छ-

  • पत्रकारिताका आधारभूत सैद्धान्तिक ज्ञान
  • राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सञ्चार, आमसञ्चार र पत्रकारिताको विकासक्रमबारे सामान्य जानकारी
  • समाचार लेखनका आधारभूत सीप
  • पत्रकारको पेशागत आचारसंहिताको ज्ञान
  • पत्रकारिताको अन्तर्वार्ता सम्बन्धी सैद्धान्तिक ज्ञान
  • पत्रकारिताको भाषासम्बन्धि सजगता
  • पत्रकारितासँग सम्बन्धित समसामयिक अभ्यास र प्रवृत्ति

१०) यस्तो छ पाठ्यक्रम

क) पत्रकारिताको सामान्य परिचय अंक १०० 

  • सञ्चार, आमसञ्चार र पत्रकारिताः विश्व र नेपालमा पत्रकारिताको सुरुवात
  • पत्रकारिताको परिभाषा, समाजमा पत्रकारिताको भूमिका
  • समाचारः परिभाषा
  • समाचारका प्रकारः परम्परागत, गहन, प्रतिकारात्मक, समाधानात्मक, खोजी घटनाप्रधान र प्रक्रियाप्रधान समाचार, इन्डेफ्थ समाचार
  • समाचारः समाचार-फिचर र विचार-आलेख बिचका भिन्नता
  • समाचारका स्रोतहरुः औपचारिक र अनौपचारिक स्रोत
  • समाचारका तत्वहरुः के, कहाँ, कहिले, को, किन र कसरी (सामयिकता, आकार, मानव अभिरुची र निकटता)
  • पत्रकारका आधारभूत आवश्यकताः सत्यतथ्य, निष्पक्षता, स्वच्छन्दता, सन्तुलन (मूल सिद्धान्त वा धर्म)
  • समाचारका मूल्यहरुः नयाँ, नौलो, निकटता, विशिष्ट र महत्वपूर्ण
  • समाचार संकलनः अवलोकन, दस्तावेज र मानवस्रोत
  • लेखन र सम्पादनः समाचारको शीर्षक चयन
  • सम्पादकीय लेखनः तीन तह
  • अन्तर्वार्ताः अन्तर्वार्ताकव तयारी, अन्तर्वार्ता लिँदा ध्यान दिनुपर्ने कुराहरु
  • संवैधानिक हकका रुपमा आमसञ्चार अधिकारः नेपालको संविधान २०७२ धारा १९
  • केही आमसञ्चार कानुनः छापा र प्रशारण सम्बन्धी कानुनहरु, गाली बेइज्जति ऐन
  • समाचारदाताः समाचारदाताका गुण
  • उपसम्पादकः काम र कर्तव्य
  • सम्पादकः योग्य सम्पादकका गुण
  • फोटो पत्रकारिताः समाचार फोटो
  • साजसज्जा, रेखाचित्र र व्यंग्यचित्र
  • पत्रकारिता र भाषाको सम्बन्ध
  • पत्रकारिता सम्बन्धी शव्दावलीः न्युज भ्यालुज, डेडलाइन, डेटलाइन, बाइलाइन, मास्टहेड, ब्यानर न्युज, हेडलाइन आदि।

ख) प्रेस काउन्सिल र पत्रकार आचारसंहिता अंक १००

  • प्रेस काउन्सिलको इतिहास
  • अम्बुड्सम्यान
  • नेपालमा प्रेस काउन्सिल
  • प्रेस काउन्सिल ऐन
  • पत्रकार आचारसंहिता
  • नेपाल पत्रकार आचारसंहिता

ग) पत्रकारिताको अभ्यास अंक १००

  • समाचार संकलन लेखनसँग सम्बन्धित समाजमा भएका कुनै पनि विषय
  • नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपाली अनुवाद गरी समाचार तयार पार्नुपर्ने समाचारमूलक कुनै पनि विषय।

घ) अन्तर्वार्ता अंक ५०

  • आमसञ्चार र पत्रकारिता सम्बन्धी विषयवस्तु र यसका समसामयिक प्रवृत्ति, पत्रकारिताका सामान्य सिद्धान्त र अभ्यास

पत्रकार बन्न योग्यता परीक्षण परीक्षामा सहभागी भइ प्रमाणपत्र (लाइसेन्स) लिनुपर्ने गरी पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले गरेको सिफारिस तपाईँलाई कस्तो लाग्यो? यो व्यवस्था कत्तिको व्यवहारिक होला? आफ्नो विचार व्यक्त गर्नुहोस्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *