प्रेस काउन्सिललाई कान्तिपुरले पढायो आचारसंहिताको पाठ, सोध्यो तीन प्रश्न


वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे ईकान्तिपुर डट कमले प्रकाशित गरेको एउटा समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल र कान्तिपुरबीच द्वन्द्व चर्किएको छ।

उक्त समाचारबारे तीन दिनभित्र स्पष्टिकरण पेश गर्न काउन्सिलले पठाएको पत्रको जवाफ दिँदै कान्तिपुरले ‘अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण सोधिएको’ आरोप लगाएको छ। काउन्सिलबारे केही समयअघि कान्तिपुरमा छापिएको एउटा सम्पादकीयको झोंक फर्न खोजिएको कान्तिपुरको बुझाई छ।उता काउन्सिल भनेआफ्नो क्षेत्राधिकारमाथि प्रश्न उठाएको भन्दै कान्तिपुरलाई सचेत गराउने तयारीमा छ।

kantipur-vs-press-councilकाउन्सिल-कान्तिपुरद्वन्द्वबारे हामी तपाईँलाई प्रष्ट पार्ने कोसिस गर्ने छौँ।

पृष्ठभूमि

ईकान्तिपुर डटकमले गत जेठ २४ गते बिहान ‘वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन’ शीर्षकमा समाचार ‘ब्रेक’ गर्‍यो। पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रकाशित त्यो समाचारको अस्पताल र गुरुङको परिवारले खण्डन गरे। केही घण्टामै ईकान्तिपुरले उक्त समाचार हटायो र क्षमायाचना गर्‍यो।

ईकान्तिपुरले जेठ २४ गते बिहान ३:४५ मिनेटमा अम्बर गुरुङको निधन भएको उल्लेख गरेको थियो। अस्पतालले भने भोलिपल्ट अर्थात जेठ २५ गते बिहान २:३७ मा अम्बर गुरुङको निधन भएको घोषणा गर्‍यो। ईकान्तिपुरको समाचारमा दिइएको समय र अस्पतालले घोषणा गरेको समय हिसाबै गर्ने हो भनेद२२ घण्टाद३८ मिनेट फरक पर्न आउँछ।

कतै अम्बर गुरुङको मृत्यु भैसकेको तर अस्पतालले कुनै कारणबस घोषणा नगरेको त थिएन? भनेर शंका गर्नेहरु पनि छन्। उदाहरणका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले फेसबुकमा लेखेका थिए-

२८ वर्षको व्यावसायिक पत्रकारिताको जीवनमा हिजो बिहानदेखि आज बिहान करिब २० घण्टाको समय मैले सबैभन्दा बढी कष्ट र मानसिक पीडाका साथ व्यतित गरेको समय हो। सत्य पनि फरक हुन्छ र? एकले देखेको, बुझेको, देखेको, भोगेको सत्यलाई अर्काले हो भनिदिनुपर्ने? सत्यको सम्वाहकको हैसियत के? पत्रकारितामा सम्भवतः छलफल हुनुपर्ने विषय हो। जिम्मेवार त सबैले भइदिनुपर्ने होइन र? सत्य प्रमाणित भइसक्दा पनि सत्यका ठेकेदारहरुले मुख नखोलेसम्म सत्य प्रमाणित भएको नमानिने? हामी कस्तो सत्यको सेवा गरिरहेका छौं? अनि ती ठेकेदारहरुका कारण मैले र म जस्ताले २० घण्टासम्म भोगेको मानसिक पीडाको कहीँ कतै हिसाब हुन्छ?

तर समाचारका विषयमा ईकान्तिपुरले नै माफी मागिसकेपछि त्यो शंकाको अर्थ रहेन। अम्बर गुरुङको मृत्युबारेको समाचारमा कान्तिपुर कसरी चुक्यो र यसबाट पत्रकारले सिक्नुपर्ने पाठ के हुन् भन्नेबारेको सामग्री पढ्नुस्।

प्रेस काउन्सिलको पत्र

प्रेस काउन्सिल नेपालले जेठ २५ गते ईकान्तिपुर डट कमलाई पत्र लेखेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दियो। ईकान्तिपुरले पत्रकार आचारसंहिता २०६० को दफा ३ को ४ र ९ तथा दफा ४ को ६ उल्लंघन गरेको भन्दै काउन्सिलले ‘अनलाइनबाट गरिएको सामान्य क्षमायाचना प्रयाप्त नहुने….’ र ‘त्यस्तो आपत्तिजनक समाचार कसरी सम्प्रेषण हुन गएको हो? सो समाचार संकलन गर्ने सम्वाददाता, समाचार सम्पादन गर्ने सम्पादक समेतको विवरण खुल्ने गरी आधार र कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश…’ गरेको थियो।

कान्तिपुरको जवाफ

कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले असार १ गते पत्र लेख्दै काउन्सिललाई जवाफ दिएका छन्। प्रधान सम्पादक शर्माले जवाफमा लेखेका छन्- ‘पत्रमा उल्लिखित पत्रकार आचारसंहिताको दफा ३ को (४) र (९) को हकमा समाचारमा त्रुटि भएकै कारण तत्काल सच्याउँदै क्षमा मागिएको हो। उक्त समाचारमा गल्ती भएका कारण सच्याइएको मात्र होइन कि क्षमासमेत मागिसकिएको बारेमा काउन्सिलका अध्यक्ष, सदस्य र त्यहाँ कार्यरत कर्मचारीहरु अवगतै हुनुपर्छ। दफा ४ को (६) का हकमा, पहिलो समाचारप्रति क्षमा मागिसकेको अवस्थामा ‘कसरी थप पीडा पुग्न गयो?’ काउन्सिलको पत्रबाट खुल्न सकेन।’

ईकान्तिपुरले क्षमा मागिसकेको विषयमा काउन्सिलले स्पष्टीकरण सोध्नुलाई पत्रकार ‘आश्चर्यजनक’ भनिएको छ। पत्रमा भनिएको छ-

अनलाइनले क्षमा मागिसकेको विषयमा कसरी क्षमा माग्यो या कसरी मागिन्पर्थ्यो भनी प्रेस काउन्सिलले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाउनु आश्चर्यजनक छ। ईकान्तिपुरको कुनै बद्नियत भएको भए क्षमा नै माग्ने थिएन।

कान्तिपुरले केही समयअघि प्रेस काउन्सिलका विषयमा लेखेको सम्पादकीयको निहुँ फेर्न ‘अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण पत्र प्रेषित भएको’ कान्तिपुरको आरोप छ। पत्रमा काउन्सिललाई प्रश्न गरिएको छ-

काउन्सिलमा दलीय आस्थामा मन्त्रीद्वारा नियुक्त पत्रकार र पत्रकारिताको मूल्य, मान्यताको सामान्य ख्याल समेत नगर्नेहरु हावी भएको भनी केही समयअघि कान्तिपुर दैनिकले सम्पादकीय लेखेको पृष्ठभूमिमा अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण पत्र प्रेषित भएको होइन भनेर कसरी मान्ने?

कान्तिपुरले गत बैशाख २१ गते ‘प्रेस काउन्सिलको अवमूल्यन’ शीषकमा सम्पादकीय लेखेको थियो। प्रेस काउन्सिलको सदस्यमा दीपक पाठक नियुक्त भएको सन्दर्भमा लेखिएको उक्त सम्पादकीयमा भनिएको थियो- ‘सरकारले प्रेस काउन्सिल नेपालको सदस्यमा ठगी र ‘ब्ल्याकमेलिङ’ धन्दामा संलग्न भएका कारण काउन्सिलले विगतमा दण्डित गरेका व्यक्तिलाई नियुक्त गरेपछि सरकारको नियतमा त प्रश्न उठेको छ नै, यसले प्रेस काउन्सिल नेपालको औचित्यमाथि समेत प्रश्न उठाएको छ।’ पढ्नुस् कान्तिपुरको सम्पादकीय

काउन्सिलको कार्यशैलीमाथि प्रश्न

आफूलाई पठाउनुपर्ने पत्र प्रेस काउन्सिलले पहिले नै सामाजिक सञ्जालहरुमा पोस्ट गरेको भन्दै कान्तिपुरले त्यसका पछाडि ‘काउन्सिलको बद्नियत रहेको’ आरोप पनि लगाएको छ। काउन्सिलको कार्यशैलीमाथि प्रश्न उठाउँदै उसले सोधेको छ-

काउन्सिलले पठाएको पत्र ईकान्तिपुरले प्राप्त गर्नुपूर्व सामाजिक सञ्जालहरुमा पोस्ट गरेर सार्वजनिक गर्नुका पछाडि काउन्सिलको बद्नियत रहेको किन नमान्ने? यस्तो स्पष्टीकरण सामाजिक सञ्जालमा राख्ने अधिकार काउन्सिललाई आचारसंहिताको कुन दफाले दिएको छ?

‘उक्त पत्र सम्बन्धित संस्थालाई पठाउनुपूर्व नै सामाजिक सञ्जालमा राख्नुमा काउन्सिलका पदाधिकारी र त्यहाँ कार्यरत कर्मचारीको बद्नियत देखिएको’ उल्लेख गर्दै कान्तिपुरले त्यसो गर्नेलाई ‘छानविन गरी दोषीहरुमाथि कडा कारबाही गर्न’ माग गरेको छ।

‘समाचार लेख्ने र सम्पादन गर्नेको नाम मागिनु पनि आश्चर्यजनक’ भन्दै कान्तिपुरले ‘काउन्सिलले ईकान्तिपुरको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको’ आरोप लगाएको छ।

कान्तिपुरले ‘अब आइन्दा बद्नियतपूर्वक अनावश्यक झमेला या झन्झट दिने उद्देश्यप्रेरित स्पष्टीकरण नसोध्न काउन्सिललाई आग्रह’ गरेको छ। पत्रमा लेखिएको छ-

प्रेस काउन्सिल गरिमामय, मर्यादित र संयमित निकाय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यसलाई सर्वमान्य र जिम्मेवार बनाउन काउन्सिलको क्रियाकलापमा राजनीतिक एवं निजी आग्रहपूर्वाग्रह र असक्षमता झल्किनु हुन्न। तसर्थ अब आइन्दा बद्नियतपूर्वक अनावश्यक झमेला या झन्झट दिने उद्देश्यप्रेरित स्पष्टीकरण नसोध्न काउन्सिललाई आग्रह गरिन्छ। यदि कुनै विषयमा पर्याप्त अनुसन्धान गरेपश्चात स्पष्टीकरण सोध्नु परेको खण्डमा काउन्सिल आफैं आचारणभित्र रहेर आचार संहिताका शब्दहरु ख्याल गर्न आग्रह गरिन्छ।

प्रेस काउन्सिलले अब के गर्छ?

प्रेस काउन्सिल आचारसंहिता अनुगमन उपसमितिको २०७३ असार ८ गते बसेको बैठकले ईकान्तिपुरलाई कारबाही गर्ने निर्णय गरिसकेको छ।

‘अम्बर गुरुङको निधन सम्बन्धि झुटो समाचारबाट सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन गरेको भनी काउन्सिलले ईकान्तिपुरसँग जवाफ माग गरेकोमा कान्तिपुर पब्लिकेसनका प्रधान सम्पादक सुधीर शर्माले अब आइन्दा बद्नियतपूर्वक अनावश्यक झमेला या झन्झट दिने उद्देश्य प्रेरित स्पष्टीकरण नसोध्न प्रेस काउन्सिललाई चेतावनी दिएको’ काउन्सिलको निर्णयमा उल्लेख छ। यस विषयमा काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले तीनओटा निर्णय गरेको छ।

१. वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन सम्बन्धि समाचारको सन्दर्भमा गल्ती स्वीकार गरी क्षमायाचना समेत गरेको पाइएको हुँदा अब उप्रान्त यस्ता सम्वेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा बढी सचेत र जिम्मेवार रहन निर्देशन दिने।

२. जिउँदो मानिसको मृत्यु भइसकेको समाचारबाट अम्बर गुरुङको परिवार र शुभचिन्तकमा गम्भीर चोट पुग्न गएको देखिँदा समाचारमा त्रुटि हुनुको कारण खोली निजका परिवारजनलाई क्षमायाचना सहित पत्राचार गर्ने र सो को प्रतिलिपि काउन्सिलमा पेश गर्न निर्देशन दिने।

३. उक्त समाचार आचारसंहिता विपरित भएको भनी काउन्सिलबाट ईकान्तिपुर डटकमलाई गरिएको पत्राचारको जवाफमा काउन्सिलको अधिकार क्षेत्रमा प्रश्न उठाउँदै काउन्सिलप्रति लाञ्छित गरिएको व्यहोरा जिम्मेवार र उत्तरदायीपूर्ण नदेखिएको हुँदा विषयवस्तु बाहिर गएर यस्ता टिप्पणी नगर्न ईकान्तिपुर डटकम (कान्तिपुर पब्लिकेशन प्रा.लि.)लाई सचेत गराउने।

अब के हुन्छ?

काउन्सिलले अब कान्तिपुरलाई पत्र पठाउनेछ र पहिलो निर्णयअनुसार ‘सम्वेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा जिम्मेवार रहन’ भन्नेछ। ईकान्तिपुरले गल्ती स्वीकार्दै माफी मागिसकेको सन्दर्भमा काउन्सिलले गुरुङका परिवारलाई पत्राचार गरी माफी क्षमायाचनासहित पत्राचार गर्न र उक्त पत्रको प्रतिलिपि काउन्सिलमा पेश गर्न निर्देशन दिने दोस्रो निर्णय गरेको छ। र, तेस्रो निर्णयअनुसार काउन्सिलले ‘ईकान्तिपुर डटकम (कान्तिपुर पब्लिकेशन प्रा.लि.) लाई पत्र पठाएर सचेत गराउने’ छ।

प्रेस काउन्सिल नेपाल र कान्तिपुरबीच भएको पत्राचारका आधारमा उनीहरुबीच चलेको द्वन्द्वबारे तपाईँलाई बुझाउने कोसिस हामीले गर्‍यौँ। अब पालो तपाईँको। यसबारे आफ्नो विचार कमेन्ट गर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.