शंकाको भरमा २० वर्ष कैदः कसरी खोजियो समाचार ?


रूपन्देहीमा बसेर १५ वर्षदेखि पत्रकारिता गरिरहेको मलाई ‘शंकाको भरमा २० वर्ष कैद’ भन्ने खोजमूलक समाचारले राजधानीमा समेत चर्चामा ल्याइदियो। दुई पटक मकवानपुर, दुई पटक रूपन्देही र एक पटक तम्घास पुगेर यो समाचार तयार गर्न पूरापूर चार महीना लागेको थियो।

mukesh pokhrel२०७२ पुसको अन्तिम साता खोज पत्रकारिता केन्द्र (खोपके) का सम्पादक शिव गाउँलेले सोधे ‘गज्जब विषय छ रिपोर्टिङ गर्छौ ?’ जाउलाखेलस्थित खोपके कार्यालयको त्यो चिसो बिहानीमा चियाको कप समाउँदै मैले ‘हुन्छ’ भनें। ‘नेपालका जेलमा निर्दोषहरू छन्। खोज्नुपर्ने यही हो !’, सम्पादक गाउँलेले भने, ‘गर्नसके अगाडि बढ, नसके अरूलाई नभन्नू।’ विषय नौलो भए पनि के सोचेर हो फेरि ‘गर्छु’ भनिहालें।

काठमाडौं बस्न थालेको ६ महीना जति भएको थियो। रुचि अनुसारको काम थिएन। एउटा किताब लेख्ने काम एकसरो सकिइसकेको थियो। सम्पादक नारायण वाग्लेको निर्देशनमा त्यसको बाँकी काम गर्दै थिएँ। मलाई त्यति कामले पुगेको थिएन। कुनै विषयमा खोज समाचार गर्ने मनोकांक्षा बोकेर खोपके पुगेको थिएँ।

सत्यको खोज

घटनाबारे जानकारी राख्ने एकजना व्यक्तिको टेलिफोन नम्बर लिएर म त्यहाँबाट निस्किएँ। तत्कालै ती व्यक्तिलाई टेलिफोन गरेर भेट्न चाहें। उनले भेट्न अस्वीकार गरे।

लामो समयसम्म रूपन्देहीमा बसेर पत्रकारिता गरेको अनुभव यसमा प्रयोग गरें। आफूसँग चिनजानमा रहेका वकिल, अदालतका साथीलाई मैले रिपोर्टिङ गर्न खोजेको विषयमा जानकारी गराएँ। गुल्मीमा यस्ता दुईवटा घटना भएको थाहा पाएँ। रूपन्देहीका एक जना वकिलले एक दुई घटना सुनाएर सहयोग गरे।

यसै बीचमा प्रहरीले लगाएको लागूपदार्थ कारोबारको झूटा मुद्दामा १८ वर्ष कैद सजाय भोगेर जेलबाट बाहिरिएका अरविन्द्र दाससँग पुग्ने सम्पर्क नम्बर पाएँ। चाबहिल बस्ने अरविन्द्र दासलाई भेट्न प्रयास गरें। उनले भेट्ने इच्छा देखाएनन्। पटक पटक सम्पर्क गरें। छोरासँग लामो कुरा भयो। पत्रकारको परिचय दिंदै आफ्नो उद्देश्य बेलीविस्तार लगाएँ। उनले ‘बुवासँग कुरा गरेर फोन गरौंला’ भने।  एकदिन पर्खें फोन आएन। त्यसपछि आफैं फोन गरें। तेस्रो पटकमा उनी कुरा गर्न राजी भए।

चाबहिलमा भेट्न बोलाए। सानो गल्लीको कोठामा कपडा सिलाएर बसिरहेका थिए। कुरा गर्न उत्साहित भएर पुगेको छु म। तर, उनले भने ‘अब बितेको घटना बताएर काम छैन, मेरो जीवन बर्बाद भइनै सक्यो।’

‘हाम्रो अनुसन्धान र न्यायप्रणालीमा रहेका कमजोरी देखाउन सके तपाईँ जस्ता अरू निर्दोष मानिस जेल बस्नु पर्दैनथ्यो कि ? भनेर कुरा गर्न खोजेको’ भनेपछि उनको मन बदलियो। उनी बोल्न राजी भए। तर आफ्नो जेल जीवनको कथा भन्न नथाल्दै उनको गला अवरुद्ध भयो। सम्हालिन खोजे। फेरि भक्कानिए। लाग्थ्यो उनी पीडै पीडाको पहाड बोकेर जेल बाहिर निस्किएका छन्।

mukesh-pokhrel-newsप्रमाणको खोजी

मलाई उनको भनाइ पुष्टि गर्ने कागजात चाहिन्थ्यो। अदालतमा प्रहरीले पेश गरेका प्रमाण, सरकारी वकीलले गरेको विश्लेषण र न्यायाधीशले गरेका फैसलाहरू जुटाउनु थियो। यी कागज कहाँ पाइएलान् भनेर सोधें। खुशीको कुरा उनले सबै कागजपत्र सुरक्षित राखेका रहेछन्। प्रतिलिपि लिन तीनदिन पछि बोलाए।

दासको अन्तर्वार्ता र केही कागजात भएपछि अलिक आत्मविश्वास बढ्यो। थप कथाको खोजीमा लागें। ललितपुर भैंसेपाटीतिरका एकजना समाजसेवी छोरालाई मोबाइलको सिम ल्याइदिए बापत बित्थामा दुई वर्ष थुनिएको थाहा भयो। उनको नम्बर फेला पारेर फोन गरें। अर्कोदिन उनले फोन गरे। तर भेट्न अनिच्छा व्यक्त गरे। खोपके सम्पादक गाउँलेले उनीसँग भेटघाटको तारतम्य मिलाए।

माघ पहिलो हप्ता उनको घरमा पुग्यौं। कल बाइपास गरेको अभियोगमा छोरा पक्राउ पर्दा बाबु कसरी जोडिन पुगे भन्ने कथा रोचक थियो। दुई वर्ष नख्खु बस्दा उनले जेललाई एउटा अनुसन्धान केन्द्र नै बनाएका रहेछन्। मानिसलाई कसरी दोषी बनाइन्छ ? यसमा प्रहरी, सरकारी वकील र न्यायाधीश कसरी मिल्छन् ? कतिपय अवस्थामा कसरी एउटा निर्दोष मानिस परिबन्दमा पर्छ भनेर उनले धेरै कथा सुनाए।

उनले १२ घटनाका सूची दिए। उनले दिएका सम्पर्क नम्बरमा टेलिफोन गरेर बुझ्न थालें। धेरै घटनामा विश्वास गर्ने आधारहरू भेटिएनन्। कतिपयमा मानिस नै सम्पर्कमा आएनन्। जति सम्पर्कमा आए उनीहरू निर्दोष हुँदाहुँदै जेल परेका थिए भन्ने विश्वासिलो र भरपर्दो आधार भेटिएन।

ती १२ मध्येका एक ललितपुरको नख्खु कारागारमा रहेका चितवनका मोहनीलाल बस्याललाई भेट्न गएँ। गेटमा बसेका सुरक्षाकर्मीलाई उद्देश्य बताएँ। नाम भित्र पठाए। ब्याग, मोबाइल एक ठाउँमा राख्न भने। उनीहरूले भने अनुसार गरें। गोजीमा रहेका सिक्का पैसा र कलम निकाल्न लगाए। गेटमा रहेका केन्द्रीय अपराध अनुसन्धान ब्यूरोका कर्मचारीले तस्वीर लिएपछि भित्र जान दिए।

सेतै फुलेका दाह्री कपाल। निधारमा रातो र पहेंलो टीका, टाउकोमा ढाका टोपी, रुद्राक्षको माला लगाएका बस्याल १० मिनेटपछि कारागारको ढोकामा देखिए। देख्नासाथ बोलाएँ।

बीचमा फलामको बार। उनी भित्र, म बाहिर। हामी जस्तै भित्रबाहिर भएर कुरा गर्ने अरू धेरै थिए। सुस्तरी बोल्दा सुनिन्थ्यो। नजिक आमुन्नेसामुन्ने भएर कुरा गर्दा जेल प्रशासनका मानिसले हप्काउँथे। उनलाई घटनाबारे सबै बताउन भनें। कान ठाडो बनाएर सुनें। कुरा गर्दागर्दै उनी हुँक्क हुँक्क गरेर रुन थाले। कुराकानी रोकियो। फेरि आग्रह गरें, घटनाको विवरण सुनाए। उनले बताएका कुरा त्यहाँ टिप्न र रेकर्ड गर्न सम्भव थिएन। दिमागको ‘हार्डडिक्समा सेभ’ गरेर हिंडें।

हतार–हतार कार्यालय आएँ। उनले भनेका कुरा सम्झेसम्म डायरीमा नोट गरें। त्यसपछि ती कुरा पुष्टि हुने कागजपत्रको खोजीमा लागें। लामो प्रयासपछि थाहा भयो– मोहनीलालको वकिल रामनारायण विडारी रहेछन्। मैले विडारीलाई टेलिफोन गरें। उनले आफ्नो ल फर्मका वकिल मुकुन्द न्यौपानेसँग सम्पर्क गर्न भने। तीन दिनसम्म दिनहुँजसो ल फर्म गएँ, फाइल भेटिएन। तर अधिवक्ता मुकुन्द न्यौपाने र मेरा बीच नेपालको फौजदारी न्यायप्रणालीका कारण कसरी निर्दोषहरू थुनिएका छन् भन्ने बारेमा छलफल भयो। जुन छलफल समाचार तयार गर्न धेरै उपयोगी थियो। पाँचौं पटक म त्यहाँ जाँदा न्यौपानेले मलाई मकवानपुरका शशिकुमार तितुङको करीब २०० पेजको फाइल दिए। त्यसका महत्वपूर्ण कुरा डायरीमा नोट गरेर दुई दिनपछि फाइल फिर्ता गरें।

१२ फागुन २०७२ मा गुल्मी सदरमुकाम तम्घास गएँ। उद्देश्य थियो,– जेलमा रहेका सूर्य विश्वकर्मा र राजु सार्कीलाई भेट्नु। उनीहरूलाई भेट्नुअघि नै यस सम्बन्धी मुद्दाको मिसिल हात पारिसकेको थिएँ। तीन–चार पटकसम्म दोहोर्‍याएर पढें। शङ्का लागेको कुरा नोट गरें। जेलर गोपालप्रसाद पाण्डेलाई टेलिफोन गरेर आफू भेट्न आउने जानकारी गराएँ। उनले दुईजना थुनुवालाई भेट्ने व्यवस्था मिलाइदिए।

दिउँसो १२ बजे जिल्ला कारागार गुल्मी पुगें। कुरा सुरू गर्ने बेलामा जेलर पाण्डेले एउटा प्रस्ताव राखे। उनले भने ‘सिडियो साबको अनुमति लिनुपर्छ। एकपटक फोन गर्नुस्।’ नम्बर मागेर पत्रकार भएको परिचय दिँदै फोन गरें। मेरो अपेक्षा विपरीत प्रमुख जिल्ला अधिकारीले भने ‘भेट गर्न पाइँदैन।’ उनको कुरा सुनेर रीस उठ्यो। तर, रीसलाई भीत्रै दबाएँ। जेलरका अगाडि हाँस्दै भनें ‘अँ सिडियो सापले भेट्नुस् भन्नुभयो।’ अनि कुराकानी सुरू भयो।

राजुसँग कुरा शुरू भयो। एकजना असई सँगै बसे। मैले डायरीमा नोट गरें। सबै कुरा नोट गर्न सजिलो थिएन। तर, उनको भनाइ रेकर्ड गर्न पनि सम्भव थिएन।  अनि राजु र सूर्यसँग कुरा गरें। उनीहरू दुवैजना कानुन अनुसार बलात्कारको अभियोगमा थुनिएका भए पनि वास्तविकता चाहिं ‘उमेर नपुगेकी प्रेमिकासँग शारीरिक सम्पर्क राखेको’ भनेर थुनिएका हुन्। नेपालको कानुन अनुसार, १८ वर्ष भन्दा कम उमेरसँग सहमतिमै यौन सम्पर्क गरे पनि ‘बलात्कार गरेको’ मानिँदो रहेछ।

२२ फागुन २०७२ मा मोहनीलाल बस्यालको बारेमा बुझ्न म चितवन माडी गएँ। यो मामिला बुझ्न समस्या भइरहेको थियो। मोहनीलालकी बुहारी दीपालाई सम्पर्क गर्दा उनी सधैं ‘सबै सन्देश दाइलाई थाहा छ’ भन्थिन्। झण्डै दुई महीना पिछा गर्दा पनि सन्देश भन्ने व्यक्तिले केही बताएनन्। त्यसपछि  जिल्ला प्रहरी कार्यालय चितवन गएर बस्यालको बारेमा अदालतबाट भएको फैसलाका केही कागज लिएँ। त्यस आधारमा चितवन जिल्ला अदालत पुगें। वकील राजकुमार श्रेष्ठको सहयोगमा साँझ ४ बजे बल्लतल्ल यो मुद्दाको फोटोकपी हात पर्‍यो। यसपछि मात्रै मैले ‘प्रहरीसँग सम्बन्ध बिग्रिंदा कसरी बस्याललाई अपहरण मुद्दामा थुनिएछ’ भन्ने थाहा पाएँ।

यसपछि म शक्तेको मुद्दामा केन्द्रित भएर लागें। भीमफेदी कारागारका जेलर चिरञ्जीवी थापालाई चार दिन अघि नै टेलिफोन गरेर आउने र भेट्नुपर्ने व्यक्तिको बारेमा बताइसकेको थिएँ। ४ चैत २०७२ बिहान ६ बजे बल्खुबाट भीमफेदी जान टाटासुमो चढें। ‘यहाँ आएर दिपेशलाई भेट्नुहोला। म बाहिर जानुपर्ने भयो’ देउराली पुग्दा जेलर थापाले टेलिफोनमा भने। मैले पनि उनलाई भनें ‘गेटमा भन्दिनुहोला। कर्मचारीलाई भनेर तपाइँको कार्यकक्षमा कुरा गर्ने वातावरण मिलाइदिनुहोला।’ जेलको प्रवेशद्वारमा सुरक्षाकर्मीले दिने हैरानी मैले काठमाडौंमा भोगिसकेको थिएँ। ११ बजे भीमफेदी पुगें। सुरक्षाकर्मीले नाम टिपे, जीउ चेकजाँच गरे, झोला त्यहीं राख्न लगाए। अनि भित्र जान दिए। कारागार प्रशासनसमक्ष शशिकुमार तितुङ र सीताराम थिङलाई भेट्न चाहेको बताएँ। एकैछिनमा दुवै जनालाई कारागारका भाइ नाइकेले म भएको ठाउँमा ल्याए। शुरुमा दुवैसँग छुट्टाछुट्टै कुरा गरें। मेरो उद्देश्य शशिकुमार तितुङ केटी बेच्ने मान्छे हो/होइन भनेर थाहा पाउनुथियो।

शशिको घर।
शशिको घर।

जुन महिला बेचेको अभियोगमा शशि जेल परेका थिए, तीनै बेचिएकी महिलाका श्रीमान् सीताराम थिङ पनि सँगै जेलमा थिए। दुवै जनालाई एकै ठाउँमा राखें। बम्बई जाने टोलीमा यी मान्छे थिए कि थिएनन् भनेर सीतारामलाई सोधें। उनले भने, ‘यी मान्छे नै होइनन्। अग्लो, बलियो र हट्टाकट्टा मान्छे थियो। त्यसलाई सत्य भन्थे।’ सीतारामसँग मैले एक्लै पनि कुरा गरें। उनले भने– ‘यो मान्छे नै होइन, खै किन थुनेका हुन् ?’

सत्य खोज्न निस्किएको मकवानपुर प्रहरीले शक्ते समात्नुको कारण के थियो ? तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले एउटा असहाय र निर्दोष मान्छे माथि यति क्रूर सजायको डण्डा किन चलाए ? यस बारेमा मकवानपुर पदमपोखरीका गाउँलेहरू त्यसबेला किन बोलेनन् भन्नेबारेमा धेरै खाले दृष्टान्त भेटिए।

काठमाडौं फर्केपछि प्रहरीका वरिष्ठ अधिकारी, सरकारी वकील र केही न्यायाधीशलाई भेट्यौं। अहिलेको प्रहरी, सरकारी वकील र न्यायाधीशहरूको काम गर्ने शैली, क्षमता र कार्यप्रणालीका आधारमा निर्दोषहरू जेलमा पर्ने सम्भावना छ कि छैन भनेर बुझ्न खोज्यौं।

समाचारको सत्यता जाँच

करीब तीन महीनामा पहिलो चरणको काम सकियो। दुई दिन लगाएर लेखेको समाचार खोपकेमा बुझाएँ। समाचार पढेर सम्पादक गाउँलेले भने ‘एकपटक पदमपोखरी जाऊ।’ मलाई पनि समाचारको थप सत्यता जाँच्न मन लाग्यो। पदमपोखरी जाने निर्णय गरें।

म त्यतिबेला बुटवलमा थिएँ। २ वैशाख २०७३ बिहान हिँडेको नौ बजे हेटौंडा पुगेँ। त्यहाँबाट लागेँ पदमपोखरीतिर। २०४६ सालताका शशिकुमार के गर्थे ? उनको स्वभाव कस्तो हो ? मैले जे जतिसँग कुरा गरें उनीहरूले माछा बेच्ने, साइकल मर्मत गरेर बस्ने गरेको बताए। उनको नराम्रो बानी भनेको तास खेल्दा रहेछन्। गाउँका मानिसले एक मुखले भने ‘यो मानिस बेच्न सक्ने हैसियतको मान्छे नै हैन। कसैसँग मुम्बइ गएकै छैन। कहाँबाट पैसा पाओस् र जाओस् मुम्बई ?’ यो भन्दा पनि बलियो प्रमाण के भेटियो भने जो बेचिएकी महिला हुन् उनले नै गाउँमै आएर यो मान्छेलाई फसाइएको हो भनेर बोलेकी रहिछन्। आवाज पनि रेकर्ड गराएकी रहिछन्। मैले त्यो आवाज फेला पार्न धेरै प्रयास गरें। तर, मोबाइल बिग्रिएपछि बनाउन लैजाँदा त्यो रेकर्ड उडेछ। भेट्टाउन सम्भव भएन।

पदमपोखरी हात्तीगौंडास्थित शशिको घरमा पुग्दा श्रीमती, छोरी, ज्वाईं र कान्छो छोरा थिए। सामान्य टिनले छाएको घरको बाहिरपट्टि साइकल मर्मत गर्न प्रयोग गरिने नट, रेन्च, र टायर सहितको काठको सानो दराज थियो। शशि पक्राउ परेपछि ताला लगाइएको त्यो बाकस त्यसदिनसम्म पनि खुलेको थिएन।

शशिको गाउँघरबाट फर्केर मैले समाचार पुनर्लेखन गरें। यस पछि तथ्य परीक्षणको काम भयो। समाचारमा उल्लेख भएका तथ्य र विवरणहरूलाई एक एक गरेर परीक्षण गरियो। अन्त्यमा तथ्य ठीक छ भन्ने यकिन गरेपछि उप सम्पादक धर्मराज दाहालले अन्तिम पटक शुद्धाशुद्धि पढे। यति गर्दा पनि तथ्यगत त्रुटि भइ छाड्यो। समाचारमा एसएसपी सर्वेन्द्रनाथ खनालको कार्यालयको नाम ‘महानगरीय प्रहरी अपराध महाशाखा’ हुनुपर्नेमा ‘महानगरीय प्रहरी अपराध अनुसन्धान विभाग’ भएछ। त्यस्तै समाचारको एक ठाउँमा ‘८ हप्ताको गर्भपतन गराइएको’ हुनुपर्नेमा ‘८ महिनाको’ हुन पुगेछ।

३१ वैशाख २०७३ का दिन दिउँसो तीन बजेतिर खोपकेबाट ‘कान्तिपुरमा एउटा फोटो पठाउनुपर्‍यो’ भन्ने टेलिफोन आएपछि मात्रै मैले ‘यो समाचार कान्तिपुरमा छापिँदै रहेछ’ भन्ने थाहा पाएँ। नभन्दै भोलिपल्ट कान्तिपुरले पहिलो पृष्ठमा महत्वका साथ ‘शंकाको भरमा २० वर्ष कैद’ भन्ने समाचार छापेको थियो। सँगै भित्री पेजमा ‘निर्दोष थुन्ने न्यायप्रणाली’ भन्ने पूरा पृष्ठमा मैले लेखेको समाचार थियो। समाचारमा कान्तिपुरका दुई जना संवाददाताका समाचार पनि समावेश थिए। फौजदारी न्यायप्रणालीमा भएका कमी–कमजोरीका कारण मानिसहरू कसरी जेल बस्न बाध्य हुन्छन् भन्ने धेरै दृष्टान्त समाचारमा थिए।

आफैंले खोजेको समाचार पढ्दा यति पुलकित म कहिल्यै भएको थिइनँ। रूपन्देहीमा बसेर १५ वर्षदेखि पत्रकारिता गरिरहेको मलाई यो समाचारले राजधानीमा एकाएक चर्चामा ल्याइदियो। समाचार छापिएपछि अदालतले कडा वक्तव्य निकाल्यो। तर, मैले थाहा पाएसम्म प्रहरी, सरकारी वकील र न्यायालय ‘शक्ते निर्दोष छ’ भन्ने निचोडमा पुगेका छन्। आगामी १५ असारमा सर्वोच्च अदालतमा शक्तेको पेशी छ। मानिस निर्दोष हो पनि भन्ने जेलमा पनि राखिरहने यो दुर्भाग्य छिटो अन्त्य होस्। मेरो चाहना यत्ति हो।

समाचारका बारेमा सर्वोच्च अदालतले निकालेको विज्ञप्तिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *