नयाँ पत्रिकाको यो समाचार अख्तियारले लेखाएको हो र?


कनकमणि दीक्षित प्रकाशक रहेको हिमालखबरको अनलाइन संस्करणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सर्वोच्च अदालत र कनकमणि दीक्षितविरुद्ध भ्रामक समाचार फैलाएको’ आरोप लगाएको छ। उसले घुमाउरो पाराले नयाँ पत्रिकामा छापिएको एउटा समाचार अख्तियारको स्वार्थ अनुसार आएको दाबी गरेको छ।

पृष्ठभूमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार तथा प्रकाशक समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई विभिन्न आरोप लगाएर बैशाख १० गते पक्राउ गर्‍यो। अख्तियारले विशेष अदालतबाट बैशाख १२ गते पक्राउ गरेको मितिले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लियो।

नयाँ पत्रिकामा छापिएको समाचार, जसको यहाँ चर्चा हुँदैछ।
नयाँ पत्रिकामा छापिएको समाचार, जसको यहाँ चर्चा हुँदैछ।

दीक्षितलाई अख्तियारले गैरकानूनी रुपमा थुनामा राखेको दाबीसहित बैशाख १५ गते दीक्षित पत्नी शान्ताले सर्वोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको रिट दायर गरिन्। उक्त रिटमा सुनुवाई गर्दै बैशाख २१ गते कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले दीक्षितलाई थुनामुक्त गर्न आदेश दियो। दीक्षितलाई ‘साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन’ सर्वोच्चले अख्तियारका नाउँमा परमादेशको आदेशसमेत जारी गरेको थियो।

दीक्षितलाई रिहा गर्ने फैसलालाई चुनौती दिने गरी जेठ २६ गते नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गर्‍यो- ‘कामु प्रधानन्यायाधीश र दीक्षितपत्नीबीच हाडनाता’ शीर्षकमा। समाचारमा सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको जनाइएको छ। प्रधानन्यायाधीश कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध भएको समाचारमा दाबी गरिएको छ। मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर महलमा नातासम्बन्धभित्रको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने उल्लेख छ।

समाचारमा भनिएको छ-

कार्की फुपू र शान्ता भदै हुन्। सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो। स्रोतका अनुसार सुशीला र शान्ता अर्जुन वीर बस्नेतका सन्तति हुन्। अर्जुनका तीन छोरा थिए– नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत। सुशीला तिलविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन्। यो नाताले उनीहरू फुपू–भदै पर्छन्। नरवीरका चार छोरामध्ये एक थिए खड्गबहादुर बस्नेत। खड्गबहादुरका छोरा दलवीर र दलवीरका छोरा रामवीरकी छोरी शान्ता बस्नेत हुन्। शान्ताको ललितपुरनिवासी कनकमणि दीक्षितसँग प्रेमविवाह भएको थियो। तिलविक्रमका पनि चार छोरामध्ये कान्छो थिए हेमविक्रम बस्नेत। कार्की परिवारमा बिहे भएकी हेमविक्रमकी छोरी लीलाकुमारीकी छोरी हुन् सुशीला कार्की। सुशीलाको कांग्रेसका पुराना नेता दुर्गा सुवेदीसँग विवाह भएको हो। सुशीला र शान्ताबीच सातपुस्ते नाता हो।

मुलुकी ऐनको ३० नम्बर महल

मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर महलमा नातासम्बन्धभित्रको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने उल्लेख छ। अदालती बन्दोबस्तको ३० नम्बरमा भनिएको छ-

आफ्ना हाडमा अपुताली परे खान पाउने नाता र मामा, माइजु, सानी ठूली आमा, सानो ठूलोबाबु, सासु, ससुरा, फुपु, फुपाजु, जेठु, साला, मीत, आफना दिदीबहिनी, छोरी र यिनै दिएका ज्वाई, भानिज, भान्जी, भान्जी वुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरु–गुरुमा, मन्त्र सुनाएका शिष्य–शिष्यनी, आफूले लेनदेन कारोबार गरेका, नोकर–चाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्धा पर्न आएमा आफूले हेर्न हुँदैन।

नयाँ पत्रिकाको समाचारमा ‘मुलुकी ऐनको अपुताली महलको १ नम्बरले हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंशियार हुन्छ भनेको’ उल्लेख गर्दै कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको दाबी गरिएको छ।

के भन्छ सर्वोच्च?

नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि कतिपय समाचार पोर्टलले पनि यसलाई साभार गरेका थिए। समाचार सार्वजनिक भएको तीन दिनपछि विज्ञप्ति निकालेर सर्वोच्च अदालतले नयाँ पत्रिका र समाचार पोर्टलहरुमा आएको समाचारको खण्डन गरेको छ। सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीश कार्की र दीक्षित पत्नी शान्ताबीच हाडनाताको सम्बन्ध नरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ-

हाडनाताको कुनै सम्बन्ध नै नभएको/नरहेको व्यक्तिसँग नाता रहेको भनी मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोल्कल्पित कुराहरु उल्लेख गरी समाचार सम्प्रेषण हुनु दुःखद् विषय हो।

Supreme Courtsupeme court 2नयाँ पत्रिकालाई चुनौती

सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश कार्की र दीक्षितपत्नी शान्ताबीच हाडनाता सम्बन्ध रहेको’ भन्ने नयाँ पत्रिकाको समाचारमा स्रोतलाई उद्‍धृत गर्दै गरिएको दाबीको खण्डन गरिसकेपछि नयाँ पत्रिकालाई आफ्नो समाचार फलोअप गर्न अझ दबाब भएको छ। नयाँ पत्रिकाले आउँदा दिनमा यो विषयलाई कसरी फलोअप गर्छ त्यो पछिको कुरा।

अख्तियारमाथि हिमालको ‘अट्याक’

नयाँ पत्रिकाको समाचारको खण्डन गर्दै सर्वोच्च अदालतले विज्ञप्ति निकालेपछि कनकमणि दीक्षित प्रकाशक रहेको हिमाल खबरपत्रिकाको अनलाइन संस्करणले यसबारेमा समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि ‘सर्वोच्च अदालत र कनकमणि दीक्षितविरुद्ध भ्रामक समाचार फैलाएको’ आरोप लगाइएको छ।

प्रधानन्यायाधीशको नाता सम्बन्धी समाचार भ्रामक: सर्वोच्च’ शीर्षकको समाचारको अन्तिम वाक्यमा भनिएको छ- ‘उक्त फैसला (दीक्षितलाई रिहा गर्न) आएपछि पुनरावलोकनका लागि प्रयास गरेको अख्तियार नै दीक्षित र अदालतविरुद्ध भ्रामक समाचार फैलाउन उद्धत देखिन्छ।‘

‘अख्तियार नै दीक्षित र सर्वोच्च अदालतविरुद्ध भ्रमक समाचार फैलाउन उद्धत’ भन्नुको अर्थ के? नयाँ पत्रिकामा छापिएको समाचारका सन्दर्भमा यी सबै कुरा आएकाले हिमालखबर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नयाँ पत्रिकालाई एउटा प्रश्न सोधौँ न- के नयाँ पत्रिकाको समाचार अख्तियारको स्वार्थमा छापिएको थियो त? अर्थात यो समाचार अख्तियारले लेखाएको हो र?

जबाफ खोज्दै जाउँला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.