आचारसंहिता पालनाबाट गरौँ प्रेस स्वतन्त्रताको उपयोग


अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि कायम रहेको आचारसंहितालाई विस्थापित गरी नयाँ आचारसंहिता जारी गर्ने तयारी भइरहेको छ। स्वाभाविक र जायज रुपले नेपाली पत्रकारहरूको एक मात्र छाता संस्था नेपाल पत्रकार महासङ्घको सहमतिविना त्यो सम्भव छैन। यसअघिको प्रचलन पनि त्यही नै रहेको छ।

binod dhungelयस प्रक्रियामा मस्यौदा आचारसंहिताको विषयवस्तुमाथिको छलफलका अलावा कुनै प्रकारको आचारसंहिताको औचित्यकै बारेमा सार्वजनिक रुपमा सरोकार राखिएको पाइन्छ। पत्रकारिता जगतबाट आचारसंहिताले स्वतन्त्र पत्रकारितामाथि नै अङ्कुश लगाउने पो हो कि भन्ने चिन्ता अभिव्यक्त भएको पाइन्छ भने आमसञ्चारका उपभोक्ताहरूको तर्फबाट भने आचारसंहितालाई निकै कडा बनाएर पत्रकारिताले पार्ने क्षति बन्द गर्नुपर्ने स्वर सुनिन्छ।

वास्तवमा यी दुवै सरोकारहरू जायज र आवश्यक छन् तर पत्रकार आचारसंहिताको आधारभूत विषयको जानकारीले यस्ता चिन्ता तथा सरोकारलाई दूर गर्न योगदान गर्छन्। नेपाली पत्रकारिताको वर्तमान आधारभूमिमा न त पत्रकारिता जगतलाई छाडा हुन इच्छुक र उद्यत हुने छुट छ न त यसलाई कुनै पनि नाममा अङ्कुश लगाउने आँटको नै औचित्य सावित हुनसक्छ। विगत अढाइ दशकको नेपाली पत्रकारिताको विकास, सङ्घर्ष र उपलब्धिको जगमा उभिएर हेर्दा नेपाली पत्रकारिताको विकासका लागि सबै पक्षको सक्रियताबाहेक विकल्प पनि छैन। यसका लागि आचारसंहिताको माध्यमबाट उन्नत तथा व्यावसायिक पत्रकारिता नै सही उपाय हुनसक्छ।

फोटोः theodysseyonline.com

कुनै पनि पेशा, व्यवसाय वा व्यवहारमा गर्न हुने र नहुने आचरणगत नियम नै आचारसंहिता हो। आचारसंहिताले कुनै पनि पेशा, व्यवसाय वा व्यवहारलाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउनमा नैतिकरुपमा मार्गनिर्देश गर्ने गर्दछन्। पेशागत अभ्यासलाई व्यवसायिक बनाउने काम मुख्यरुपमा कानुनहरूले निर्धारण गर्ने भए पनि त्यो बाध्यकारी औजारले मात्र आचरणहरूको निर्धारण गर्न सक्दैनन्। त्यसैले नै आचारसंहिताको आवश्यकता परेको हो।

कानुनी दृष्टिले हेर्दा कुनै व्यवसायका आचरणहरू कानुनभन्दा कमजोर र कानुनले नै निर्धारण र व्यवस्थित गर्ने तथा धेरै जसो स्वैच्छिक हुने गर्दछन्। तर, विवेकका आधारमा परिचालित हुने मानव जातिका क्रियाकलाप तथा आचरणहरूलाई कानुनको बलमा मात्र ठेगान लगाउन सदैव सम्भव हुँदैन। बलपर्वूक निर्धारण गर्न खोजिएको कानुन मानवीय आचरण तथा संस्कृति नै बनेर दिगो हुनसक्दैन। कुनै पनि पेशा वा व्यवसायमा संलग्न व्यक्ति तथा संस्थाहरूका आचारसंहिता भने नितान्त रुपमा ती पेशा वा व्यवसायको विशिष्ठता र प्रकृतिका आधारमा निर्धारण हुन्छन्।

अरु विभिन्न पेशा तथा व्यवसायमा जस्तै पत्रकारितामा पनि आचारसंहिता एक महत्वपूर्ण विषय हो। पत्रकारितामा आचारसंहिताको आचरणगत मान्यताहरूको विकास नै सत्य र साँचो व्यवहार गर्नका लागि भएको हो। आचारसंहिताले निर्धारण गरेका आचरणगत नियमहरू र तिनको परिपालनाको उच्चताको आधारमा नै कुनै पनि देशको पत्रकारिता कति जिम्मेवार, वस्तुनिष्ठ र विश्वसनीय छ मूल्याङ्कन गर्न सकिन्छ। कुनै निश्चित सञ्चारमाध्यमका सन्दर्भमा पनि यो मापदण्ड लागू हुन्छ। यसरी पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा पालना गर्ने आचारस्वरुप घट पत्रकारहरू वा तिनका प्रतिनिधिमूलक सङ्घसंस्थाले आफैंले तयार गरेर कार्यान्वयन गरी स्वयंलाई नियन्त्रण गर्ने व्यावसायिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो।

आचारसंहिताको माध्यमबाट नै पत्रकारितामा आत्मसंयम, स्वच्छता, नैतिकता, उत्तरदायित्व जस्ता सिद्धान्तलाई व्यवहारमा उतार्न सकिन्छ। जति बढी नैतिक आचरणयुक्त पत्रकारिताको अभ्यास गर्‍यो, त्यति नै बढी स्वतन्त्र पत्रकारिता गर्न पनि सम्भव हुन्छ। छाडा पत्रकारिताले नै पत्रकारितालाई आक्रमणको निशाना बनाउँछ। पत्रकार आचारसंहिताले पत्रकारितालाई व्यावसायीकरण गर्ने सामान्य प्रक्रियाको प्रवृत्तिलाई त झल्काउँछ नै; यसैको माध्यमबाट मिडिया उद्योगलाई अनावश्यक लाञ्छना र विशेषतः बाह्य हस्तक्षेप तथा स्वायत्ततामाथिको चुनौतीबाट जोगाउने आशा गर्न सकिन्छ। कम्तीमा पनि आचारसंहिताको माध्यमबाट मिडियाले आफूले गर्ने कामबारे मार्गदर्शनका रुपमा मूल्य मान्यताहरूको सार्वजनिक घोषणा गर्ने भएकाले मिडियाका उपभोक्ताहरूले यसलाई जिम्मेवार र मर्यादित पेशाका रुपमा ग्रहण गर्छन्।

डा. रामकृष्ण तिमल्सेनाको लेख पढ्नुहोस् : प्रेस स्वतन्त्रताका सीमाहरु

अमेरिकी पत्रिका सम्पादक समाज (आसने) ले सन् १९२३ मा पत्रकारिताको सिद्धान्त प्रकाशित गरेकै ताका युरोपमा पनि, खास गरी फ्रान्स र फिनल्यान्डका साथै प्रायः सबैजसा देशमा पत्रकार आचारसंहिता प्रयोगमा आएको हो। यो स्वनियमनकारी व्यवस्थाका बारेमा विश्वव्यापी रुपमा विभिन्न अभ्यास अस्तित्वमा छन्। स्वतन्त्रतासँगै मर्यादा र जिम्मेवारीबोधको सवाल पनि गाँसिएर आउने भएकोले स्वतन्त्रताप्रेमी सञ्चारकर्मीले मर्यादा, जिम्मेवारी र स्वनियम जस्ता पक्षलाई बिर्सने कुरै आउँदैन। यो मान्यता अङ्गीकार गर्ने भएकैले घठ पत्रकार आचारसंहिता पनि विभिन्न देशका रीतिथिति र परम्परासापेक्ष हुने गर्दछ। यसमा प्रकाशक, सम्पादक, पत्रकार तथा नियमनकारी निकायहरू जस्ता पक्षको पनि सापेक्षित प्रभाव हुने नै भयो। विविधता जेसुकै भए पनि विश्वमा प्रचलित अधिकांश आचारसंहिताहरूले मूलतः सूचनाको विश्वसनीयतालाई केन्द्रमा राखेको पाइन्छ। त्यसका साथै प्रायः सबै आचारसंहिताहरू सूचनालाई तोडमरोड गर्ने अर्थात् बङ्ग्याउने, दबाउने, पूर्वाग्रही हुने, सनसनीपूर्ण बनाउने र गोपनीयतामाथि आक्रमण गर्ने कुराको विरुद्धमा रहेको पाइन्छन्।

शताब्दीऔं लामो पत्रकारिताको उच्च व्यावसायिक अभ्यास भइसकेका मुलुकहरूमा आचारसंहिताका आधारभूत विषयमा बहस छलफल पनि कमै हुन थालिसकेको छ। त्यहाँ सञ्चारमाध्यमलाई सरकार वा सरकारी कुनै पनि किसिमको निकायमार्फत आचारसंहिता थोपर्ने कुराको कल्पना पनि गरिँदैन। नाम चलेका स्थापित मिडियाहरूले आफ्ना लागि आफैं पत्रकार आचारसंहिता लागू गर्ने गरेका छन्। बेलायतमा सन् १९९० देखि धेरै अखबारहरूले रोजगारीका लागि दिइएका करारपत्रमा नै आचारसंहितालाई पनि समावेश गर्ने र नियुक्ति लिने दिने गराउने गरेका छन्। सन् १९९७ मा बेलायतकी पूर्व युवराज्ञी डायनाको मृत्युपछि त्यहाँको ‘प्रेस कम्प्लेन्ट्स् कमिसन’ले गोपनीयतामाथिको आक्रमण, पापाराज्जी तथा संवाददाताहरूबाट हैरानी, चेकबुक पत्रकारिता गरेको भन्ने मनन् गरी आचारसंहितामा ठूलो परिवर्तन गरेको थियो।

युरोपका विभिन्न ३१ वटा देशका पत्रकार आचारसंहिताको तुलनात्मक अध्ययन गर्दा तिनमा सिद्धान्तहरूको ठूलो भिन्नता फेला परे पनि ती सबै आचारसंहितालाई प्रमुख ६ प्रकारका जवाफदेहीतामा बाँडेको पाइन्छ। ती हुन्– जनताप्रति, स्रोतप्रति, मिडिया सञ्चालकप्रति, व्यावसायिक इमान्दारिताप्रति, मर्यादाको संरक्षणप्रति र व्यवसायको एकताप्रतिको जवाफदेहिता। समाजको वृहत्तर सान्दर्भिकताका आधारमा ती सबै आचारसंहितामा निश्चित आम सिद्धान्तहरूप्रति उच्च स्तरको सहमति पनि पाइन्छ। ती सिद्धान्तहरू हुन्– सूचनाको सत्यता; सूचनाको स्पष्टता; जनअधिकारको प्रतिरक्षा; जनधारणा घड निर्माणमा जवाफदेहीता; सूचना सङ्कलन र प्रस्तुतीकरणमा स्तर; सूचनाको स्रोतको प्रतिष्ठाको सम्मान।

विभिन्न मुलुकका प्रेस काउन्सिलले सूचनाकोस्वतन्त्रता र पत्रकारको आचारसंहिता दुवैलाई समान महत्व दिएको पाइन्छ। स्वतन्त्रताको विषयमा काउन्सिलबाहेक अन्य व्यावसायिक तथा गैरसरकारी संस्थाहरूले पनि आवाज उठाउने गरेका छन्। केही वर्षयता जर्मनीको काउन्सिलले पत्रकारिताको पेशागत संहिता र जनसरोकारका विषयसँग बढी नै निकट भई काम गर्दै आएको छ। जर्मनी, जापान र इटाली आदि देशका प्रेस काउन्सिलका कार्य प्रकृति केही फरक भए पनि यिनले आचारसंहिता अनुगमनमा ध्यान केन्द्रित गरेको देखिन्छ। भलै ती देशका काउन्सिलहरूको संरचना नेपालको सन्दर्भमा ठ्याक्कै मिल्ने चाहिँ होइन।

जहाँ जे जस्तो प्रचलन रहेको भए पनि आचारसंहिता आफैंमा बाध्यकारी नभएर नैतिक बन्धन मात्र हो। त्यसैले नै यसलाई कानुनभन्दा भिन्न मानिएको हो। यही यथार्थका कारण आम सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीहरू स्वयं आचारसंहिता पालनाका लागि तत्पर नभएसम्म कसै यसको पालना गराउन सम्भव छैन। त्यस्तै मौकामा पत्रकारिताभन्दा बाहिरका विभिन्न खाले शक्ति, संस्था तथा निकायहरू पत्रकारितालाई ‘तह लगाउन’ उद्दत हुन्छन्। त्यसले अन्ततः पत्रकारिताको स्वतन्त्रतामाथि आघात पुर्‍याउँछ।

स्वतन्त्रतासँगै मर्यादा र जिम्मेवारीबोधको सवाल पनि गाँसिएर आउने भएकोले स्वतन्त्रताप्रेमी सञ्चारकर्मीले मर्यादा, जिम्मेवारी र स्वनियम जस्ता पक्षलाई बिर्सने कुरै आउँदैन। यो मान्यता अङ्गीकार गर्ने भएकैले पत्रकारहरूले आचारसंहितालाई नियन्त्रणको माध्यम नभई प्रेस स्वतन्त्रताको उपभोगका लागि सहयोगी बनाउन सक्नुपर्दछ। यसरी हेर्दा पत्रकारितालाई जति बढी आचरणयुक्त भएको सार्वजनिक घोषणा गर्न सकियो, प्रेसजगतलाई बाह्य आक्रमण र हस्तक्षेपबाट जोगाई प्रेस स्वतन्त्रताको संवर्द्धन गर्न सकिन्छ।

कानुनहरू राज्यले निर्धारण गर्ने गर्दछ भने आचारसंहिता चाहिँ प्रायजसो सम्बन्धित पेशा वा व्यवसायसँग सम्बन्धित व्यक्ति वा संस्थाहरूको साझा सहमतिको प्रतिफलका रुपमा रहने गर्दछ। यसकारण कानुनद्वारा निर्धारित आचारणहरूको उल्लङ्घन भएमा स्वभाविकरुपमा त्यसबापतको सजाय पनि बढी गम्भीर हुन्छ र कानुनको कार्यान्वयन पनि बढी प्रभावकारी हुन्छ। त्यसको तुलनामा व्यावसायिक सङ्घसंस्थाहरू आफैंले निर्धारण गरेको आचारसंहिताको कार्यान्वयन र उल्लङ्घनबापतको सजाय पनि फितलो देखिन्छ।

आचारसंहिताको नियमन तथा अनुगमन त्यसको निर्माता तथा नियमनकारी संस्थाबाट हुने भएकाले यसको कार्यान्वयन पनि मूलतः पेशा वा व्यवसायमा संलग्न व्यक्ति वा संस्थाको इच्छामा निर्भर हुन्छ। त्यसमाथि पनि राज्यको आर्थिक साधनस्रोतबाट चल्ने सङ्गठित सङ्घसंस्थाहरूबाट अनुगमन र नियमन गरिने आचारसंहिता कार्यान्वयनको प्रभावकारिता त झन फितलो देखिन्छ। त्यसको ठीक विपरीत आचारसंहिता जारी गर्ने निकायहरू स्वयंसेवी छन् भने त्यसको स्वीकार्यताका कारणले परिपालना र प्रभावकारिता दुवै तुलनात्मक रुपमा बढी देखिन्छ।

यसरी आचारसंहिता भनेको स्वयं घोषित व्यावसायिक नैतिक बन्धन हो। यसलाई कसैले थोपरेर नभई स्वयंले नै संस्कृतिको रुपमा आत्मसात गरेर मात्र प्रभावकारी रुपमा परिपालना गर्न सकिन्छ। यसको अभावमा विकृति र विसङ्गति उत्पन्न हुने र फैलिने डर हुन्छ। तसर्थ यसप्रति न त समाजले बढी अपेक्षा गर्न मिल्छ न त पत्रकारिता जगतले नै यसलाई नरम वा कडाको कसीमा राखेर कम वा बेसी आँक्न मिल्छ।

(लेखक मिडिया अनुसन्धानमा संलग्न छन्। यो लेख नेपाल पत्रकार महासंघद्वारा प्रकाशित ‘प्रेस स्वतन्त्रता वार्षिक प्रतिवेदन २०१६ : प्रेस स्वतन्त्रता सङ्कुचनको वर्ष’ बाट साभार गरिएको हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.