प्रेस स्वतन्त्रताका सीमाहरु


  • डा. रामकृष्ण तिमल्सेना-

Ram Krishna Timalsenaप्रेस स्वतन्त्रता व्यक्तिगत स्वतन्त्रताकै एक रुप हो। यो स्वतन्त्रता सबै स्वतन्त्रताहरुको जननी हो। यससँग प्रजातन्त्र र विधिको शासन जोडिएका हुन्छन्। यो स्वतन्त्रता प्रेसको आफ्नो निजी संरचनाको रक्षार्थ नभई जनताको सुसूचित हुने अधिकारसँग जोडिएको हुन्छ। सूचना र समाचार खोज्ने, पाउने र त्यस्तो सूचना र समाचार सञ्चारका कुनै पनि साधन मार्फत सम्प्रेषण पार्न पाउने हक यसमा समावेश भएका हुन्छन्। वाक् तथा प्रकाशन स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रताको उद्देश्य मर्म र क्षेत्र धेरै हकमा एउटै हो। विभिन्न देशका संविधानले यसलाई विभिन्न शब्दावलीमा अभिव्यक्त गरेका छन्। सबै अन्तर्राष्ट्रिय मानव अधिकारका आलेखमा यो स्वतन्त्रतालाई महत्वपूर्ण स्थान दिएको पाइन्छ।

प्रेस स्वतन्त्रताको इतिहास प्रजातन्त्रको इतिहासभन्दा पुरानो छ। यही स्वतन्त्रताको प्रयोग गरी संसारका सबैजसो देशमा प्रजातन्त्रको स्थापना भएको छ। यसको स्वतन्त्रताले रचनात्मक विरोधलाई स्वीकार गर्दछ। राज्यका सबै अङ्ग र जनता स्वयंले गरेको वा गर्नुपर्ने नगरेको कुरालाई शिष्ट तरिकाबाट प्रकाशन गर्न दिन र वैज्ञानिक तरिकाले जनता समक्ष पुर्‍याउने स्वतन्त्रता प्रेस स्वतन्त्रता हो। समाचारको संकलन, प्रशोधन, प्रकाशन र मूल्यांकनका सबै पक्ष यसमा अटाएका हुन्छन्।

फोटो साभारः capitalradiomalawi.com
फोटो साभारः capitalradiomalawi.com

मूलतः प्रेसको कार्य जनतालाई प्रशिक्षित गर्ने, सूचना दिने, मनोरन्जन प्रदान गर्ने र सरकार उपर निगरानी राख्ने र निरन्तर त्यसको अनुगमन गर्ने हो। यी कार्यहरुद्वारा लोकतन्त्र संस्थागत गरी विधिसम्मत शासन सञ्चालनका लागि स्वच्छ र मर्यादित पहरेदारको कार्य गर्ने रचनात्मक अम्बुड्सम्यान (Constructive Ombudsman) को जिम्मेवारी स्वतन्त्र प्रेसले पाएको हुन्छ। प्रेस स्वतन्त्रताको मूल मर्म भनेको कुनै सरकारी हस्तक्षेप वा अवरोधविना प्रजातान्त्रिक समाज अनुकूलको कानुनी व्यवस्थाको अधीनमा रही समाचार संकलन र प्रकाशन हो। प्रेस स्वतन्त्रताको प्रयोग प्रकाशन र प्रसारणका विभिन्न माध्यमहरु मार्फत् हुने गरेको पाइन्छ। सबैखाले मिडिया र तिनले उपभोग गर्न पाउने स्वतन्त्रतालाई यसभित्र पार्ने गरिन्छ।

नेपालको संविधानले धारा १७ (२) (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रत्याभूत गरको छ। यसैगरी धारा १९ ले सञ्चारको हकको प्रत्याभूति दिएको छ। सञ्चारको हक अन्तर्गत विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व प्रतिबन्ध नलगाउने प्रष्ट व्यवस्था छ।

संयुक्त राज्य अमेरिकाको संविधानको प्रथम संशोधनबाट प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ। हाम्रै छिमेकी मुलुक भारतको संविधानको धारा १९ (१) (ए) ले प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको छ। अमेरिकी संविधानमा प्रेस स्वतन्त्रताको कुनै सीमा नलेखिएको भए पनि भारत र नेपालका संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सीमाहरु स्पष्टसँग उल्लेख गरेको देखिन्छ। अमेरिकामा पनि मुद्दाको निर्णय गर्ने क्रममा अदालतले प्रेस स्वतन्त्रताको सीमा निर्धारण गरेको छ। अन्तर्राष्ट्रिय स्तरको राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी महासन्धि १९६६ र मानव अधिकारको विश्वव्यापी घोषणा १९४८ को धारा १९ मा भएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सीमा पनि तत् तत् धारामा नै व्यवस्था गरिएको छ।

सामान्यतः क्षतिरहित (Harmless) अभिव्यक्तिलाई कुनै नियन्त्रण लगाउन मिल्दैन। अभिव्यक्ति वा प्रेस स्वतन्त्रतालाई नियमन गर्न सकिने अन्तर्राष्ट्रिय अभ्यासका विषयहरु देहाय बमोजिम छन्।

क) अरु व्यक्तिको अधिकार र प्रतिष्ठाको रक्षा गर्न

ख) राष्ट्रिय सुरक्षाका लागि

ग) सार्वजनिक शान्ति र सद्‍भाव कायम गर्न

घ) सार्वजनिक स्वास्थ्यको संरक्षण गर्न

ङ) समाजमा नैतिकता कायम गर्न

यी माथिका बुँदाहरुको विश्लेषण गर्दा गाली तथा बेइज्जती हुन नदिन अर्काको प्रतिष्ठा ख्याल गरी गोपनीयता भङ्ग गर्न नदिन, देशको सार्वभौमिकताका लागि राष्ट्रिय सुरक्षा कायम राख्न, देशभित्रका विभिन्न वर्ग जात जाति र सम्प्रदायबीचको आपसी सद्‍भाव कायम राखी कुनै जात वा वर्गमाथि घृणाभाव पैदा हुन नदिन, सबैको स्वास्थ विरुद्ध प्रतिकुल प्रभाव पार्न नदिन र सामाजिक शिष्टाचार र नैतिकता कायम गर्न प्रेस स्वतन्त्रतालाई नियमन र नियन्त्रण गर्न सकिन्छ। यी सबै व्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको स्वतन्त्रताको ख्याल गर्नुपर्दछ भन्ने मान्यतामा आधारित छन्। बोल्ने स्वतन्त्रताभित्र झुटो बोली अरुलाई हानी पुर्‍याउने तथा गाली बेइज्जती गर्ने, गोपनीयता उल्लङ्घन गर्ने विषय पर्दैन। प्रकाशन गर्ने स्वतन्त्रताभित्र अश्लील र उत्तेजक सामग्री प्रकाशन गर्न र  प्रवाह गर्ने हक रहँदैन, कुनै पनि बहानामा राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तामा असर पर्ने गरी बोल्न र लेख्न पाइँदैन। अपराध गर्न दुरुत्साहन, घृणा उत्पन्न गर्न, हिंसा भड्काउने गरी लेख्न र बोल्न पाइँदैन अर्काको धर्ममा असर पर्ने गरी बोल्न र लेख्न पाइँदैन। यी स्वतन्त्रताका केही सीमा हुन्।

नेपालको नयाँ संवैधानिक व्यवस्था नेपालको अन्तरिम संविधान २०६३ को व्यवस्थाभन्दा अझ बढी सङ्कुचित देखिन्छ। धारा १९ मा रहेको आमसञ्चारको हकको सीमा र धारा १७ (क) (२) को प्रतिबन्धात्मक व्यवस्था हेर्दा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय इकाइबीचको सुसम्बन्धमा खलल पार्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकुल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैङिगक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाइएको छैन।

Press Freedom Federation of Nepali Journalistsयो व्यवस्थाको मूल्याङ्कन गर्दा ऐनको प्रावधानबाहेक नियम वा परिपत्र वा आदेश समेतले प्रेस नियमन गर्न सकिँदैन। यो राम्रो व्यवस्था हो, तर श्रमप्रति अवहेलना गरेको भनी सञ्चार माध्यममा रोक लगाउन पाइने बनाइएको छ र श्रमप्रतिको अवहेलना केलाई भन्ने स्पष्ट छैन। लैङिगक भेदभाव र जातीय छुवाछूतको कुरा अन्य कानुनबाट व्यवस्थित हुने कुरालाई पनि सञ्चारको हकको सीमामा राखिएको छ। संसारका कुनै देशको संविधानमा पनि यी कुरालाई प्रेस स्वतन्त्रताको सीमामा राखिएको छैन। नेपालकै पूर्ववर्ती संविधानहरुमा पनि यस्तो व्यवस्था थिएन।

संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रतालाई स्थान दिइएको अवस्थामा अब संविधान कार्यान्वयनको चरणमा सरकारले र विवाद निराकरणको सिलसिलामा देशका अदालतहरुले प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यता र प्रजातान्त्रिक समाजको आवश्यकता अनुकूल हुने गरी व्याख्या गरेर यसलाई स्पष्ट दिशा दिन सक्नुपर्दछ। एउटा कुरा बिर्सनै नमिल्ने हुन्छ, त्यो हो राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वाभिमान एवं राष्ट्रिय सुरक्षालाई प्रेस स्वतन्त्रताका नाउँमा कुनै हालतमा नजरअन्दाज गर्न मिल्दैन। प्रेसले आफ्नो कार्य गर्दा, सञ्चारका माध्यमले समाचार सम्प्रेषण गर्दा स्वतः यस्ता कुरामा ध्यान दिनु पर्दछ।

संयुक्त राज्य अमेरिकामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका केही सीमा तोकिएको छ। कसैले लेखेको, बोलेको वा गरेको कार्य स्पष्ट रुपमा तत्कालका लागि खतरनाक देखिन्छ (Clear and Present Danger) भने त्यस्तो प्रकाशन वा कार्यउपर नियन्त्रण लगाउन सकिन्छ भन्ने सिद्धान्त विकास भएको थियो। त्यसै गरी सन् १९५१ मा डेनिसको मुद्दामा ‘Grave 33 and Probable danger theory’ बनाएर नयाँ विधिशास्त्र स्थापना भएको छ। संयुक्त अधिराज्यमा पनि राष्ट्रिय सुरक्षालाई प्रतिकूल प्रभाव पर्ने सूचना सामग्री भनी म् D-notice committee ले निर्णय गरेको कुरा त्यहाँको प्रेसले आफ्नो कर्तव्यकै रुपमा स्वीकार गरी त्यस्ता सूचनाहरु प्रकाशन गर्दैनन†। यसमा self-regulation र co-regulation को समेत व्यवस्था गरेको देखिन्छ। प्रेस संयमित, सक्षम र भरपर्दो भएमा मात्र लोकतन्त्र भरपर्दो हुन जान्छ भन्ने मान्यता स्वअनुशासनबाट आचार संहिता पालना गर्ने प्रेस भएमा मात्र सार्थक बन्दछ।

प्रेस स्वतन्त्रताको उल्लङ्घन भएमा त्यसको कस्तो उपचारको व्यवस्था गर्ने भन्ने बारेमा देशैपिच्छै फरक धारणा भए पनि गरेको गल्तीको अनुपातमा मात्र नियमन वा सजाय गर्न उपयुक्त हुन्छ भनी Doctrine Proportionality को विकास गरिएको देखिन्छ। प्रेस स्वतन्त्रतालाई नियमन गर्दा वा त्यस उपर बन्देज लगाउनु पर्दा कानुन बमोजिम बाहेक गर्न पाइँदैन। त्यसैगरी न्यूनतम रुपमा त्यस्तो कार्य गर्नुपर्दछ, जुन प्रजातान्त्रिक समाज अनुकूल होस्। प्रजातान्त्रिक समाज प्रतिकूल हुने गरी कडा फौजदारी सजायको व्यवस्था गरिनु उपयुक्त मानिदैन र हुँदैन पनि।

प्रेस स्वतन्त्रता अरुको स्वतन्त्रताको रक्षार्थ हुनुपर्दछ। यो जे मन लाग्यो त्यो गर्ने लाइसेन्स होइन। यो स्वतन्त्रता संयमपूर्वक प्रेसको आचार संहिता अनुकूल हुने गरी सार्वजनिक हितको संरक्षण र प्रवर्द्धनका लागि प्रयोग गर्नुपर्दछ। किनकि प्रेस र वाक् स्वतन्त्रता संविधान प्रदत्त नागरिकका मौलिक हक हुन् र यी मौलिक अधिकार प्रचलनको दायित्व मात्रै प्रेसले पाएको हो। सरकारले पनि प्रेस स्वतन्त्रतालाई सकारात्मक रुपमा लिई असल शासनको रक्षकको रुपमा स्वीकार गर्नुपर्दछ। त्यसैले प्रेस स्वतन्त्रताको मर्म र महत्व विचार गरी सबैले यो संवैधानिक एवं मौलिक हकको कदर गर्न सक्नुपर्दछ र प्रेस आफैले आफनो प्रतिष्ठा र वर्चस्व बचाइराख्न हरदम प्रयत्नशील हुनुपर्दछ।

(लेखक सर्वोच्च अदालतका पूर्व रजिस्टार हुन्। यो लेख नेपाल पत्रकार महासंघद्वारा प्रकाशित ‘प्रेस स्वतन्त्रता वार्षिक प्रतिवेदन २०१६ : प्रेस स्वतन्त्रता सङ्कुचनको वर्ष’ बाट साभार गरिएको हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.