१५ औँ वर्षमा अन्नपूर्ण पोस्ट्: एक महिनाभित्र टेलिभिजन प्रशारणको तयारी, अरु के छन् योजना?


अन्नपूर्ण पोस्ट् दैनिक १४ वर्ष पुरा गरेर १५ वर्षमा प्रवेश गरेको छ। अन्नपूर्ण पोस्टको प्रकाशन २०५९ साल बैशाख २० गतेबाट सुरु भएको थियो।

काठमाडौं किलागलस्थित गोविन्द प्रधानको घरमा १५ जनाको टिमबाट सुरु भएको अन्नपूर्ण पोस्ट आठ महिनापछि अर्थात २०५९ मंसिर २६ गते नयाँ व्यवस्थापन अन्तर्गत आप्का समूहबाट छापिन थालेको थियो (श्रोत)। त्यसको १२ वर्षपछि अन्नपूर्ण पोस्ट् हेलिकोप्टर पाइलट समेत रहेका व्यवसायी रामेश्वर थापाले किनेपछि २०७० बैशाख १० गतेदेखि यसको व्यवस्थापन नेपाल न्युज नेटवर्क इन्टरनेसनल (छोटकरीमा थ्रिएनआइ) मा पुगेको थियो। नेपाल न्युज नेटवर्क इन्टरनेसनलले अहिले अन्नपूर्ण मिडिया नेट्वर्कको नामबाट आफूलाई चिनाउँछ।

वार्षिकोत्सवको अवसरमा अन्नपूर्ण मिडिया नेट्वर्कले आइतबार काठमाडौंको तीनकुनेस्थित कर्पोरेट टावरमा विशेष कार्यक्रम गरेको थियो। अन्नपूर्णपोस्ट डट कमका अनुसार अन्नपूर्ण मिडिया नेट्वर्ककका अध्यक्ष रामेश्वर थापाले कम्पनीका कर्मचारी र पत्रकारहरुको उपस्थितिमा केक काटेर वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेका थिए।

प्रधान सम्पादक युवराज घिमिरेलाई केक खुवाउँदै अध्यक्ष रामेश्वर थापा। फोटोः AnnapurnaPost.com
प्रधान सम्पादक युवराज घिमिरेलाई केक खुवाउँदै अध्यक्ष रामेश्वर थापा। फोटोः AnnapurnaPost.com

अन्नपूर्ण पोस्ट् काठमाडौं, इटहरी र बुटवलबाट प्रकाशित हुन्छ। अन्नपूर्ण मिडिया नेट्वर्क अन्तर्गत हाल अन्नपूर्ण पोस्ट् दैनिकसँगै रेडियो अन्नपूर्ण नेपाल र अन्नपूर्ण पोस्ट् डटकम सञ्चालित छन्।

वार्षिकोत्सवको अवसरमा अन्नपूर्णले पेजको ‘चुनौती र अठोट’ शीर्षकमा ४८ पृष्ठको विशेषांक प्रकाशित गरेको छ।

annapurnapostके छन् नयाँ योजना?

नेट्वर्कले अबको कम्तिमा एक महिनाभित्रमा उच्च प्रविधिसहितको एपी–१ टेलिभिजन सञ्चालनमा ल्याउने तयारी गरेको छ। यो टेलिभिजन गत वर्ष कात्तिकमै प्रशारणको तयारी थियो। यस्तै अन्नपूर्ण पोस्ट् डटकमको अंग्रेजी संस्करण ल्याउने तयारी भइरहेको समाचारमा जनाइएको छ।

अन्नपूर्ण मिडिया नेट्वर्कले केही महिनामै अन्नपूर्ण पोस्ट् नै नाम दिएर साप्ताहिक म्यागेजिन पत्रिका पनि ल्याउने तयारी पनि गरेको छ।

अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्ण मिडिया नेट्वर्कलाई पूर्ण मिडिया हाउस बनाउन भविष्यमा थप नयाँ योजना ल्याइने बताएको अन्नपूर्णको समाचारमा उल्लेख छ।

उनले ‘राष्ट्र र राष्ट्रियता बारेमा आफूहरुले कसैसँग सम्झौता नगर्ने’ बताएको समाचारमा जनाइएको छ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र पश्चिमाञ्चल क्षेत्रीय ब्युरो पोखरामा पनि वार्षिकोत्सव मनाएको छ।

annapurnapost headerप्रकाशकीय

अन्नपूर्णपोस्टका प्रकाशक तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ‘हाम्रो प्रतिबद्धता‘ शीर्षकमा प्रकाशकीय लेखेका छन्। प्रकाशकीयमा उल्लेख छः

द्वैध मान्यता र चरित्रले व्यावसायिक सञ्चारमाध्यममा प्रोत्साहन पाउनु हुँदैन भन्ने सन्देश अन्नपूर्ण पोस्ट्ले दिइरहेको छ र अन्नपूर्ण मिडिया नेटवर्कले पनि त्यही मान्यतालाई प्रवाहित गरी नै रहनेछ।

प्रलयको त्रासदी बोकेको भूकम्प होस् या राजनीतिक अस्तव्यस्तताका बीच उदाएका आशाहरू, अन्नपूर्ण सामान्य नागरिकका तर्फबाट हस्तक्षेपकारी भूमिका खेल्न अघि सरेको छ। सार्वभौम जनताका अधिकार, स्वतन्त्रता र समृद्धिको संरक्षणबाटै मुलुक सही अर्थमा सार्वभौम र समृद्ध बन्छ। त्यस अर्थमा हाम्रा नेताहरू, खासगरी राजनीतिक नेतृत्व पनि विवेकशील बन्नैपर्छ । यस्ता हरेक प्रयासलाई अन्नपूर्णले प्रोत्साहित गर्दै आएको छ।

त्यस्तै आन्तरिक या बाह्य रूपमा नेपालको स्वाभिमान तथा सार्वभौम हैसियतविपरीत निर्देशित व्यवहार र सन्देश पनि उसको धारिलो चेतावनीमा परेका छन्। त्यसमा हामीलाई गर्व छ। स्वाभिमान र सार्वभौम नेपाल र प्रजातन्त्रबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ।

एकबाट अर्कालाई अलग गर्ने प्रयास शक्तिबाट शिवलाई अलग गरी ‘शव’ निर्माण गर्नुसरह हुनेछ। पत्रकारिता स्वतन्त्रता, जबाफदेही र निर्भीकताको कलमबाट लेखिन्छ, तर त्यो जबाफदेहीविहीन हुँदैन। हाम्रो मूल्यमा हामी अडिग रहनेछौं र जबाफदेही पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.