१० औँ वर्षमा नयाँ पत्रिकाः लोकप्रियतामा दुई नम्बर दावी


२०७३ सालको पहिलो दिन अर्थात बुधबार नयाँ पत्रिका दैनिकले आफ्नो प्रकाशनको दशौं वर्ष प्रवेश कार्यक्रम मनाएको छ। १० वर्षअघि ट्याब्लोइड पत्रकारिता सुरु गरेको यो दैनिक अहिले मुलधारको ब्रोडसिट बनिसकेको छ।

naya patrikaवार्षिकोत्सवको अवसरमा नयाँ पत्रिकाले २० पृष्ठको नियमित र ४८ पृष्ठको परिशिष्ठांक प्रकाशन गरेको छ। सामान्य अवस्थामा १६ पृष्ठमा प्रकाशन हुने यो पत्रिका नयाँ वर्षमा चार पेज बढेको थियो। सुरुमा पाँच रुपैयाँमा पाइने नयाँ पत्रिकाको मूल्य केही समय अगाडि बढाए १० रुपैयाँ पुर्‍याइएको थियो।

वार्षिकोत्सवसँगै नयाँ पत्रिकाले आफू मुलुकका लोकप्रिय दुई पत्रिकामध्येको एक रहेको दावी पनि गरेको छ। नयाँ वर्षको दिन प्रकाशित प्रकाशकीयमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्णज्वाला देवकोटाले लेखेका छन्, ‘आदरणीय पाठक, विज्ञापनदाता र वितरकको निरन्तरको स्नेहकै कारण नयाँ पत्रिका देशका सबैभन्दा लोकप्रिय दुई पत्रिकाको सूचीमा छ।’

नयाँ पत्रिका दैनिक पत्रिकाहरुको भीडमा वैकल्पिक पत्रिका नभइ वैकल्पिक पत्रकारिता गरिरहेको पनि उनले उल्लेख गरेका छन्। उनले सामग्रीको विविधतामा नयाँ पत्रिका जति अरु कुनै पनि पत्रिका नभएको पनि दावी गरेका छन्। ‘सामग्रीका हिसाबले नयाँ पत्रिकासँग जति विविधता अरुसँग छैन र प्रस्तुतीमा हामी जति पाठकमैत्री कोही पनि छैन,’ प्रकाशकीयमा भनिएको छ।

भौतिक विकास

काठमाडौंमा रहेको छापाखानाको क्षमता बढाएको नयाँ पत्रिकाले विराटनगरमा पनि आफ्नै छापाखानाबाट प्रकाशन गरिरहेको छ। नयाँ पत्रिकाले बुटवलबाट पश्चिमाञ्चल संस्करण प्रकाशन गर्ने तयारी पनि गरिरहेको छ। कोहलपुरबाट सुदूरपश्चिमाञ्चल र कर्णालीका संस्करण पनि प्रकाशन गर्ने तयारी छ।

अहिले काठमाडौंको सञ्चारग्राम नजिकै रहेको नयाँ पत्रिकाको कर्पोरेट कार्यालय केही समयमा नै पुतलीसडकमा सार्ने तयारी पनि भइरहेको छ।  नयाँ वर्षसँगै नयाँपत्रिकाले आफ्नै साइज पनि बढाउने योजना बनाइरहेको छ। केही समयमा नै यो पत्रिका नियमित रुपमा २० पृष्ठको प्रकाशन हुनेछ।

पुराना सात कर्मचारी सम्मानित

नयाँ पत्रिका दैनिकले दशौँ वर्ष प्रवेशको अवसरमा सबैभन्दा पुराना कर्मचारीमध्ये सातजनालाई सम्मान गरेको छ। पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक कृष्णज्वाला देवकोटाले मायाको चिनोसहित उनीहरूलाई सम्मान गरेका हुन्।
सम्पादन शाखातर्फ ज्ञानहरि अधिकारी, भाषा सम्पादनतर्फ कृष्णप्रसाद पौडेल, डिजाइनतर्फ नवराज दाहाल, मार्केटिङतर्फ युवराज पौडेल, लेखा तथा प्रशासनबाट चन्द्रप्रसाद कोइराला, प्रेसतर्फ मोहन जिरेल र वितरण शाखातर्फ अमृत सत्याल सम्मानित भएका छन्। वार्षिकोत्सवको अवसरमा गरिएको वनभोज कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको नयाँ पत्रिकाले जनाएको छ। वनभोज भक्तपुरको सूर्यविनायकस्थित गणेशथान पार्कमा भएको थियो।

यस्तो छ वार्षिकोत्सवमा नयाँ पत्रिकाको प्रकाशकीयः

नयाँ वर्ष २०७३ सँगै नयाँ पत्रिका १० औँ वर्ष प्रवेश गरेको छ। आदरणीय पाठक, विज्ञापनदाता र वितरकको निरन्तर स्नेहकै कारण नयाँ पत्रिका देशका सबैभन्दा लोकप्रिय दुई पत्रिकाको सूचीमा छ। हामीलाई विश्वास छ, आगामी दिनमा पनि यो स्नेह र सद्भावले निरन्तरता पाइरहनेछ र हामी झन् धेरै पाठकका बीचमा पुग्नेछौँ।

यहाँहरू जानकार नै हुनुहुन्छ, हामी कसैलाई पछ्याउँदैनौँ, कसैका मानकमा उभिदैनौँ, कसैको नक्कल गर्दैनौँ। समाचारभित्रका समाचार र विचारभित्रका विचार पस्कने हाम्रो बेग्लै शैली छ र हाम्रो प्रतिस्पर्धा केवल हामी आफैँसँग छ। दैनिक पत्रिकाहरूको भीडमा हामी वैकल्पिक पत्रिका होइन बरु वैकल्पिक पत्रकारिता हौँ। सामग्रीका हिसाबले नयाँ पत्रिकासँग जति विविधता कसैसँग छैन र प्रस्तुतिमा हामी जति पाठकमैत्री कोही छैन। भूकम्प र नाकाबन्दीका कारण अत्यन्त प्रतिकूल अवस्थामा पनि हाम्रो तीव्र प्रगति र व्यापक स्वीकार्यताको रहस्य पनि सायद यही हो।

यो बीचमा हामीले भौतिक रूपमा पनि आफूलाई धेरै विस्तार गरेका छौँ। हाम्रो कर्पोरेट अफिस अब केही दिनमा पुतलीसडक सर्दै छ। काठमाडौंको हाम्रो छापाखाना थप विस्तार भएको छ भने पूर्वाञ्चल संस्करण विराटनगरबाट आफ्नै छापाखानामा प्रकाशन भइरहेको छ। यही सातादेखि बुटवलबाट पश्चिमाञ्चल संस्करण प्रकाशन हुँदै छ। र, हामी कोहलपुरबाट सुदूरपश्चिमाञ्चल र कर्णालीका बेग्लाबेग्लै संस्करण निकाल्ने अन्तिम तयारीमा छौँ। हाम्रा संस्करणहरू अरूजस्ता काठमाडौं संस्करणकै स्थानीय मुद्रण होइनन्। पहिलो पेजदेखि नै ती बेग्लाबेग्लै छन् र स्थानीय समाचारले प्राथमिकता पाएका छन्।

हामी व्यावसायिकतामा अब्बल र सामाजिक कल्याणमा जिम्मेवार छौँ। शीतलहरपीडितलाई ‘न्यानो बाँडौँ’ कार्यक्रमअन्तर्गत हजारौँ कम्बल वितरणपछि हामीले शीर्ष नेताहरूलाई फुटबलको मैदानमा सँगै उतारेर केवल भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा झन्डै ६० लाख मात्र जम्मा गरेनौँ, नेताहरूको मनभेद घटाएर संविधान निर्माणमा पनि केही योगदान गर्‍यौँ।

भूकम्पलगत्तै काठमाडौंबाट सबै भूकम्पपीडित जिल्लामा पुगेर राउन्ड टेबल गर्‍यौँ र त्यहाँका समस्या सरोकारवालासम्म पुर्‍यायौँ। यसपटक पनि विपन्न सय विद्यार्थीको शिक्षामा प्रोत्साहनका लागि रु। ६ लाख जम्मा गरेर हामीले ‘हात दिऊँ, साथ दिऊँ’ अभियान सुरु गरेका छौँ। हामीलाई विश्वास छ, विपन्नताको विवशताले थिचिएका अबोध बालबालिकालाई पढ्न सघाउने यो अभियानमा यहाँहरूको साथ र सहयोग हामी पक्कै पाउनेछौँ।

०७३ राजनीतिक सहमति र आर्थिक प्रगतिको वर्ष बनोस्। राष्ट्रको भद्रगोल होइन, सुखद् दैनिकी अभिलेख गर्न पाइयोस्। यहाँहरू सबैलाई नयाँ वर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना।

कृष्णज्वाला देवकोटा
अध्यक्ष तथा प्रबन्ध निर्देशक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.